बीमा प्राधिकरण र एएसएनबीच समझदारी, बीमा क्षेत्रमा थप योगदान पुर्याउने विश्वास
काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन)बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एएसएनका अध्यक्ष प्रेक्षा माथेमाले प्राधिकरणको केन्द्रीय कार्यालयमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पुर्याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरू समेटिएका छन् । यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञानसम्बन्धी अध्ययन एवम् अनुसन्धानसम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदानप्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) पनि उपस्थित थिए ।
बिजुली निर्यातमा अर्को सफलता, ४० मेगावाट बंगलादेशलाई बिक्री
काठमाडौं । नेपाल सरकारलाई बिजुली निर्यातमा थप अर्को सफलता मिलेको छ । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको हो । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका तर्फबाट भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरुवात गरेका छन् । नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको सुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रबारबाट बंगलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात सुरु हुनु दक्षिण एशियामा विद्युत व्यापारमा कोशेढुङ्गा सावित भएको बताए । उनले विद्युत निर्यातको लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बंगलादेशमा विद्युत निर्यात सुरु भएको बताए । बंलादेशमा विद्युत निर्यातको लागि सहजिकरणको लागि भुमिका खेल्ने भारत सरकार र बंलादेश सरकारलाई धन्यवाद दिए । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रशारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रशारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रशारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत बंगलादेश विद्युत पुग्नेछ । नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत निर्यात मध्यान्ह साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत निर्यात सुरु हुनेछ ।
मस्कको ‘एक्स’ विरुद्ध अर्बपतिले हाले मुद्दा, के हो विवाद ?
काठमाडौं । युरोपका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टले एलन मस्कको ‘एक्स’ (पुरानो ट्वीटर) विरुद्ध मुद्दा दायर गरेका छन् । आफ्नो अखबारको सामग्री एक्सले बिना भुक्तानी प्रयोग गरिरहेको दाबी अर्नाल्टको छ । ‘ले पेरिसिएन’ र ‘लेस इकाेज’ नामक दुई फ्रान्सेली पत्रिका अर्नाल्टले चलाउँदै आएका छन् । दुवै पत्रिका अर्नाल्टको लक्जरी साम्राज्य एलभीएमएचअन्तर्गत रहेका छन् । बेलायती पत्रिका ‘टेलिग्राफ’को रिपोर्टअनुसार दुई फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’ र ‘लेस इकोस’ यस मुद्दाको हिस्सा हुन् । दुई अन्य दैनिकह ‘ले फिगारो’ र ‘ले मोन्डे’ ले पनि मुद्दालाई समर्थन गरिरहेका छन् । अर्बपति अर्नाल्टले यी समाचारपत्रहरूलाई २०१९ को युरोपेली निर्देशनअनुसार भुक्तानी दिनुपर्ने दाबी गर्छन् । यी निर्देशनहरूले पत्रपत्रिका, म्यागजिन वा प्रेस एजेन्सीहरूलाई उनीहरूको सामग्री पुन: प्रयोग गरेबापत पारिश्रमिक प्राप्त गर्न अनुमति दिन्छ । रिपोर्टका अनुसार गुगल र मेटाको विपरीत एक्स फ्रान्सेली समाचार प्रकाशकहरूसँग वार्ता गर्न कहिल्यै सहमत भएकाे छैन । यो मुद्दाले विश्वका दुई धनी व्यक्तिहरूलाई अदालतमा आमनेसामने खडा गर्ने आँकलन गर्न सकिन्छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार हाल ३१९ अर्ब डलरको कुल सम्पत्तिका साथ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । योसँगै बर्नार्ड अर्नाल्ट १६४ अर्ब डलरको सम्पत्तिसहित विश्वको पाँचाैं र युरोपका सबैभन्दा धनी व्यक्ति हुन् । अर्नाल्टको सम्पत्ति घट्यो, मस्क बढ्यो ब्लूमबर्गका अनुसार अर्नाल्टको सम्पत्तिमा वार्षिक रूपमा ४३.४ बिलियन डलरले गिरावट आएकाे छ । यसको विपरीत सूचकांकअनुसार मस्कको सम्पत्ति वार्षिक रूपमा ९०.० बिलियनले बढेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अमेरिकी चुनावमा फेरि जित हासिल गरेसँगै मस्ककाे भाग्य पुन: चम्केकाे हाे । मस्कले ट्रम्पको पक्षमा खुलेर समर्थन गरेका थिए । पेरिस न्यायिक अदालतले एक्सलाई टेलिरामा, कुरिअर इन्टरनेशनल, ले हफिङ्टन पोस्ट, मालेशेर्बेस पब्लिकेशन्स र ले नोवेल ओब्स लगायतका फ्रान्सेली प्रकाशकहरूको समूहलाई व्यापार डेटा उपलब्ध गराउन बाध्य पारेको दुई महिनापछि मुद्दा आएको हो ।(एजेन्सीको सहयोगमा)
सुनबाट सेयरमा फर्किए लगानीकर्ता, सुनको बजार थप सुस्त बन्ने विश्लेषण
काठमाडौं । कार्तिक २१ गते सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो । त्यसको एक सातापछि अर्थात् कात्तिक ३० गते सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ छ । कात्तिक २१ गते २६७५.५१ बिन्दुमा रहेको सेयर बजार कात्तिक २९ गते अर्थात् बिहीबार २७४८.७८ बिन्दुमा पुगेको छ । यो एक साताको अवधिमा सुनको मूल्य करिब ५ प्रतिशतले घटेको छ भने सेयर बजार २.७३ प्रतिशतले बढेको छ । एक साताको अवधिमा सेयर बजार तीन दिन बढेको छ भने दुई दिन घटेको छ । सुन भने निरन्तर घटिरहेको छ । पछिल्लो दुई सातामा भने सुनको मूल्य ६ प्रतिशतले घटेको छ । १५ दिनअघि १० करोड रुपैयाँको सुन खरिद गर्ने लगानीकर्ताले ६० लाख रुपैयाँ गुमाएको छ भने एक साताअघि १० करोडको सेयर खरिद गरेको लगानीकर्ताले २० लाख रुपैयाँ नाफा गरेको छ । यो सुन र सेयर खरिद गर्ने लगानीकर्ताले कमाएको र गुमाएको हिसाबकिताब हो । दुई साताअघि मात्रै सुन खरिद गरेर मनग्य आम्दानी गरिरहेका लगानीकर्ता अहिले पुर्पुरोमा हात लगाउन विवश छन् । सेयर बजारमा बढ्दो ट्रेण्ड देखिएको छ । त्यसैले पनि धेरै लगानीकर्ताले अब सुनको ठाउँमा सेयर बजारलाई लगानीको विकल्प बनाएको हुन् कि भन्ने अनुमान पनि गर्न थालिएको छ । बजार पुँजीकरणको हिसाबले भने पछिल्लो दुई सातामा सेयर बजार १ सय १६ अंकले बढेको छ । १७ दिनमा लगानीकर्ताले १ खर्ब ८९ अर्ब ५४ लाख रुपैयाँ कमाएका छन् । कार्तिक ११ गते बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब १३ लाख रुपैयाँ थियो । १५ दिनपछि कात्तिक २८ गते सेयर बजार पुँजीकरण ४३ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । किन घट्दैछ सुनको मूल्य ? पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दा अझै घट्न सक्ने अनुमान लगानीकर्ताको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको छ । विशेषगरी अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनपछि सुनको मुल्य ओरालो यात्रामा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेका कारणले नै सुनको मूल्य निरन्तर घटिरहेको हो । उनले अन्तर्राष्ट्रिय घटनाक्रमले सुनको मूल्य घटबढ हुने भएकोले ट्रम्पको जितले सुनको मूल्य घटेको दाबी गरे । राष्ट्रपति ट्रम्पले मध्यपूर्वलगायत विभिन्न देशमा जारी युद्धलाई समाधान गर्ने नीति लिएका कारण सुनको भाउ घटेको उनको बुझाइ छ । व्यवसायी पृष्ठभूमिका व्यक्ति सरकारको नेतृत्वमा आएपछि लगानीकर्ता सेयर बजारमा लगानी गर्न उत्साहित भएको र सेयर बजार बढ्दा सुनको बजार घटेको हुन सक्ने उनको भनाइ छ । अहिले अमेरिकामा पनि सेयर बजार निरन्तर बढिरहेको छ । अमेरिकाका सेयर लगानीकर्ता उत्साहित भएका छन् । ट्रम्पले चुनाव जितेपछि अमेरिकाका लगानीकर्ता सुनभन्दा सेयर बजारमा आकर्षित भएको निवर्तमान अध्यक्ष शाक्यको दाबी छ । त्यहाँ सुनमा लगानी गर्ने लगानीकर्ता सुन बेचेर सेयरमा लगानी गर्न थालेको उनको अनुमान छ । ‘ट्रम्पको जितपछि त्यहाँ सुनमा लगानी गरेको लगानीकर्ता पनि सेयर बजारतिर मोडिएको जस्तो देखिन्छ, जसले गर्दा पनि सुनको भाउ घट्ने र अमेरिकाको सेयरको मूल्य बढिरहेको छ, नेपालमा पनि ठ्याक्कै त्यस्तै भएको छ,’ उनले भने । नेपालमा पनि सुनमा लगानी गर्ने लगानीकर्ता सेयरमा फर्किएका हुन् ? भन्ने जिज्ञासामा उनले भने, ‘नेपालमा सुनको र सेयरको खासै सम्बन्ध छैन । तर, विदेशमा यसको सम्बन्ध हुन्छ । अहिले परिदृश्य हेर्दा त्यो अनुमान पनि लगाउन सकिन्छ ।’ पछिल्लो समय सुनको मूल्य घटे पनि किनबेच भने सुस्त नै रहेको निवर्तमान अध्यक्ष शाक्यको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको मूल्य अझै घट्न सक्ने विश्लेषण राखिरहेका छन् । डलरको मूल्य बढिरहेको बेला र लगानीकर्ताले सेयर बजारमा पनि लगानी केन्द्रित गरिरहँदा अझै पनि सुनको मागमा कमी आउने र मूल्य पनि घट्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरूले सुरक्षित विकल्पको रूपमा डलर र बन्डमा लगानी बढाइरहेका छन् । यसले गर्दा सुनको बजार सुस्त हुन सक्ने विश्लेषण गरिन थालिएको छ । यस कारण बढिरहेको छ सेयर सुनको बजार घटिरहँदा सेयर बजार भने अहिले उकालो यात्रामा छ । सेयर लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियारले दशैं तिहारकोको बीचमा विगतमा सेयर बजार सुस्ताउने गरेको भएपनि यस पटक भने बढेको धारणा राख्छन् । उनका अनुसार बैंकमा अत्यधिक तरलता, घट्दो ब्याजदर, सेयरलाई प्राथमिकता दिने सरकारी नीति लगायत कारणले अहिले सेयर बजार बढिरहेको हो । उनले पनि सेयर र सुनको सम्बन्ध भने खासै नभएको तर्क राखे । नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी थालेको छ । सो समीक्षामार्फत् सेयर बजारमैत्री नीति आउनेमा लगानीकर्ता आशावादी छन् । त्यसकारण पनि बजार बढेको हुन सक्ने भनाइ उनको छ । विश्लेषक राैनियारका अनुसार अहिले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच राम्रो सम्बन्ध रहेकोले मौद्रिक नीतिको समीक्षा पनि सहज किसिमको आउन सक्ने अनुमानले सेयर बजार बढेको हो । उनले लघु वित्त वित्तीय संस्थालाई लगाइएको १५ प्रतिशत लाभांशको सीमा हटाउने, सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्ने, व्यक्तिगत लगानीकर्तालाई लगाइएको १५ करोड रुपैयाँको कर्जाको सीमा हटाउने र बैंकहरूले सेयर किनेपछि एक वर्षसम्म सो सेयर बिक्री गर्न नपाउने नियम हटाउन सकेमा सेयर बजार अझै बढ्न सक्ने विश्वास व्यक्त गरे ।
२५ करोड खर्चेर नुवाकोटको माझिटारमा बन्यो शीतभण्डार
त्रिशूली । जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो । हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले विसं २०७३ मङ्सिरमा काम सुरु गर्दा दश हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको जानकारी दिए । हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको गजुरेलको भनाइ छ । यहाँ उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न विगतमा ठाउँ अभावले चुनौती भइरहेकामा नयाँ निर्माण भएको शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा सहज बनाएको शीतभण्डार सञ्चालक गजुरेलले बताए । ‘आलु उत्पादनको लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्ने वित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो’, सञ्चालक गजुरेलले भने, ‘सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भउपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।’ तेह्र रोपनी क्षेत्रफलमा २५ करोड रुपैयाँ लागतमा शीतभण्डार निर्माण भएको प्रालिका अध्यक्ष गोपी कँडेलले जानकारी दिए । उनका अनुसार प्रालिको पाँच करोड रुपैयाँ लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी विसं २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो । अठार महिनामा काम सम्पन्न गर्ने गरी १९ करोड ९४ लाख रुपैयाँमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो । तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले पाँच करोड रुपैयाँ लगानी थप गरेर शीतभण्डार तयार गरेको जनाइएको छ । निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ । रासस
महालक्ष्मी बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय क्युआर पेमेन्ट गर्न सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलिपे प्लसद्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र पहिलो विकास बैंक बनेको कम्पनीले जनाएको छ । बुधबार कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरुले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् । यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
विश्वको नजर भारत र चीनतर्फ, विश्वव्यापी आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान
काठमाडौं । विश्वको ३५ प्रतिशत जनसंख्या भारत र चीनमा बसोबास गर्दछन् । यी दुई देशले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान दिने अनुमान गरिएको छ । यही कारण सारा विश्वकाे नजर यी दुवै मुलुकमा छ । यस सन्दर्भमा सिंगापुरकी सिनियर विदेश मन्त्री सिम एनको बिहीबारको भनाइ निकै महत्त्वपूर्ण छ । उनले दक्षिणपूर्वी एसियाली क्षेत्रको भारत र चीन दुवैसँग बलियो सम्बन्ध हुनुपर्नेमा जाेड दिएका थिइन् । एशियाको विकासमा यी दुवैको भूमिका निकै महत्त्वपूर्ण छ । सिंगापुरको नेसनल युनिभर्सिटीमा आयोजित कार्यशालामा सिम एनले सो कुरा बताएका हुन् । यस कार्यशालाको विषय ‘चीन र भारतः विश्व अर्थतन्त्रलाई आकार दिने दुई ठूला देश’ थियो । कार्यशालामा विज्ञहरूले चीन र भारतको बढ्दो विश्वव्यापी प्रभावबारे छलफल गरेका थिए । क्रयशक्तिका आधारमा विश्वको पहिलो र तेस्रो ठूलो अर्थतन्त्र भएकाले यी दुई देशको विश्वमा गहिरो प्रभाव रहेको विदेशमन्त्री एनले बताइन् । विश्वव्यापी आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान हुने विश्वको ३५ प्रतिशत जनसंख्या चीन र भारतमा बस्छन् । सन् २०२४ सम्ममा विश्वव्यापी आर्थिक वृद्धिमा उनीहरूको योगदान ५० प्रतिशत हुने अनुमान गरिएको छ । इस्ट एसियाली इन्स्टिच्युट (ईएआई)का निर्देशक अल्फ्रेड शिप्केले भने, ‘चीन र भारत विश्वव्यापी आर्थिक परिदृश्यमा महत्त्वपूर्ण स्तम्भको रूपमा उभिएका छन् ।’ यसैबीच दक्षिण एसियाली अध्ययन संस्थान (आईएसएएस)का निर्देशक इकबाल सिंह सेभियाले ‘डिजिटलाइजेशन र हरित अर्थतन्त्रमा संक्रमणको भविष्यका लागि भारत र चीन दुवै महत्त्वपूर्ण रहेकाे बताए । यो कार्यशालाको आयोजना सिंगापुरको नेसनल युनिभर्सिटी (एनयूएस) मा रहेको पूर्वी एसियाली संस्थान (ईएआई) र इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज (आईएसएएस) ले संयुक्त रूपमा गरेको हो । विज्ञहरूका अनुसार समग्र विश्वव्यापी प्रणालीको विकास भइरहेको छ । भारत र चीनले विश्व अर्थतन्त्रको भविष्यलाई आकार दिनेछन् ।
अब निजामती कर्मचारीले किरिया, बिरामी र प्रसुतिबाहेक अन्य बिदा नपाउने
काठमाडौं । अब निजामती कर्मचारीले किरिया, बिरामी र प्रसुतिबाहेक अन्य बिदा नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै उक्त बिदा बाहेक अन्य समयमा बिदा नदिने उल्लेख गरेकाे हाे । यस्तै मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन कडा निर्देशन जारी गरेको छ । सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले कडा निर्देशन दिएको हो । मन्त्रालयले सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गर्दै निर्देशन अवज्ञा गरेमा कडा विभागीय कारबाही गर्ने चेतावनी समेत दिएको छ । रमाना नदिएका/नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएकाले तत् तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम निर्देशन दिइएको मन्त्रालयले स्पष्ट गरेको छ । ‘नेपाल सरकार (मन्त्रिपरिषद्), मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूबाट विभिन्न मितिमा निजामती सेवा ऐन, २०४९ को दफा १५ (१) बमोजिम पदस्थापना गरिएका, दफा १८ (१) बमोजिम सरुवा गरिएका, दफा १८क (१) बमोजिम काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९(९) र दफा ११(२) बमोजिम कामकाज गर्न खटाइएका तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरू प्रचलित कानूनबमोजिम सरुवा/पदस्थापना/कामकाज/काजमा खटाइएका तथा काज फिर्ता गरिएका निकाय/कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नदिएका/नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको हुँदा तत् तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई पठाउने सम्बन्धमा तपसिल बमोजिम गर्नु/गराउनु हुन यस मन्त्रालयको २०८१/०७/२८ को निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ । यस्ता छन् निर्देशन १. हालसम्म सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ (सात) दिनभित्र सोको जानकारी यस मन्त्रालयलाई गराउने । २. सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिने अवधि गुज्रिएपश्चात साविकका निकाय/कार्यालयमा निजहरूको किरिया विदा, बिरामी विदा र प्रसुति विदा बाहेक अन्य विदा स्वीकृत नगर्ने/नगराउने । ३. निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराउने सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नका लागि सम्बन्धित निकायलाई अनुरोधसहित पत्राचार गर्ने । ४. बुँदा नं. १–३ सम्मका निर्णय कार्यान्वयन नगर्ने/नगराउने विभागीय प्रमुख/कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६० बमोजिम विभागीय सजायसम्बन्धी कारबाही अघि बढाउने ।