विकासन्युज

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।      

युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै सिद्धार्थ क्यापिटल

काठमाडौं । 'स्मार्ट मनी टक्स' भन्ने मूल नाराका साथ मार्च १६ देखि सुरु भएको ग्लोबल मनी वीक २०२६ विश्वभर मनाइएको अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न सहरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत कक्षा १२ तथा स्नातक तहमा अध्ययनरत युवा विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । सिद्धार्थ क्यापिटलले काठमाडौं, नेपालगञ्ज, विराटनगर, बुटवल, नारायणगढ र पोखरालगायत स्थानमा कार्यक्रम सञ्चालन गरेको हो । काठमाडौंस्थित मृगसिरा वर्ल्ड स्कूल, विराटनगर इन्टरनेशनल कलेज, नारायणगढको वीरेन्द्र बहुमुखी क्याम्पस तथा नेपालगञ्ज बहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै बुटवलको मणिमुकुन्द कलेज र पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको जनाइएको छ । वित्तीय पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । ग्लोबल मनी वीक २०२६ मार्च २२ मा सम्पन्न भएको थियो । 

नेपालमा सार्वजनिक भयो जेकोको नयाँ ईभी ‘जे सिक्स टी, सुरुवाती मूल्य ६७ लाख

काठमाडौं । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ विद्युतीय गाडी ‘जेको जे सिक्स टी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।  यो गाडी जस्तोसुकै अप्ठ्यारो सडकमा पनि सजिलै गुड्न सक्नेगरी बनाइएको कम्पनीले जनाएको छ । विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरको बनावटबाट प्रभावित यो गाडी यसको बलियो, आकर्षक र बाकस जस्तो देखिने स्वरूपका कारण चर्चामा छ । कम्पनीले यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको भए तापनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाएको छ । यसमा विश्वकै उत्कृष्ट ‘सीएटीएल’  कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसको मोटरले उकालो र कच्ची सडकमा गुडाउन आवश्यक पर्ने उच्च शक्ति (२२० एनएम टर्क) प्रदान गर्छ । एक पटकको पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार यसको जमिनदेखिको उचाइ (ग्राउन्ड क्लियरेन्स) २२५ मिलिमिटर रहेको छ, जुन नेपाली कच्ची सडक र अफ-रोडका लागि निकै उत्कृष्ट मानिन्छ । गाडीको भित्री भागमा १५.६ इन्चको ठुलो मुख्य सूचना स्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल डिस्प्ले, ५० वाटको ताररहित (वायरलेस) मोबाइल चार्जर र ८ वटा स्पिकरहरू जडान गरिएका छन् । यसअघि बजारमा आएको जेको जे सिक्सको सफलतापछि कम्पनीले अझ सुधारिएको र शक्तिशाली संस्करणका रूपमा जे सिक्स टी ल्याएको हो ।  सार्वजनिक कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा र निर्देशक गौरव शारदा लगायत अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरूलाई नयाँ प्रविधि र भरपर्दो गाडीको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । हाल यो गाडी देशभरका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व संकलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व संकलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म ५ अर्ब ७१ करोड १० लाख राजस्व संकलन गरेको जनाएको छ ।  कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । हालसम्म कोरलाना काबाट भित्रिएका २ हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए। यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएकोे भन्सार प्रमुख खड्काको भनाइ छ ।  गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलाना कालाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरिएको थियो । यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रुपमा प्रयोग गरिएको कोरला नाकालाई पूर्ण रूपमा सञ्चालन गराएको थियो । बर्सेनि १०/१५ लाख आर्थिक राजस्व संकलन गर्ने यहाँको मुस्ताङ भन्सार कार्यालयले असोजदेखि यता उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको कार्यालयको भनाइ छ । 

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा रु एक करोड २२ लाखको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले भृकुटीमण्डपमा यही चैत पाँच गतेदेखि सुरु भएको मेलामा आइतबारसम्ममा कूल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् । रु एक करोड २२ लाख ६० हजार बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।  फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन नौ हजार ५०० जनाले अवलोकन गरेका थिए भने रु २१ लाख ५० हजार बराबरको कारोबार भएको थियो । दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता रु २९ लाख ५० हजार कारोबार भएको थियो । तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने रु ३९ लाख ८० हजार बराबरको कारोबार भएको थियो । अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दा रु ३१ लाख ८० हजार कारोबार भएको थियो ।    ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्याण्डस्केप एक, सेल्फी एक तथा बीवाइडी ईभी कारसहित गरी कूल ८३ वटा स्टल रहेका थिए । प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समावेश गरिएको बजगाईंले जानकारी दिए ।   हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्याङ्क छ । पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ ।  अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर रु १२ करोड ७० लाखमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई रु दुई करोड १३ लाख पुगेको छ । रासस

बेनामे बैंकको सीईओ खोजीले बैंकिङमा तरङ्ग

काठमाडौं । प्रमुख जिम्मेवारी- दिगो वृद्धि सुनिश्चित गर्न रणनीतिक नेतृत्व प्रदान गर्ने, नियामक आवश्यकता तथा संस्थागत सुशासन मापदण्डको पालना सुनिश्चित गर्ने, दिगो वृद्धि, नाफा तथा जोखिम व्यवस्थापनलाई अगाडि बढाउने, संगठनात्मक क्षमता र सरोकारवालासँगको सम्बन्धलाई सुदृढ बनाउने । योग्यता- व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखा, तथ्याङ्क, गणित, व्यवसाय प्रशासन वा कानूनमा स्नातकोत्तर डिग्री, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, तथ्याङ्क, लेखा, गणित, व्यवसाय प्रशासन वा कानूनमा स्नातक डिग्री हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठन, विश्वविद्यालय वा समान क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको । बैंकिङ सञ्चालन, जोखिम व्यवस्थापन र नियामक ढाँचाको सुदृढ ज्ञान भएको, नेपाल राष्ट्र बैंकले तोकेको ‘फिट एन्ड प्रपर’ मापदण्ड पूरा गरेको तथा आवेदन दिने अन्तिम मितिसम्म उमेर ५५ वर्ष ननाघेको व्यक्ति । प्रमुख योग्यता- रणनीतिक सोच र नेतृत्व क्षमता, उच्च निष्ठा र व्यावसायिक नैतिकता, बलियो सञ्चार तथा सरोकारवाला व्यवस्थापन सीप, कर्जाजन्य जोखिम र पोर्टफोलियो व्यवस्थापनमा प्रमाणित अनुभव । यी माथिका मापदण्ड राष्ट्रियस्तरका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तोकिएका हुन् । उक्त मापदण्ड पूरा भएका इच्छुक उम्मेदवारले भ्याकेन्सी डट लिडरसिप एट द रेट जिमेल डटकममा मा आवेदन दिन सक्नेछन् । आवेदनसँगै सीभी, अपेक्षित तलब तथा सुविधासहितको आवरण पत्र, शैक्षिक तथा अनुभवसम्बन्धी प्रमाणपत्रहरूको प्रतिलिपि पेश गर्नुपर्नेछ । यो आवेदन आह्वानसम्बन्धी सूचना गत शुक्रबार (चैत ६ गते) कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित भएको हो । नाम उल्लेख नगरिएको (बेनामे) राष्ट्रियस्तरको विकास बैंकका लागि योग्य, दक्ष, ऊर्जावान तथा परिणाममुखी नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । बेनामे बैंकका लागि सीईओको आवेदन आह्वान भएपछि विकास बैंक क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । राष्ट्रियस्तरका विकास बैंकका सीईओहरूमा आफ्नो पद सुरक्षित रहन्छ कि रहँदैन भन्ने त्रास बढेको छ । कतै सञ्चालकहरूले अनौपचारिक रूपमा आवेदन आह्वान गरेर परीक्षण गर्न खोजेका हुन् कि भन्ने चासो देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक गरी ८ वटा विकास बैंक राष्ट्रियस्तरका रहेका छन् । मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युन पोखरेल हुन् । वि.सं. २०७९ बैशाख २० गते बसेको बैठकले उनलाई जेठ १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । दुई कार्यकाल सफलतापूर्वक पूरा गरेका पोखरेलको कार्यकाल आगामी २०८३ जेठ १ गते सकिँदैछ । उनको दोस्रो कार्यकाल सकिने मिति नजिकिएपछि बैंक सञ्चालक समितिले सीईओ छनोट समिति गठन गरिसकेको छ । तर, व्यवस्थापन तहबाट भने सीईओका लागि आवेदन आह्वान गरिएको छैन । यदि सञ्चालक समितिबाट प्रक्रिया अघि बढेको भए आफूहरूलाई जानकारी नहुने बैंक स्रोतको भनाइ छ । ‘हाम्रो बैंकमा सीईओ पद रिक्त हुँदैछ । सञ्चालक समितिले सीईओ छनोट समिति पनि गठन गरेको छ । सो समितिले काम गरिरहेको हुन सक्छ । समितिमार्फत प्रक्रिया अघि बढेमा हामीलाई जानकारी नहुन सक्छ,’ बैंक स्रोतले भन्यो । सीईओ छनोट सिफारिस समितिमा सञ्चालक नारायण कुमार श्रेष्ठ, सरोजा श्रेष्ठ र उमेश कुमार आचार्य रहेका छन् । लुम्बिनी विकास बैंकका सीईओ नरेशसिंह बोहरा हुन् । उनलाई वि.सं. २०७९ असार ३० गते बसेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो । उनको कार्यकाल अझै करिब साढे ३ महिना बाँकी छ । बैंकका सीईओको कार्यकाल आगामी असार मसान्तसम्म रहनेछ । बैंकले पनि आवेदन आह्वान नगरेको जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको कार्यकाल आगामी भदौ १९ गतेसम्म रहेको छ । उनलाई वि.सं. २०७९ भदौ ५ गते बसेको बैठकले दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो । बैंकले पनि आवेदन आह्वान नगरेको जनाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेलको कार्यकाल २०८३ माघ १ गतेदेखि समाप्त हुनेछ । वि.सं. २०७९ पुस २९ गते बसेको बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकले पनि आवेदन आह्वान नगरेको जनाएको छ । यदि सीईओका लागि आवेदन आह्वान गर्ने भए बैंकको नामसहित सार्वजनिक गर्ने एक उच्च अधिकारीले बताए । ज्योति विकास बैंकका कपिल ढकाल, गरिमा विकास बैंकका माधवप्रसाद उपाध्याय, महालक्ष्मी विकास बैंकका दीपेश लम्साल र कामना सेवा विकास बैंकका दिनेश थकालीको कार्यकाल सकिन धेरै समय बाँकी रहेको देखिन्छ । त्यसकारण यी बैंकबाट पनि आवेदन आह्वान भएको देखिँदैन । विकासन्युजले सबै बैंकसँग बुझ्दा कसैले पनि सीईओका लागि विज्ञापन आह्वान नगरेको बताएका छन् । एक बैंकरका अनुसार संस्थागत रणनीतिअनुसार नाम नखुलाई सीईओका लागि आवेदन आह्वान गर्न सकिन्छ । अनावश्यक दबाबबाट बच्न यस्तो अभ्यास गरिएको हुन सक्ने उनको भनाइ छ । यसैबीच, ‘कारोबार’ दैनिकले उक्त विज्ञापन एजेन्सीमार्फत आएको जनाएको छ । एन मल्टिनेशन मिडिया नेटवर्कमार्फत विज्ञापन आएको जानकारी दिइएको छ । उक्त एजेन्सीको वेबसाइटमा मुक्तिनाथ विकास बैंक क्लाइन्टका रूपमा देखिए पनि बैंकले सीईओका लागि कुनै विज्ञापन प्रकाशन गर्न नपठाएको जनाएको छ । एजेन्सीका अनुसार कुनै एक व्यक्तिले आफ्नो पहिचान गोप्य राखी निश्चित कमिसन दिएर विज्ञापन प्रकाशनका लागि पठाएको हो । तर, ती व्यक्तिको पहिचान भने गोप्य राखिएको छ ।

महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एशोसिएशनकोतर्फबाट सागर ढकालको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेको हो । एसोसिएसनको केही समयअघि बसेको कार्यसमिति बैठकले अध्यक्ष ढकाललाई केन्द्रीय सदस्य बनाउन आफूहरूले उल्लेखनीय भूमिका खेल्ने समेत जानकारी दिएको छ । नेपालको पुजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्य अनुरुप स्टक बस ब्रोकर एसोसिएसको तर्फबाट आफूले महासङ्घको केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको अध्यक्ष ढकालले जानकारी दिए । 'अहिले पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध छन् भने पुजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ,' उनले भने, 'यसलाई नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ । समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासङ्घको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।'  करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजीबजारको साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् । आफू महासङ्घको केन्द्रीय कार्यसमितिमा गएर नेपालका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङमा लाग्ने समेत उनले जानकारी दिए । 'अहिले पुँजीबजारका साथै नेपालका उद्योग व्यवसायमा धेरै समस्या छन्,' उनले भने, 'सरकारले ती समस्या समाधान गर्न आलटाल गर्दै आएको छ । जेन्जी आन्दोलनपछि दुईतिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउनका लागि पनि मैले महासङ्घको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।'

स्वास्थ्यमन्त्री शर्माले सार्वजनिक गरिन् आफ्नो कार्यकालका उपलब्धी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफ्नो पाँच महिने कार्यकालका उपलब्धीहरू सार्वजनिक गरेकी छिन् ।  आफ्नो कार्यकाल सकिनुअघि आफूले गर्न सकेका र अबको सरकारले गर्नुपर्ने कामका विषयमा उनले सुझाव दिएकी छिन् ।  जेनजी आन्दोलनपछि छोटो समयमा मन्त्रालयको नेतृत्व गरेकी शर्माले नेपालको संविधानले व्यवस्था गरेको स्वास्थ्यसम्बन्धी अधिकारहरू, विभिन्न ऐन नियमावली र कार्यविधिले निर्देशित गरेका कार्यहरू, स्वास्थ्य क्षेत्र रणनीति र वार्षिक बजेट तथा कार्यक्रमको परिधिभित्र रही जनआकांक्षा पुरा हुनेगरी काम गर्नुपर्ने अवस्थामा केही दूरगामी महत्त्वका कार्यहरू सम्पन्न गरेको बताएकी छिन् ।  मन्त्री शर्माले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार र राहतको काम पुरा गरेको उल्लेख गरेकी छिन् । उनले यो आन्दोलनमा घाइते भएका २ हजार ६ सय ३८ मध्ये तीन सय ६१ घाइतेहरूको वर्गीकरण गरी राहत उपलब्ध गराउनेक्रममा रहेको, घाइतेहरूको देशका विभिन्न अस्पतालमा निःशुल्क उपचार गरेको, जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको स्रोत व्यवस्थाका लागि अर्थ मन्त्रालयमा पठाएको, घाइते तथा सहिद परिवारका लागि देशभरका ९७ अस्पतालबाट निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको  उल्लेख गरेकी छिन् । यसैगरी, मन्त्री शर्माले जेनजी आन्दोलनमा मन्त्रालयको भवन जलेर ध्वस्त भएका बेला मन्त्रालय र अन्तर्गतका निकायहरूको व्यवस्थापन र  सुधारको प्रयास गरेको बताएकी छिन् भने पाँच महिनामा  १३ वटा नीतिगत निर्णयहरू गरेकी छिन् ।  वीर अस्पतालको आकस्मिक उपचार विभागलाई ७५ शैया बनाउने लक्ष्यसहित हाल ५५ शैयामा विस्तार गरिएको, सल्यान जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको, तलव भत्ता लगायतको माग राख्दै आन्दोलनमा उत्रेका नर्सहरूको पारिश्रमिक बढाएको, हाल ९३ आधारभूत अस्पतालको निर्माण सम्पन्न भएको र ६२ वटा अस्पताल निर्माणको काम जारी रहेको लगायतका उपलब्धी सार्वजनिक गरेकी छिन् । यस्तै, सातै प्रदेशका स्वास्थ्य संस्थाहरूको सवलिकरणद्धारा सेवाको गुणस्तरमा अभिवृद्धि गरेको उल्लेख छ ।  त्यस्तै, मातृ तथा नवजात शिशु स्वास्थ्यको गुणस्तर सुधार गर्न राष्ट्रिय नवजात कार्ययोजना २०८०, २०८७ र मातृ पेरिनेटल मृत्यु अनुगमन तथा प्रतिक्रिया प्रणाली बमोजिम १ सय २१ वटा अस्पताल र ५२ जिल्लामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा विस्तार गरिएको सेवाको पहुँच कम भएका सुदूरपश्चिम र मधेश प्रदेशका स्थानीय तहमा  एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको, देशभरका संघिय अस्पतालमा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी सेवा सुरु गरिएको समुदाय स्तरमै  मानसिक स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ७ सय ५३ स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रममा मनोसामाजिक स्वास्थ्य कार्यक्रम पनि समावेश गरी सञ्चालन गरिएको उल्लेख छ ।  वैदेशिक रोजगारीमा संलग्न श्रमिक नेपालीको स्वास्थ्यलाई ध्यान दिँदै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको हेल्थ डेस्कमा सन्देश मूलक सामग्रीहरू राखिएको, वीर अस्पतालबाट प्रदान हुँदै आएको दूर चिकित्सासेवालाई थप प्रभावकारी बनाइ माघ महिनामा मात्रै ३ सय २८ जनालाई सेवा दिइएको शुक्रराज अस्पतालमा वैदेशिक रोजगार पूर्व प्रस्थान र वैदेशिक रोजगार फिर्तापश्चातका चरणमा सेवा दिने गरी ट्राभल मेडिसिन  क्लिनिक सञ्चालनमा ल्याएको उल्लेख छ । त्यस्तै, स्वास्थ्य बीमा सुधारका लागि मन्त्री शर्माले २० बुँदे सुझावहरू कार्यान्वयनका लागि सम्बन्धीत निकायहरूसँग समन्वय भइरहेको उल्लेख गरेकी छिन् । बीमा बोर्डको संरचनात्मक तथा कार्यगत अवस्था विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण को स्वीकृती अन्तिम चरणमा पुगेको, सातवटै प्रदेशका स्वास्थ्य सचिवहरूसँग छलफल गरी आगामी आर्थिक वर्षदेखि स्वास्थ्यबीमाको कोषमा सबै तहका सरकारले आआफ्नो क्षेत्रमा भएको खर्चको अनुपातमा सहयोग गर्ने निर्णय गरेको उल्लेख छ ।  त्यस्तै, मन्त्रीले मन्त्रालयमा आएका नागरिकलाई प्रत्यक्ष असर पार्ने ६ सय ६९ वटा जनगुनासो सम्बोधन गरिएको, विभिन्न सात देशका राजदूत तथा कुटनीतिक  निकायका पदाधिकार विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतका दातृ निकायका पदाधिकारीसँग छलफल गरी स्वास्थ्य क्षेत्रको सुदृढिकरणका विषयमा छलफल गरेको उल्लेख छ।