काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर गरेको छ ।
ती मुद्दा गैरकानुनी लाभहानीका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४ वटा रहेकाे अख्तियारले जनाएकाे छ । यस्तै राजस्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध मुद्दा ३ वटा रहेका छन् ।
अख्तियारले विशेष अदालतमा दायर गरेका ती आरोपपत्रहरूबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १ सय ४२ रुपैयाँ ४४ पैसा बिगो माग दाबी गरेको छ ।
आरोपपत्रमा प्रतिवादीको संख्या १ हजार ५ सय २० जना रहेको छ । उनीहरूमध्ये सरकारी कर्मचारी ५ सय २४, निर्वाचित जनप्रतिनिधि १ सय १, मनोनीत पदाधिकारी १ सय ८१, लेखापढी व्यवसायी २, बिचौलिया २ र व्यवसायी ९१ जना रहेका छन् । त्यसबाहेक अन्य ६१९ जना छन् ।
सोही आर्थिक वर्षमा परेका जम्मा ३५ हजार ७ सय ९० उजुरीमध्ये २७ हजार ३ सय ७५ उजुरी फर्छ्योट गरेको अख्तियारले जनाएको छ ।