पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह
भक्तपुर । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् । रफत सञ्चार क्लबद्वारा मंगलबार यहाँ आयोजित अन्तरसंवादमा उनले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताइन् । देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उनले आग्रह गरिन् । उनले सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई कांग्रेसले समर्थन गर्ने बताइन् । कांग्रेस विभाजनको सङ्घारमा पुगेको भन्ने चर्चा असत्य रहेको उल्लेख गर्दै सचेतक थापाले कांग्रेस र प्रजातन्त्रको सौन्दर्य नै गुटउपगुट तथा आन्तरिक मन्थन भएको बताइन् ।
ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६२९ जना छन् भने राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने एक हजार ३६ जनामाथि कारबाही गरिएको छ । त्यसैगरी, रातो बत्ती उल्लङ्घन गर्ने एक हजार २८२, तीव्रगतिमा सवारी चलाउने ७७८, लेन मिच्ने ५४०, सडक फुटपाथ अतिक्रमण गर्ने ६४०, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने एक हजार ६४६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने ७६२ जना चालक कारबाहीमा परेका छन् । उनले भने, 'हाम्रो उद्देश्य केवल राजस्व उठाउनु होइन, नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गराउनु र सडक दुर्घटना घटाउनु हो ।' विशेषगरी मापसे, तीव्रगति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा सिग्नल उल्लङ्घन गर्ने गतिविधिले दुर्घटना निम्त्याउने भएकाले यस्ता कार्यविरुद्ध कडाइ गरिएको जनाइएको छ ।
व्यवसायी अग्रवाल र भट्टलाई सुत्न प्रहरीको कोठा प्रयोग, एसएसपी बोगटी छानबिनमा तानिए
काठमाडौं । प्रहरीको कोठामा दीपक भट्ट र सुलभ अग्रवाललाई सुताएको आरोपमा एसएसपी होबिन्द्र बोगटी छानबिनको दायरामा तानिएका छन् । बैंकिङ कसुर, बीमा र सेयरको भित्री कारोबारसहित सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका भट्ट र अग्रवाललाई हिरासतमै मोबाइल प्रयोग गर्न दिएको भन्दै ललितपुर प्रहरी परिसरका प्रमुख बोगटी छानबिनको दायरामा तानिएका हुन् । सम्पत्ति शुद्धीकरण विभागले छानबिनकोक्रममा ललितपुरको हिरासतमा राखिएका दुबैलाई बोगटीको निर्देशनमा अवैध र अतिरिक्त सुविधा दिएको सूचनाको आधारमा उपत्यका प्रहरी कार्यालयले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । प्रहरी हिरासतमा रहेको बेलामा भट्ट र अग्रवालले बाहिरका केही व्यक्तिसँग मोबाइलबाट सम्पर्क गरेको खुलेको थियो । प्रहरीले हिरासतबाट निकालेर प्रहरी कर्मचारीको कोठामा सुताउने, हिरासतमा रहेकालाई भेटघाटका लागी दिइने सुविधा भन्दा अतिरिक्त सुविधा दिएको लगायतको पक्ष खुलेपछि छानबिन समिति नै बनेको हो ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागू गरिएको हो । सो आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था स्पष्ट पारेको छ । कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोशाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ । साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतको घटनाक्रमविरुद्ध कानुन व्यवसायीको सांकेतिक विरोध, आज लालटिन बालेर प्रदर्शन
काठमाडौं । सर्वोच्च अदालतमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले आज साँझ सांकेतिक विरोध प्रदर्शन गर्ने भएका छन् । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन को नेतृत्वमा हुने प्रदर्शनमा अधिवक्ता, वरिष्ठ अधिवक्ता तथा विभिन्न बार इकाइका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । बारका पदाधिकारीहरूका अनुसार न्यायपालिका भित्र देखिएको विवाद, रिट दर्ता प्रक्रियालाई लिएर उठेका प्रश्न तथा अदालत प्रशासनको भूमिकाप्रति असन्तुष्टि जनाउन लालटिन बालेर प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनलाई न्यायपालिका सुधार र न्यायिक स्वायत्तताको पक्षमा गरिएको सांकेतिक दबाबका रूपमा हेरिएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले अदालत परिसर आसपासमा भेला भएर शान्तिपूर्ण रूपमा विरोध जनाउने कार्यक्रम तय गरिएको नेपाल बारले जनाएको छ । पछिल्ला घटनाक्रमले न्याय सम्पादन प्रक्रियामाथि नै प्रश्न उठाएको भन्दै कानुन व्यवसायीहरूले पारदर्शिता, निष्पक्षता र विधिको शासन सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन् । यसअघि पनि नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको अवस्थाबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको थियो । बारले न्यायपालिकाको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्दै आएको छ ।
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, ३ बालबालिकाले गुमाए ज्यान
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ः०० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । मृत बालबालिकाका बुबाआमा भने सकुशल छन् । दुई बालबालिकाको दाहसंस्कार भइसकेको छ भने आज मृत्यु भएका बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रअ मगरले जानकारी दिए ।
गौतमबुद्ध विमानस्थलमा ३ बैंकका एटीएम राखिने, भाडा १.९२ लाख रुपैयाँ
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फरक फरब बैंकका तीन वटा एटीएम मेशिन सञ्चालन गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक आगमन (डोमेस्टिक अराइभल) भवन बाहिर एटीएम लाउन्ज सञ्चालन गरिने भएको हो । विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्धार्थनगर, रूपन्देहीले बैंकहरूलाई एटीएम सेवा सञ्चालनका लागि ठेक्का प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । कार्यालयका अनुसार आन्तरिक आगमन भवन बाहिर प्रत्येक एटीएमका लागि २ वर्गमिटर क्षेत्रफलका दरले जम्मा ३ वटा फरक-फरक बैंकका एटीएम राखिनेछ । यसको ठेक्का अवधि ५ वर्ष रहनेछ । प्रति एटीएम न्यूनतम ठेक रकम १ लाख ९२ हजार ९६० रुपैयाँ तोकिएको छ । विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार बढाबढ प्रक्रियाबाट ठेक्का बन्दोबस्त गरिने कार्यालयले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वा ‘ख’ वर्गको इजाजत प्राप्त इच्छुक बैंकहरूले २१ दिनभित्र तोकिएको दस्तुर बुझाएर बोलपत्र फारम खरिद गर्न सक्नेछन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमा छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ । उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ । यसैगरी राष्ट्रिय सभा को बैठक पनि आज अपरान्ह १:१५ बजे बस्ने भएको छ ।