हवाई भाडा नियन्त्रण गर्न उड्डयन मन्त्रालयलाई सभापति खतिवडाले दिए निर्देशन
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अस्वाभाविक रूपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले आज देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् । ‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ,’ निर्देशनमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’ देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् ।
विमान कम्पनीलाई प्रधानमन्त्री ओलीको अनुरोध- सहुलियत दरमा हवाई टिकट बिक्री गर्नूहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो । ‘एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत जानकारी दिएका छन् । याे पनि पढ्नूहोस्: बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी
सर्यो शैक्षिक मेला, अब १६ गते हुने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले असोज १३ गते (आइतबार) आयोजना गर्ने भनिएको शैक्षिक मेला अब १६ गते अर्थात बुधबार गरिने भएको छ । ११ र १२ गते उपत्यका लगायत देशैभरि परेको अविरल वर्षाका कारण मेला आयोजना गर्न नसकिएको बताउँदै इक्यानले १६ गते आयोजना गर्ने बताएको हाे । यस अगाडि पत्रकार सम्मेलन गर्दै इक्यानले काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ गर्ने जनाएको थियो । अभिभावक र विद्यार्थीलाई शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत विभिन्न देश तथा स्वदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने छ ।
साना तथा मझौला व्यवसायी महासंघले १९ वर्षमा पहिलोपटक पायो महिला नेतृत्व
काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित भएकी छन् । भक्तपुरमा आयोजित महासंघको विशेष साधारणसभाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा पौडेल निर्वाचित भएसँगै १९ वर्षको इतिहास बोकेको महांसंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । निर्वाचित भएपछि अध्यक्ष पौडेलले साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गर्दै सहज औद्योगिक वातावरण निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाइन् । उनले कोभिडपछि विश्वभर देखापरेको आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु पनि परेको तथा कच्चा पदार्थको सहज आपूर्तिमा समस्याको साथै उत्पादित सामाग्रीको बजारीकरणमा पनि समस्या देखिएकाले यसतर्फ आफू सचेत अनि गम्भीर रहेको बताइन् । महासंघको महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रविन्द्र थापा(रविन) निर्वाचित भएका छन् । त्यसैगरी, सहअध्यक्षमा रामकेशर बिष्ट, वरिष्ठ उपाध्यक्षमा गणेश सिंह विष्ट, प्रथम उपाध्यक्षमा परमेश्वरी विष्ट, द्वितीय उपाध्यक्षमा शान्तकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कुलबहादुर काफ्ले, चतुर्थ उपाध्यक्षमा अमूलमान श्रेष्ठ तथा वस्तुगत, एशोसिएट र प्रदेश समेत गरी २७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । विशेष अधिवेशनमा निःवर्तमान अध्यक्ष हरि पराजुलीमाथि परेको अविश्वासको प्रस्ताव बहुमतले परित भएको थियो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले विशेष साधारणसभाको उद्घाटन गर्दै साना तथा मझौला व्यवसायको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
परिश्रम गर्ने युवालाई दैशमै अवसर, अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी
ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लागेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका हुन् । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् । छ महिनामै १० लाख रुपैयाँको अकबरे बिक्री गरेकाका कार्की खेती विस्तार गर्ने योजनामा छन् । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थालेका कार्कीले गाउँमा ठूलो सम्भावना देख्छन् । अहिले उनले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थालेका छन् । अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की छन् । करिब १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उनी बिहानदेखि साँझसम्मै बारीमा व्यस्त छन् । करिब तीन लाख रुपैयाँ लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताए । प्रतिकिलो दुई सय रुपैयाँमा करिब पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उनको भनाइ छ । अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उनी बताउछन् । अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताए । चितवनमा बुबाआमा रहेको हुँदा उनीहरुले बिक्री गर्ने गरेको कार्की बताउँछन् । ‘हाम्रो परिवारले धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै सम्भावना देखेर आएको हुँ, सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो’, कार्कीले भने, ‘सुरुमा धेरै सोच भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन् ।’ कार्कीलाई उनकी श्रीमती सन्दीपाले साथ दिँदै आएका छन् । चार वर्षदेखि बाख्रापालन गर्दै आएकी कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आएकी छन् । अब अकबरे खेतीलाई नै बढी समय दिने उनको भनाइ छ । हाल उनको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउँछिन् । नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताउँछन् । कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उनको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताए । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उनी बताउँछन् । प्रवक्ता भण्डारीले भने, ‘नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उनीहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ ।’ रासस
बाढी-पहिरोबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो, ६४ जना बेपत्ता
काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी, विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ । विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पुर्याउनेलगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन् ।
नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ । आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता सेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ । नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो । आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशले घटेको छ । बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ८९, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन एक दशमलव ४७ र लगानी समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ३१, म्युचुअल फण्ड एक दशमलव २१, निर्जीवन बिमा शून्य दशमलव १५ र अन्य समूह एक दशमलव ०२ प्रतिशतले घटेको छ । आजको कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ । आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको रु १५ करोड ९२ लाख ३० हजार आठ सय २० बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार चार सय ४१ कित्ता सेयर किनबेच भएको छ ।
स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली
राँझा । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् । छ महिनाअघि कामको खोजीमा भारतको सिमला पुगेका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दसैँ र तिहार मनाउन बिहीबार घर फर्किएका छन् । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दसैँ र तिहारको खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता रहेको बताए । ‘नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन’, खत्रीले भने, ‘सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दसैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।’ स्याउको बगैँचामा काम गरेर फर्किएको उनले बताए । नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुसीका लागि काम खोज्दै भारतको सिमला पुगेको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए । धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ । उनीसँगै भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको उनको भनाइ छ । ‘अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ’, बुढाथोकीले भने, ‘बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’ दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताए । रासस