काठमाडौंका बाढी पीडितको गुनासो : मेयर बालेनले वास्तै गरेनन्
काठमाडौं । काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् । सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरूले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे । काठमाडौं महानगरपालिकाले गरिबलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरूको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई थियो । कामीले भने, ‘सरकार हाम्रो अभिभावक हो । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो ।’ पीडितहरूले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरूको भनाई थियो । सरकारले आफूहरूको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरू तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताइन् । उनले भनिन्, ‘हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ । हामी बाध्यतावस बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’ अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारदेखि घरेलु उद्यमी मेला र दशैं महोत्सव आयोजना हुँदै
काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । यसअघि असोज १३ गते आइतबार तय भएको मेला प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्को कारणले गर्दा १६ गते बुधबारबाट गर्न लागिएको आयोजक पक्षले जनाएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उनले बताए । लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उनले जानकारी दिए ।
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना, अन्याय र विभेद भएको दाबी
काठमाडौं । आफूहरूमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरूले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरूले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् । कार्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा एयरहोस्टेसले सोमबार बिहान १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिएका छन् । झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा कार्यालय प्रमुखसहितका कर्मचारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको थिए । आफ्ना मागको सुनुवाइ नभएसम्म संघर्षका कार्यक्रम जारी रहने वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीले बताइन् । निगम व्यवस्थापनले भने एयरहोस्टेसको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ । ‘एयरहोस्टेसको पाँच वर्षको सम्झौताअनुसार काममा लगाइएको हो, उनीहरुको करार अवधि सकिएको छ । पुनः सेवा निरन्तरता दिन सकिन अवस्था छैन,’ निगमका एक उच्च अधिकारीले भने । सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेद्भाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै क्याबिन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेद्भाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो । निगमभित्रका १ सय ७२ जना क्याविन क्रु (एयरहोस्टेस) केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो । कर्मचारीहरूले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटी भेद्भाव रोक्नका लागि आवश्यक पहल गर्न सुझावपत्र दिएका थिए । सर्वोच्चमा समेत यो विषयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पूर्वाग्रहपूर्ण ढंगले कारबाही थालेको एयरहोस्टेसको आरोप छ । निगम परिसरमा कर्मचारीले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद् रोक, दमन गर्न पाइँदैन जस्ता प्ले कार्डसमेत बोकेका थिए ।
महिला प्रजनन् अंगमा हुने क्यान्सर समयमै उपचार गरे निको हुन्छ
महिलाहरूलाई मात्र देखिने स्वास्थ्य समस्याहरू धेरै छन् । किशोरी उमेर, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलामा फरक–फरक स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । महिलाहरूको प्रजनन्सम्बन्धी समस्याहरू पनि अनेक प्रकारका छन् । गाउँ र सहरका महिलाको आ-आफ्नै समस्या रहेको छ । महिलामा देखिने सयौँ किसिमका रोगहरूमध्ये प्रजनन् अंगमा आउने समस्या पनि प्रमुख हो । पछिल्लो समय महिलामा अत्यधिक मात्रामा क्यान्सर देखिएको छ । महिलाहरूमा मात्र झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको देखिन्छ । महिलाहरूको अण्डासय र डिम्बवहिनी नलीमा हुने क्यान्सर पनि फरक रहेका छन् । अण्डासयमा मात्र भिन्दाभिन्दै २५ देखि ३० प्रकारको क्यान्सरहरू देखिन्छ । संसारमा सबैभन्दा बढी स्तनको क्यान्सर हुने गरेको पाइन्छ । त्यसबाहेक महिला प्रजनन् अंगमा हुने संक्रमणसमेत उत्तिकै मात्रामा हुने गरेको पाइन्छ । जीवनशैली र रहनसहन फरक-फरक हुँदै जाँदा त्यहीअनुसार अरू रोगहरू पनि बढ्दै जाने गरेको पाइन्छ । सानो उमेरका किशोरीमा महिनावारी गडबडी हुने, अण्डहरू परिपक्क नहुँदा बिहे गरेपछि बच्चा नबस्ने समस्या, वृद्धाअवस्थामा क्यान्सर हुने सम्भावना पनि देखिने गर्दछ । महिलाहरूमा स्त्री रोगसम्बन्धी धेरै समस्याहरू देखिन्छन् । यो चाहिँ उमेर अनुसार फरक-फरक रोगहरू देखिने हुन्छ । किशोरी, महिला, बच्चा जन्माउने उमेरका महिला र महिनावारी सुक्न थालेको र सुकिसेका महिलाहरूमा फरक-फरक किसिमका स्वास्थ्य समस्या देखिन्छन् । सामान्य जस्तो देखिने फोहोर पानी बग्नेदेखि लिएर क्यान्सर जस्ता रोगहरू लाग्ने भएकाले यस्तै समस्या धेरै नै छन् भन्न सकिन्छ । शहरी क्षेत्रका महिलाहरूमा आफ्नो स्वास्थ्यसम्बन्धी चासो, स्वास्थ्य बीमा कार्यक्रमले ल्याएको जागरूकता जस्ता कारण समयमै उपचारका लागि अस्पताल आउने गरेको पाइन्छ भने गाउँघरका महिला भने जनचेतनाको अभावमा सहर बजारको तुलनामा कमै अस्पताल आउने गरेका छन् । महिला प्रजनन अंगका रोगमा केहीलाई छोडेर सबैमा सर्जरी गर्नुपर्छ भन्ने हुँदैन । प्रविधिको विकास भएसँगै नेपालका अस्पतालहरूले पनि विभिन्न किसिमका प्रविधिहरू भित्र्याएका छन् । महिला प्रजनन् अंगमा हुने क्यान्सर जस्ता केही रोगहरूको समयमै पहिचान गरेर उपचार गर्न नसके शरीरमा खतरा उत्पन्न हुन्छ । डा. पदमराज पन्त सबै ठाउँका मानिसहरू डाक्टरकोमा पुग्न नसक्लान तर स्वास्थ्यचौकी त सबै ठाउँमा हुने भएकाले त्यहाँ तालिम प्राप्त स्वयंसेविकारू हुन्छन् । त्यहाँ आफ्ना समस्याहरू देखाउन जानुपर्छ । अर्को निसन्तान हुनुहुने दम्पतीले स्वास्थ्यकर्मी कहाँ जादा महिला पुरुष दुवै जना जानुपर्छ । महिलाहरूले आफूलाई लागेका रोगहरू नलुकाउनुहोस् । सचेत भई अस्पताल गए समयमै रोगको उपचार हुन्छ । सामान्यतया १०० मा १५ जनाको सर्जरीबाट बच्चा निकालिन्छ । तर, नेपालमा आजभोलि सय जना मध्ये ५० प्रतिशतभन्दा बढी महिलाले अपरेसन गरेर बच्चा जन्माउने गरेको पाइन्छ । मानिसहरू रिक्स लिन चाहँदैनन् । मनिटरिङ धेरै हुन थाल्यो । जस्तो बच्चाको मुटुको ढुकढुकी अलिकति तलमाथि हुने बित्तिकै बच्चालाई खतरा छ अप्रेसन गराैं भनेर गरिहालिन्छ । प्रसव पीडा सुरु भो बच्चाले दिसा गरेछ अब दिसा खाने भो निकालौँ भनेर अप्रेसन गर्ने गरेका छन् । पहिलो बच्चा अप्रेसन गरिसकेपछि दोस्रो जन्माउने समयमा पहिलेको घाउ फुट्न सक्ने भएकाले पनि मानिसहरू जोखिम लिन चाहदैनन् र फेरि अप्रेसन गर्ने गरेको पाइन्छ । पाठेघरको बच्चा बस्ने ठाउँको क्यान्सर जुन अलि कम मात्रामा हुन्छ । विकसित मुलुकमा ढिला र कम उमेरमा बच्चा पाउने महिलालाई यो हुने गरेको छ । (डा. पन्त धापासी रहेकाे ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्री तथा प्रसुति रोग विभाग प्रमुख हुन् ।)
भाटभटेनीका अध्यक्ष गुरुङले गरे बाढी पीडितलाई एक करोड ११ लाख रुपैयाँ सहयोगको घोषणा
काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उक्त सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको बताएका छन् । पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको उनले बताए । उनले भने, ‘अहिले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको छु ।’ भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए । बिहीबारदेखि परेको अविरल वर्षापछि देशभरि १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् । अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।
प्रभावकारी रूपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महंगी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रूपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् । उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रूपमा अनुगमन गर्न निर्देशन दिएका हुन् । ‘बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महंगी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ,’ मन्त्री भण्डारीले भने । साथै, उनले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहुने बताए । यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसललाई सर्वसुलभ बनाउन निर्देशन दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । वाणिज्य मन्त्रालय मातहतका उक्त व्यापारिक संस्थालाई उपभोक्तामुखी भएर अत्यावश्यक दैनिक उपभोग्य सामानको मौज्दात बढाउन मन्त्री भण्डारीले द्वय प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । उनले भने, ‘उपभोक्ताले सर्वसुलभरूपमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु पाउनुपर्यो, सुपथ मूल्य पसल व्यवस्थित बनाउनु होला, पसल थप सञ्चालन गर्नुपर्ने भए त्यो पनि गर्नुस्, न्यूनतम मौज्दात कायम जुनसुकै हालतमा पनि हुनुपर्छ, मन्त्रालयले के सहयोग गर्नुपर्छ जानकारी गराउनूस् ।’ साथै, मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन दिए । यसैबीच, होटल संघ नेपालले निराधार रूपमा आफूखुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति जनाएको छ । ‘होटल संघसँग अनुगमन नगर्ने कुनै सहमति भएको छैन, बरु केही होटलहरूले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा अत्यावश्यक वस्तुको बेचबिखन गरिरहेका सूचना प्राप्त भएका छन्, अनुगमनलाई मन्त्रीज्यूले कडाइ गर्न निर्देशन गरिसक्नुभएको छ,’ मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले भने । यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग राज्यका प्रचलित कानुनबमोजिम नियमित बजार अनुगमन गर्ने कामलाई निरन्तरता दिँदै गुणस्तरीय वस्तुको उचित मूल्यमा सुलभ आपूर्तिको सुनिश्चितताका लागि हरदम प्रयत्नशील रहिरहेको जनाएको छ । विभागका प्रवक्ता डिकबहादुर काकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विभागले वर्षेभर गर्ने नियमित बजार अनुगमनका अतिरिक्त चाडपर्व लक्षित विशेष अनुगमनलाई अझ सशक्त र प्रभावकारी बनाएको, सार्वजनिक बिदामा समेत अनुगमन टोली परिचालन गरिएको र होटल तथा रेष्टुरेन्टलगायत सबै व्यापार व्यवसायमा विशेष अनुगमन गरिँदै आएको र यसलाई अझ सशक्त बनाइने व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ ।’
‘दजर्नौं ठाउँमा सयौं रोपनी जग्गा र ४१ वटा कम्पनीमा लगानी छ, प्रतिस्पर्धीको कारण समस्यामा परेँ’
काठमाडौं । तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष केदार शर्माले आफू प्रतिस्पर्धीको कारण समस्यामा परेको बयान दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समक्ष बयान दिँदै उनले आफू बचतकर्ताभन्दा पनि प्रतिस्पर्धीको कारण समस्यामा परेको बयान दिएका हुन् । उनले आफूँसँग ४१ वटा कम्पनी र विभिन्न सहरमा पनि सयौं रोपनी जग्गा रहेकोले जेलमुक्त हुनेबित्तिकै बचतकर्ताको बचत फिर्ता गर्न सकिने धारणा राखेका हुन् । उनले नेपालभरि शिवशिखर बहुउद्देश्यीय सहकारीका २६ वटा डिपार्टमेन्ट स्टोर, डरेलधुरामा लालिगुराँसको फुलबाट तेल उत्पादन गर्ने प्लान्ट, सोही स्थानमा फ्रेस भेजिटेवलको कोल्डस्टोर, कञ्चनपुरको बेलौरीमा खाद्यान्न संकलन केन्द्र रहेको बयान दिएका छन् । यस्तै, उनले तुल्सीपुर दाङमा सुठो प्रशोधन प्लान्ट, धादिङको गल्छिमा १८ रोपनी जग्गामा निर्माणाधीन मल्टी च्याम्बर कोल्ड स्टोर, भक्तपुर जिल्लामा ८ रोपनी १० आना, कोहलपुरमा साढे चार बिगाह जग्गा रहेको पनि जानकारी गराएका छन् । तुलसी बहुउद्देश्यीय सहकारीको झापा, गौरादह नजिक साढे चार विधामा राईस, चिउरा, मुरें, ब्रिकेट प्लान्ट रहेको बताउँदै झापाकै दमक बजारमा ६ तल्लाको तुलसी भवन, विराटनगर नेताचोकमा एक विगाहमा दाल प्लान्ट, उदयपुर गाईघाटमा ५ तल्लाको भवन, उदयपुरकै खाँबुमा ८६ रोपनीमा मल्टी फार्म रहेको बयान दिएका छन् । यस्तो छ उनको बयान आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस्। परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् । मेरो बाजे रवीलाल शर्मा, बुबा रत्नाखर शर्मा, आमा मनकुमारी शर्मा, मेरो नाम केदारनाथ शर्मा, मेरो श्रीमती गिता शर्मा हो । छोरा काल्स शर्मा र छोरी केनिया शर्मा पढाईको सिलसिलामा भारत, लखनाउमा बस्दै आएका छन् । मेरो स्थायी ठेगाना जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. ०३ कोहलपुर, हाल जिल्ला काठमाडौ, का.म.पा. वडा नं. ०४ सुकेधारा हो । बाँके जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । ना.प्र.नं. २१७३९/ बाँके हो । हाल म सहकारी ठगी मुद्दामा नख्खु कारागार कार्यालयमा छु । तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? मेरो शारीरिक अवस्था ठिक छ सोधिएका प्रश्नको जवाफ दिन सक्छु । तपाईं आवद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् । २०७६ सालसम्म शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष थिएँ । हाल म तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको निलम्बित अध्यक्ष हुँ । तुलसी बहुउद्देश्यीय सहकारी संस्था जिल्ला मोरङ्, बिराटनगर मुख्य कार्यालय रही सेवा केन्द्र झापा दमक, उदयपुर गाईघाट, सिराहा गोलबजारमा रहेका छन् । त्यस्तै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था मुख्य कार्यालय जिल्ला भक्तपुर, कौशलटारमा रही नेपालभर ३६ वटा शाखा कार्यालयहरू रहेका छन् । सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ? डिभिजन सहकारी कार्यालयका सेवानिवृत्त कर्मचारी हरी बशिस्टलाई कानूनी सल्लाकारको रूपमा राखेका थियौं । मलाई सहकारीमा संलग्न उहाँले नै गाउनुभएको हो । सम्पूर्ण कानूनी पाटो उहाँले भनेअनुसार हुने भएकोले सहकारी ऐन र प्रचलित कानून बमोजिम नै सहकारी सञ्चालन गरेका थियौ भन्ने लाग्थ्यो । अहिले कानुनअनुसार नभएको देखियो । सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ ? म २०५२ सालदेखि व्यापारमा आवद्ध थिएँ । कोहलपुरमा ढकाल किराना स्टोर स्थापना गरेको थिएँ । २०५८ मा काठमाडौं आई शान्तिनगरमा ओम शिव स्टोर, होलसेल पसल सञ्चालनमा ल्याएँ । २०६१ सालमा गोरखा टोबाको इन्डष्ट्री, नेपालगञ्जमा गोरखा टी ईन्डष्ट्री अर्जुनधारामा मुख्य कार्यालय काठमाडौंमा रहने गरी सञ्चालन गरेको थिएँ । तपाईं मुख्य सञ्चालक रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा को-को हुनुहुन्छ हुनुहुन्थ्यो ? म २०७६ सालसम्म शिवशिखर कृषी सहकारी संस्था लि.मा अध्यक्ष थिएँ । शिवशिखर कृषी सहकारी संस्था लि. र शिखरदीप सहकारी संस्था लि. मर्ज भएपश्चात् शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. नामकरण भई सोही संस्थामा म स्वयं अध्यक्ष थिएँ र २०७६ सालमा सधारणसभा गरी अध्यक्ष शुशिल बानियाँलाई बनाएका थियौं । त्यसैगरी उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्य पुस्कर मल्ल, अमिष राजभण्डारी, राजु साखकर्मी रहेका थिए । २०७५ सालदेखि म आवद्ध भएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि. मा म अध्यक्ष, उपाध्याक्ष अमिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरू छविलाल वि.क. बन्टी अधिकारी थिए । अन्य पदाधिकारीको नाम हाल मलाई याद भएन । सहकारीको बैठकमा हरी बशिस्ट जानु हुन्थ्यो, सबै कुरा उहाँलाई नै थाहा छ । हाल उक्त संस्थाहरू संचालनमा छन् छैन् ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ? हाल उक्त संस्थाहरू सञ्चालनमा छैनन् । समस्यामा पर्नुको कारण यी संस्थाहरू विगत १०/१५ वर्षदेखि सञ्चालनमा रहेका सहकारी हुन् । २ लाख २५ हजार भन्दा बढी शेयर सदस्य रहेको संस्थामा नेपालमा कोभिड आएपश्चात् काठमाडौंमा रहेका गैतमश्री र देउराली सहकारीमा समस्या आएपछि नेपालमा सहकारीमा बचत गर्दा होसियारी अपनाउने भन्ने नेपाल सरकारको आधिकारिक विज्ञापन नेपाल विज्ञापन बोर्डले विभिन्न मिडियाहरुबाट प्रकाशन गरेपछि धेरै बचतकर्ताहरूले एकै पटक बचत रकम फिर्ता माग्न आउँदा हाम्रो सहकारीले रकम फिर्ता दिन सकेन। बजारमा गरेका लगानी उठाउन नपाउँदा यो समस्या देखिएको हो । सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ? सञ्चालक समितिका सदस्यमा मेरो परिवार तथा नातागोता कोही पनी छैनन्, थिएनन् । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईंं अध्यक्ष रहेको सहकारीको संचालक समितिमा पनि छन् वा छैनन् थिए वा थिएनन् ? यदि थिए भने, उक्त कुरा कानुनसम्मत् हो, होइन ? खुलाइदिनुहोस् । २०७४ सालको ऐन नबन्दासम्म दुवै सहकारीमा म अध्यक्ष थिएँ । १ वर्षभित्र एउटा मात्र कायम गर्ने सुचना भएपछि आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारणसभापछि मैले शिवशिखर बहुउद्देश्यीय सहकारी छोडी तुलसी बहुउद्देश्यीय सहकारी संस्थामा मात्र अध्यक्ष रहेको थिएँ । तेजबहादुर तामाङ कल्याण उपकार सहकारीमा सञ्चालकमा रहेको कुरा अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट जानकारी पाएको थिएँ । अन्य कुनै पनि छैनन् । सहकारी संस्थाको सञ्चालक समिति साधारण सभाबाट चयन हुनुपर्नेमा तपाईंले सञ्चालकमा नाम राखिदिएका कारण कानूनी उल्झनमा आउनु परेको भन्ने गुनासो समितिमा आएको छ । यसबारे तपाईंको भनाई के छ ? विगतमा सहकारी राम्ररी चल्दा कर्मचारीहरूबाट सञ्चालक समितिमा बस्न तछाडमछाड हुने गथ्र्यो तर संस्था समस्यामा परेपछि उहाँहरूले त्यस्तो भनाई राख्नु भएको हो । सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ? हाम्रो सहकारीमा कर्मचारी नै सञ्चालक समितिका सदस्य हुने गथ्र्यो । विगत १५/१८ वर्ष मसँग कर्मचारीको रूपमा काम गरेका कर्मचारीलाई मैले विश्वास गर्न सक्ने भएकाले मैले उनीहरूलाई नै संस्थाको सञ्चालक राखेको थिएँ । तर, सञ्चालक भएपछि उनीहरूको कर्मचारीको भूमिका रहँदैनथ्यो । सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/थियो वा थिएन ? देशैभरी २ लाख २५ हजार सेयर सदस्य र ८६ हजार ऋणीहरू छन् । सहकारी संस्थाका सेयर सदस्य बाहेकका व्यक्तिलाई सेयर सदस्य बनाएर मात्र ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थियो । सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो ? तुलसीको कार्यक्षेत्र नेपालभरी नै रहेको हुँदा कार्यक्षेत्रको समस्या आएन । शिवशिखरको कोशी. र मधेश प्रदेशबाहेकको कार्यक्षेत्र भएको हुँदा कार्यक्षेत्रभिका मात्र सदस्य बनाइएको थियो । सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुल स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेश गर्नुहोस् । नेपालभरी शिवशिखर बहुउद्देश्यीय सहकारीका २६ वटा डिपार्टमेन्ट स्टोर, डरेलधुरामा लालिगुराँसको फुलबाट तेल उत्पादन गर्ने प्लान्ट, सोही स्थानमा फ्रेस भेजिटेवलको कोल्डस्टोर, कञ्चनपुरको बेलौरीमा खाद्यान्न संकलन केन्द्र छ । डिपार्टमेन्ट स्टोरको विभिन्न स्थानमा जम्मा १३ वटा भवन रोका छन्, तुल्सीपुर दाङमा सुठो प्रशोधन प्लान्ट, धादिङको गल्छिमा १८ रोपनी जग्गामा मल्टी च्याम्बर कोल्ड स्टोर बन्दै थियो, भक्तपुर जिल्लामा ८ रोपनी १० आना, कोहलपुरमा साढे चार बिगाह जग्गा रहेको छ । तुलसी बहुउद्देश्यीय सहकारीको झापा, गौरादह नजिक साढ़े चार विधामा राईस, चिउरा, मुरें, ब्रिकेट प्लान्ट रहेको छ र झापाकै दमक बजारमा ६ तल्लाको तुलसी भवन, विराटनगर नेताचोकमा एक विगाहमा दाल प्लान्ट, उदयपुर गाईघाटमा ५ तल्लाको भवन, उदयपुरकै खाँबुमा ८६ रोपनीमा मल्टी फार्म रहेका छन् । तुलसी बहुउद्देश्यीय सहकारीको बचत १४५ करोड, ११२ करोड आफ्नै निजी सम्पत्ति, ३० करोड ऋण प्रवाह गरेको र सहकारी बैंकबाट लिएको ऋण साढे ७ करोड छ । शिवशिखर बहुउद्देश्यीय सहकारीको बचत ९४७ करोड, २२५ करोड आफ्नै निजी सम्पत्ति, ७२२ करोड ऋण प्रवाह गरेको र १० करोड सहकारी बैकबाट लिएको ऋण लिएको छ । मसँग सम्बन्धित १८ वटा उत्पादन कम्पनी र २३ वटा ट्रेडिङ कम्पनी गरी जम्मा ४१ वटा कम्पनीहरू रहेका छन् । अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग खुलाउनुहोस् । गाउँका साना सहकारीहरूले शिवशीखरमा बचत खाता खोलेर रकम जम्मा गर्ने गरेका थिए । हामीले अरुकोमा रकम राखेका थिएनौं । तपाईंले म शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष तथा सो सहकारीको लगानीमा संचालित शिखर दीप एग्रो प्रा.लि.को एकल संस्थापक सञ्चालक रहेको हुँदा चितवनमा व्यापार व्यवसायका लागि घरजग्गा आवश्यक रहेको बताई मेरो घरको छ करोड मूल्य गरी संस्थाका कर्मचारी शिव शर्मालाई अख्तियारी दिई मेरो खातामा रकम जम्मा गरेको भन्ने भौचर देखाई मेरो घर समेत रजिष्ट्रेसन पारित गराई लिई उक्त रकम मेरो खातामा जम्मा नगराई ठगी गरेको भन्ने समेत व्यहोराको शान्ता अधिकारीको निवेदन यस समितिमा प्राप्त भएको छ ? निजलाई रकम जम्मा गरेको भनी झुक्याई किन ठगी गर्नुभएको हो ? निवेदक शान्ता अधिकारीका पति भोजराज पौडेल शिवशिखरका उपाध्यक्ष हुन् । शिवशिखर सहकारी संस्थाबाट उहाँले लिएको ऋण गितानगर, नारायणघाटको जग्गा बेची तिर्न सहमति गरी उक्त जग्गा शिखरदीप एग्रो प्रा. लि. को नाममा पास गरी, निजको शिवशिखर संस्थाबाट लिएको ऋण चुक्ता गरी बाँकी रकम शिखरदीप एग्रो प्रा.लि ले एकान्टपेयी चेकमार्फत निजलाई पेमेन्ट गरेको हो। उहाँको श्रीमान् हाल फरार हुनुहुन्छ । सहकारी संस्थाबाट उक्त कम्पनीमा के कति रकम लगानी गर्नुभएको छ ? सहकारीका लगानी रहेका अन्य के-कति कम्पनी रहेका छन् ? खुलाई दिनुहोस् । मेरा ४१ वटा कम्पनी मध्ये ९ वटा कम्पनीमा ऋण लगानी रहेको छ । ३०० करोड बराबरको लगानीमा ब्याज जोडेर हाल ४३४ करोड बराबरको रकम मैले तिर्न बाँकी छ । तपाईंको स्वामित्वमा गोरखा टि एण्ड कफी इन्डस्ट्रिज, फोर स्टार ग्रुप, गोरखा सोप एण्ड केमिकल इन्डस्ट्रिज, गोर्खा गोल्डेन ट्रेड, गोर्खा बेभरेज, गोर्खा स्पाइस एण्ड फुड प्रोडक्ट, शिखर मेसिनरी एण्ड अटोमोबाइल, नटराज एग्रो, तुलसी मोटर पम्प इन्डस्ट्री, तुलसी कृषि अनुसन्धान केन्द्र, गार्डेन मार्ट, शिबशिखर इन्भेष्टमेन्ट उपकार मिडिया ग्रुप, उपकार गार्मेन्ट, शिखर मिनरल वाटर एण्ड वेभरेज, उपकार आयल इन्डस्ट्रिज, हिमालयन कन्स्ट्रक्सन एण्ड मल्टी सोलुसन, उपकार लाइफ इन्सोरेन्स कम्पनी, उपकार जेनेरल इन्सोरेन्स कम्पनी, तुलसी फुड इन्डस्ट्रिज, नटराज फुड इन्डस्ट्रिज, शिखर ग्रुप सेक्युरिटी सर्भिस, उपकार फाउण्डेसन, उपकार अगरबत्ती उद्योग, तुलसी माहुरी फार्म, तुलसी कफी उद्योग, तुलसी काउ फार्म एण्ड डेरी, उपकार एक्सपोर्ट इम्पोर्ट शिखर प्रेस, न्यूज अखवार मिडिया, युरोप ओभरसिज स्टडिज कन्सल्टेन्सी, शिखर स्पाइस फुड एण्ड इन्डस्ट्रिज, शिव शिखर एग्रो, शिखर दीप फुड इन्डस्ट्रिज, शिखर अर्गनाइजेसन, शिखर दीप एग्रो समेतका के–कति कम्पनीहरू रहेका छन् ? ति कम्पनीमा लगानी गर्ने तपाइको आर्थिक स्रोत के हो ? यी सबै शिशिखर र तुलसी सहकारी संस्थाले आफैले स्थापना गरेका व्यापार हुन् । म सहकारीमा आवद्ध हुनुभन्दा अगाडी ९ वडा कम्पनीहरू रहेका थिए । जसमध्ये २ वटा मेनुफेक्चर र अरु ट्रेडिङ कम्पनी रहेका थिए । बाँकी कम्पनीहरू २०६५ सालपछि सोलिएको थियो । सहकारीलाई इस्पोर्ट एक्सपोर्ट र ब्राण्डिङ्ग गर्न अनुमति नभएकोले काम गर्नका लागि प्रा.लि.हरू खोलिएका हुन् । तर, सहकारी र प्रा. लि. कम्पनीहरू सँग सँगै लगेर काम गरेको हो । त्यसरी सहकारीबाट कम्पनीमा लगानी गर्न मिल्छ त ? कानुनमा नमिल्ने रहेछ तर बहुउद्देश्यीय बनाएपछि मिल्छ कि भनी गरेको हो । कानुनले मिल्दैन भन्ने थाहा भएको भए हामी त्यसो गर्ने थिएनौं । तपाईं अध्यक्ष रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि.को कूल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार रहेकोमा संस्थाको ऋण तथा लगानी भएको भनी लेखांकन भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजारलाई कूल निक्षेपबाट घटाँउदा देखिने अन्तर रकम १६ करोड ९७ लाख ४२ हजार केदारनाथ शर्माले संस्थाको हिसाब एवं वित्तीय विवरणमा प्रविष्ट नगरी सोझै अपचलन गरेको देखिन्छ, किन गर्नु भएको हो ? उक्त विषय २०८० सालको साधारण सभाको प्रतिवेदनमा उल्लेख भएको छ । यस विषयमा मलाई जानकारी भएन र मैले अपचलन गरेको पनि होईन । तपाईंले आफ्नो नाममा भएको विभिन्न ९ वटा कम्पनीहरू तुलसी राइस एण्ड चिउरा उद्योगमा ३६ करोड ५५ लाख ६४ हजार गार्डेन मार्टलाई २७ करोड ९२ लाख २१ हजार तुलासी अनुसन्धान केन्द्रमा ४ करोड ३ लाख ४४ हजार गोरखा टि एन्ड कफी उद्योगमा २ करोड १५ लाख ७८ हजार र तुलसी मोटर प्रा.ली. मा २४ करोड ५ लाख ५७ हजार लगायतका अन्य कम्पनीहरूमा समेत ऋण दिएको देखिन्छ ? सहकारी मूल्य मान्यता र कानुनले यसो गर्न मिल्छ ? माथी उल्लिखित कम्पनीहरूमध्ये गोरखा टि एण्ड कफी गद्योगमा ऋण लगानी गरेको हो र अन्य कम्पनीहरू सहकारी संस्था अन्तर्गतका कम्पनीहरू हुन् तर सहकारी संस्थाले मालसामानआयात गर्न र प्रान्डिङ्ग गर्न कानुनसम्मत नभएको हुँदा मेरो नाममा कम्पनी दर्ता गरी सामान आयात गरी सोही संस्थालाई दिएको हो । कुनै सहकारी संस्थाले आफ्ना १५ गुणाभन्दा बढी बचत जम्मा गर्न नपाउने व्यवस्था सहकारी ऐनमा रहेता पनि संस्थाले १७.६ गुणा बढी बचत किन जम्मा गर्नुभएको हो ? शेयर पुँजीको १५ प्रतिशतको सीमाभित्रै छ भन्ने मलाई लाग्छ । संस्थाका सदस्यहरूबाट ठूलो मात्रामा बचत रकम जम्मा गरेको र सोमा ब्याज समेत लेखांकन भएकोले सो बचत रकमको श्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्य कसरी पुष्टी गर्नुहुन्छ ? बचतकर्ताले रकम जम्मा गर्दाका बखत पेस गरेका कागजातहरूमा आफैं स्रोत खुलाएर ल्याएको कागजातहरू कार्यालयमा राख्ने गरेका छौं तर त्यसको भेरीफाई गर्ने गरेका थिएनौं । सदस्यहरूलाई (कम्पनी समेत) दिइएको कूल ऋण रकमको ८९.९८४ जति ऋण रकम ठूला ऋणीहरूलाई दिनु भएको छ । यो कानुनसम्मत छ त ? अन्दाजी ९० प्रतिशत ऋण ठूला ऋणीहरूलाई दिन नमिल्ने थियो । मलाई त्यसो भएको छैन भन्ने लागेको थियो, यस्तो देखिन्छ भने यो गलत भयो । एकै ऋणी शिखरदीप एग्रो प्रा. लि. लाई २५ वटा फाइल खडा गरी जम्मा ऋण रकमको ४० प्रतिशत ३ अर्ब ३३ करोड २१ लाख बराबरको ऋण रकम के उद्देश्यले दिइएको हो ? साथै सो ऋणको हाल अवस्था के कस्तो छ ऋणीले साँवा र ब्याज समय समयमा तिरी रहेको छ कि छैन ? संस्थाले गरेको व्यापारलाई अगाडि बढाउनका लागि ऋण रकम दिएको थियो । संस्था बन्द नभएसम्म साँवा र ब्याज तिरिरहेको थियो । गार्डेन मार्ट प्रा.लिलाई ७१ करोड ८१ लाख र शिखर ओर्गनाइजेसन लि. लाई रु. ५७ करोड १२ लाख गरी जम्मा रकम १ अर्ब २८ करोड ९४ लाख के उद्देश्यले दिइएको हो ? साथै सो ऋणको हाल अवस्था के कस्तो छ ऋणीले साँवा र व्याज समय-समयमा तिरीरहेको छ कि छैन ? पटक-पटक गरी ऋण प्रवाह भएको थियो। संस्था बन्द नभएसम्म साँवा र ब्याज तिरी रहेका थियौं । ब्याज रकम पूँजिकृत गर्नु भएको छ कि छैन ? ब्याज रकम पूंजिकृत गरको छैन । बैंक मौज्दात ९३ लाख ९१ हजार रुपैयाँ बराबरको देखिएता पनि सोको प्रमाणित कागजात किन नभेटिएको ? सिस्टममा ९३ लाख ९१ हजार रुपैयाँ बराबरको देखिएता पनि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने कममा हेर्दा २६ करोड बराबारको रकम देखिएको थियो । सहकारी सम्बन्धी वा कुनै फौजदारी कसुरमा थुना वा कैदमा पर्नु भएको छ वा छैन ? परेको भए हाल उक्त मुद्दा के कुन अवस्थामा छ ? म सहकारी ठगी मुद्दामा नख्खु कारागारमा छु । हाल १६ ओटा जिल्लामा सहकारी ठगी र काठमाडौं उपत्यकामा सहकारी ठगी सम्बन्धी कसुरमा संगठित अपराध मुद्दा चलिरहेको छ । विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ? यस्तो समस्या समाधान गर्न सकिन्छ । बचतकर्ताले भन्दा प्रतिष्पर्धीहरूले गर्दा समस्या बढेको हो । कारागारभित्र बसेर समस्याको समाधान गर्न सकिँदैन । म बाहिर निस्कन पाए र सुरक्षाको प्रबन्ध भएमा १ वर्षभित्र समस्या समाधान गर्न सक्छु । हाम्रो एउटा कुनै कम्पनी बेचेर मात्र पनि सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिएर सहकारी पुनः सञ्चालन गर्न सक्छु । तपाईं मुख्य सञ्चालक रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि. र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिको समस्या समाधान गर्न तपाई, तपाईको परिवार सरकार, कर्जा लिएको बैले के-के गर्नु पर्ला ? मैले पैसा कमाउनको लागि मात्र सहकारी स्थापना गरेको होइन । तर व्यापार गर्नका लागि सहकारीलाई गाउँ-गाउँ पुयाएको थिएँ । बैकले मेरा केही उद्योगहरू एनपीए गरेको छ, ती उद्योगहरू केही समय दिएर सञ्चालन गर्न दिनुपर्ने, म सम्पूर्ण समस्याहरू समाधान गर्न सक्ने हर प्रयासहरू गर्न तयार छु । तपाईको थप भन्नु केही छ ? सबै सहकारी नराम्रा छैनन् । राम्रा सहकारीलाई चलाउन दिनुपर्छ ।
नेक्सजेन म्यानेजमेन्टको साधारण सभा असोज १९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले असाेज १९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । काठमाडौंको होटल यलो प्यागोडामा वार्षिक साधारण सभा हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले नियमितको साथै विशेष प्रस्ताव पास गर्ने जनाएको छ। व्यवस्थापन र सल्लाह सेवा दिने गरी पूर्वबैंकरले सात वर्ष अगाडि नेक्सजेन स्थापना गरेका थिए । तर विविध कारणले २०८१ वैशाख एक गतेबाट मात्र कम्पनीले नियमित कारोबार सञ्चालन गरेको थियो । कम्पनीको सुरुआती संस्थापकमा बीएन घर्ती, बलराम बिष्ट, रमेशकुमार भट्टराई, चन्द्र भट्ट, सुरेश सापकोटा, बिनय उपाध्याय र कमल पन्थी थिए । कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को वित्तिय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने र नयाँ सञ्चालक समितिको मनोनयन गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी विशेष प्रस्तावअन्तर्गत नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स रहने गरी कम्पनीको नाम परिवर्तन गर्ने, सोही बमोजिम उद्देश्य र गर्ने काम संशोधन गर्ने, जारी र चुक्ता पुँजी वृद्धि गर्ने तथा समान प्रकृतिको कम्पनीसँग मर्जर तथा एक्विजिसन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ । कम्पनीले कारोबार प्रारम्भ गरेपछि साना ठूला उद्याेगपति व्यवसायीकाे कम्पनीप्रति आकर्षण बढेको थियो । लगानी सम्मेलनमा कोरियन कम्पनीले विदेशी लगानि ल्याउन नेक्सजेनसँग समझौता पनि गरेको थियो । यसरी कम्पनीले सञ्चालनको ३ महिनामा पाँच प्रतिशत लाभांश दिन सफल भएपछि नेक्सजेन म्यानेजमेन्टले कारोबार बिस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राईभेट ईक्विटी र भेन्चर क्यापिटल सम्बन्धी काम, सल्लाहकार सेवा र सीमित मात्रामा केही संस्थाको सम्पति व्यवस्थापन सम्बन्धी काम पनि गर्ने कार्यक्रम बनाएको कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिएका छन् ।