प्रचण्डमाथि खनिएका ओलीसँग वर्षमानको ‘ट्याकल’, उद्योगीबाट घुस लिएको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् । सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो । सत्तारुढ नेपाली काँग्रेस सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न राखेका थिए । उनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा तत्कालीन मन्त्री पुनले अघि सारेको गण्डकी त्रिभुज आयोजना महत्वपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयन कहिलेदेखि सुरु हुने र कहिले अन्त्य गर्ने सरकारको योजना रहेको भन्ने प्रश्न गरे । यस्तै आर्थिक अवस्था सुधारका लागि आर्थिक गैह्रकानूनी कारोबार नियन्त्रण गर्ने सरकारको योजना के छ भन्ने गुरुङको दोश्रो प्रश्न थियो । प्रधानमन्त्री ओली सांसद गुरुङको प्रश्नको जवाफमा प्रवेश नगरी शून्य समयमा सांसदहरुले आफू र सरकारमाथि उठाएका प्रश्नको प्रतिवादमा उत्रिए । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिचौलियाको योजनामा विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गरेबापत तिर्नुपर्ने विद्युतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले काटेको लाइन जोड्न र बक्यौता मिनाहा गर्न प्रधनमन्त्री ओलीले दबाब दिएको आरोप लगाएका थिए । उनले बिचौलियाको सेटिङमा राज्यलाई अर्बौं नोक्सान पुग्ने गरी बक्यौता मिनाहा गर्न लागिएको बताए । ओलीले दाहालको नाम उल्लेख नगरी उनको प्रतिवादमा उत्रन सुरु गरे । उनले गरिमामय संसदमा बोल्दा भएका, सही र तथ्ययुक्त कुरा मात्र बोल्न र जथाभावी नबोल्न चेतावनी दिए । जनताले छानेर पठाएका प्रतिनिधिले त्यस हैसियतमा बोल्नुपर्ने भन्ने ओलीले आफूमाथि सुनको जलहरीमा ठाउँमा पित्तल लगाएको भन्ने आरोप लगाउने, अनेकखालका फोटाहरु बनाएर पछाएको जस्ता टिप्पणी गरे । आफू प्रधानमन्त्री बनेकामा कसैलाई मर्का परेको र चित्त नबुझेको भए पनि अमर्दादित, हल्का र हावादारी प्रश्न नगर्न ओलीले भने । ओली थप अगाडि बढदै गर्दा पुन उठेर हात उठाए । सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । तर, पुनले नियमापत्ति रहेको बताएपछि सभामुख घिमिरेले ‘सम्माननीय प्रधानमन्त्री एकछिन रोक्नुस’, भन्दै पुनलाई बोल्न दिए । पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा ओलीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाए । ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू के सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ ? सभामुखले रुलिङ गर्नुपर्छ होला । उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ । आफ्ना कार्यकर्तालाई जसरी सांसदलाई नथर्काउनुस् । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने ? ।’ सार्वजनिक अभिव्यक्तिमा अक्सर संयमता अपनाउने गरेका पुन सोमबार संसदमा भने आक्रामक रुपमा प्रस्तुत भएका थिए । पुनले थप बोल्न खोज्दै गरेका बेला सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र आफूले त्यतै लान खोजेको भन्दै प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देश गरे । ‘माननीय सदस्य ध्यानार्कषण भएको छ । मैले त्यतै लान कोसिस गरेको छु’, सभामुखले भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’
भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक उपाय अवलम्बन गरिन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतिको प्रयोग गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए । उनले सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने बताए । उनले सार्वजनिक खरिद कानुनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइने पनि बताए । उनले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अबलम्बन गर्ने बताए । अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने पनि उनले उल्लेख गरे । उनले भने, ‘वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने छ, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरुप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिनेछ ।’ प्रधानमन्त्री ओलीले राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बिजक अनुगमन प्रणाली, भीसीटीएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तरआबद्धता कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिने जानकारी दिए । ‘राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोबार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशिल बनाई समन्वयात्मक रूपमा परिचालन गर्नुका साथै चोरी, निकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन र छड्के जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइने छ,’ उनले भने, ‘राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बिजक अनुगमन प्रणाली, भीसीटीएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तरआबद्धता, कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिनेछ ।’
सामान्य अंकले बढ्यो सेयर बजार, १३ अर्ब ९१ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक २.१५ अंकले बढेर २,४८८ को विन्दुमा पुगेको छ । यस दिन ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै शिवम् सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार हुँदा कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस दिन सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका हुन् ।
संविधान संशोधन गर्न सबै दलसँग छलफल र परामर्श हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल र परामर्श गर्ने बताएका हुन् । उनले संविधान संशोधन लहडको विषय नभएको भन्दै समयको माग र देशको आवश्यकताको लागि संविधान संशोधन गर्नुपर्ने जानकारी दिए । ‘वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जिवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडी बढाउन सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल र परामर्श गर्दै यस कार्यलाई अगाडी बढाउने विश्वास दिलाउन चाहन्छु’, उनले भने । उनले वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जिवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडी बढाउन संविधान संशोधन गर्नुपर्ने बताए ।
झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका
गलकोट । यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ । थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिए । उनका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ । वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भने, ‘सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।’ काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ । चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताए । गाउँपालिकाले चियाखेती विस्तारका लागि रु ११ लाख बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छभने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ । रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । रासस
सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन
काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो । पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए । होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डेले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्याएका थिए । पाण्डेको आजै दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
गौशालाको रेस्टुरेन्टमा साउन महिनाभरी लसुन र प्याज बिनाको खान पाइने
काठमाडौं । शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको बीबीसीका मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभर लसुन र प्याज समेत नराखि मिथिला थाली खान पाइने भएको छ । सेफ सन्तोषले भने, ‘गौशालाको मिथिला थाली यसै पनि शाकाहारी रेस्टुरेन्ट हो, तर साउन महिनाभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाहाकारीलाई लक्षित गरी प्याज र लसुन बिनाको मिथिला थाली उपलब्ध गराउन लागिएको हो ।’ साउनमा मन्दिर दर्शन गर्नका लागि पनि गाह्रो हुन्छ, घण्टौ लामबद्ध भइ दर्शन गरेपछि भक्तजनहरुका लागि आराम गर्न र भोक मेट्नका लागि मिथिला थाली उपयुक्त गन्तव्य हुने उनको विश्वास छ । उनका अनुसार जनकपुर, ललितपुरको झम्सिखेल र काठमाडौँको गैरीधारामा सञ्चालित मिथिला थालीमा सबै परिकार पाइने भए पनि गौशालाको मिथिला थालीलाई शाहाकारी रेस्टुरेन्टका रुपमा सञ्चालन गरिएको हो । शाहाकारी मिथिला थालीमा १७ प्रकारका परिकार खुवाइन्छ । जसमा तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसममी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवालगायत चार प्रकारका अचारले थाली भरिएको हुन्छ । रेष्टुराँमा चार सय रुपैयाँमा मिथिला थाली, पाँच सय रुपैयाँमा मिथिला थाली विथ मसरुम, पाँच सय ५० रुपैयाँमा मिथिला थाली विथ पनिर र आठ सय ५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध छ । हिन्दु धर्मालम्बीमा साउनको सोमबार व्रत बसी विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास छ । साउनलाई भगवान् शिवको महिना मानिन्छ । साउन महिनाभर र त्यसमाथि पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरमा नेपाली र भारतीय भक्तजनको दर्शन गर्नेको ठूलो भिड लाग्छ । भक्तजनहरुको आवश्यकतालाई लक्षित गरी उनीहरुको सुविधाका लागि शुद्ध शाकाहारी भोजन तयार हुने सेफ सन्तोषले बताए ।
पहिलो त्रैमासिकमा र्यान एयरको नाफा ४६ प्रतिशत घट्यो
लण्डन । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्यान एयर) ले सोमबार जनाएको छ । र्यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ । भाडा समायोजनपछि यात्रुको संख्या भने १० प्रतिशतले बढेर ५ करोड ५५ लाख पुगेको छ । औसत हवाई भाडा १५ प्रतिशतले घटेको डबलिनमा मुख्यालय रहेको र्यान एयर विमान कम्पनीले जनाएको छ । एयरलाइनले यस वर्ष इस्टरको समयले पनि प्रभावित भएको जनाएको छ । र्यान एयरका अनुसार दोस्रो त्रैमासिकमा पनि कम भाडादरको प्रभावको वातावरण कायमै रहेको छ । ‘दोस्रो त्रैमासिकको माग बलियो भए पनि मूल्य निर्धारण हामीले अपेक्षा गरेभन्दा सुलभ छ र अब हामी दोस्रो त्रैमासिकको भाडा गत ग्रीष्मऋतुको तुलनामा कम हुने अपेक्षा गर्दछौं,’ प्रमुख कार्यकारी माइकल ओ लेरीले भने । उनले थपे, ‘र्यान एयरले नयाँ बोइङ विमानहरूको आपूर्तिमा थप ढिलाइको सामना गर्नु नपरेमा बर्षभरिमा विमान सेवा प्रयोग गर्नेको संख्या ८ प्रतिशत वृद्धि भई करिब २० करोड पुग्ने अपेक्षा गरिएको छ ।’ एजेन्सी