लुम्बिनी र गण्डकी प्रदेशलाई झोलुङ्गे पुलले जोड्ने
काठमाडौं । पाल्पा अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने १७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत १ करोड ३७ लाख ६७ हजार ९२० रुपैयाँको लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्घाटन गर्दै विकास–निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताए । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब सहज हुने बताए । पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
१.३ ट्रिलियन जलवायु वित्त सहयोग माग्दा ३ सय बिलियन मात्रै दिने
काठमाडौं । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप २९) मा नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी)मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी निर्णय फितलो रहेको कोपमा उपस्थित नेपाली प्रतिनिधिको निष्कर्ष छ । जलवायु सङ्कट छिटोछिटो निम्तिरहे पनि जलवायु वित्तका लक्ष्य कार्यन्वयनमा ढिलासुस्ती हुने गरी कोपमा एनसिक्यूजीसम्बन्धी निर्णय भएको भन्दै आलोचना भएको हो । नेपाललगायत अतिकम विकसित मुलुकको समूह (एलडिसी)लगायतले एनसिक्यूजीको लक्ष्यमा जलवायु वित्तको आकार बढाउनुपर्ने, यसमा सहज पहुँच पुर्याउनुपर्ने, समयमा नै जलवायुजन्य सङ्कटको मामना गरिरहेका मुलुकले क्षतिपूर्ति पाउनुपर्नेलगायत एजेन्डामा निर्णय हुनुपर्ने भन्दै कोपमा जोडबल गर्दै आइरहेका थिए । कोपको अन्तिम निर्णयसम्म आइपुग्दा एनसिक्यूजीका लक्ष्य कार्यान्वयनको प्रक्रिया स्पष्ट नभएको र ढिलासुस्ती गर्ने गरी निर्णय गरिएको भन्दै कोपमा उपस्थित प्रतिनिधि नै निराश छन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले एनसिक्यूजीसम्बन्धी निर्णय हेर्दा कोपका उपलब्धि सोचेअनुसार नभएको टिप्पणी गरे । ‘कोपमा आशातित सफलता प्राप्त भएन, जलवायु वित्त सहयोग १.३ ट्रिलियन हुनुपर्ने हाम्रो माग रहेकामा जम्मा ३ सय बिलियन सहयोग हुने भनिएको छ । यो हामीले सोचेअनुसार न्यायोचित भएन,’ उनले भने । जलवायु वित्तका जानकार राजुपण्डित क्षेत्रीले जहिले पनि धनी तथा विकसित मुलुकले जलवायु वित्तको आकार बढाउन आनाकानी गर्ने र सहयोग उपलब्ध गराउने समयसीमा पनि बढाउने निर्णय नै फितलो भएको टिप्पणी गरे । ‘नेपालजस्ता अतिकम विकसित मुलुकले विश्वमा जलवायुजन्य सङ्कट समाधानका लागि आवश्यक पर्ने जलवायु वित्तको आकार बढाउन माग गर्दै कोपमा निरन्तर पैरवी गरियो । १.३ ट्रिलियन अमेरिकी डलर जलवायु वित्त आवश्यक पर्ने कुरा दूरदर्शी थियो,’ उनले भने, ‘कोप २९ मा सन् २०३५ सम्ममा ३ सय अर्ब अमेरिकी डलर दिने भन्ने मात्रै सहमति भएको छ । त्यो सहमति प्रतिवर्ष भन्ने होइन । २०३५ सम्म पुग्दा ३ सय अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य एकदमै कम हो ।’ जलवायु वित्तका महत्वकाङ्क्षी लक्ष्य कार्यान्वयनमा यसपटक पनि धनी तथा विकसित मुलुकपछि हटेको भन्दै क्षेत्रीले कोपमा भएका निर्णय धनी मुलुकका लागि जित र नेपालजस्ता कम विकसित मुलुकका लागि हारजस्तो भएको टिप्पणी गरेका छन् । ‘३ सय अर्ब अमेरिकी डलर पनि निजी तथा विभिन्न स्रोतबाट आउने भनिएको छ । विकसित मुलुकले नै कति हाल्छन् भन्ने स्पष्ट हुन सकेको छैन । हामीले अनुकूलन र हानी नोक्सानीको विषयमा जलवायु वित्त अनुदान सुनिश्चित हुनुपर्छ भनेका थियौँ, तर यो पनि भाषामा मात्रै लेखियो । सुनिश्चित भएन । हाम्रा सवाल दस्ताबेजीकरण मात्रै भयो । कार्यन्वयन हुन सकेन,’ उनले भने । अर्का जलवायुविद् डा पपुलर जेण्टल भुसालले एनसिक्यूजीलगायत एजेन्डामा भएको निर्णय उपलब्धिमूलक नभएको टिप्पणी गरेका छन् । ‘नेपालले तयार गरेको आफ्नो राष्ट्रिय निर्धारित योगदान ९एनडिसी०, अनुकूलन योजना कार्यान्वयनका लागि आवश्यक पर्ने वित्त अब समयमा नै नजुट्ने अवस्था देखिन्छ । जसले यी योजना कार्यन्वयनमा चुनौती देखापर्छ, एनडिसी कार्यन्वयन गर्न सकेमा कार्बन उत्सर्जन कटौती भएर विश्वको तापमान वृद्धि सीमित लक्ष्मा राख्न सकिन्छ,’ उनले भने । भुसालले कोपमा अपेक्षा गरेअनुसारको जलवायु वित्तको आकार बढाउन नसक्नु नेपाललगायत कम विकसित मुलुकको एजेन्डा कार्यन्वयनमा बेवास्ता हुनु बताए । अतिकम विकसित मुलुकको समूह (एलडिसी) ले पनि एनसिक्यूजीको मस्यौदा बन्दादेखि नै विरोध जनाएको थियो । कोप सम्पन्न भएकै दिन एलडिसीले कोप उपलब्धिमूलक नरहेको र संवेदनशील मुलुकका लागि ठूलो धोका भएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । के हो एनसिक्यूजि ? नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना (युएनएफसिसिसी) अन्तर्गत विकसित राष्ट्रले विकासशील राष्ट्रलाई उपलब्ध गराउने वित्तीय सहयोगको परिमाणात्मक रूपमा तोकिएको नयाँ लक्ष्य हो । सन् २०२५ पछिका लागि जलवायु वित्तको व्यवस्थापन, वितरण र प्रभावलाई सुनिश्चित गर्न नयाँ दिगो र प्रभावकारी उपायको खोजी गर्न यो लक्ष्य तय गरिएको हो । विकसित राष्ट्रहरूले २०२० सम्म प्रतिवर्ष १ सय अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य पूरा गर्न नसकेकाले २०२५ पछिको वित्तीय संरचनामा सुधार गर्ने उद्देश्यले एनसिक्यूजी सुरुआत गरिएको हो । यसले अनुकूलन, न्यूनीकरण, जलवायु क्षति र हानि सम्बोधनका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ । जलवायु जोखिममा रहेका देशको आवश्यकताअनुसार वित्तीय स्रोत प्रवाह सुनिश्चित गर्नु यसको महत्वपूर्ण लक्ष्य हो । जलवायुविद् मञ्जित ढकालले एनसिक्यूजीले विकसित र विकासशील राष्ट्रबीच सहमति गरेर लक्ष्य निर्धारण गर्ने, ती लक्ष्यको कार्यान्वयन सुनिश्चित गर्न जलवायु वित्तको क्षेत्रलाई थप दिगो र समावेशी बनाउने उद्देश्य लिएको बताए । यसको सफल कार्यान्वयनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । ढकालले थप स्पष्ट गर्दै भने, ‘एनसिक्यूजीको मर्म भनेको जलवायु परिवर्तनका प्रभावको सामना गर्न विकासशील र कम विकसित राष्ट्रको आवश्यकता पूर्ति गर्दै उनीहरूको दिगो विकासलाई सुनिश्चित गर्न दिगो वित्तीय स्रोतको सुनिश्चित गर्नु हो ।’
फेरी उचाइमा पुग्दै अमेरिकी डलरको भाउ, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८३ रुपैयाँ र बिक्रीदर १३५.४३ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.७३ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.९१ रुपैयाँ र बिक्रीदर १७०.६६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.७० रुपैयाँ र बिक्रीदर १५३.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.२९ रुपैयाँ र बिक्रीदर ८७.६८ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.८९ रुपैयाँ र बिक्रीदर ९६.३१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३१ रुपैयाँ र बिक्रीदर १००.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८८ रुपैयाँ र बिक्रीदर ३६.०४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९० रुपैयाँ र बिक्रीदर ३.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३५ रुपैयाँ र बिक्रीदर ३०.४९ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३१ रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.४७ रुपैयाँ र बिक्रीदर ४४०.४२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.८० रुपैयाँ र बिक्रीदर ३५९.३९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.१८ रुपैयाँ र बिक्रीदर ३५१.७३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
काठमाडौं । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ । भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए । बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले २ हजार १०० रुपैयाँका दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिए । पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०लाई अनुरोध गरिएको छ । मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ । (((
पिकेडाँडा र ज्वालामाई क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
काठमाडौं । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो । पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना समुद्री सतहदेखि ४ हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयुलगायत हिमालको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ । साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउँछन् । जसका कारण विभिन्न ट्रेकिङ कम्पनीले सिजनमा पिके पिक ट्रेकसमेत सञ्चालन गर्ने गरेका छन् । पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । ‘सगरमाथा बेसक्याम्पको तुलनामा यो क्षेत्र सहज पदयात्रा गन्तव्यका रूपमा विकास भएको छ तर सञ्चार सेवाको अभावले यहाँको पर्यटकीय सम्भावनामा ठूलो असर गरेको छ,’ उनले भने । सञ्चार नै चुनौती सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्या देखिने गरेको होटल व्यवसायी गेलु शेर्पाले बताए । ‘कतिपय पर्यटक भ्रमणका क्रममा साथीसँग सम्पर्क टुट्दा रातभर हराउने गरेका छन्, फोन गर्दा फोन लाग्दैन, जसले उद्धारमा समेत समस्या हुन्छ,’ शेर्पाले भने । पाँच वर्षअघि सल्लेरीका युवा पूर्णबहादुर खड्काको पिकेडाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । त्यहाँबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो । खड्कालाई सम्पर्क गर्ने प्रयास गरिए पनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलिपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उहाँको शव भेटिएको थियो । यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा बिचल्ली हुने घटना सामान्यजस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए । सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिकेडाँडा क्षेत्र पुग्दा पूर्ण रूपमा नै विच्छेद हुने गरेको उनको भनाइ छ । पिकेभन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँ समेतमा सञ्चार सेवा कम्जोर भएकाले झनै सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् । धार्मिक आस्थाको केन्द्र स् ज्वालामाई मन्दिर सोलुदुधकुण्ड नगरपालिका-३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर क्षेत्रको समस्या पनि यस्तै छ । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् तर भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनलाई समस्या हुने गरेको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य भिमनारायण श्रेष्ठले भने, ‘मन्दिरमा आउने भक्तजनले यात्रा गर्दा नेटवर्कको गुनासो गर्ने गरेका छन् । यत्रो प्रसिद्ध मन्दिर क्षेत्रमा समेत भरपर्दो सेवा उपलब्ध गराउन नसक्नु कमजोरी हो ।’ यसकारण धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकमा नकरात्मक छाप पर्ने गरेको स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रका स्थानीयले सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता कायमै रहेको उनले बताए । स्थानीयको गुनासो सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक गुनासो गर्दा पनि समस्या समाधानमा कसैले चासो नदेखाएको गुनासो गरेका छन् । पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरले धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रमै सञ्चारलगायत पूर्वाधारमा ध्यान नदिनु दुःखद भएको बताए । स्थानीय बाबुराम घिमिरेले भने, ‘सडक र बिजुलीजस्तै सञ्चार पनि आजको युगमा आधारभूत आवश्यकता हो तर यो सुविधा नहुनुले हामीलाई पछि पारेको छ । सदरमुकाम सल्लेरीसँग नजिक भए पनि यो क्षेत्र अझै सञ्चार उपलब्धिबाट लाभान्वित हुनसकेको छैन ।’ राज्यको प्रयास नेपाल टेलिकम शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख राजु रानाका अनुसार यहाँ समस्या समाधानको प्रयास नभएको होइन । सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधानको प्रयास भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । ‘पिकेडाँडा र ज्वालामाई क्षेत्रको समस्यालाई सम्बोधन गर्न नयाँ टावर स्थापना गर्न आवश्यक छ । यसका लागि थप बजेट र पूर्वाधार विकास गर्नुको विकल्प छैन,’ कार्यालय प्रमुख रानाले भने । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा भने वडामार्फत बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस नतिजा नआउनु नियमनकारी निकायको उदासीनता भएको गुनासो गर्छन् । ‘पर्यटकीय र धार्मिक महत्व बोकेको क्षेत्रमा भरपर्दो सञ्चा सेवा नहुनुले स्थानीय र पर्यटक दुवैलाई असर गरिरहेको छ, पिके डाँडा र ज्वालामाई मन्दिरजस्ता गन्तव्यको महत्वलाई ध्यानमा राख्दै दिगो सञ्चार सेवा उपलब्ध गराउनु अपरिहार्य छ । जसका लागि स्थानीय सरकार र जननिर्वाचित प्रतिनिधिको हैसियतले आफू सहयोग गर्न तयार छु,’ उनले भने । पर्यटन व्यवसायी दावा शेर्पा पनि यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवाका लागि सरोकार भएका निकायलाई आग्रह गर्छन् ।
पहाड र तराईमा हुस्सु, यस्तो छ आजको मौसम
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक/दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले सिद्धि पोली प्याथ ल्याबमा विशेष छुट पाउने भएका छन् । बैंकका कर्मचारी र ग्राहकहरूले काठमाडांैंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिमा सेवा लिँदा शुल्कमा विशेष छुट पाउने बैंकका प्रमुख सूचना अधिकारी होम बहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार सिद्धि पोली प्याथ ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा कर्मचारी र ग्राहकहरूले १० प्रतिशतसम्म छुट पाउने छन् । छुट दिने सम्बन्धि बैंक र सिद्धि पोली प्याथ ल्याबबीच मंसिर १२ गते सम्झौता समेत भएको छ । सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबका प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका हुन् । उक्त ल्याबले बायोकेमिस्ट्री, हेमाटोलोजी, एन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, संक्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्च प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको टेस्ट, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड जस्ता सेवा प्रदान गर्दै आएको छ ।
विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग, वातावरणीय असर कम हुने
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिन् । कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले जानकारी दिइन् । बैंकका लुम्बिनी प्रदेश प्रमुख सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास लिएको बताइन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरीरहेको उनको भनाइ छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।