विकासन्युज

एनएमबी बैंकले ८.९९ प्रतिशतमा ईभी कर्जा दिने

काठमाडौं । एनएमबी बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधनहरू (ईभी) कर्जा दिने भएको छ । बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ईभी गाडी खरिद गर्न कर्जा दिने भएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको बैंकले जनाएको छ । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्नेछन् ।

मातृभूमि लघुवित्तले माग्यो सीईओ, उमेर ४० वर्ष हुनुपर्ने

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयन गर्ने भएको छ । साविकको किसान लघुवित्त र साविकको जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको मातृभूमि लघुवित्तले खुला प्रतिस्पर्धाबाट सीईओ चयन गर्ने भएको हो । लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी सीईओका लागि आवेदन आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित साउन ९ गतेभित्र दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ । लघुवित्तको सीईओका लागि आवेदन दिँदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार व्यावसायिक योजना, प्रस्तुतिकरण तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिनेछ । रितपुर्वक प्राप्त दरखास्तमध्ये शैक्षिक योग्यता तथा कार्यानुभका आधारमा सर्टलिष्टमा परेका आवेदकहरूलाई मात्र संस्थाको व्यवसायिक योजना, प्रस्तुतिकरण र अन्तर्वार्तामा सामेल गराईनेछ ।

पक्राउ परे अवैध सुन कारोबारका मुख्य योजनाकार

काठमाडौं । प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार अपराह्न काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । प्रहरीले २०८० भदौ २५ गते दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका बाबुलाल दोङलाई मुख्य योजनाकार योञ्जनले पठाएको ९६० ग्राम सुन भन्सार छलि मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । विमानस्थल बाहिर सडक पेटीमा हिँड्दै गरेको अवस्थामा दोङ पक्राउ परेका थिए । प्रहरीवृत्त गौशालाले जाँच गर्दा दोङले मलद्वारमा कालोटेपले बेरिएको दुई वटा लाम्चो र डल्लो सुन ९६० ग्राम फेला पारेको थियो । अनुसन्धानका क्रममा दोङले उक्त भन्सार छलीको सुन योञ्जनको भएको बयान दिएका थिए । सुनसहित दोङ पक्राउ परेपछि योञ्जन फरार रहेका थिए ।

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प गयो

काठमाडौं । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

यस्तो छ बुधबारको विदेशी मुद्रा विनिमयदर, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (साउन २ गते)का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिद दर १३३.४४ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.४० रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.९६ रुपैयाँ र बिक्रीदर १७३.७४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.९४ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५१ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.५४ रुपैयाँ र बिक्रीदर २८.६७ रुपैयाँ तोकिएको छ ।

व्यवसायमा गिरावट आउँदा पनि भद्रपुरले सङ्कलन गर्याे ३ अर्ब २१ करोड राजस्व

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा ३ अर्ब एक करोड ५९ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । गत आवमा कार्यालयको ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर ८४.५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ । ‘देशभर व्यापार व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा,’ उनले भने । आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ, भाडा आयकरबाट ३ करोड ६४ लाख रुपैयाँ, ब्याजबापत ११ करोड ५९ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत १ अर्ब २९ करोड ५ लाख रुपैयाँ तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताए । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धि करबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत १ अर्ब ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

महासंघको जम्बो टोलीसँगको भेटमा प्रधामन्त्रीले भने- निजी क्षेत्रबिना देश विकास सम्भव छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरू अवलम्बन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पारेका हुन् । महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरू सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका महासङ्घले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो । भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताए । सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्पmत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ छ । अध्यक्ष ढकालको नेतृत्वमा पुगेको महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष निजी क्षेत्रलाई राज्यको मर्यादा क्रममा समावेश गर्ने लगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिनसक्ने भन्दै अनुरोध गरे । अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिँदै आर्थिक वर्षको सुरुमा नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताए । त्यसअवसरमा सो प्रतिनिधिमण्डलले उद्यम व्यवसाय सम्बद्ध नियामक निकायले एकआपसमा समन्वय बढाइ लगानी प्रोत्साहन गर्नेगरी कार्य सम्पादन गर्नु आवश्यक रहेको तथा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको जानकारी प्रधानमन्त्रीसमक्ष गराएको थियो । हाल अर्थतन्त्र सम्बद्ध निकायबीचमा समन्वयको अभाव रहेको बताउँदै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको सो प्रतिनिधिमण्डलले जनाएको छ । निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रूपमा काम गर्नसक्ने वातावरण निर्माण गर्न, सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तिय पहुँचका लागि विशेष पहल गर्न पनि सो प्रतिनिधिमण्डलले माग गरेको थियो । अध्यक्ष ढकालको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलमा महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छासहित वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरू रहेको महासङ्घले जनाएको छ ।

सहरी योजना आयोगबाट १ अर्ब ७५ करोड लागतका १२५ वटा आयोजनाको डीपीआर तयार

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । यसमध्ये ५८ वटा योजना वडाहरूबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, सार्वजनिक निर्माण विभागका ६ वटा, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३/३ वटा छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १/१ वटा आयोजना छन् । ‘माग भएका योजनाको डीपीआर नहुँदा विगतमा पुँजीगत खर्च बढ्न सकेको थिएन, अब महानगरपालिकाको पुँजीगत खर्च बढ्नेछ, त्यो समस्या अब सकियो,’ सम्पन्न डीपीआरका विषयमा प्रतिक्रिया दिँदै आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर सकिएको छ । यसपछि माग भएर आउने योजनाको डीपीआरमा तत्काल काम गर्न सकिन्छ ।’ डीपीआरको कार्यान्वयनबाट मात्र नतिजा मापन गर्न सकिने भएकोले ट्र्याकिङ् प्रणाली बनाउन लागिएको भन्दै उनले यसले नतिजा कति प्राप्त भयो, तत्काल हेर्न र भन्न सकिने बताए । ‘आएका योजनालाई डीपीआर बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया भएको छ, संरचनालाई मौलिक शैली झल्किने बनाउन भौगोलिक अवस्थासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था पनि विश्लेषण गरिएको छ,’ आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईले भने, ‘यसो हुनु भनेको योजना कार्यान्वयन सुनिश्चित हुनु हो, योजना कार्यान्वयन सहज हुनु हो, निर्धारण गरिएको अवधिको सम्पन्न हुने सुनिश्चित हुनु हो, यसले तर्जुमा गरिएका योजना निर्बाध कार्यान्वयनमा आउने वातावरण बन्छ ।’ आयोगले तयार पारेका प्रतिवेदनहरू सम्बन्धित वडा र विभागमा पठाइएको उनले बताए । आयोगको आगामी तयारीका विषयमा उपाध्यक्ष डा. राजभण्डारीले भने, ‘आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गरिएका कार्यक्रमलाई भाद्र महिना भित्र डीपीआर सम्पन्न गर्ने तयारी गरेका छौँ ।’