१ लाख कित्ता सेयर बेच्दै नेशनल लाइफ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दिवश विक्रम शाहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । शाहले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
लघुवित्तको असल कर्जामा १.१ प्रतिशत मात्र जोखिम व्यवस्था
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै असल वर्गमा वर्गीकरण कर्जामा १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम राख्न भनेको हो । यो व्यवस्था चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि सोही वर्गको कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गनुपर्ने थियो । कर्जा नोक्सानी व्यवस्था घटाएसँगै लघुवित्तको नाफा पनि बढ्ने देखिन्छ । तर, अन्य कर्जा वर्गीकरणमा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा भने कुनै संशोधन गरिएको छैन । लघुवित्तहरूले सूक्ष्म निगरानी वर्गमा वर्गीकरण कर्जामा ५ प्रतिशत, कमसल वर्गमा वर्गीकरण कर्जामा २५ प्रतिशत, शंकास्पद वर्गीकरण कर्जामा ५० प्रतिशत र खराब वर्गीकरण कर्जामा १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने हुन्छ ।
हिमालयन लाइफबाट म्यूचल ट्रेडिङ र हिमालयन एक्जिम बाहिरिँदै
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सबाट दुई संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी म्यूचल ट्रेडिङ कम्पनी प्रालि र हिमालयन एक्जिम प्रालि बाहिरिने भएका हुन् । यी दुई कम्पनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये म्यूचल ट्रेडिङ कम्पनीले २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिम २ लाख २७ हजार ८५५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीले बिक्रीमा राखेको उक्त सेयर खरिद गर्न इच्छक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस सो अवधिमा संस्थापकको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
यूरो र डलरको मूल्य घट्यो, यस्तो छ विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १७ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२६ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४४.८३ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४८ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६५ रुपैयाँ र बिक्रीदर ९७.०८ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.०९ रुपैयाँ र बिक्रीदर २९.२२ रुपैयाँ तोकिएको छ । हिजो साउन १६ गते अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ, युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७९ रुपैयाँ र बिक्रीदर १७२.५६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.४१ रुपैयाँ र बिक्रीदर ८७.८० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ थियो । यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.९२ रुपैयाँ र बिक्रीदर २९.०५ रुपैयाँ थियो ।
५ प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ बिहीबार र शुक्रबारको मौसम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । आज रात देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । गए राति पनि विभागले एक सूचना निकालेर कोशी प्रदेशका धेरै स्थान तथा मधेस र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो ।
पेट्रोल/डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घटेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । घटेको मूल्य बिहीवार बिहान १ बजेदेखि लागु हुने निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।
राष्ट्र बैंकले गर्यो नयाँ २० व्यवस्था, बैंकको नाफा के हुन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयज गर्नका लागि बैंक तथा वित्तीय संस्थाका ालगि परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै विभिन्न नयाँ व्यवस्थाहरु लागु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.१० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था गरेको छ । उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२७५प्रतिशत, दोस्रो वर्ष ०.५५ प्रतिशत, तेश्रो वर्ष ०.८२५ प्रतिशत र चौथो वर्षदेखि १.१० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ । यस्तै, रेशम, जुट, कपास लगायतका कृषि खेती र व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलपूmल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेश्रो वर्षदेखि १.१० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएका परियोजनाको उत्पादन क्षमता विस्तार हुने सुनिश्चित भई लगानीमा हुने वृद्धि वा अन्य लागतमा वृद्धि जस्ता कारणले सुरुमा तोकिएको कर्जा भुक्तानी गर्ने अवधिमा कर्जा चुक्ता गर्न सक्ने स्थिति नरहेका ऋणीमध्ये राष्ट्रिय प्राथमिकतामा रहेका हाईड्रोपावर, केवलकार, सिमेन्ट, तारे होटल वा अन्य पूर्वाधार निर्माणसम्बन्धी परियोजनाहरुलाई देहायका शर्त पूरा गरी पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरेको अवस्थामा १.१० प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरिएका कर्जालाई असल कर्जाको रुपमा वर्गीकरण गर्न सकिनेछ । यस्तै, कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) वर्गीकरण भएकोमा उक्त कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी भई किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि असल वर्गमा स्तरोन्नती हुनेगरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । निष्कृय वर्गमा वर्गीकरण भएका कर्जाको किस्ता र व्याज आशिंक भुक्तानी भई निष्कृय वर्गमै रहने अवस्थामा सोही वर्गभित्र स्तरोन्नती गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । ‘चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालूपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न नपाइने र मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदखि मात्र लागु हुने व्यवस्था राष्ट्र बैंले गरेको छ । बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्ने समयावधि थप गर्नुपर्नेछ । यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज÷शुल्क÷हर्जाना÷ब्याजको ब्याज लिन पाइने छैन । तर छुट पाउने अवधिभित्र कर्जाको साँवा÷ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले बाधा पु¥याएको नमानिने राष्ट्र बैंकको भनाइ छ । चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा समावेश नगरिने पनि राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर (बैंकदर) ६.५ प्रतिशत कायम गरेको छ भने ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३.० प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ५.० प्रतिशत कायम गरेको छ । [pdf id=501056]
सुधिर बस्नेतले भने : ६ महिनाभित्र बचतकर्ताको पैसा फिर्ता गर्छु
काठमाडौं । ओरियन्टल कोअपरेटिभका अध्यक्ष सुधिर बस्नेतले ६महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेका छन् । बुधबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको छलफल उनले यस्तो प्रतिबद्धता गरेका हुन् । उनले समय पाएर सहयोग हुँदा २ अर्ब ८० करोडमध्ये १ अर्ब ८० करोडको समाधान ६ महिनाभित्र र बाँकी पनि समाधान गर्नसक्ने प्रतिबद्धता व्यक्त गरेको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् । बस्नेतले समितिसमक्ष सहयोग र उपयुुक्त वातावरण निर्माण गर्न पनि आग्रह गरेको थापाको भनाइ छ । समितिले आफ्नो २६ औं बैठक बुधबार ओरियन्टल कोअपरेटिभका अध्यक्ष बस्नेतसँगै उनका कानुन व्यवसायी मधुकुमार चौलागाईंसँग गरेको छ । विगत १२ बर्षदेखि समस्याग्रस्त सहकारीका रूपमा हाल व्यवस्थापन समितिअन्तर्गत रहेको ओरियन्टल, कोहिनुर हिल, कन्जुमर, भेगास , प्यासिफिक लगायत ५ वटा सहकारी संस्थाले वचत फिर्ता सम्बन्धमा के गरिरहेका छन् ? भन्ने विषयमा समितिले उनीसँग जवाफ माग गरेको थियो । समितिको जिज्ञासको जवाफ दिँदै बस्नेतले छिटोभन्दा छिटो सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेका हुन् ।