विद्युतीय व्यापारसम्बन्धी कानुन अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथासक्य छिटो अन्तिमरूप दिन अनुरोध गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा उनले विद्युतीय व्यापारसम्बन्धी कानुन आवश्यकता मात्र नभएर अनिर्वाय भएको भन्दै विधेयकलाई अन्तिमरूप दिन अब ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे । विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा समितिमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँगको छलफलका क्रममा मन्त्री भण्डारीले भने, ‘मन्त्रालयका तर्फबाट आएको प्रस्ताब हुबहु पारित हुनैपर्छ भन्ने छैन ।’ मिहीन ढङ्गबाट दफावार छलफलसहित विद्युतीय व्यवसायलाई सहयोग र सहजीकरण गर्ने गरी समसामयिक र कार्यान्वयनमुखी विधेयक आउने विश्वास व्यक्त गरे । ‘यो कानुन बनाउन जति ढिला भयो उति नै हाम्रो व्यापार नीति प्रवद्र्धनमा समस्या आउँछ,’ मन्त्री भण्डारीले भने, ‘हामीले जति सक्दो चाँडो यो कानुन बनाउन सक्यौँ त्यति नै हाम्रो व्यापार घाटा कम, स्वदेशी उत्पादनमा वृद्धिसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्ने देखिएकाले यथासक्य छिटो सर्वसम्मतिबाट विधेयकलाई अन्तिमरूप दिन सबैसँग अनुरोध गर्दछु ।’ सो बैठकमा संशोधनकर्ता मनिष झा, दामोदर पौडेल बैरागी, प्रेम सुवाल र नारायणी शर्माले उक्त विधेयकमाथि राखेकाे संशोधनमाथि छलफल भएको थियो । संशोधनकर्ता सांसदहरूले विद्युतीय व्यापारमा संलग्न पक्षलाई निरुत्साहित हुने गरी नियन्त्रणमुखी कानुन बनाउन नहुने सुझाव दिए । संशोधनकर्ता झाले उद्यमशीलता अभ्यास गरिरहेकालाई कैद सजायको व्यवस्था गरेर निरुत्साहित गर्न नहुने बताए । ‘सामान्य नाङ्लो पसल थापेर उद्यमशीलताको अभ्यास गरिरहेकालाई निरुत्साहित नगर्न र सजाय नराखी जरिवाना एवं क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ,’ उनले भने । अर्का, संशोधनकर्ता सुवालले स्वदेशी पुँजी र उत्पादनको कारोबार बढ्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाललाई विदेशी व्यापार गर्ने थलो मात्र नबनाऔँ, यस विद्युतीय व्यापारबाट हाम्रो आफ्नो उत्पादनलाई विश्व बजारमा कसरी चिनाउन सकिन्छ ? त्यसतर्फ पनि ध्यान दिनुपर्यो ।’
नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेस गर्छौं : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेस गर्ने बताएका छन् । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको संगठनलाई सुदृढ,गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानून निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारे । उनले सरकाले सशष्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेश गर्ने भएकाले त्यसलाई गम्भिर र अर्थपूर्ण रुपमा छलफल गरेर निष्कर्षमा पुर्याउने काममा लाग्न पनि संसदीय समितिहरुलाई आग्रह गरे । मुलुकको शान्ति सुरक्षा र अमनचैन कायम हुनेगरी सरकारले कानून निर्माणको कामलाई प्राथमिकता दिएको गृहमन्त्री लेखकको भनाई थियो । गृहमन्त्री लेखकले कर्मचारी सरुवा हुने कुरालाई सामान्य रुपमा लिन पनि सांसदहरुलाई आग्रह गरे । सरुवालाई सरुवाको रुपमा बुझ्दा सही हुने र त्यसले देश र जनताको पक्षमा काम गर्न सरकारलाई पनि सहयोग पुग्ने उनले बताए ।
१८ देशका लागि प्रस्तावित राजदूतको नाम सार्वजनिक (सूचीसहित)
काठमाडौं । सरकारले १८ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतको सूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । सरकारले चीन, अस्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने निर्णय पनि गरिसकेको छ । प्रस्तावित राजदूत र देश १. डा. शंकरप्रसाद शर्मा – भारत २. कान्ता रिजाल – अस्ट्रेलिया ३. नरेशविक्रम ढकाल – साउदी अरेबिया ४. प्राडा कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका ५. धनप्रसाद पण्डित – इजरायल ६. रामकृष्ण भट्टराई – श्रीलंका ७. सनिल नेपाल – स्पेन ८. डा. शैल रुपाखेती – जर्मनी ९. लोकदर्शन रेग्मी – अमेरिका १०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य ९बेलायत० ११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया १२. जंगबहादुर चौहान – रुस १३. रमेशचन्द्र पौडेल – कतार १४. प्राडा. कृष्णप्रसाद ओली – चीन १५. सुम्निमा तुलाधर – डेनमार्क १६. नेत्रप्रसाद तिम्सिना – मलेसिया १७. प्रकाशमणि पोखरेल – पोर्चुगल १८. रीता धिताल – पाकिस्तान
विदेशी पर्यटक निर्वाध रुपमा गड्डाचौकी हुँदै भारत जान पाउने
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान(डिपार्चर) खुला गरेको छ । १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन(इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो । कोराना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो । केन्द्रबाटै केही सीमा नाका मात्रै भारत तर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस बेलादेखि रोकिएको उनको भनाइ छ । विदेशी पर्यटकका लागि सीमा नाका खुला गरिएकाले पर्यटकलाई पठाउनका लागि भारतीय अध्यागमन कार्यालयले जानकारी दिएको कार्यालय प्रमुख भट्टले बताए । ‘भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमा नाका हुँदै भारततर्फ जाने पर्यटको सङ्ख्या तीन वर्षदेखि ठप्प रहेको थियो’, कार्यालय प्रमुख भट्टले भने, ‘सीमा नाका भारतले खुला गरेपछि पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।’ भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटका लागि भने सीमा नाका खुला रहेको थियो । भारतीय अध्यगमन कार्यालयबाट विदेशी पर्यटकलाई प्रवेश दिएसँगै पर्यटकलाई प्रस्थान अनुमति दिन सुरु गरिएको छ । रासस
सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले अपेक्षा गरेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकरुलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड र डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिएपछि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले अपेक्षा गरेको छ ।
मुक्तिनाथ विकास बैंकको सञ्चाकलमा आचार्य
काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई साउन १६ गतेदेखिनै लागु हुने गरी ४ वर्षको कार्यकाल रहने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव डण्डपानी ढकालले जानकारी दिए । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेश एडमीनटेसन विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।
नेप्से ६४ अंकले बढ्दा काराेबार २२ अर्ब नजिक
काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा कायम भएको छ । सेयर बढेसँगै कारोबार रकम पनि बढेको छ । दिनभरिमा ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । सो समूह ८.०८ प्रतिशतले बढेको छ । सूचीकृत १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । कारोबार रकमको आधारमा आजपनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ८४ करोड ४९ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।