जेन्जी घाइते र सहिद परिवारका माग पूरा गर्न सरकार प्रतिबद्ध छ: असिम शाह
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । संविधान संशोधनसम्बन्धी सुझाव सङ्कलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा घाइते तथा सहिद परिवारलाई छलफलका लागि बोलाएको थियो । छलफलका क्रममा उनीहरूले अघिल्लो सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए । संयोजक शाहले वर्तमान सरकार ‘जेन्जी आन्दोलन’कै जगमा बनेको उल्लेख गर्दै आन्दोलनका भावना र बलिदानलाई सरकारले बिर्सन नसक्ने बताए । उनले सरकार सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको पनि बताए । शाहले सरकार र आन्दोलनका घाइते तथा सहिद परिवारबीच संवादमा केही दूरी बढेको स्वीकार गर्दै आगामी दिनमा आफ्ना माग पूरा गर्न थप दौडधुप गर्न नपर्ने आश्वासन दिए । कार्यदलका सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लिलाधर सुवेदी ले पनि सरकार माग सम्बोधनका लागि पहल गर्न तयार रहेको बताए । छलफलपछि घाइते तथा सहिद परिवारका सदस्यहरूले सरकारसँग संवादको वातावरण बनेको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा आफ्ना माग उठाउँदा राज्यका तर्फबाट कुनै अवरोध नहोस् भन्ने अपेक्षा समेत राखेका छन् । छलफलको अन्त्यमा संयोजक शाहले संविधान संशोधनका लागि बहसपत्र तयार भइरहेको जानकारी दिँदै ‘जेन्जी’ पुस्ताका भावना, अधिकार र आवश्यकतालाई समेट्ने गरी सुझाव दिन सबैलाई आग्रह गरेका छन् ।
वैशाख १२ र १३ गतेको वर्षाले २ पालिकामा मात्रै ४६ करोडको क्षति
काठमाडौं । गत वैशाख १२ र १३ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको २ स्थानीय तहमा करोडौंको क्षति पुर्याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले कृषि क्षेत्रमा पुर्याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् । कृषि कार्यालयको विवरणअनुसार बेथानचोक-१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिक टन कृषि बाली उत्पादनमा क्षति पुगेको छ । आलु, तोरी, सर्स्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएको जनाइएको छ । यस्तै तरकारी र फलफूलका बिरुवा पनि नस्ट भएका छन् भने वडा नं २ मा ४०० रोपनी, वडा नं ३ मा १ हजार २०० रोपनी, वडा नं ४ मा ६०० रोपनी, वडा नं ५ मा ५०० रोपनी र वडा नं ६ मा ३०० रोपनीमा क्षति पुगेको विवरण उल्लेख छ । यसैगरी उक्त गाउँपालिकामा कागती, सुन्तला र बोधिचित्तका फुल, तरकारी बालीमा अधिक क्षति भएको गाउँपालिकाले समेत जनाएको छ । करिब ६५ लाख रूपैयाँ बराबरको उत्पादनमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र पन्त जानकारी दिए । त्यस्तै पनौती नगरमा आलु ४३ करोड २६ लाख रूपैयाँ क्षति भएको विवरण बुझाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा रोपिएको १० हजार ३०० मेट्रिक टन आलुमा आंशिक तथा पूर्ण क्षति भएको छ । ओलीले कृषि कार्यालयमा बुझाएको विवरणमा ५०० टनेल २५ लाख रुपैयाँ, १० हेक्टरमा लगाइएको गोलभेँडा २५० मेट्रिकटन अनुसार १ करोड २५ लाख रुपैयाँ र १० हेक्टरमा लगाएको काक्रा ३०० मेट्रिकटन अर्थात् १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताए । पनौतीमा मात्रै ४६ करोड रुपैयाँको कृषि बालीमा क्षति भएको नगरपालिकाको दावी छ । यसैबीच उक्त वर्षाले धुलिखेल नगरपालिका-१० र १२ नं वडाका कृषि बालीमा पुगेको क्षति तथा अन्य वडामा भएको क्षतिको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कृषकलाई अन्न बाली, तरकारी बालीमा पुगेको क्षतिको राहतका लागि प्रदेश सरकारसँग समन्वय गरिएको बताए । उनका अनुसार विसं २०८१ असोज १०-१२ को वर्षाले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्दै प्रदेश सरकारमा पठाउँदै आएको राहत वितरण गरिरहेको छ । वैशाख दोस्रो साताको वर्षापछि काभ्रेपलाञ्चोकका सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिकसहितको टोलीले दुवै नगरमा पुगेको क्षतिबारे स्थानीयसँग जानकारी लिँदै एकिन विवरण वडा कार्यालयलाई उपलब्ध गराइदिन सुझाव दिए । उनले स्थलगत अनुगमन गर्दै भने, ‘क्षतिको एकिन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मा समेत विषय उठान गर्नेछु ।’
आज देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ । कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भू-भागका र मधेस प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।
आज नेपाल र अमेरिका भिड्दै, नेपालका लागि निकै महत्वपूर्ण
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, ८ मा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक, स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइँदै आएको स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने जनाएको छ। वित्तीय प्रणालीमा तरलता व्यवस्थापनलाई थप प्रभावकारी तथा ब्याजदर स्थायित्व कायम गर्ने उद्देश्यले स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न लागेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम राखिएको जनाएको हो । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै चालु आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।
सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालत ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइपछि हाजिर जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा पाण्डेलाई प्रतिनिधित्व गर्ने कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा राख्ने, देश छोडेर बाहिर जानु परेमा अदालतको अनुमति लिनुपर्ने तथा अनुसन्धान तहकिकातका क्रममा आवश्यक परेका बखत उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ । साथै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा राखी आरोपित कसुरको अनुसन्धान अघि बढाउन आदेश दिइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्मार्ट टेलिकमको विषयलाई लिएर पाण्डेलाई गत वैशाख २९ गते पक्राउ गरेको थियो । पाण्डेका पत्नी निरु दाहालले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै गत वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा
काठमाडौं । ठगी तथा अवैध रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कानुनी कारबाही अघि बढाएको छ। उच्च शिक्षाका लागि विदेश पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको आरोपमा कार्यालयमा निरन्तर उजुरी, गुनासो तथा निवेदन प्राप्त भएपछि प्रहरीले उक्त कारबाही थालेको हो । यसै क्रममा खटिएको विशेष प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अपरेसन सञ्चालन गर्दै कानुनी मापदण्ड पूरा नगरी अवैध रूपमा सञ्चालन भइरहेका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ। ती कन्सल्टेन्सीहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ अनुसार आवश्यक दर्ता, नवीकरण तथा मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको पाइएको छ। गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६९ जना कन्सल्टेन्सी सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले यस्ता ठगीमा परेका पीडितहरूलाई आवश्यक कानुनी प्रक्रिया तथा न्यायका लागि टेकुस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?
राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो
काठमाडौं । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औं प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा ५ खर्ब ४ अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् । कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख र ६९ दशमलव सात करोड अमेरिकी डलर रहेको छ । गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमात्रै सम्पन्न भएका छन् । समष्टिगत रूपमा भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने पाँचवटा आयोजना छन् । यस्तै, ५० देखि ८० प्रतिशत हासिल गर्ने चारवटा छन् । पचास प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजनाको सङ्ख्या नौ, भौतिक प्रगति नखुलेका चार र सुरु नै नभएका दुई आयोजना छन् । आव २०७८/७९ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत नखुलेको प्रतिवेदनमा उल्लेख छ । अधिकांश आयोजना कार्यक्षेत्र थप गर्दै जाने तथा निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा नसकिएका कारण लगानीअनुसारको प्रतिफल हासिल हुनसकेको छैन । तोकिएको अवधिमा सम्पन्न हुनेगरी आयोजनाको व्यवस्थापन हुनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । यस्तै, आयोजनाको बारम्बार म्याद थपिने प्रवृत्ति देखिएको छ । सोही कारणले लागत वृद्धि हुनुका साथै आयोजनाको प्रभावकारितामा समेत प्रश्न उठेको छ ।