वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर देखापरेको छ ।
कार्यालयले आव २०७९र८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख रुपैयाँ कम राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए ।
‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर संकलन र आयकर संकलन उत्साहजनक देखिएको छ’, उनले भने, ‘गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व संकलनमा असर पारेको छ ।’
आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार रुपैयाँ संकलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार रुपैयाँ संकलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत दुई अर्ब ३९ करोड ८६ लाख २० हजार रुपैयाँ संकलन गरेको छ ।
प्रमुख कर अधिकृत तिवारीले राजस्व संकलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए । आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई १० अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड रुपैयाँ संकलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।