विकासन्युज

ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल र जर्मनबीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले जर्मनीले नेपालको आर्थिक विकासका लागि गरेको योगदानप्रति आभार व्यक्त गरे । उनले चिलिमे–त्रिशूली प्रसारण लाइन, लेखनाथ–दमौली प्रसारण लाइन, सौर्य ऊर्जा प्रवर्द्धनजस्ता परियोजनामा जर्मन सरकारले गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरे । मन्त्री खड्काले ऊर्जा क्षेत्रका आवश्यकतालाई सम्बोधन गर्न, क्षेत्रीय सहयोगलाई बढावा दिन र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई प्रवर्द्धन गर्न जर्मन सरकारले सहयोग गरेका परियोजनाबाट निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । ऊर्जामन्त्री खड्काले भर्खरै सम्पन्न भएको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामार्फत नेपालमा जर्मनीले गरेको कुल ५६ मिलियन युरो बराबरको प्रतिबद्धताका लागि धन्यवाद दिए । भेटमा नेपालका लागि जर्मनीका राजदूत डा प्रिन्जले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक प्रसारण लाइन र सौर्य ऊर्जाको विकासका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले नेपाली जनताको जीवनस्तर उकास्नका लागि जर्मन सरकारले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा मन्त्री खड्कासँगै ऊर्जासचिव आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठ, मन्त्रीका निजी सचिव मनोज पन्थलगायतको सहभागिता थियो ।

‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको ऊर्जाराज्यमन्त्री तामाङको दावी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको दाबी गरेका छन् । भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप कांग्रेसको सभापतिसमेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए । महामन्त्री शर्माले ऊर्जा राज्यमन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्यमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिए । उनले पार्टीले विश्वास गरेर पठाएर नै कानुनअनुसार राज्यमन्त्री भएको उल्लेख गरे । उनले देशको कानुनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताए । उनले भने,‘कान्छाराम कन्स्टङ्क्शन प्रालिमा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको थिएँ । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानुनभन्दा ठूलो केही छैन । कानुनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेशा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु ।’ मन्त्री तामाङले २०७९ को सांसदको टिकट पाउनुभन्दा पहिला कम्पनीबाट निस्किएकाेमा जाेड दिए । उनले भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्न मागसमेत गरे ।

संस्थाको लक्ष्य पुरा गर्न कर्मचारीमात्र नभई ग्राहकलाई पनि सन्तुष्ट बनाउनुपर्छ : गभर्नर अधिकारी

  काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पिन संस्थाले लक्ष्य हासिल गर्न संस्थासँग सन्तुष्ट कर्मचारी हुन जरुरी रहेको बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सवको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंकको व्यवस्थापक तथा सञ्चालकहरूलाई सुझाव दिँदै बैंकको संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीलाई सन्तुष्ट बनाएर राख्नुपर्ने धारणा व्यक्त गरे । यसका साथै उनले कर्मचारीहरूसँग पनि सन्तुष्ट ग्राहक हुनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा बैंकका कर्मचारी यूनियनका अध्यक्षहरूले व्यवस्थापक र सञ्चालकहरूको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । यूनियनका अध्यक्षहरूले व्यवस्थापक र सञ्चालकहरूका विषयमा प्रश्न उठाउँदै असन्तुष्ट व्यक्त गरेका थिए । यसैगरी, उनीहरूले बैंकमा कर्मचारीको अभाव, सेवा सुविधा कम, संगठन र व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने, सरुवा बढुवामा सबै कर्मचारीहरूलाई एकै प्रकारले गर्नुपर्ने, लगायतका विषयमा व्यवस्थापक र सञ्चालकको ध्यानाकर्षण गराएका थिए । यसका साथै सरकारी बैंकमा केही कानुनीरूपमा रहने झन्झटका विषयमा पनि उनीहरूले गभर्नरमार्फत अर्थमन्त्रीलाई ब्रिफिङ गर्न अनुरोध गरेका थिए । गभर्नर अधिकारीले उक्त आफ्नो सम्बोधनका क्रममा यूनियनले राखेका कुराहरूको पनि जवाफ दिएका थिए । सोही क्रममा उनले कर्मचारीलाई सन्तुष्ट बनाए मात्र लक्ष्य पुरा गर्न सकिने सुझाव दिएका हुन् । ‘अन्य १९ वटा बैंकसँग नेपाल बैंकले प्रतिष्पर्धा गर्नुपर्छ । यसरी प्रतिष्पर्धा गर्न र लक्ष्य हासिल गर्न कर्मचारीलाई सन्तुष्ट बनाएर अघि बढ्नु पर्दछ,’ गभर्नर अधिकारीले थपे, ‘कर्मचारीले पनि ग्राहकलाई सन्तुष्ट बनाउनु पर्दछ ।’ यसैगरी, कार्यक्रममा बोल्दे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तीलकराज पाण्डेयले बैंकको हालको अवस्था र भावी योजनाको बारेमा सारांसमा उल्लेख गरेका थिए । सोही क्रममा उनले बैंकको खराब कर्जा वृद्धिलाई पुस मसान्तसम्म नियन्त्रण गर्ने बताए । उनले असोजको दोस्रो साता आएको अविरल वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोबाट देशमा ठुलो धनजनको क्षति पुगेको उल्लेख गर्दै त्यस विपदको घडीमा सबै व्यवसायीहरूलाई असर परेको बताए । त्यसकारण पनि बैंकको खराब कर्जा बढेको उनको भनाइ छ । उनका अनुसार हाल बैंकको खराब कर्जा २.८ प्रतिशत रहेको छ । पुस मसान्तसम्म यसलाई घटाउने उनको अठोढ रहेको छ । यसैगरी, सीईओ पाण्डेयले अहिले लगानीको सुवर्ण अवसर भएकाले उद्योगी व्यवसायीहरुलाई लगानी गर्न सुझाव दिए । बैंकको व्याजदर एकल अंकभन्दा निकै तल झरेको, तरलता प्रसस्त रहेको र अन्य बाह्य क्षेत्र पनि मजबुद रहेकाले अहिलेको समय लगानी गर्ने समय भएको उनको भनाइ छ । कार्यक्रममा विभिन्न १२ वटा ब्रान्चलाई सम्मान गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा आयोजित खेलका विजेता र उपविजेता टोलीहरूलाई पनि सम्मान गरिएको थियो । गभर्नर अधिकारीले उक्त पुरष्कृत ब्रान्च र टिमलाई पनि शुभकामना दिएका थिए ।

काठमाडौं महानगरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको छ । शुक्रबार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामा डोजर चलाइ हटाएको हो । अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलको भनाइ छ । अतिक्रमित संरचना हटाउन खोज्दा सामाजिक अभियन्ता र मारवाडी समुदायहरुले विरोध जनाएका थिए ।

स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । गृहमन्त्री लेखकले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको पनि बताए । उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि जानकारी दिए । निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रवन्ध मिलाउने पनि गृहमन्त्री लेखकले बताए । ‘मैले सरकारको तर्फबाट र मेरो तर्फबाट के आग्रह गर्न चाहन्छु भने उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न हुन्छ । यसका लागि सुरक्षाका सबै आवश्यक प्रवन्धहरु मिलाईन्छन्’, उनले भने । गृहमन्त्री लेखकले निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग जुटाउने कुरामा सरकार लागि परेको बताए ।

रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो

गण्डकी । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो । अनुसन्धानका सन्दर्भमा उनलाई गत मंगलबार पोखराबाट भैरहवा लगिएको थियो । शुक्रबार दिउँसो १ः३० बजे यति एयरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।

राइटपथले मंसिर ३ गते ‘यूके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्ने,३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि एकै छानामुनि

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपथ करिअर काउन्सिलिङले ‘यूके ग्रान्ड एडमिसन डे’को आयोजना गर्ने भएको छ । देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एडमिसन डे’ सम्पन्न गरिसकेको राइटपथ करिअर काउन्सिलिङले आगामी मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्न लागेको हो । विशेषगरी युके जाने विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरूले युकेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर प्रत्यक्षरूपमा आफ्ना जिज्ञासाहरू मेटाउन सक्ने आयाेजकले जनाएकाे छ । राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले उच्च शिक्षा हासिल गर्न युके जान चाहने विद्यार्थीहरूले सोही दिनमा सम्पूर्ण आवश्यक कागजातहरू बुझाएमा तत्कालै अफर लेटर प्रदान गरिने जानकारी दिए । राइटपाथले उक्त एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सिइओ डिसीका अनुसार युके ग्रान्ड एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूको एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट र आईईएलटीएसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै एकजना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोन गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको छ । छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । काठमाडौंको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौंडा, दाङ, बुटवल, धनकुटा, भारत र बेलायतमा समेत सेवा विस्तार गरी आफ्नो सेवा प्रदान गरिरहेको छ । त्यस्तै, विद्यार्थीहरूले मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा हुने एडमिसन डे मा सहभागी भई यूकेसम्बन्धी सम्पूर्ण परामर्श लिन सक्नेछन् । शैक्षिक मेला बिहान १० बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ । के के छन् आकर्षण ? – एकै ठाउँमा ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग भेट गर्न सकिने – विश्वविद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गर्न सकिने – विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर – भर्नाका लागि आवश्यकताबारे जान्न र भर्ना गर्न सकिने – सहभागी हुने विद्यार्थीहरूका एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट – अध्ययनपछि काम गर्ने अवसरहरूबारे जान्न सकिने – एक जना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोनको व्यवस्था – सहभागी विद्यार्थीलाई आईईएलटीएस कक्षामा ५० प्रतिशतसम्म छुट, आदि

हेटौँडा सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढमहिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ । बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्नेसम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी दिए । उनले उद्योगमा आइपरेको आर्थिक संकट उत्पादन रोकिएको भन्दै वैकिल्पक आर्थिक स्रोत जुटाएर कच्चापदार्थ, कोइला आपूर्ति गरी सञ्चालन गरिने बताए । महाप्रबन्धक पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको ममर्तसम्भार गर्ने र आवश्यकताअनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने दृढता व्यक्त गरे । उनले हाल उद्योगमा करिब आठ सय उत्पादित बोरा सिमेन्ट जगेडा रहेको भन्दै सो सिमेन्टलाई काठमाडौंसहित विभिन्न जिल्लाका डिलरमार्फत खपतको प्रयास भइरहेको जानकारी दिए । अहिले उद्योगमा करिब नौ सय मेट्रिकटन कोइला भण्डारणमा जगेडा राखिएको जनाउँदै महाप्रबन्धक पाण्डेले बाँकी अपुग पाँच हजार मेट्रिकटन कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको बताए । करिब चार दशक पुरानो उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन नसकिपछि उद्योग बन्द हुने अवस्थामा आएकाले सङ्घीय सरकारसँग आर्थिक अनुदान उपलब्ध गराउनुपर्ने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले आग्रह गरे । विसं २०३३ मा हेटौँको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । उद्योगलाई तत्कालीन सरकारले रु एक अर्ब ५० करोड रकम उपलब्ध गराइएको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गरी विभिन्न सहरमा आपूर्ति गर्दै आएको छ । रासस