विकासन्युज

लुम्बिनी लायन्सको ब्राण्ड एम्बास्डर बने राजेश हमाल, कति रकममा भयो सम्झौता ?

काठमाडौं । अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार कार्यक्रमको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो । उनी एक वर्षको अवधिसम्म लुम्बिनी लायन्सका लागि ब्राण्ड एम्बेस्डर हुनेछन् । कति रकममा सम्झौता भयो भन्ने विषय भने खुलाइएको छैन । हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले आफ्नो क्रिकेटसँग नजिकको सम्बन्ध रहेको बताउँदै आफू आवद्ध टिमले राम्रो गर्नेमा विश्वास व्यक्त गरे । यस्तै, कार्यक्रममा लुम्बिनीका लागि मार्की प्लेयर रोहित पौडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएलको उपाधि जित्ने लक्ष्यसहित नै आधारदेखि नै टिम निर्माण गरिरहेको र लक्ष्य उपाधि जित्ने रहेको बताए ।

हिउँदमा पनि मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो । तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्र प्रमुख इन्जिनियर पशुपति गौतमले बताए । ‘असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत हाल मुसलधारे वर्षा परेपछि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ’, उनले भने, ‘अहिले पानी प्रशस्त परेकाले अझै एक महिनासम्म पूर्ण क्षमतामै उत्पादन हुने सम्भावना देखिएको छ ।’ गत वर्ष सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत् उत्पादन भएकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताए । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने उनले बताए । उनका अनुसार यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन घट्ने सो केन्द्रले जनाएको छ ।

कहिले आउँछ मौद्रिक नीतिको समीक्षा ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना सकिएसँगै नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जुटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि आन्तरिक तयारी भइरहेको राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । उनका अनुसार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा कहिले सार्वजनिक गर्ने भनेर ठ्याक्कै मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा भने तयारी गरिरहेको छ । ‘मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको तयारीमा जुटेका छौँ, ठ्याक्कै कहिले सार्वजनिक गर्ने भनेर मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा त्रैमासिक समीक्षाको तयारी भने भइरहेकाे छ,’ उनले भने । चालु आवको तीन महिनाको तथ्याङ्क संकलनको कार्य भइरहेको उनले बताए । तीन महिनासम्मको तथ्याङ्क सार्वजनिक भएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा पनि छिट्टै सार्वजनिक हुने उनको भनाइ छ । ‘असोजसम्मको तथ्याङ्क आयो, तीन महिनासम्मको तथ्याङ्क तथ्याङ्क आइसकेको छैन, अहिले बैंकहरूको तथ्याङ्क मात्रै सार्वजनिक भइसकेको छ, अन्य क्षेत्रको तथ्याङ्क आउन बाँकी छ, आयो भने समीक्षाको कार्य तीव्र अगाडि बढ्छ,’ उनले भने । गत वर्ष नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा भने ढिला गरी सार्वजनिक गरेको थियो । गत वर्ष मंसिर २२ गते सार्वजनिक गरेको प्रथम त्रैमासिक समीक्षा लचिलो ल्याएको थियो । यसपटक पनि बाह्य क्षेत्र सुधार भएको र आन्तरिक क्षेत्र सुधारात्मक रहेकाले लचिलो मौद्रिक नीतिको समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ । निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर घटेर एकल अंकमा झरेकाले ऋण विस्तारका लागि राष्ट्र बैंकले सहज नीति ल्याउन सक्ने आँकल बैंकरहरूले गरेका छन् । आर्थिक गतिविधि चलायमान गर्न कर्जाको मागलाई बढाउने गरी समीक्षा आउनुपर्ने बैंकरहरूको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

NEB काठमाडौं । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिए । खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ । तीमध्ये दुई सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ । विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्यांकलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ । यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

काठमाडौं । बिटकोइनले आइतबार उच्चस्तरमा नयाँ रेकर्ड राखेको छ । डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक ८० हजार डलर भन्दा बढीको मूल्य यात्रा शुरू गरेको छ। बिटकोइनले बुधबार ७५ हजार डलर पुगेर मार्चमा हासिल गरेको ७३ हजार ७९७.९८ डलरको पूर्व सर्वकालीन उच्च रेकर्ड तोडेको हो । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले गत मङ्गलबारको अमेरिकी राष्ट्रपति चुनाव जितेपछि बिटकोइनको मूल्य बढ्दै गएको छ । बिटकोइन बढ्दै जाँदा लगानीकर्ताहरू संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको कीर्तिमानलाई अझै बढी वृद्धि गर्न तयार देखिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । डेरिबिट डेरिभेटिभ्स एक्सचेन्जले बिटकोइनकाे मूल्य ९० हजारभन्दा माथि पुग्ने अनुमान गरेकाे छ । डेरीबिट डेरिभेटिभ्स एक्सचेन्ज क्रिप्टो प्लेटफर्ममध्ये एक हो, जसले भविष्यको व्यापार देखाउँछ  । के ३३ का अनुसन्धाता भेटल लुन्डेले हालको वृद्धि उल्लेखनीय रूपमा उच्च विचलन भएकाे बताएका छन् । उनका अनुसार वृद्धिले पछिल्लो समयको बुलिश फ्लोहरूलाई जोड दिएको छ । राष्ट्रपति पदमा निर्वाचित ट्रम्पले चुनावी अभियानका क्रममा अमेरिकालाई ‘प्लानेटको क्रिप्टो राजधानी बनाउने प्रतीज्ञा गरेका थिए । क्रिप्टो समुदायलाई दिएका उनका विभिन्न प्रतीज्ञाहरूमा अमेरिकी सरकारले सम्पत्ति जफत गरी संकलन गरेको १६ बिलियन डलरभन्दा बढी बिटकोइनको राष्ट्रिय क्रिप्टो भण्डार सुरु गर्ने र ब्याजदर घटाउने विषय पनि समावेश थियो । अमेरिकाको मौद्रिक नीतिको निर्देशन दिने फेडरल रिजर्भले मापदण्ड दर निर्धारण गर्दछ । यसले ह्वाइट हाउसबाट स्वतन्त्र रूपमा काम गर्दछ । फेडरल रिजर्भले लगातार दोस्रो पटक ब्याज दर घटाउने निर्णय गरेकाे थियाे । चुनावी परिणाम र फेडको सर्वसम्मत निर्णयको पृष्ठभूमिमा ब्याजदर पुनः घटाउन क्रिप्टो बजार व्यापक रूपमा उकालो लागेकाे हाे । इथरले बिटकोइनको वृद्धिलाई ओझेलमा पार्दै सात दिनमा ३० प्रतिशतले बढेकाे थियाे र सोलानाको मार्केट क्याप आइतबार १०० बिलियन डलर माथि पुग्यो । बिटकाेइनको मार्केट क्याप अहिले ८० बिलियनभन्दा माथि पुगेको छ । पछिल्लो तीन व्यापारिक दिनमा मात्रै स्पट फण्डले संयुक्त रूपमा २.३ बिलियन थपेका छन् । ट्रम्पले एसईसीका अध्यक्ष ग्यारी गेन्सलरलाई हटाउने वाचा गरेका छन्, जसले सुरक्षासम्बन्धी उल्लंघनमा नियामकसँग लडिरहेको काेइनबेसजस्ता कम्पनीहरूको लागि सम्भावित रूपमा राम्रो संकेत दिन्छ । (एजेन्सीको सहयोगमा)

चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल इभी

बुटवल । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ । आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका हुन् । दिपल इभी सार्वजनिक गर्नुहुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे । उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ । हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं,’ उनले भने । चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सयभन्दा बढी बिक्री भएका छन् । विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो । एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउनेछन् । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ ।

वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात

वीरगञ्ज । छठपर्व मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगञ्ज–हेटौँडा हुदैँ काठमाडौ जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गरे । ‘मेरो छोरालाई वीरगञ्जबाट काठमाडौं पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरु बेला वीरगञ्जबाट काठमाडौं जाँदा आठ सय ५० रुपैयाँसम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभावी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन’, उनले भने । ठाकुरले वीरगञ्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोष्ट गरेका छन् । व्यवसायीले अरु बेला टिकट दिने गरे पनि हाल टिकट छैन भनेर बढी मूल्य दिनेलाई मात्रै उपलब्ध गराउने गरेको आरोप लगाए । वीरगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राखेको भए पनि प्रहरी प्रशासनले यात्रुलाई राहत र विचौलियालाई कानुनी दायरामा ल्याउन नसकेको ठाकुरको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट भने बढी भाडा लिएको भन्दै गुनासो आएपछि अनुगमनमा जाँदा गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाही गर्न समस्या भइरहेको दाबी गर्छन् । ‘शनिबार पनि बढी भाडा लिएको भन्दै फोनमा गुनासो टिपाएपछि हामी त्यसबारे बुझ्न जाँदा पीडितपक्ष सम्पर्कमा नै आएनन्, अनि के आधारमा कारबाही गर्नु’, उनले भने, ‘हामीले परवानीपुरमा पनि नियमित जाँच गरिरहेका छौँ । कतिपय यात्रु बढी भाडा तिरेर जाँदा पनि ट्राफिक प्रहरीलाई रिपोर्ट नगर्दा त्यस्ता सवारीसाधनलाई कारबाही गर्न समस्या भइरहेको छ ।’ पर्साका ट्राफिक प्रहरी प्रमुख भट्टले वीरगञ्जको गण्डकचोकबाट बढी भाडा लिएको गुनासो आएसँगै आइतबार एउटा सवारीसाधनलाई बढी भाडा लिएको भन्दै फिर्ता गराउन लगाएको जानकारी दिए । ‘आइतबार बढी भाडा लिएको भन्ने एउटा सवारीसाधनबाट बढी भाडा फिर्ता पनि गरायौँ ।’ उनले भने, ‘बढी भाडा लिएको सवारीसाधनलाई आवश्यक कारबाही गर्नका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जलाई सिफारिस गरेका छौँ ।’ रासस

वर्तमान सरकार आफ्नै कारणले ढल्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन् । उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए । देशमा असाधारण परिस्थिति बन्दै गएको बताए । असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको जानकारी दिए । उनले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाए । संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाए । ‘यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ’, उनले भने । प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताए ।