लगानी बोर्डबाट बाहिरिए सीईओ भट्ट
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बाहिरिएका छन् । उनले लगानी बोर्डको सीईओको रुपमा ४ वर्षे कार्यकाल सकाउँदै बाहिरिएका हुन् । उनले आफ्नो चार वर्षे कार्यकालमा सहयोग गर्ने संघ संस्थालाई धन्यवाद दिँदै बाहिरिएका हुन् । ‘यस अवधिमा मलाई मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षज्यूप्रति कृतज्ञ छु, अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्षज्यू, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, लगानी बोर्डका सदस्यज्यूहरु तथा समग्र लगानी बोर्ड परिवारप्रति आभारी छु’, उनले भनेका छन्, ’लगानी बोर्डको काम कारवाहीलाई परिणाममुखी र प्रभावकारी बनाउन यहाँहरुबाट प्राप्त सहयोगको उच्च कदर गर्दछु ।’ उनी २०७७ साउन १९ गते लगानी बोर्डको सीईओमा नियुक्त भएका थिए ।
सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ५० हजार पुग्यो
काठमाडौं । सुनको भाउले नयाँ रकर्ड राखेको छ । आज सोमबार तोलाको ३ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य एक लाख ५० हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कास्कीमा ६४९ नयाँ उद्योग थपिए, ५७ जनालाई रोजगारी
फाइल फोटो कास्की । जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार रुपैयाँ पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए । उनका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् । सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ । यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । ‘नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्’, कार्यालय प्रमुख ढकालले भने । कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् । यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । रासस
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक समिक्षा सम्पन्न
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वर्षको वार्षिक सम्पन्न गरेको छ । कम्पनीले समिक्षा तथा आव २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो । साउन १८ र १९ गते चितवनको सौराहामा सम्पन्न भएको उक्त कार्यक्रम कम्पनीका सञ्चालक गणेश राज पन्तको अध्यतामा सञ्चालन भएको हो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभागिय प्रमुखहरु, शाखा प्रवन्धक तथा मार्केटिङमा आवद्ध कर्मचारी समेतको उपस्थिति रहेको थियो । कम्पनी सचिव राजेन्द्र पाठकले सञ्चालन गरेके उक्त कार्यक्रममा गत आव को उपलब्धि समिक्षा तथा आगामी रणनीतिका वारेमा महाप्रवन्धक अभिम डंगोलले आफ्नो प्रस्तुती राखे । सम्पूर्ण शाखा प्रवन्धकहरुले कम्पनीको आगामी योजनाअनुसार अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले कम्पनीको स्थापनादेखि हालसम्मको सम्पूर्ण वस्तुस्थितिको बारेमा जानकारी गराउदै व्यापार व्यवसाय वृद्धिका साथ साथै प्रचलित नियम कानुनको पूर्ण पालना गर्नु आफ्नो प्राथमिकता रहेको भन्दै सम्पूर्ण विभागिय प्रमुख तथा शाखा प्रमुख समेतलाई हाल सम्मको उपलब्धिका लागि धन्यवाद व्यक्त गरे । यस्तै उनले कम्पनीको समग्र स्थिति तथा प्राथमिकताको क्षेत्र र कम्पनीको आदर्श बाक्यको वारेमा छलफल गर्दै लक्षित वर्ग तथा उनिहरुका जोखिमलाई प्राथमिकतामा राखेर बीमालेख जारी गर्न सम्पूर्ण शाखा प्रवन्धकहरुलाई आग्रह गरेका छन् । कार्यक्रमकको समापनमा बोल्दै सञ्चालक गणेश राज पन्तले यस कार्यक्रममा आफु सहभागी भएर कम्पनीको समग्र वस्तुस्थिति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको तथा यस कम्पनीले विगतमा गरेको प्रगतिमा आफुलाई सन्तुष्टि मिलेको र विहानीले दिनको झझल्को दिन्छ भने झै आगामी दिनहरुमा अझ प्रगति गर्नेमा आफु विस्वस्थ रहेको कुरा व्यक्त गरे। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघु निर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल सम्म २९ वटा कार्यालय मार्फत लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।
सकसमा पनि यी आधा दर्जन बैंकले घटाए खराब कर्जा, कुनको कति ?
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको खराब कर्जा औसत साढे १७ प्रतिशत बढेको देखिन्छ । गत असारसम्म बैंकहरूको औसत एनपीएल १७.५६ प्रतिशत बढेर ४ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा औसत ३ प्रतिशत मात्रै खराब कर्जा थियो । समीक्षा अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा अत्यधिक बढेको छ । यस बैंकको खराब कर्जा २८७.५ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा एनआईसी एशियाको खराब कर्जा ०.८८ प्रतिशत बिन्द मात्रै थियो । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८१.३५ प्रतिशत बढेर २.१४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ६०.६१ प्रतिशत बढेर ३.६३ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको ५७.८५ प्रतिशत ४.७२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ३८.७३ प्रतिशत बढेर ४.३७ प्रतिशत बिन्दु, सानिमा बैंकको ३२.०६ प्रतिशत बढेर १.७३ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । कृषि विकास बैंकको ३४.७४ प्रतिशत बढेर ३.४४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २० प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, एनएमबि बैंकको १८.९० प्रतिशत बढेर ३.२७ प्रतिशत बिन्दु, नेपाल बैंकको १५.०८ प्रतिशत बढेर ३.२८ प्रतिशत बिन्दु, नबिल बैंकको १३.५६ प्रतिशत बढेर ३.८५ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १०.४४ प्रतिशत बढेर २.२२ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ९.०३ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । तर, गत वर्ष विभिन्न ७ बैंकले भने खराब कर्जा घटाएका छन् । जसमध्ये कुमारी बैंकको ०.२० प्रतिशत घटेर ४.९५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ०.४० प्रतिशत घटेर ४.९१ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ३.१८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, प्राइम बैंकको ३.७१ प्रतिशत घटेर ४.६७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०१ प्रतिशत घटेर ४.७८ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १०.१२ प्रतिशत घटेर ०.७१ प्रतिशत बिन्दु र नेपाल एसबीआई बैंकको १७.३५ प्रतिशत घटेर २ प्रतिशत बिन्दुमा एनपीएल झारेका छन् ।
साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।’ पशुपतिनाथ दर्शनका लागि आज बोलबम यात्रामा निस्केकाहरू दर्शनार्थी सहभागी रहेका प्रवक्ता अधिकारीले बताए । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए । ‘साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ’, उनले भने, ‘बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।’ यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
बैंकहरुको लाभांश क्षमता ५.८५ प्रतिशत, एभरेष्ट र स्ट्याण्डर्डको उच्च, ४ बैंकका सेयरधनीको हात खाली
काठमाडौं । बैंकहरुको औसत लाभांश क्षमता ५.८५ प्रतिशत देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता ५.८५ प्रतिशत देखिएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको औसत लाभांश क्षमता ९.६५ प्रतिशत थियो । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको देखिएको छ । एभरेष्टको लाभांश क्षमता २९.८६ प्रतिशत छ भने स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता २६.५ प्रतिशत छ । यस्तै, नबिल बैंकको १४.२६ प्रतिशत, नेपाल एसबिआईको १०.७६ प्रतिशत र सानिमाको १०.४ प्रतिशत लाभांश क्षमता छ । अन्य ११ बैंकको लाभांश क्षमता एक अंकमा छ । यस्तै, कुमारी, हिमालयन, एनआईसी एशिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि यी बैंकले लाभांश वितरण गर्न सकेका थिएनन् । अघिल्लो वर्ष एनआइसी एशिया बैंकको लाभांश क्षमता ३०.५६ प्रतिशत रहेको भए पनि नियामकीय प्रावधानका कारण बैंकका सेयरधनीले लाभांश पाउन सकेका थिएनन् ।
हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेर सो नाफा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोष २२ अर्ब ४३ करोड रुपैया सञ्चित छ । यस्तै बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने ४.९१ प्रतिशत कायम भएको छ ।