विकासन्युज

पाकिस्तानले संस्थानहरू निजीकरण गर्ने, निजीकरण नभए बन्द गर्ने

काठमाडौं । आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्थाहरू निजीकरण गर्न प्राथमिकता दिने भएको छ । एआरवाई न्यूजले स्रोतहरूलाई उल्लेख गर्दै पाकिस्तानका सार्वजनिक संस्थान निजीकरण विफल भएको अवस्थामा बन्द गर्ने रजनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएको हुन् । मन्त्रालयले पाकिस्तान स्टोन डेभलपमेन्ट कम्पनी, पाकिस्तान अटोमोबाइल कर्पोरेशन र पाकिस्तान इन्स्टिच्युट अफ म्यानेजमेन्टलगायत निजीकरणका लागि धेरै संस्थाहरू पहिचान गरेको छ । निजीकरणका लागि निर्धारित अन्य संस्थाहरूमा खादी शिल्प विकास कम्पनी, कृषि खाद्य प्रशोधन कम्पनी, छाला शिल्प विकास कम्पनी र मोराफिक उद्योगहरू रहेका छन् । सरकारले दक्षिणी पञ्जाब एम्ब्रोइडरी उद्योग, गुजरनवाला बिजनेस सेन्टर, पाकिस्तान केमिकल एन्ड एनर्जी सेक्टर स्किल्स डेभलपमेन्ट कम्पनी र स्पिन यार्न रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीलाई पनि निजीकरण गर्ने योजना बनाएको छ । डनको रिपोर्टअनुसार अगस्ट ३० मा निजीकरण आयोगका सचिव उस्मान अख्तर बाजवाले निजीकरणसम्बन्धी सिनेटको स्थायी समितिलाई ऋणमा डुबेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स .पिआइए) को निजीकरण प्रक्रिया अक्टोबर १ सम्ममा पूरा हुने जानकारी दिए । मन्त्रिपरिषद्ले पाकिस्तान मिनरल डेभलपमेन्ट कर्पोरेशन र सैन्डक मेटल्स लिमिटेड (एसएमएल) लाई निजीकरण गर्न स्वीकृति दिएको छ । निजीकरण प्रक्रियाअन्तर्गत पेट्रोलियम डिभिजनको विभाग इएनएआर पेट्रोटेक सर्भिसेज प्रालि विघटन हुनेछ । यद्यपि सरकारले पेट्रोलियम डिभिजनअन्तर्गत पाकिस्तान स्टेट आयल (पिएसओ), पाक–अरब रिफाइनरी लिमिटेड र सुई ग्यास कम्पनीहरू लगायत अन्य विभागहरूको भाग्यको बारेमा निर्णय गर्न बाँकी छ ।

सिङ्गापुर डलरको भाउ १०४.७७ रुपैयाँ हुँदा हङ्कङको १७.२७ रुपैयाँ, कुन देशको कति ?

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१८ रुपैयाँ र बिक्रीदर १४९.८५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.७२ रुपैयाँ र बिक्रीदर १७९.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.९८ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.२४ रुपैयाँ र बिक्रीदर ९२.६५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.८७ रुपैयाँ र बिक्रीदर ९९.३२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.३० रुपैयाँ र बिक्रीदर १०४.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.२० रुपैयाँ र बिक्रीदर १०.२४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२४ रुपैयाँ र बिक्रीदर १३.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर २०.०१ रुपैयाँ र बिक्रीदर २०.१० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४६ रुपैयाँ र बिक्रीदर ३५६.०५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

एनएमबि बैंकको पौने २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापकको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । इच्छुकले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । यदि ३५ दिनभित्र संस्थापकले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

बाढीपहिरोमा परी १९२ को निधन, अझै ३० जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।

सिटिजन्सले घोषणा गर्याे ३ वटा म्युचुअल फण्डको लाभांश

काठमाडौं । सिटिजन्स क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यािपटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो । गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सिटिजन्स म्युचुअल फण्ड १ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । लाभांश वितरण प्रयोजनार्थ तीन म्युचुअल फण्डको लागि असोज १३ गते एक बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कारोबार भइ कायम इकाइधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

आज सेयरधनी बने कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पाइने

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्दैछ । त्यसैले आज असोज १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले असोज ३० गते बुधबार बिहान साढे १० बजे नक्साल काठमाडौंमा १८औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै बैंकको सभाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी नाफा भएको वर्ष वितरण गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा, किन भयो भारी वर्षा ?

काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ । विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौं विमानस्थलको वर्षामापन केन्द्रले २३९.०७ मिलिमिटर बर्षा भएको जनाएको छ । बुढानिलकण्ठमा १७८.०३ मिलिमिटर, जितपुरफेदीमा १७८.०३ मिलिमिटर, नागार्जुनमा २०५.०५ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले १९४.०५ मिलिमिटर वर्षा भएको मापन गरेको छ । ललितपुरको गोदावरीमा ३११.०६ं, खुमलटारमा २९४.०४ मिलिमिटर, टिकाथलीमा २६४ मिलिमिटर वर्षा हुँदा खोकनामा २९७.०३ मिलिमिटर र चापागाउँमा ३२३.०५ मिलिमिटर बर्षा भएको रेकर्ड गरिएको छ । औसतमा २४ घण्टामा के कति मात्रामा पानी पर्यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् । असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । एकैपटक आरीबाट घोप्ट्याए जसरी वर्षा हुँदा ठूलो जनधनको क्षति हुन पुगेको हो । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा ४१० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा ३३१.०६ मिलिमिटर वर्षा मापन गरिएको छ । विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो । पछिल्ला वर्षहरुको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ । विभागका अनुसार पछिल्ला सात वर्षको विवरण हेर्ने हो मनसुनको सुरुवाती चरण र अन्त्यतिर रेकर्ड ब्रेक गर्ने खालको वर्षा हुन थालेको छ । यो जलवायु परिवर्तनको असरका रुपमा लिन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ । विभागले उपलब्ध गराएको विवरण अनुसार सन्धिखर्कमा १९६.०६, चितवनको गोविन्दबस्तीमा २६४, धादिङको गजुरीमा २६१.०२, झापाको चन्द्रगढीमा २५६, काभेपलाञ्चोकको पाँचखालमा २३२.०५, धुलिखेलमा २२४.०६ मिलिमिटर वर्षा मापन गरिएको छ । नुवाकोटको ककनीमा १६९.०२, सिन्धुपाल्चोको बाहुनेपाटीमा १९०.०६, मकवानपुरको दामनमा ४१० मिलिमिटर वर्षा भएको छ । पाल्पाको बल्ड्याङगढीमा २५२, पाँचथरको फिदिममा १७२, तनहुँको सखरमा २१४ र तनहुँको खैरनीटारमा २५२.०३ मिलिमिटर बर्षा मापन भएको छ । वर्षाको प्रवृत्तिमा आएको बदलाव, पूर्वतयारी र जोखिम न्यूनीकरण गर्ने उपायको खोजी गर्न नसक्दा ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सावधानी अपनाउनु नै अहिलेको प्रमुख कार्यभार हुन जान्छ । पूर्वानुमानमा सफलता यसपटक विभागले गरेको पूर्वानुमान करिब मिल्न गएको छ । विभागले असोज १२ गते बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको पूर्वअनुमान गरेको थियो । त्यसअघि विभागले असोज ७ गते नै विशेष बुलेटिनमार्फत असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षा धेरै हुने भएकाले सचेतता अपनाउन आग्रह गरेको थियो । उच्च सतर्कता अपनाउन विभागले सूचित गर्दै २७ जिल्लालाई उच्च जोखिमको सूचीमा समेत राखेको थियो । विभागले सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला, मझौला र साना नदीमा जलसतह बढ्ने अनुमान गरेको थियो । यस्तै धानबाली नकाट्न र यात्रा गर्दा सावधानी अपनाउन, पूर्वतयारी गर्न सचेत गराएको थियो । ‘मास एसएमएस’ लाई व्यापक गर्ने तयारी विभागले हाल पठाउँदै आएको मास एसएमएस सेवालाई थप विस्तार गर्ने भएको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कर्माचार्यले एसएमसएस सेवालाई वडा तहसम्म पुर्याउने तयारी गरिएको जानकारी दिनुभयो । विभागले बाढीको सूचना एकैपटक जोखिम बढी भएको क्षेत्रमा पठाउने गरेको छ । अब त्यसलाई विस्तार गरेर वडा तहसम्म पुर्याउने र पूर्वसूचना प्रणालीलाई थप विस्तार गर्न लागेको उनको भनाइ छ । बर्षा बाढीको सूचना पठाउने गरिएका थप विपद्को जोखिमको बारेमा पनि जानकारी दिने गरी विभागले तयारी गरिरहेको छ । पूर्वसूचना उपलब्ध गराउने लक्ष्यका साथ मोबाइल एपको कामसमेत प्रारम्भ भएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए । ‘हामीले आगामी दिनमा पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाउन मोबाइल एप निर्माण गर्ने तयारी गरेका छौँ । यसबाट पूर्वसूचना प्रणाली थप व्यवस्थित हुनेछ,’ उनले भने । यसपटक विभागले समयमै सचेत गराएका कारण थप क्षति हुनबाट जोगिएको भए पनि सबै स्थानमा पूर्वसूचना पुग्यो वा पुगेन भन्ने बारेमा आवश्यक अध्ययन गर्ने जनाएको छ । कञ्चनपुरमा भएको थियो अति भारी वर्षा विभागका अनुसार गत असार २३ र २४ गते कञ्चनपुरमा अति भारी वर्षा भएको थियो । कञ्चनपुरको दोधारा वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर, हनुमाननगर वर्षामापन केन्द्रमा ५७३.०६ मिलिमिटर र सुन्दपुर वर्षामापन केन्द्रमा ५५५.०८ मिलिमिटर बर्षा मापन गरिएको थियो । यस वर्ष गत जेठ २८ देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन गत असार १४ गतेदेखि २४ गतेसम्म सक्रिय भएको थियो । त्यसक्रममा सूदूरपश्चिम प्रदेशको दक्षिण पश्चिम भूभागमा गत असार २३ र २४ गते अति भारी वर्षा भएको थियो । त्यसो त विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने जनाएको थियो । वायुमण्डलीय तथ्याङ्क, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम ‘मोडल’ बाट प्राप्त भएको मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट त्यस दिन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण पश्चिम भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो । उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुवैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको विभागले जनाएको थियो । विभागको विसं २००३ (सन् १९४७) देखिको तथ्याङ्कअनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको विवरणमा गत असारको बर्षा हालसम्मकै उच्च हो । विभागका अनुसार, विसं २०७४ साउन २९ गते हेटौँडा केन्द्रमा सबैभन्दा धेरै ५१६.०२ मिलिमिटर वर्षामापन भएको गरिएको थियो । भूसंरक्षण विभागको विवरणअनुसार, विसं २०५० साउन ५ गते मकवानपुर जिल्लाको टिस्टुङ वर्षामापन केन्द्रमा ५४० मिलिमिटर बर्षा मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आशिंकदेखि साधारणतया बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागमा एक दुई स्थानमा हल्का वर्षा हुनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक, कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले राससलाई जानकारी दिए । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौंका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ । यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा.माधव भट्टराईले जानकारी दिए । लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उनले सुनाए ।