विकासन्युज

वडाअध्यक्षसहित ७ जना विरुद्ध पक्राउ पुर्जी

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नागरिकता सिफारिस गर्दा कीर्ते गरेको आरोपमा जिल्ला अदालत धादिङबाट वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित सात जनाविरुद्ध पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध केहीसमय अघि नै पुर्जी जारी भएको थियो । तर उनीहरू पक्राउ परेका छैनन् । वडासचिव मिलनकुमार सुवेदी, निर्मल गौतम, रविन्‍द्र तामाङ लगायतविरुद्ध पुर्जी जारी भएको पाइएको हो । उनीहरूले मिलेमतो गरी सरकारी कागजात कीर्ते गरेर नागरिकताका लागि सिफारिस गरेको आरोप छ।

लोअर इर्खुवाको बिक्री नभएको आईपीओ नागरिक लगानी कोषले किन्ने

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् । इर्खुवा हाइड्रोले प्रति सेयर १ सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ । प्रत्याभुतिकर्ताको सम्झौताअनुसार यदी सबै सेयर बिक्री नभएमा लोअर इर्खुवाको सेयर नागरिक लगानी कोषले खरिद गर्नुपर्नेछ ।

अब काठमाडौंका रुखमा झिलिमिली बत्ती राख्न नपाइने, भेटिए कारबाही

काठमाडौं । काठमाडौं महानगरले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेको छ । आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले मापदण्ड बनाएको हो । यो मापदण्ड पास भएसँगै अब महानगरभित्रका रुखमा झिलिमिली बत्ती राख्न नपाइने भएको छ । अब रुखमा झिलिमिली बत्ती राखेको पाइएमा कानुनअनुसार जरिवाना हुने महानगरले जनाएको छ । तर जात्रा पर्वका लागि भने छुट दिइने जनाइएको छ । पछिल्लो समय सार्वजनिक स्थान, होटल तथा रेष्ट‍ुरेन्ट परिसरका रुखमा झिलिमिली बत्ती राख्ने काम बढ्दै गएको थियो । बत्ती राख्नु परेको अवस्थामा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्ने महानगरले जनाएको छ ।

२१ सय बिगाहा जग्गामा नेपाल-चीन औद्योगिक मित्र पार्क : ९० अर्ब लगानी, ४५ हजारलाई रोजगारी

काठमाडौं । २०७७ फागुन १६ गते बिना तयारी नेपाल-चीन औद्योगिक मित्र पार्कको शिलान्यास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनालाई बीआरआई फ्रेमवर्कम समेटेका छन् । शिलान्यास भएको चार वर्षसम्म पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो परियोजना अब द्रूत गतिमा अगाडि बढ्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा सो आयोजनालाई समेटेपछि अब यो परियोजनाको काम द्रूत गतिमा अगाडि बढ्ने अपेक्षा धेरैको छ । आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रमा यति धेरै ठूलो परियोजनाको तयारी थालेका ओलीले यो परियोजनाबाट औद्योगिक क्रान्तिको सुरुवात हुने दाबीसमेत गरिरहेका छन् । झापाको दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका-५ का केही भूभाग समेटेर रतुवा र मावा नदीको बीच भागमा बन्ने भनिएको यो औद्योगक पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्सट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनीले जिम्मा पाएका छन् । सरकारले लगानी गर्न पनि स्वीकृति दिइसकेको छ । परियोजना निर्माणका लागि दुवै देशबीच सम्झौता भइसकेको छ । यो पार्क चिनियाँले नै सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने बुझिएको छ । साढे ५ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण ६ चरणमा सम्पन्न हुने नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले बताए । अध्यक्ष थापाका अनसार निर्माणमा पहिलो चरणमा अधिकतम् ९० अर्ब रुपैयाँसम्म लगानी लाग्नेछ । पहिलो चरणमा बाटोको कार्य अगाडि बढाइनेछ । सो कार्य २ वर्षभित्र सम्पन्न गरिने बुझिएको छ । सरकारले यो परियोजनाका लागि सवा अर्ब लगानीमा जग्गा खरिद गरेको थियो । उक्त परियोजना २१ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जग्गा एकीकृत गरिसकिएको नेपाल-चीन औद्योगिक मित्र पार्क निर्माण समितिका अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार हाल एकीकृत गरिएको जग्गाको भुक्तानी गर्ने काम भइरहेको छ । ‘जसको जग्गा हो, उनीहरूलाई पैसा भुक्तानी गर्ने काम गरिरहेका छौं । अब २१ करोड मात्रै बाँकी छ, १ अर्ब २९ करोड भुक्तानी गरिसकेका छौं,’ उनले भने । भुक्तानीको काम सकेर सरकारसँग सम्झौता गरेर काम अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ । हाल उक्त स्थानमा घरबार तथा जग्गा अधिग्रहण गर्ने काम भइरहेको उनले जानकारी दिए । सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने दाबी गरिएको छ । उक्त जग्गाको सन् २०१७ मा चिनियाँ टोली आएर अवलोकन गरेको थियो । पार्कमा दर्जनौं उद्योग औद्योगिक पार्क निर्माणपछि दर्जनौं उद्योग बन्नेछन् । कृषिजन्य, विद्युतीय, सूचना प्रविधि, गार्मेन्टलगायतका उद्योग त्यहाँ सञ्चालन हुनेछन् । यस्तै, चीनमा स्थापित बहुराष्ट्रिय सवारीसाधन, मोबाइल फोन तथा अन्य उपकरणका उद्योगहरू त्यहाँबाट सञ्चालन हुनेछन् । पार्क निर्माण हुने भएपनि स्थानीय पनि खुसी भएको थापाले बताए । यो परियोजना देशभरिकै लगानी र आकारका हिसाबले ठूलो भएको उनको दाबी छ । उनले यो परियोजना सिङ्गो देशलाई नै फाइदा दिने खालको रहेको बताए । ४५ हजारले रोजगारी पाउने यो औद्योगिक पार्क निर्माणपछि ४५ हजाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । यस आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी कुल १ लाख ६० हजारले रोजगारी पाउने बताइएको छ । कमल गाउँपालिका ७ का स्थानीय पदम सेढाईले यो आयोजनाबाट आफूहरू खुसी भएको बताए । उनले रोजगारीको अवसर सिर्जना गर्ने थलो बन्ने आशा आफूहरूले राखेको धारणा राखे । ‘औद्योगिक पार्क बन्ने खबरले हामी खुसी छौं । यो हाम्रा लागि गौरवको विषय हो । गाउँमै ठूल्ठूला उद्योग देख्न पाइने भयो, साढे ५ बिगाहा जग्गा खुसीकासाथ मैले सरकारलाई दिएको छु,’ उनले भने । दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईंले स्थानीयवासीको जीवनस्तर उठाउनका लागि यो औद्योगिक पार्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘यो एउटा अवसर हो । दमक त स्थान मात्र हो । अवसर सबैका लागि हुन्छ । रोजगारी नपाएकाहरूलाई राम्रो अवसर बन्नेछ । यहाँका उत्पादन विश्व बजारमा पुर्‍याउने हाम्रो प्रयत्न रहनेछ,’ उनले भनिन् ।

ईसेवा होटल्समा ३ हजार ५ सयभन्दा बढी होटल, बुकिङ गर्न पैसा नलाग्ने

काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले ईसेवामार्फत् नेपालका ५४ भन्दा धेरै जिल्लामा अवस्थित साना, मझौला तथा ठूला होटलहरू बुक गर्न सकिने जनाएको छ । होटलहरूदेखि लिएर ग्रामीण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिब ३ हजार ५०० भन्दा बढी होटल रहेका छन् । ईसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सकिने कम्पनीले जनाएको छ । ईसेवा होटल्समा बिना अग्रिम भुक्तानी साथै आवश्यकताअनुसार बुकिङ रद्द गर्न पनि सकिने सुविधा रहेको छ । ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन ईसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्‍याउन सफल रहेको छ ।

गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

काठमाडौं ।  काठमाडौंकि एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै  थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनी बेहोसी अवस्थामा भेटिइन् । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार उनलाई ‘हाइफ्लो अक्सिजन’मा राखियो । दोस्रो दिनमा बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि ‘डिस्चार्ज’ गरियो । डा बम भन्छन्, ‘बिरामी समयमै अस्पताल ल्याइएकाले केही हुन पाएन । लामो समयसम्म उद्धार नभएको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।’ जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन् । मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ । डा बम भन्छन्, ‘जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बोन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था नलिएर आओस् ।’ झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा. बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ । ‘कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वास नली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बोन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मष्तिष्कसम्म पुग्छ र कार्बोन मोनोअक्साइड पोइजनिङ हुन्छ’, उनी भन्छन् । कार्बोन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षणहरु देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणहरुलाई अनुभव गर्न नपाइ बेहोसी अवस्थामा बिरामीहरु भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउनुहुन्छ । लामो समय बेहोसी अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ । छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ भन्छन्, ‘आगो बाल्दा अक्सिजन आवश्यक पर्दछ । आगो बल्दा कोठाभित्र रहेको अक्सिजन खपत हुन्छ । बन्द कोठाभित्र चाहे त्यो बाथरुम होस् वा कोठा अक्सिजनको मात्रा कम हुन्छ र कार्बोन मोनोअक्साइड ग्यास पनि उत्पन्न हुन्छ ।’ उनले कोठा गुम्सिँदा टाउको झुम्म हुने तथा  भारी हुने, टाउको दुख्ने अनि बेहोस् हुने खालका लक्षण देखिने गरेको बताउँछन्। डा श्रेष्ठ भन्छन्, ‘सामान्य सावधानी अपनाउँदा ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । जाडो महिनामा सकेसम्म घरभित्र बन्द कोठामा आगो र कोइला बाल्नु हुँदैन । पानी तताएर नुहाउँदा पनि बाथरुमको झ्याल ढोका  पूर्ण रुपमा बन्द गरेर नुहाउनु हुँदैन ।’ विज्ञकाअनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने ,घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकी प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ । डा श्रेष्ठ भन्छन्, ‘उक्त लक्षणहरु साना बच्चा तथा ज्येष्ठ नागरिकले थाहा पाउन सक्दैनन् त्यसैले सचेत रहनुपर्छ । केही लक्षण देखिहालेमा तुरुन्त कोठा बाहेर निस्किने वा झ्याल ढोका खोलिहाल्नुपर्छ ।’ धेरै जसो घटना बाथरुममा नुहाउन गएको र लामो समयसम्म बेहोस पछि उद्धार गरिएका छन् । लामो समयसम्म बेहोस हुँदा कतिपय अवस्थामा मृत्यु नभएपनि अक्सिजनको कमीले मष्तिष्कलाई क्षति पुर्‍याइसकेको हुन्छ । अक्सिजनको मात्रा केही मिनेटमात्र पनि दिमागमा प्रवाह भएन भने दिमागमा क्षति पुर्‍याउँछ । त्यस्तो बिरामी बाँचेपनि लामो समयसम्म कोमामा जाने अवस्था रहन्छ । भने बिरामी श्ययामा बसेर जीवन बिताउने बाध्य हुन्छन् । त्यसैले जनचेतना जगाउन जरुरी भएको डा श्रेष्ठको भनाइ छ । चिकित्सकहरु ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिनुहुन्छ । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ की छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडा नजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने उनको सुझाव छ । रासस

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि

काठमाडौं । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्यांक श्रमाङ्क ब्यूरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको भएपनि खुद्रा व्यापार व्यवसायी गुमाएको छ । अक्टोबरमा जागिर वृद्धि २४ हजारबाट ३६ हजारसम्म मात्रै भएको छ । नोभेम्बरमा, निजी गैर–फार्म पेरोल सबै कर्मचारीहरूको औसत प्रतिघण्टा आम्दानी १३ सेन्ट वा ०.४ प्रतिशतले बढेर ३५.६१ अमेरिकी डलर छ । गत १२ महिनामा, औसत प्रतिघण्टा आय ४.० प्रतिशत बढेको थियो ।

एप्पलले भारतमा बेच्यो १० अर्ब डलरभन्दा बढी मूल्यका आइफोन, कुन मोडल बढी बिक्री ?

काठमाडौं । एप्पलले भारतमा आइफोन बिक्रीमा कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक समय एप्पल कम्पनीले भारतलाई आफ्नो ठूलो बजार मान्दैनथ्यो । तर आज अवस्था बदलिएको छ । एप्पलले हालसम्म भारतमा आईफोनको ढुवानी सन् २०२४ मा १०.७ बिलियन डलर पार गरेको छ । इकोनोमिक टाइम्सका अनुसार बजार अनुसन्धानकर्ता आईडीसी इन्डियाको तथ्यांकले एप्पलले लगातार दोस्रो वर्ष भारतमा स्मार्टफोन बिक्रीमा सामसुङलाई धेरै पछि पारेको देखाउँछ । भारतमा एप्पलको ढुवानीको वार्षिक वृद्धि २४ प्रतिशत छ । आईडीसीले जनवरी र सेप्टेम्बरको बीचमा सामसुङको स्मार्टफोन ढुवानी ५.२३ बिलियन अनुमान गरेको छ, जुन एप्पलको ७.९६ बिलियनभन्दा कम हो । कुन मोडल धेरै बिक्री ? एप्पलले सेप्टेम्बरको त्रैमासिकमा भारतमा ४० लाख फोन बिक्री गरेको थियो । तीमध्ये दुईवटा मोडल धेरै बिक्री भएका छन् । यी मोडलहरू आइफोन १५ र आइफोन १३ हुन् । आईडीसी र काउन्टरपोइन्टका अनुसार एप्पलले २०२४ मा भारतमा १२ मिलियन भन्दा बढी आईफोनहरू पठाउने लक्ष्य राखेको छ । यो वर्ष एप्पलको बिक्रीमा केही पुराना मोडलका फोन बढी संलग्न भए । यसको मुख्य कारण ई-कमर्स प्लेटफर्ममा दिवाली र केही अन्य विशेष अवसरहरूमा दिइएको छुट हो । यी फोनको सेयर बढ्ने एप्पलको उत्कृष्ट प्रदर्शनका कारण बजारमा ३० हजार भारुभन्दा माथिका स्मार्टफोनको सेयर बढ्ने सम्भावना छ । काउन्टरपोइन्टले यो वर्ष ३० हजार भारुभन्दा माथिको ह्यान्डसेटको सेयर १८ प्रतिशतबाट २० प्रतिशतसम्म बढ्ने जनाएको छ ।