बैंकहरूको खुद नाफा १६ अर्ब हुँदा वितरणयोग्य नाफा २६ अर्ब, झुक्किरहेका छन् सेयर लगानीकर्ता
काठमाडौं । नबिलले बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरणमा नाफाभन्दा बढी वितरणयोग्य नाफा देखायो । बैंकले पहिलो त्रैमासमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गर्दा ४ अर्ब ९८ करोड अर्थात् करिब ५ अर्ब अर्ब रुपैयाँ कुल वितरणयोग्य नाफा देखाएकाे हाे । यो विषयलाई अधिकांश सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ समाचारका शीर्षक बनाए- ‘नाफाभन्दा वितरणयोग्य नाफा दोब्बर, २ अर्ब नाफा ५ अर्ब वितरणयोग्य नाफा ।’ जुन अस्वाभाविक हो । जहिल्यै पनि खुद नाफाभन्दा वितरणयोग्य नाफा कम हुन्छ । नबिलको मात्रै होइन, प्राइम कमर्सियल बैंकको पनि पहिलो त्रैमासको खुद नाफाभन्दा वितरणयोग्य नाफा साढे १ अर्ब बढी छ । बैंकको १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा हुँदा कुल वितरणयोग्य नाफा भने २ अर्ब ७३ करोड रुपैयाँ छ । सानिमा बैंकको पनि पहिलो त्रैमासमा खुद नाफा ३९ करोड रुपैयाँ हुँदा कुल वितरणयोग्य नाफा भने १ अर्ब ७१ करोड रुपैयाँ देखिन्छ । नेपाल एसबिआई बैंकको पनि पहिलो त्रैमासमा खुद नाफा ८१ करोड ४६ लाख रुपैयाँ हुँदा कुल वितरणयोग्य नाफा भने १ अर्ब ८६ करोड रुपैयाँ छ । बैंकको नाफाभन्दा कुल वितरणयोग्य नाफा १ अर्ब ५ करोड रुपैयाँ बढी हो । पहिलो त्रैमासमा अधिकांश बैंकको कुल वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी छ । वाणिज्य बैंकहरूको खुद नाफा १६ अर्ब २२ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २६ अर्ब २८ करोड रुपैयाँ छ । तीन बैंकको कुल वितरणयोग्य नाफा भने ऋणात्मक छ । आखिर पहिलो त्रैमासमा बैंकहरूको खुद नाफाभन्दा कुल वितरणयोग्य नाफा कसरी बढी दखियो ? यो प्रश्नको उत्तर हामीले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई सोध्यौं । उनले जवाफमा भने, ‘अधिकांश बैंकहरूले गत आर्थिक वर्षको नाफाको प्रतिफल वितरण गरेका छैनन्, साधारणसभा गरेपछि मात्रै त्यो नाफा सेयरधनीको खातामा जाने हो, पहिलो त्रैमासको वित्तीय विवरणमा बैंकहरूले गत आर्थिक वर्षको वितरणयोग्य नाफा पनि देखाएका छन्, त्यसैले नाफाभन्दा बढी वितरणयोग्य नाफा देखिएको हो ।’ सीईओ खनालले भनेजस्तै अधिकांश बैंकको साधारणसभा हुन बाँकी छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय संस्थाले साधारणसभा गरिसक्नुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधानमा रहेर वित्तीय संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने रणनीतिका साथ अगाडि बढेका हुन्छन् । लाभांश वितरणका लागि नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै बैंकको साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसैले पनि बैंकहरूले गत आवको नाफाबाट वितरण गर्नुपर्ने वितरणयोग्य नाफा पनि पहिलो त्रैमासको वित्तीय विवरणको कुल वितरणयोग्य नाफाको शीर्षकमा राख्दा खुद नाफाभन्दा कुल वितरणयोग्य नाफा बढी देखिएको हो । त्यसो भए चालु आर्थिक वर्षको पहिलो त्रैमासका वाणिज्य बैंकहरूको कुल वास्तविक वितरणयोग्य नाफा कति हो त ? आउनुहोस्, अब यस विषयमा चर्चा गरौं । बैंकका सेयरधनी, विभिन्न सञ्चारमाध्यम र सेयर बजारका लगानीकर्ताहरूले पनि सोचे र भनेजस्तो बैंकहरूको पहिलो त्रैमासको वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी छैन । बैंकहरूले वित्तीय विवरणमा यसलाई प्रष्ट रूपमा देखाएका छन् । पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा कुल ११ अर्ब ७ करोड रुपैयाँ छ । जुन खुद नाफाभन्दा ५ अर्ब १५ करोड रुपैयाँ कम हो । पहिलो त्रैमासमा नबिलको वितरणयोग्य नाफा १ अर्ब १२ करोड, ग्लोबल आइएमईको १ अर्ब ४० करोड, नेपाल इनभेष्टमेन्टको १ अर्ब २९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ५२ करोड रुपैयाँ छ । पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख रामु पौडेलले पनि गत आवको नाफाबाट वितरण नगरेको वितरणयोग्य नाफा पहिलो त्रैमासको वित्तीय विवरणमा राख्न पाउने भएकोले अहिले खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी देखिएको हुन सक्ने धारणा राखे । उनका अनुसार दोस्रो त्रैमासमा त्यो रकम स्वतः घट्नेछ । पुस मसान्तसम्म गत आर्थिक वर्षको लाभांश वितरण भइसक्ने भएकाले त्यो रकम स्वतः घट्ने उनको भनाइ छ ।
निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको समुचित व्यवस्थापनका लागि तत्काल कदम चाल्नुपर्ने विज्ञहरूको निष्कर्ष
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपालका बैंक तथा वित्तीय संस्थाहरूकाे खराब/निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धि, यसबाट सृजित गम्भीर चुनौती र समाधानका उपयुक्त विकल्पका विषयमा अन्तरक्रिया सम्पन्न गरेकाे छ । सीबीफीनले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा अन्तरक्रियाकाे आयाेजना गरेकाे हाे । अन्तरक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू र सरोकारवालाहरूको व्यापक सहभागिता रहेकाे थियाे । सीबीफीनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले नेपाली बैंकिङ क्षेत्र पारदर्शी, गतिशील, सुशासित, जिम्मेवार र संवेदनशील क्षेत्र भएको बताए । विभिन्न अप्ठ्याराे परिस्थितिलाई समेत सामना गर्दै अगाडि बढिरहेको भएतापनि कर्जा र गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धिले निम्त्याउन सक्ने सम्भावित संकट र जोखिमलाई समयमै आँकलन र मूल्याङ्कन गरी अगाडि बढ्नु विवेकपूर्ण हुनेमा जाेड दिए । कोभिड १९ पछि बैंक तथा वित्तीय संस्थाहरूको निरन्तररूपमा बढ्दै गएको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको समुचित व्यवस्थापनका लागि उपयुक्त संस्था स्थापनाका विषयमा सीबीफीनले निरन्तररूपमा विषय उठान गर्दै आएको उल्लेख गर्दै उनले सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाको विषयमा नीतिगतरूपमा परिकल्पना गरिए तापनि कुनै सार्थक पहल नभइरहेको जानकारी दिए । यसैगरी, सीबीफीनका महानिर्देशक रोशन कोइरालाले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको वर्तमान अवस्था र प्रवृतिवारे जानकारीमूलक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा छिमेकी मित्र राष्ट्र भारतको एसेट रिकन्स्ट्रक्सन इण्डिया लिमिटेड (आरसील) का पूर्व प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक तथा विज्ञ विनायक बहुगुणाले निष्क्रिय कर्जा/गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका विषयमा प्रचलनमा रहेका अन्तर्राष्ट्रिय अवधारणा, अभ्यास, पूर्व सर्तहरू, भारतमा गरिएको अभ्यास, वर्तमान अवस्था एवं परिणाम र नेपालले ध्यान दिनुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । विज्ञ बहुगुणाले सम्पत्ति व्यवस्थापन/पुन:र्निर्माण कम्पनी स्थापनाको विषय महत्त्वपूर्ण हुँदाहुँदै पनि कतिपय अवस्थामा प्रतिकूलसमेत हुने भएकोले त्यसतर्फ विशेषरूपमा सचेत हुनुपर्ने सुझाव व्यक्त गरेका थिए । एसेट रिकन्ट्रक्सन/सम्पत्ति व्यवस्थापन कम्पनीहरूको सफलता तत् देशको वित्तीय स्थिरता र गतिशिलता, अनुकूल वातावरण र नीति, राजनीतिक प्रतिवद्धता र सहयोग, निष्क्रिय कर्जा/सम्पत्तिको तथ्याङ्क, तथ्याङ्कीय विश्लेषण तथा वर्गीकरण, लगानी, लगानीकर्ता/बजारको अवस्था, अनुकूल न्यायिक वातावरण, नियामकीय सक्षमता, दक्ष जनशक्ति लगायतका विषयहरुमा निर्भर रहने हुँदा उक्त विषयहरूमा विशेष ध्यान दिन उनकाे सुझाव छ । विज्ञ बहुगुणाले भारतमा यस्ता कम्पनीहरूको सुरुवाती व्यस्थापन तथा सञ्चालनमा केही समस्या देखिएको भएतापनि पछिल्लो अवस्थामा सुखद परिणामहरू देखा परिरहेको उल्लेख गर्दै नेपाली बैंकिङ क्षेत्रले पनि यस विषयमा आवश्यक कदम अगाडि बढाउँदा भविष्य राम्रो हुने र नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिने उल्लेख गरे । उक्त छलफलको दौरानमा बैंकिङ तथा व्यवसायीक क्षेत्रमा लामो र गहिरो अनुभव हासिल गरेका सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र बैंकिङ क्षेत्रमा विशेष दक्षता राख्ने वरिष्ठ चाटर्ड एकाउन्टटेन्ट प्रभुराम भण्डारीको बीचमा एसेट रिकन्ट्रक्सन कम्पनीको आवश्यकता, औचित्य, जटिलता र सम्भावित कार्यदिशा विषयमा बृहत प्यानल छलफल गरिएको थियो । खराब ऋण र बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति हरेक साल थुप्रिँदै जाँदा अवस्था बिस्तारै प्रतिकूलतातिर बढ्न थालेकोले यस्तो समस्यालाई दीर्घकालीनरूपमा सम्बोधन गर्नका लागि स्थायी प्रकृतिको कम्पनी खोल्न अब विलम्ब गर्न नहुने प्यानलिष्टहरूले निष्कर्ष निकालेका थिए । उक्त कार्यक्रमको दौरानमा गरिएको अन्तरक्रियामा समेत सहभागीहरूले बैंकहरूको खराब कर्जा र गैर बैंकिङ सम्पत्तिमा उल्लेखरुपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सम्भावित प्रतिकूल अवस्थाबाट समग्र बैंकिङ प्रणालीलाई जोगाउन र अर्थतन्त्रमा पर्न सक्ने अकल्पनीय क्षतिबाट बचाउनका लागि बैंक तथा वित्तीय संस्थाहरूको समेत संलग्नतामा एसेट रिकन्ट्रक्सन/सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न विलम्ब गर्न नहुनेमा जोड दिएका थिए । साथै सहभागीहरूले एसेट रिकन्ट्रक्सन/सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनार्थ हरेक सहयोग र लगानी गर्न तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गरेका थिए । त्यसैगरी सीबीफीनका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको बैंकिङ क्षेत्र सबैभन्दा पारदर्शी, गतिशील, सुशासित एवं जिम्मेवार क्षेत्र भएको र विगतका कठिन परिस्थितिहरूलाई समेत सहजै सामना गर्दै अगाडि बढिरहेको भएतापनि कतिपय बाध्यतावश र पछिल्लो समयमा नियतवश ऋण नतिर्नेहरूका कारण क्रमशः जोखिमपूर्ण बन्दै गएको बताए । उक्त कार्यक्रममा नेपालमा सञ्चालित क, ख र ग वर्गका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/सञ्चालक, प्रमुख कार्यकारी अधिकृत/उच्च व्यवस्थापक, सरोकारवाला संस्थाहरू, विकास साझेदार संस्थाहरू, नेपाल राष्ट्र बैंकका उच्च अधिकारी र वरिष्ठ पत्रकारहरूको सहभागिता रहेको थियो ।
एआईले के मानिसजस्तै सोच्न सक्छ ?
कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । उदाहरणका लागि, फोनमा ‘सिरी’ वा ‘गुगल असिस्टेन्ट’ लाई प्रश्न गर्दा तुरुन्तै सही उत्तर दिन्छ, जसले समय बचाउँछ र काम सरल बनाउँछ । एआई प्रणालीहरूले तस्बिरहरू पनि चिन्न सक्छन्, जस्तै गुगल फोटोजले फोटोमा भएका साथीहरूलाई पहिचान गर्न सक्छ । स्वचालित गाडीहरू बिना ड्राइभर आफैंँ बाटो फेला पारेर सुरक्षित रूपमा चल्न सक्छन् । त्यस्तै, नेटफ्लिक्सले हाम्रा हेर्ने बानीअनुसार फिल्म र शोहरू सिफारिस गर्छ, जसले हाम्रो मनोरञ्जन अनुभवलाई अझ रमाइलो बनाउँछ । एआईमार्फत अनलाइन पसलहरूले पनि तपाईंले खोजेका वा मन पराएका सामानहरू सुझाव गर्छन्, जस्तै अमेजनले नयाँ सामान सिफारिस गर्छ । बैंकिङमा एआईले ठगी पत्ता लगाउन मद्दत गर्छ र ग्राहकका प्रश्नहरू तुरुन्तै समाधान गर्न च्याटबोटहरू प्रयोग गरिन्छ । यस्ता सुविधाहरूले हाम्रो जीवनलाई सहज बनाउँछन्, तर यसको सही र सुरक्षित प्रयोगमा ध्यान दिन जरुरी छ । एआई र मानिसबीचको तुलना गर्दा दुवैको सिकाइमा केही समानता भए पनि गहिरो भिन्नता छन् । मानिसले आफ्ना अनुभव, भावना, र सामाजिक अन्तरक्रियाबाट ज्ञान आर्जन गर्छ । जबकि एआई जस्ता प्रणालीहरूले गणितीय मोडेल र डाटाको आधारमा सिक्छन् । उदाहरणका लागि, बच्चाले बारम्बार अभ्यास गरेर हिँड्न सिक्छ र त्यो प्रयास उसको अनुभवको हिस्सामा रहन्छ । तर, एआईले उपलब्ध डाटाको विश्लेषण गरेर मात्र त्यसको पहिचान गर्छ र त्यसैको आधारमा उत्तर तयार गर्छ । च्याट जिपिटी जस्ता ठूला भाषा मोडेलहरूले पुस्तक, लेख र वेबसाइटहरूमा आधारित सामग्रीबाट ज्ञान सिक्छन् । मानिस र एआई दुबै पृष्ठपोषण (फिडब्याक) र अनुकूलनको माध्यमबाट सिक्दै जान्छन् । विद्यार्थीले शिक्षकबाट पाएको फिडब्याकअनुसार गल्तीहरू सुधार गरेर अर्को परीक्षामा राम्रो गर्ने प्रयास गर्छ । फुटबल खेलाडीले खेलका क्रममा गल्ती गरेपछि कोचको निर्देशनअनुसार आफ्नो खेल सुधार्छ । यस्तै, एआईले पनि प्रयोगकर्ताबाट प्राप्त फिडब्याकको आधारमा आफ्ना जवाफहरू सुधार्छ र नयाँ चुनौतीहरू सामना गर्न अनुकूल हुन्छ । उदाहरणका लागि, च्याट जिपिटीलाई गलत उत्तर दिएर सच्याउँदा, त्यसले फाइन–ट्यूनिङमार्फत आगामी संवादमा ठीक जवाफ दिन प्रयास गर्छ । तर, एआई र मानिसबीचको महत्वपूर्ण भिन्नता भनेको भावनात्मक बुझाइको अभाव हो । मानिसहरूले दुःखद् अनुभव र संवेदनशील घटनाबाट शिक्षा लिन्छन् । उदाहरणका लागि, बच्चाले तातो स्टोभ छोएर हात जलाउँछ भने ऊ त्यसबाट सिक्छ र भविष्यमा त्यस्तो गल्ती नगर्न सचेत हुन्छ । बजारमा महँगोमा सामान किनेर घाटा ब्यहोरेपछि व्यक्ति सौदाबाजी (बार्गेनिङ) गर्ने कला सिक्छ र अर्को पटक सस्तोमा किन्न प्रयास गर्छ तर एआईले यस्तो भावनात्मक वा सामाजिक सन्दर्भहरू बुझ्न सक्दैन । हालको प्रविधिमा एआई लाई मानिस सरह भावनात्मक बुझाइ दिन निकै जटिल चुनौती हो । मानिसको भावना र बुझाइ अनुभव, जैविक प्रक्रिया, र सामाजिक अन्तरक्रियामा आधारित हुन्छ, जुन अहिलेको एआई मा छैन । यद्यपि, वैज्ञानिकहरू र इन्जिनियरहरू ‘आर्टिफिसिएल इमोशनल इन्टिलिजेन्स’ मा काम गरिरहेका छन्, जसले एआईलाई भावनाहरू अनुकरण गर्न र सामाजिक सन्दर्भहरू बुझ्न सक्षम बनाउन खोज्दैछ । तर, पूर्ण रूपमा मानिसको जस्तै सचेतना र भावना विकास गर्नु गाह्रो छ, किनकी मानिसको भावना केवल तथ्य र नियमहरूमा आधारित हुँदैन, बरु स्मृति, अनुभव, र समाजसँगको अन्तरक्रियाको परिणाम हो । एआईमा कुनै सचेत अनुभव वा आत्मचेतना हुँदैन, किनकी यसको निर्णयहरू पूर्ण रूपमा तथ्य र गणनामा आधारित हुन्छन् । उदाहरणका लागि, जब मानिस दुःखी हुन्छ, उसको व्यवहारमा परिवर्तन आउँछ र त्यो परिवर्तन अनुभव र सन्दर्भसँग गहिरो रूपमा सम्बन्धित हुन्छ । तर, एआईले केवल डाटामा आधारित अनुमान गरेर प्रतिक्रिया दिन्छ, जसमा वास्तविक भावना हुँदैन । मानिस सरह भावनात्मक बुझाइ विकास गर्न एआईलाई सचेतना दिनुपर्नेछ, जुन अहिलेसम्म सम्भव छैन । मानिसको भावना केवल व्यक्तिगत अनुभवमा आधारित हुँदैन, बरु स्मृतिहरू र समयक्रममा भएका सामाजिक अन्तरक्रियाहरूले पनि आकार दिन्छ । यसैकारण एआईलाई पूर्ण रूपमा मानिससरह बनाउनु चुनौतीपूर्ण मात्र होइन, सम्भवतः असम्भव पनि हुन सक्छ । अन्ततः एआई र मानिसबीचको यो भिन्नता सदैव रहन सक्छ । यद्यपि, एआई लाई पूरकका रूपमा प्रयोग गरेर मानिसको अनुभवलाई अझ प्रभावकारी बनाउन सकिन्छ । उदाहरणका लागि, एआईले मानसिक स्वास्थ्यसम्बन्धी समर्थन दिन वा मानिसको भावनात्मक अवस्थालाई बुझेर उपयुक्त सहायता दिन प्रयास गर्न सक्छ । तर, स्मृति र संवेदनाहरूको वास्तविक अनुभव बिना एआई कहिल्यै पनि मानिससरह पूर्ण रूपमा सोच्न र महसुस गर्न सक्षम हुने छैन । एआईको निर्णय प्रक्रियामा पनि सीमाहरू छन् । मानिसले निर्णय गर्दा वर्तमान सन्दर्भ, भावनात्मक अवस्था, र विगतको अनुभवलाई ध्यानमा राख्छ । उदाहरणका लागि, चालकले घुमाउरो सडक देखेपछि गाडीको गति घटाउँछ र सावधानी अपनाउँछ । यस्तै, विद्यार्थीले पछिल्लो परीक्षामा फेल भएपछि आफ्नो अध्ययन पद्धति परिवर्तन गरेर अर्को पटक राम्रो नतिजा ल्याउन प्रयास गर्छ । तर, एआई मोडेलहरूले डाटाको विश्लेषण र गणनामा मात्र भर पर्छन् र संवेदनशील सन्दर्भलाई विचार गर्दैनन् । यद्यपि, एआई र मानवको सहकार्यले धेरै क्षेत्रहरूमा विशाल लाभ पुर्याउन सक्छ । उदाहरणका लागि, अस्पतालमा एआईले बिरामीको रिपोर्टहरूको विश्लेषण गरेर चिकित्सकलाई सही निर्णय लिन सहयोग पुर्याउँछ । शिक्षा क्षेत्रमा, व्यक्तिगत ट्युटरका रूपमा प्रयोग गर्दा एआईले विद्यार्थीहरूको अध्ययन पद्धति र कमजोर पक्षहरूलाई विश्लेषण गरी उनीहरूका लागि व्यक्तिगत अध्ययन योजना बनाउन मद्दत गर्न सक्छ। व्यवसायमा पनि, एआईले पछिल्लो बजार ट्रेन्डहरू विश्लेषण गरेर कम्पनीहरूलाई रणनीतिक निर्णयहरू लिन सघाउँछ । तर, एआईलाई मानवको प्रतिस्थापन नगरी पूरकका रूपमा प्रयोग गर्नुपर्छ । उदाहरणका लागि, चिकित्सकको काम एआई ले पूरै प्रतिस्थापन गर्न सक्दैन, तर डाटाको विश्लेषण गरेर सही उपचार योजना तयार गर्न मद्दत गर्छ । यसरी, एआईले मानिसको क्षमता बढाउन भूमिका खेल्छ, न कि उसलाई विस्थापित गर्न । निष्कर्षमा, एआई र मानवको सिकाइमा समानता भए पनि, तिनका आधार र प्रक्रिया एकदमै फरक छन् । मानिसको सिकाइ अनुभव, भावना र सामाजिक अन्तरक्रियामा आधारित हुन्छ, जबकि एआईले केबल तथ्य र गणितीय मोडेलहरू प्रयोग गरेर सिक्छ । भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पुर्याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ । अन्ततः, यस सहकार्यले सम्भावनाहरूको नयाँ ढोका खोल्दै समाजलाई दिगो प्रगतितर्फ अगाडि बढाउनेछ । रासस (लेखक हाल अमेरिकामा एआई विशेषज्ञका रूपमा कार्यरत छन्)
बागलुङको जैमिनीघाट र गलकोट जोड्ने कालीगण्डकी पुल सात वर्षपछि सम्पन्न
बलेवा (बागलुङ) । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रूपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो । पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले विसं २०७३ असोज ९ गते सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो । उक्त पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । ‘पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने छ । यो सडक बनेपछि मङ्सिरभित्र मोटर गुड्नेछ,’ ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राईले भने । पश्चिम किनारमा कालीगण्डकी करिढोर कालोपत्र हुँदै गरेको र पूर्वी किनारमा कुश्मा फलेबास सडक कालोपत्र भइसकेकाले यो पुल तत्कालै प्रयोगमा आउने उनले बताए । ‘पुल निर्माण सकिएको छ । अब लिङ्क रोडको काम एक महिनामा सक्छौं,’ राईले भने, ‘भुक्तानीका लागि डिजाइन परिवर्तन भएको पत्र पाएका छैनौं ।’ नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो । सोही अनुसारको भुक्तानी स्वीकृति नभएको बताउँदै डिजाइन परिवर्तन गर्नुपरेकाले तीन पटकसम्म म्याद थप्नुपरेको उनले जानकारी दिए। जैमनी नगरपालिका–१ जैमिनीधामबाठ पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने एकसय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयलाई आवागमनमा सहज हुने भएको छ । ‘यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘यहाँका बासिन्दालाई अब पोखरा जान करिब ३० किमी दूरी छोटो पर्छ ।’ मध्यपहाडी लोकमार्गबाट करिडोर हुँदै पोखरा पुग्ने विकल्पका रुपमा यो मार्ग प्रयोगमा आउने उनले बताए । गत असारमा अन्तिम म्याद थप भए पनि मङ्सिरसम्ममा काम सकेर हस्तान्तरण हुनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय, बागलुङका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । पुलको भौतिकतर्फ ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको भन्दै वित्तीयतर्फ भने ८६ प्रतिशतमात्रै भुक्तानी भएको उनले बताए । प्रसिद्ध जैमिनीधामबाट पर्वतको फलेबास–कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो । रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ को लागतमा यो पुलको सम्झौता भएको सडक डिभिजन कार्यालय, बागलुङले जनाएको छ । रासस
ग्लोबल आइएमईको सचेतना कार्यक्रम : विद्यार्थीले सेयरमा लगानी गरी लाभ लिनसक्ने
काठमाडौं । धितोपत्र नियमननियकायहरूको अन्तरर्राष्ट्रिय संगठनको आह्वानमा लगानीकर्ता सप्ताहको अवसरमा कार्तिक ६ गतेदेखि १२ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाउने भएको छ । साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा, सचेतना, बजार विकास तथा सुधारका पक्ष लगायतका बारेमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी तिनको सशक्तिकरण गर्ने उद्देश्य लिइएको छ । योजना अनुसार नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलद्वारा चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सीता थापाले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको र सेयरमा लगानी गरेमा बढी भन्दा बढी आय आर्जन गर्न सकिने बताइन् । यस्तै, वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थीले यस्ता कार्यक्रमबाट सेयरको प्राथमिक बजारमा लगानी गरि अधिकतम लाभ लिनसक्ने बताए । त्यसैगरी कार्यक्रमको अध्यक्षता समेत गरेका चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक तथा श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक हरिगोपाल श्रेष्ठले यस कार्यक्रमबाट आफुले सेयरको बारेमा धैरै कुरा बुझ्न सहयोग मिलेको बताउँदै विद्यार्थी भाइबहिनीहरुलाई विभिन्न कम्पनीले निष्कासन गर्ने सेयरमा लगानी गरेमा फाइदा हुने र पढ्दै कमाउँदै गर्न सकिने धारण राखे । त्यसैगरी ग्लोबल आइएमई बैंक लि, चौताराका शाखा प्रमुख नविन श्रेष्ठले डिम्याट तथा मेरो सेयर खाता खोली पूँजी बजारमा आवद्ध हुन उपस्थित सबैमा अनुरोध गरे । कार्यक्रममा चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरू, श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरू, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरू तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो । विश्व लगानीकर्ता सप्ताहबाट धितोपत्र सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको चौतारामा गरिएको उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।
सुन थुपारेको थुपार्यै, यस कारण बढ्दैछ मूल्य
काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । सन् २०२४ लागेसँगै हालसम्म ३५ पटक सुनको भाउ अहिलेसम्मकै उच्च स्थानमा पुगेकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सुनको मूल्यवृद्धि रोकिने संकेतसमेत देखिएकाे छैन । अझै बढ्नसक्ने विश्लेषकहरूकाे आँकलन छ । यो वर्ष सुनको भाउ ३३ प्रतिशतले बढेको छ । आखिर किन सुनको भाउ यति धेरै बढिरहेकाे छ ? सबैभन्दा ठूलो कारण- धेरै देशका केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन् । जसमध्ये चीन, टर्किए, पोल्याण्ड र भारतका केन्द्रीय बैंक अगाडि छन् । विश्वको कुल सुनको भण्डारको १२.१ प्रतिशत केन्द्रीय बैंकसँग छ । यो सन् १९९० पछिकै उच्च स्तर हो । यो वर्ष केन्द्रीय बैंकको सुनको सञ्चितिमा ठूलो वृद्धि भएको छ र यो पछिल्लाे एक दशककाे दोब्बर हाे । भारत, चीन, टर्किए र पोल्याण्डका केन्द्रीय बैंकहरूले सुन खरिदमा महत्त्वपूर्ण भूमिका खेल्छन् । चीनको विदेशी मुद्रा सञ्चितिमा सुनको अंश ५.४ प्रतिशत पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको यो देशको सुनको भण्डार २ हजार २६४ टन रहेकाे छ । विश्वमा सबैभन्दा बढी सुनको खपत चीनमा हुने गरेको छ । तर, विश्वका पाँच देशसँग चीनकाे भन्दा धेरै मात्रामा सुनको भण्डार छ । केन्द्रीय बैंकले किन किनिरहेका छन् सुन ? सन् २०२२ र २०२३ मा विश्वभरका केन्द्रीय बैंकहरूले १ हजार टनभन्दा बढी सुन खरिद गरेका थिए । यसकारण युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसको एसेट्स जफत गरेका थिए । यही कारणले गर्दा अहिले विश्वभरका देशहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलरको अंश घटाएर सुन बढाउन थालेका हुन् । मध्यपूर्वमा जारी तनावले पनि सुनको भाउ बढाएको हाे । इतिहास साक्षी छ कि जब विश्वमा कुनै संकट आउँछ तब सुनको भाउ बढ्छ । सबैभन्दा धेरै सुन कसको ? अमेरिकामा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार छ । यो देशको सरकारी कोषमा ८ हजार १३३ टन सुन जम्मा छ । त्यसपछि जर्मनी (३ हजार ३५३ टन), इटाली (२ हजार ४५२ टन), फ्रान्स (२ हजार ४३७ टन) र रसिया (२ हजार ३३५ टन) रहेको छ । युरोपको सानो देश स्विट्जरल्याण्डमा १ हजार ४० टन, जापानमा ८४७ टन र भारतमा ८४० टन सुन छ । विश्व गोल्ड काउन्सिलका अनुसार भारतमा आम मानिससँग करिब २५ हजार टन सुन छ, जुन विश्वमा सबैभन्दा बढी हो । नेपाली बजारमा सुनकाे मूल्य आइतबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनकाे मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे । उक्त रेकर्ड आज ताेडिएकाे हाे । यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो । (एजेन्सीकाे सहयाेगमा )
जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आइतबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो आरोप लगाएका हुन् । उनले भने, ‘म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय, धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।’ सरकारले पुनः जनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई/तीन दिनदेखि सुन्दै आएको जानकारी दिँदै उनले भने, ‘यो आपत्तिजनक कार्य मात्र होइन, यो संघीय विरोधी कदम पनि हो ।’ संघीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको चर्चा गर्दै नेता निधिले उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन, लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताएका छन् । जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकै बेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनीसमेत दिए । उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे । ‘जनकपुर चुरोट कारखानाको जति पनि सम्पत्ति छ, त्यो मधेस प्रदेश सरकारको हो । यसमा कुनै दुई मत नरहेकाले निजीकरण अथवा कुनै प्रकारको षडयन्त्र भए यसलाई संघीयता विरोधी कदम भन्दै हामी आन्दोलनमा उत्रिनेछौं,’ उनले प्रष्ट पारे ।
रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ
काठमाडौं । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौंको रानीवनबाट पक्राउ परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका खड्कामाथि प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।