विकासन्युज

फ्लाई ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको सोमबार स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका हुन् । निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए । काठमाडौंको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिए । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहेका थिए । विसं २०७८ फागुन १२ गतेदेखि निर्माण सुरु भएको उक्त फ्लाई ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । तीस मिटर स्पानको चार लेनको सो पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणद्वारा ६४ वटा ऊर्जा कम्पनी छनोट, कूल क्षमता ९ सय ७४ मेगावाट

काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो । प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो । प्राधिकरणले यसअघि आठ सय मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो । त्यसमा २० प्रतिशत थप गर्ने निर्णय भएको थियो । प्राधिकरणले छनोट गरेका आयोजनाको क्षमता एकदेखि ५० मेगावाट बराबर छन् । हाल छनौट भएका ६४ परियोजनाको कूल क्षमता भने नौ सय ७४ मेगावाट बराबर छ । प्राधिकरणले प्रतिकिलोवाट चार रुपैयाँ ९९ पैसादेखि पाँच रुपैयाँ ५५ पैसासम्मको दर तय गरेको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्ने गरी प्राधिकरणले सौर्य ऊर्जा उत्पादक कम्पनीसँग आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ । हिउँदमा नदीको जलस्तर घटन गई ऊर्जा उत्पादन केन्द्रहरुले कम क्षमतामा मात्रै बिजुली उत्पादन गर्ने भएकाले सौर्य परियोजनाको अवधारणा अगाडि सारिएको हो । दिनभरको माग सम्बोधन गर्न सौर्य ऊर्जा प्रभावकारी हुने ठहरसहित तत्कालका लागि झण्डै एक हजार मेगावाट बराबरको बिजुली प्रणालीमा जोडन लागिएको हो । दिनको माग धान्न वैकल्पिक व्यवस्था गर्न सकिए साँझ वा रातको माग भने जलविद्युत् आयोजनाले सम्बोधन गर्ने विश्वास लिइएको छ । सरकारले ठूला जलाशयुक्त आयोजनाको अवधारणा अगाडि सारेपनि निर्माण सम्पन्न गर्न लामो समय लाग्ने देखिन्छ । केही जलाशययुक्त आयोजनाको प्रक्रिया अगाडि बढाइएको भए पनि लगानीको ढाँचालगायतका विषयमा सहमति जुटन नसक्दा निर्माणमा जान ढिलाइ भइरहेको छ । जानकारहरूका अनुसार एकदेखि डेढ वर्षभित्रमा सौर्य परियोजनाले बिजुली उत्पादन गर्ने भएकाले प्रणाली व्यवस्थापन गर्न सहज हुने छ ।

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट, जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारे छलफल

बाकु । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेट भएको हो । भेटमा उनीहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको हो । ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए । सोमबारबाट सुरु भएको कोप–२९ सममेलनमा  भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुगेका हुन् ।

नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदको जोड

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी लगायतका सांसदहरुले नीतिगत भ्रष्टाचार हुनेगरी मन्त्रीपरिषदले गर्ने निर्णय समेत रोक्ने गरी नीतिगत भष्टाचार नियन्त्रणका लागि बलियो कानून बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । कांग्रेस सांसद केसीले मुलुकलाई व्रह्मलुट हुनबाट जोगाउन पनि नीतिगत भ्रष्टाचार हुन नपाउने गरी कडा कानून बनाउन आवश्यक रहेको बताए । मन्त्रीपरिषद्बाट हुने नीतिगत निर्णयले पनि भ्रष्टाचारलाई बढावा दिएको सयौँ उदाहरण रहेकाले त्यसलाई नियन्त्रण हुनेगरी स्पष्ट रुपमा कानूनी व्यवस्था गर्नुपर्ने जानकारी दिए । ‘सम्बन्धित मन्त्री र मन्त्रालयले गर्ने कुरालाई सोधै क्याविनेटमा लिएर गएर क्याविनेटमार्फत डिसिजन गरेर त्यो नीतिगत निर्णय भन्ने आधारमा त्यसलाई कारबाही नगर्ने खालको जुन अवस्था छ । त्यसलाई हटाउनु पर्दछ’, उनले भने । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले दोषीलाई जोगाउने नियतका साथ कसुर लगाउन नहुने गरी स्पष्ट कानूनी व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद कुँवरले वदनियतपूर्ण ढंगले कसैमाथि पनि अभियोग लगाउन नपाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनु पनि सरकारलाई दबाब दिए । ‘कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारीले निर्दोष निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले वदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन भन्नेकुरा ऐनमा नै उल्लेख गर्न उपयुक्त हुन्छ, उनले भने । सांसद कुँवरले अख्तियार दुरुपयोग अनुसन्धानको कार्य क्षेत्र बिस्तार गर्ने भन्दा पनि त्यसको कामलाई अझै प्रभावकारी बनाउने विषयमा ध्यान दिनुपर्ने पनि जानकारी दिए ।

कतार एयरवेजले भोलिदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्ने, भाडा नियन्त्रण गर्न मद्दत पुग्ने

  काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मंगलबार (भोलि) देखि भैरहवामा दैनिक उडान भर्न लागेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्न लागेको जानकारी दिए । कतार एयरवेजको भैरहवा उडान साङ्केतिक रूपमा ठूलो उपलब्धि भएको उनले उल्लेख गरे । ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय ‘इन्टरनेशनल एरोनोटिक कम्युनिटी’ले चिन्नु हो,’ सूचना अधिकारी भूलले भने, ‘विश्वका ठूला एयरलाइन्स कतार, फ्लाई दुबई, थाई एयर एसिया, जजीरालगायत अन्तर्राष्ट्रिय एयरलाइन्सको भैरहबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्त्व हुन्छ । हामी (नेपालले) बनाएको अन्तर्राष्ट्रिय एयरपोर्ट ‘गेट वे’ को रूपमा विश्व प्रसिद्ध एयरलाइन्सले सेडुअल उडानको रूपमा प्रयोग गर्नु भनेको आर्थिक हिसाबले गौतमबुद्ध विमानस्थल र आसपासको क्षेत्र पनि आर्थिक सम्भावनायुक्त हुने हुनाले यसको विशेष महत्त्व छ ।’ सूचना अधिकारी भूलका अनुसार गौतमबुद्ध विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय उडानले हवाई भाडा नियन्त्रण गर्न मद्दत पुग्छ । नेपालले अधिकांश देशसँग गरेको हवाई सेवा सम्झौतामा इन्धनको मूल्य र प्रतिस्पर्धाको आधारमा हवाई भाडा निर्धारण गरिएको हुन्छ । स्वदेशी र विदेशी वायुसेवा कम्पनीको समन्वयमा प्रतिस्पर्धी उत्कृष्ट ‘एयरफेयर सिस्टम’ भएपछि स्वदेशी वायुसेवा कमजोर हुँदाखेरि विदेशी वायुसेवाको क्षमतामा निर्भर हुनुपर्दा विदेशी कम्पनीले हवाई भाडा बढाउँदा बजार उनीहरूको पहुँचमा जान्छ । ‘सरकारले विमानस्थल सहुलियतको प्याकेज घोषणा गरेको छ । यसबाट एयरलाइन्सले पनि नयाँ विमानस्थलबाट व्यावसायिक उडान भरेर श्रेय लिने सम्भावनाको प्रतिस्पर्धा हुने तथा यसले अन्तर्राष्ट्रिय महत्त्व राख्ने प्राधिकरणका विश्वका ठूला एयरलाइन्स विश्वको नम्बर एक एयरलाइन्स कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘रिकनाइज’ गर्नु नै आफैमा रणनीतिक रूपमा ठूलो महत्त्व रहन्छ,’ सूचना अधिकारी भूलले भने, ‘यसले भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण सिर्जना हुन्छ ।’ कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । ३० नोभेम्बरसम्म भैरहवाका लागि कतार एयरवेजको दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ । विमानस्थल मर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो । योसहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान भइरहेको छ । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् । गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थियो । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । यस्तै, फलाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो । हप्ताको सातै दिन फलाई दुबईले दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ । विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको विमानस्थलले जनाएको छ । टीआइएको ‘ट्याक्सी वे’ निर्माण धमाधम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को स्तरोन्नतिको क्रममा धावनमार्गसँगै समानान्तर हुनेगरी ट्याक्सी वे निर्माणको काम धमाधम भइरहेको विमानस्थलले जनाएको छ । राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल विस्तारको काम भइरहेको छ । प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काठमाडौं विमानस्थलको मर्मत र विस्तारको काम सुरु गरेको थियो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।

१ करोड २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से)मा सोमबार १ करोड २२ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । विभिन्न ३ कम्पनीको १ करोड २२ लाख ७८ हजार ५०० कित्त सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये आखु खोला जलविद्युत कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सोमबार सूचीकृत भएको हो । यसैगरी, कर्पोरेट डेमलपमेन्ट बैंकको २ लाख ५० हजार कित्ता बोनस सेयर र समाज लघुवित्त वित्तीय संस्थाको २८ हजार ५०० कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि खरिद बिक्रि गर्न सकिने छ ।

विर्तामोडमा खुल्यो कर्मचारी सञ्चयकोषको सेवा केन्द्र, चार जिल्लाका ग्राहकलाई सुविधा दिने

झापा । कर्मचारी सञ्चयकोषले झापाको विर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ । सोमबार एक कार्यक्रमबीच कोषका केन्द्रीय प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको शुभारम्भ गरे । साबिक मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता सेवाग्राहीको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको र यसले सेवा लिन विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य भएको धितालले बताए । कोषले प्रविधिमा भइरहेको विकाससँगै अनलाइनमार्फत सेवा प्रवाह गरिरहेको भए पनि धितोमा आधारित कर्जालगायत अन्य सेवा प्रवाहका लागि स्थानीयस्तरमा सेवा केन्द्रको स्थापना महत्वपूर्ण रहेको उनको भनाइ थियो । सेवा केन्द्रका प्रमुख दीपेन्द्र सापकोटाले कोषमार्फत सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह भइरहेको जानकारी दिए । उनले सञ्चयकर्ताको सामाजिक सुरक्षाका लागि सुत्केरी तथा शिशु स्याहार योजना, स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपूर्ति योजना र काजकिरिया अनुदान योजना सञ्चालन भइरहेको बताए । कर्मचारी सञ्चयकोष ऐन २०१९ बमोजिम सञ्चय कोषले आवश्यक व्यवस्थापन गर्दै आएको छ । हाल निवृत्तिभरण कोष ऐन २०७५ बमोजिम विसं २०७६ साउनदेखि नियुक्त भएका कर्मचारीहरुको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्थापनसमेत कोषले गरिरहेको शाखा कार्यालय विराटनगरका प्रमुख रामशरण अर्यालले बताए । रासस

नेप्से परिसूचक उकालो लाग्दा ११ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२.१४ अंकले उकालो लागेर दुई हजार सात सय ६०.२१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अंकले उकालो लागेर चार सय ९० दशमलव ७२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ । नेप्सेका अनुसार, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स ९.७१, सानिमा जिआइसी इन्सुरेन्स ४.१३, दिव्यश्वरी हाइड्रोपावर ३.९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाएका छन् ।