प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता, ग्राहकलाई होटलमा छुट
काठमाडौं । प्रभु बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाडौंस्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो । र्याडिसन होटल, काठमाडौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको पाँच तारे होटल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंककका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाडौंका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आवद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सपका साथै र्याडिसन होटल काठमाडौंले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।
राजदूत नियुक्ति समावेशी भएन : सांसद परियार
काठमाडौं । नेपाली कांग्रेस सांसद जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजदूत नियुक्ति गर्ने सरकारको निर्णय संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । ‘हिजोको मन्त्रिपरिषद्को बैठकले एउटा निर्णय गरेको छ। उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्न चाहन्छु,’ उनले भने, संविधानको धारा २८२ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने उल्लेख छ भने धारा २८३ मा समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्नुपर्ने संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने उल्लेख छ।’ सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी भएको छ । बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सेयर बजार ३५ अंकले बढ्दा होटल र फाइनान्समा उछाल, १७ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६६९.६५ को विन्दुमा कायम भएको छ । मंगलबार १८९ कम्पनीको सेयर बढेको छ भने ४७ कम्पनीको सेयर घटेको छ भने ७ कम्पनीको सेयर स्थिर रहेको छ । सेयर बढे पनि कारोबार रकम भने घटेको छ । दिनभरिमा ३२९ कम्पनीको १७ अर्ब २६ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । लगानीकर्ताहरू होटल तथा पर्यटन समूह र फाइनान्स समूहमा झुमिएका छन् । सो समूहहरू क्रमश ५.९९ र ५.९८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै बैंकिङ समूह ०.७६ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयर रिइन्स्याेरेन्स सेयर कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख रुपौयाँको सेयर कारोबार भएको छ । मंगलबार प्रोग्रेसिप फाइनान्स, बरुण हाइड्रोपावर, सानजेन जलविद्युत, नेपाल वेयरहाउसिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा एशियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
बेरुजु नरहोस् भन्नेमा सरकारको जोड छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बेरुजु नरहोस् भन्नेमा जोड दिएर काम गरिरहेको बताएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । बेरुजुको मात्रा बढी देखाएर केही फाइदा नरहेको भन्दै डिक्लियर बेरुजुलाई कसरी समाधान गर्ने भन्नेमा संसदमा छलफल गरिरहेको उनले बताए । उनले त्रिभूवन विश्वविद्यालयको बेरुजु नबढेको पनि बताए । उनले अहिले त्रिविको बेरुजु २८ अर्बको देखिए पनि २ वर्षको सम्परीक्षण गर्न नपाउँदा ६ अर्ब बढी बेरुजु देखिएको बताए । उनले २ वर्षको सम्परीक्षण गर्ने हो भने २२ अर्बमात्रै बेरुजु रहेको बताए । बेरुजु बढेर भयावह स्थिति भएको नभइ पहिलाको स्थितिमा खासै सुधार ल्याउन नसकिएको बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्दा कुनै समस्या नआउने पनि स्पष्ट पारे । अन्तिममा प्रधानमन्त्रीमै गएर समस्याहरू जुध्ने भएकाले विश्वविद्यालयका समस्या विभिन्न ठाउँमा पुर्याइ धाइरहनुभन्दा प्रधानमन्त्री नै कुलपति भएको खण्डमा सिधा सम्पर्क रहने जिकिर गरे ।
जसरी पनि यो सरकारलाई सफल बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए । ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन् । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’ उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन । हामीले सफलताको संकेत चालु आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।’ यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकदिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुने बताए । ‘त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,’ प्रधानमन्त्री ओलीले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले काम गर्न निर्देशन दिए ।
समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रविधिमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘बोक्सी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिबद्ध छ । सति प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ,’ उनले मुलुक राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रुपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हलिया, छाउपडी, हरवाचरवा र कम्लरी प्रथालाई पनि पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा उनले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरे ।
सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?
काठमाडौं । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनेर प्रश्न गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकको शून्य समयमा उनले भने, ‘स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’ गत आर्थिक वर्षमा १ लाख १२ हजार ४ सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्यांक पेस गदै उनले यसका लागि १ खर्ब ५२ करोड रुपैयाँभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए । विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसईई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख गरे । राष्ट्रिय सभाको बैठकमा अधिकांश सांसदहरुले विपत व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारकालाई ध्यानर्काषण गराएका छन् ।