सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइपछि हाजिर जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशमा पाण्डेलाई प्रतिनिधित्व गर्ने कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा राख्ने, देश छोडेर बाहिर जानु परेमा अदालतको अनुमति लिनुपर्ने तथा अनुसन्धान तहकिकातका क्रममा आवश्यक परेका बखत उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ । साथै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा राखी आरोपित कसुरको अनुसन्धान अघि बढाउन आदेश दिइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्मार्ट टेलिकमको विषयलाई लिएर पाण्डेलाई गत वैशाख २९ गते पक्राउ गरेको थियो । पाण्डेका पत्नी निरु दाहालले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै गत वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

Share News