विकासन्युज

बोइलर रुम क्लिनर थिए मस्क, विश्वका अर्बपतिहरूको पहिलो काम के थियो ?

काठमाडौं । एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । उनले टेस्ला, ट्वीटर र स्पेसएक्स लगायतका धेरै कम्पनीहरू चलाइरहेका छन् । उनको कुल सम्पत्ति ३७६ बिलियन डलर छ र उनी विश्वको पहिलो ट्रिलिनियर बन्न सक्ने विश्वास पनि गरिन्छ । मस्कको पहिलो काम बोइलर रुम क्लिनरको रूपमा थियो । पेशाले इन्जिनियर भएका मस्कले सन् १९८९ मा क्यानडाको एउटा काठ मिलमा बोइलर रुम क्लिनरको रूपमा काम गरेका थिए । यसका लागि उनले प्रत्येक घण्टा १८ डलर पाउँथे । तर यो काम धेरै खतरनाक थियो र हाइपरथर्मियाबाट बच्नको लागि उनले हरेक १५ मिनेटमा अन्य कामदारहरूसँग स्थान परिवर्तन गर्नुपर्थ्यो । विश्वको दोस्रो धनी व्यक्ति र अमेजनका संस्थापक जेफ बेजोसले म्याकडोनाल्ड्समा कुकको रूपमा काम गरेका थिए । बेजोसको कुल सम्पत्ति आज २४६ बिलियन डलर पुगेको छ । त्यसैगरी, माइक्रोसफ्टका संस्थापक बिल गेट्सले प्रोग्रामरको रूपमा आफ्नो करिअर सुरु गरेका थिए । उनी धेरै वर्षसम्म विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । आज उनको कुल सम्पत्ति १६६ बिलियन डलर छ र उनी विश्वको छैटौं धनी व्यक्ति हुन् । माइकल डेल भाँडा माझ्थे डेल कर्पोरेशनका संस्थापक माइकल डेलको पहिलो काम डिशवाशरको रूपमा थियो । आज उनको कुल सम्पत्ति ११६ बिलियन डलर छ र उनी संसारको १३ औं धनी व्यक्ति हुन् । अमेरिकी व्यापारी, टेलिभिजन व्यक्तित्व र लेखक मार्क कुबान पहिले फोहोरको झोला बेच्ने गर्थे । व्यवसायी शेरिल स्यान्डबर्गको पहिलो काम एरोबिक्स शिक्षकको रूपमा थियो । त्यस्तै, प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेट पेपरब्वाईको रूपमा काम गर्थे । आज उनको कुल सम्पत्ति १४७ बिलियन डलर छ र उनी विश्वको १० औं धनी व्यक्ति हुन् ।

२० प्रतिशत लाभांश वितरण गर्ने हिमालयन डिष्टिलरीको घोषणा

काठमाडौं । हिमालयन डिष्टिलरी लमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआईडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।

मोबाइल एआईको भविष्यको झलक देखाउन आयो सामसङ वान युआई ७ बेटा

काठमाडौं । शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक भएको घोषणा सामसङ नेपालले गरेको छ । इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी, हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठुलो छलांग लिएको छ। पहिले भन्दा बढि व्यक्तिगतताको लागि अपग्रेड गरिएको मोबाइल यूजर एक्सपिरिएन्सको पहिलो झलक बेटा प्रोग्रामले प्रदान गरेको छ । परिष्कृत एआईबाट थप सहज यूजर एक्सपिरिएन्सहरू एडभन्सड लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वान युआई ७ ले बलियो अपडेटहरू ल्याएको छ। एआई ओएससँग एकीकृत भएर अप्लिकेसनहरु बिच स्विच गर्न आवश्यक बिना नै टेक्स्टहरू चयन गर्ने क्षमत दिई यसले प्रयोगकर्ताहरूलाई आफ्नो प्रडक्तिभिती बढाउँछ। ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलहरूमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न, र स्वचालित रूपमा बुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्दैछ । वान युआई ७को साथ अपग्रेड गरिएका कल सुविधाहरूले २०ओटा भाषाहरूमा कल ट्रान्सक्रिप्टहरू मार्फत सञ्चार र जडानको सीमाहरू पुश गर्छ। कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालित रूपमा पछि सन्दर्भको लागि ट्रान्सक्राइब हुनेछ जसले बहु–कार्य गर्दा म्यानुअल रूपमा नोटहरू लिनु पर्ने आवश्यकतालाई हटाउँछ छ । निजीकरण र नियन्त्रण बढाउनको लागि नयाँ र बोल्ड डिजाइन डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई सुव्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वान युआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएको छन्। यसमा इन्टरप्रेटरे, सङ्गीत, रेकर्डिङ, स्टपवाच जस्ता विभिन्न सुविधाहरूमा सान्दर्भिक गतिविधिहरू हाइलाइट गर्ने नाउ बार पनि समावेश छ। महत्त्वपूर्ण सूचनाहरूमा तत्काल पहुँच प्रदान गरेर, नाउ बारले डिभाइसलाई निरन्तर अन्लक गर्ने आवश्यकतालाई कम गर्छ र प्रयोगकर्ताहरूलाई मुख्य जानकारीहरूसँग सहजै संलग्न हुन दिन्छ। आगामी ग्यालेक्सी एस सिरिजका डिभाइसहरूमा सपोर्ट हुने नाउ बारले लक स्क्रिन एक्सपिरिएन्सलाई रूपान्तरण गर्नेछ, जुन भविष्यमा थप बौद्धिक अनुभवहरूका साथ विकसित हुँदै जानेछ। यी फिचरहरूमा आएका अपग्रेडहरू सबै सरल, प्रभावशाली र भावनात्मक डिजाइनमा लंगरिएका छन्। यी सिद्धान्तहरू मिलेर ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि सुव्यवस्थित र एकजुट अनुभवहरूलाई आकार दिन्छ। बोल्ड, प्रतिष्ठित डिजाइन विकल्पहरूद्वारा परिभाषित रहेको वान युआई ७ले भिजुअल अव्यवस्था घटाउँछ र प्रयोगकर्ताहरूसँग व्यक्तिगत स्तरमा प्रतिध्वनि गर्न र एआई सुविधाहरूमा सहज मोबाइल अनुभवहरू दिन डिजाइन गरिएको अनुभवलाई बढावा दिन्छ। सिम्प्लिफाई गरिएको होम स्क्रिन, पुनः डिजाइन गरिएको वान युआई विजेटहरू र लक स्क्रिन गरी फिचरहरू प्रयोगकर्ताहरूलाई प्रत्येक विवरणमा ग्रेन्युलर कन्ट्रोल प्रदान गर्न र अनुकूलनलाई सहज र निर्बाध बनाउनको लागि एक जुट भई काम गर्छन् । पुनः डिजाइन गरिएको क्यामेरा युएक्सले एडभान्सड सेटिङहरूमा थप सहज कन्ट्रोल दिन्छ। क्यामेरा बटनहरू, कन्ट्रोलहरू र मोडहरूलाई प्रयोगकर्ताहरूको लागि आवश्यक सुविधाहरू फेला पार्न सजिलो बनाउन र क्याप्चर गरेको तस्बिर वा रेकर्ड गरेको भिडियोको स्पष्ट पूर्वावलोकन दिनको लागि पुनः सङ्गठित गरिएको छ । प्रो र प्रो भिडियो मोडहरूका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ जसले शूट गरिरहेको तस्बिर वा भिडियो खिच्दा फोकस गर्न सजिलो बनाएको छ। प्रयोगकर्ताहरूको लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँ जुम कन्ट्रोल उपलब्ध छ, जसले सहज ट्रान्जिसनहरूको लागि जुमको गति नियन्त्रण गर्न दिन्छ । वान युआई ७को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुनेछ, र २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई  क्षमताहरू समावेश हुनेछ। आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धता अनुरूप, यी अप्डेटहरु बिस्तारै अन्य ग्यालेक्सी उपकरणहरूमा पनि आउने छन् ।

जति व्यस्त भएपनि दिनमा ४० मिनेट स्वास्थ्यका लागि छुट्याऔं : स्पोर्ट्स इन्जुरी सर्जन मानन्धर

आजभोलि नेपालमा स्पोर्टस् इन्जुरीको समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या बढ्दै जान थालेको छ । विभिन्न खेल खेल्दा , दौडिदा,  उफ्रिँदा वा कडा खालको शारीरिक व्यायाम गर्दा स्पोर्ट्स इन्जुरीको समस्या हुने गर्छ । शरीरका विभिन्न जोर्नी, टाउको, घाँटी छालामा इन्जुरी हुने गर्छ । नेपालमा यसको अवस्था, उपचार र यो विषयमा नागरिक कति सचेत छन् ? लगायतका विषयमा वरिष्ठ अर्थोपेडिक, आर्थोस्कोपीक तथा स्पोर्टस इन्जुरी सर्जन प्रा.डा. राजीव राज  मानन्धरसँग कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको  सम्पादित अंश: स्पोर्टस् इन्जुरी भनेको के हो ? स्पोर्टस् इन्जुरी भन्नेबित्तिकै धेरैलाई प्रोफेसनल कुनै पनि खेल खेल्दा लाग्ने चोट भन्ने बुझिन्छ । तर खेल खेल्दामात्र होइन,  हामीले दौडिँदा, उफ्रँदा, खेल्दा वा कुनै शारीरिक व्यायाम गर्दा पनि स्पोर्टस् इन्जुरी हुन्छ । विशेष गरी स्पोर्ट्स इन्जुरी कन्ट्याक स्पोर्ट्स र नन्कन्ट्याक स्पोर्ट्स भनेर छुट्याउन मिल्छ । स्पोर्टस् इन्जुरी कन्ट्याक स्पोर्ट्समा धेरै देखिन्छ । जस्तै फुटबल भयो । अर्को रेस्लिङ- यसमा  पनि इन्जुरी हुने सम्भावना बढी हुन्छ । अर्को नन्कन्ट्याक स्पोर्ट्स जस्तो क्रिकेट, टेनिस, टेबल टेनिस, ब्याडमिन्टन, गल्फ, पौडी,  जिम्न्यास्टिक, प्रिन्टिङ, दौड, ट्र्याक एण्ड फिल्ड, साइकल दौड, आर्चरी, फ्रिस्टाइलमा  इन्जुरी नहुने होइन, तर कम हुन्छ ।  भनेपछि खेलाडीलाई मात्र नभई सामान्य मानिसलाई शारीरिक व्यायाम गर्दा हुने इन्जुरी पनि स्पोर्ट्स इन्जुरी हो भन्न मिल्यो त ? हो ।  सामान्यतया सर्वसाधारणलाई यो इन्जुरी हुँदैन । राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई मात्र इन्जुरी हुन्छ भन्ने बुझाइ गलत हो । अझ यसको जोखिममा खेलाडीभन्दा ननखेलाडीहरू धेरै पर्ने गरेका छन् ।  नेपालमा यसको अवस्था कस्तो छ ? म यो क्षेत्रमा काम गर्न थालेको १८ वर्ष भयो । यो अवधिलाई हेर्ने हो भने आजभोलि स्पोर्ट्स इन्जुरीका बिरामीको सङ्ख्या बढेको छ । यसको पछाडिको कारण भनेको साधारण मान्छे पनि अहिले फिटनेसमा लागेको पाइन्छ । बिहान बाहिर निस्कने हो भने मर्निङ वाक गर्नेहरूको भीड देख्न सकिन्छ । जिम जानेहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ भने मान्छेले घरमै पनि मेसिनहरू ल्याएर व्यायाम गर्न सुरु गरेका छन् । यसमा सर्वसाधारणको रुचि बढेसँगै इन्जुरीका बिरामीको संख्या पनि बढेको छ । अहिले दैनिक ओपीडीमा आउने ३० देखि ४० प्रतिशत  यो समस्या लिएर पुग्नुहुन्छ ।  खेलाडी अथवा सर्वसाधारण यो समस्या लिएर अस्पताल बढी को आउनुहुन्छ ? खेलाडीमा पनि यो समस्या धेरै हुन्छ । तर कुरा के छ भने उनीहरूलाई यो विषयमा प्रशिक्षित गराइएको हुन्छ । कसैले कुनै खेल खेल्दा यो विषयमा पढ्नुभएको छ, कसैले तालिम लिएर खेल्नुभएको छ भने उहाँहरू सुरक्षित हुनुहुन्छ । तर, साधारण व्यक्ति कसैले हप्ताभर मेचमा बसेर काम गरेको छ, यताउति हिँड्न पाएको हुँदैन । उसले एक दिन बिदाको समयमा हप्तैभरि बसेको निकाल्नु पर्‍यो भनेर बिहानै घरबाट निस्कनुहुन्छ । यस्तो व्यक्तिमा कडा  इन्जुरी हुने सम्भावना अझ बढी हुन्छ । कुनै ज्ञान, कुनै सुरक्षाको सावधानी नअपनाएर फुटबल, ब्याडमिन्टन, बास्केटबल लगायत खेल खेल्नुहुन्छ वा रनिङमा जानुहुन्छ भने त्यस्तोमा इन्जुरीको समस्या बढी देखिन्छ । ६ दिन बसेको एक दिनमै निकाल्न खोज्दा के फिटनेस रहन्छ त ?   आजभोलि व्यस्त दैनिकी प्राय: सबैको छ । नाम कमाउन, दाम कमाउन सबै व्यस्त हुन्छन् तर  हाम्रो जीवन नै स्वस्थ भएन भने त्यो नाम र पैसाको काम हुँदैन । म एउटा चिकित्सक भएको नाताले पनि भन्छु- हप्ताभर बसेर एकदिनभरि उफ्रेर राम्रो हुँदैन । बरु एक दिनमा कम्तीमा ३० मिनेट आफ्नो लागि छुट्याउनुपर्छ । म पनि उमेर ढल्कन लाग्यो, अहिले आएर बुझिँदैछ स्वास्थ्य नै धन हो भनेर ।   २४ घण्टामा १ घण्टा वा आधा घण्टा आफ्नो लागि छुट्याउनुपर्छ भन्ने थाहा छ तर, थाहा पाएर पनि हामीले ध्यान दिँदैनौं, बेवास्ता गर्दा कस्तो समस्या उत्पन्न हुन्छ ? पहिलेभन्दा आजभोलि मान्छे धेरै सचेत भइसकेका छन् । धेरैजसाेले फिट्नेस मेन्टेन गर्न खोज्नुहुन्छ तर केही व्यक्ति हुनुहुन्छ, जसलाई मेरो फुर्सद नै छैन भन्ने । तर उहाँलाई एक दिन शरीरले नै बुझाउँछ कि अलिकति व्यायाम चाहियो भनेर । जसले नियमित व्यायाम गर्नुहुन्छ, डाइटिङ गर्नुहुन्छ, आफ्नो जीवनशैली व्यवस्थापन गर्नुहुन्छ, उहाँहरूको उमेर बढी भएपनि जवान नै देखिनुहुन्छ । मेरो भनाइ के हो भने बाँचेर मात्रै बँच्ने होइन । रोग लागेर चोट लागेर औषधी खाएर बाँच्नु त के बाँच्नु ? क्वालिटी अफ लाइफ महत्त्वपूर्ण हुन्छ । यो मेन्टन गर्न आफ्नो दैनिक जीवनमा समय छुट्याउनुपर्छ । जति व्यस्त रहे पनि एक दिनमा ३०-४० मिनेट आफ्नो लागि छुट्याउन सजिलै सकिन्छ ।  यस्ता इन्जुरीबाट कसरी बच्ने ? कुनै पनि काम गर्दा हामीले त्यो विषयमा जानकारी लिएर गर्छौं । तपाईंलाई लाग्छ- अब म हरेक दिन व्यायाम गर्छु, तपाईंलाई कुनै खेलमा रुचि भयो, अब खेल्छुभन्दा सबैभन्दा पहिलो त्यो विषयमा रिसर्च गर्नुपर्‍यो । व्यायाम गर्दा कस्तो खालको गर्ने, त्यो आफ्नो शरीरलाई फिट छ कि छैन भनेर ध्यान दिनुपर्‍यो । मानौं तपाई कहिल्यै व्यायाम गर्नुभएको छैन, एकैदिन कडा खालका व्यायाम गर्नुभयो भने त्यसले इन्जुरी गराउँछ । यसका लागि विस्तारै योजना बनाउनुपर्छ, अर्को कुनै खेल खेल्दा त्यो कसरी खेल्ने तरिका र सुरक्षित कसरी रहने के कस्ता सामग्री प्रयोग गर्ने भन्ने कुरा खोज्नुपर्‍यो । मानौं तपाईंलाई फुटबल खेल्न मन पर्‍यो,  यसका लागि ‘नी क्याप्स, सुज लगाउनुपर्छ । यस्ता सामग्रीले शरीरमा चोट लाग्न दिँदैन । अर्को वार्मअप एकदम आवश्यक छ । कुनै पनि खेल खेल्दा मैदानमा गएर एकैचोटि खेल्ने होइन । शरीरलाई वार्मअप हुन समय लाग्छ । उफ्रने, जगिङ गर्ने गरिसकेपछि मात्र खेल खेल्न जानुपर्छ । यसो गर्दा मुटुको धड्कन मिल्छ, यो कुरामा विशेष ध्यान दिनुपर्छ । उदाहरणका लागि एउटा बास्केटबल खेल्दाको कुरा गरौं । प्रोफेसनल खेलाडीलाई बल लिएर बास्केटमा सुट गर्दा जुन जम्प गरेको हुन्छ, यसलाई ल्याण्डिङ कसरी गर्ने भन्नेबारे सिकाइएको हुन्छ । उफ्रेर गोडा जब भुँइ ल्याण्ड गर्छ, कुन सेफमा ल्याण्ड गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ । यो मिलेन भने गोडाको लिगामेन्टहरू च्यातिने सम्भवना हुन्छ । हरेक खेलको यस्तो टेक्निकहरू हुन्छन् ।  यो विषयमा धेरैलाई जानकारी छैन, सचेतना कतिको आवश्यक ठान्नुहुन्छ ? धेरै आवश्यक छ । तर आजभोलि यस्ता विषयमा ज्ञान लिन हामीसँग धेरै पहुँच छ । सबैको हातमा मोबाइल र इन्टरनेट छ । हामीलाई चाहेको कुरा युट्युबमा खोज्न सक्छौं, धेरै चिकित्सकहरूले यसमा आफ्नो धारणा राखेका हुन्छन्, विभिन्न मिडियामा यस्ता आर्टिकल, समाचारहरू आएका हुन्छन्, यसका लागि हामीले खोजी गर्न सक्नुपर्‍यो ।  तपाईंले अहिलेसम्म कस्ता-कस्ता खेलाडीको उपचार गर्नुभयो ? कहिलेकाहीं तयारी अपनाउँदा पनि खेलाडीहरूलाई विभिन्न इन्जुरी भइरहेको हुन्छ । उहाँहरू अस्पताल आउनुहुन्छ । मैले अहिलेसम्म धेरै खेलाडीहरूको उपचार गरेको छु । १८ वर्षको अवधिमा मैले कम्तीमा ६ हजार बढीको उपचार गरेको छु । यसमा खेलाडी र सर्वसाधारण दुवै उत्तिकै पाएको छु । खेलाडीहरूलाई यो विषयमा जानकारी पनि गराइएको हुन्छ भने फिजियो थेरापीदेखि चिकित्सकको पनि सुविधा उहाँहरूलाई हुन्छ । उहाँहरूमा पनि यस्तो समस्या हुन्छ भने अझ बढी सर्वसाधारणलाई यस्तो समस्या भएको मैले पाएको/भेटाएको छु । खेलाडीहरू मात्र नभई अन्यलाई पनि हुन्छ यो समस्या ? यो इन्जुरी खेलाडीहरूलाई मात्र होइन । अन्य काम गर्ने व्यक्तिहरूलाई पनि हुन्छ । जस्तै- फ्याक्ट्रीमा काम गर्ने, घरमा पेन्टिङ गर्ने । कुइनोको छेउमा औंला सिधा गर्ने, नारी उठाउने हाम्रा टेन्डनहरू जुन हड्डीबाट उठेर आएको हुन्छन् । मानौं- एउटै फ्याक्ट्रीमा लामो समयदेखि काम गर्दै आउनुभएको छ, उहाँहरूमा टेन्डन सुनिने गर्छ । अर्को पेन्टरहरूलाई पनि यस्तो समस्या हुन्छ । पेन्ट गर्दा सोल्डरहरू चलाइराख्नुपर्छ । यसो हुँदा सोल्डरको कप टेन्डन जसलाई रोटेटर अफ टेन्डन भनिन्छ, त्यसमा इन्जुरी हुन सक्छ । इन्जुरी विभिन्न किसिमका हुन सक्छन् ।  स्पोर्ट्स इन्जुरी कत्तिको गम्भीर हुन्छ ? यस्ता समस्यालाई वेवास्ता गरिरह्यो भने गम्भीर पनि हुनसक्छ । पहिलो चरणमा टेन्डन सुन्निन्छ । हामीले यही चरणमै उपचार गर्न सक्यौं भने निको हुन्छ । र पछि फेरि त्यही काम गर्न पनि सकिन्छ । तर, बेवास्ता गरियो भने समस्या हुन सक्छ । विशेषगरी सोल्डरमा आएको यस्तो समस्यालाई वेवास्ता गरियो भने गम्भीर रूप लिन सक्छ । पहिले सुनिएको भागमा विस्तारै दुखाइ पनि बढ्दै जान्छ , दुखाइ व्यायाम गरेर औषधी खाएर मात्र निको हुँदैन । यस्तो अवस्थामा अप्रेसन गरेर टाँका लगाउनुपर्छ ।  कहिलेकाहीं हाम्रो गोडामा चोट लागेर एक्सरे गराउँदा नर्मल देखिएपनि लिगामेन्ट इन्जुरी भएको हुनसक्छ ।  यस्ता समस्या लिएर अस्पतालमा पुग्ने बिरामीहरू कस्तो अवस्थामा पुग्छन् ? सर्वसाधारणले त यो विषयमा खासै जानकारी पाएको देखिँदैन । अस्पताल पुगेका धेरैजसो हात-खुट्टा, जोर्नी सुनिएको भनेर आउनुहुन्छ । चिकित्सकले हेर्दै जाँदा स्पोर्ट्स इन्जुरी भएको हुन्छ । घुँडामा चोट लागेर आएकाहरूमा एक्सरे नर्मल छ तर बढी सुनिएको हुन्छ । लिगामेन्ट इन्जुरी, रोटेटर इन्जुरी, स्पाइनल इन्जुरी, एक्सरे गरेर सबै थाहा हुँदैन। एमआरआई गर्नुपर्ने हुन्छ । अर्को कुरा सबै इन्जुरीमा अप्रेसन नै गर्नुपर्छ भन्ने पनि हुँदैन ।  उपचार नेपालमै सम्भव छ ? अहिले हरेक रोगको उपचार नेपालमै सम्भव छ । स्पोर्ट्स इन्जुरीको उपचार पनि नेपालमै हुन्छ । अहिले यो समस्या हुनेबित्तिकै यो विषयका विज्ञ चिकित्सकलाई पनि भेट्न सकिन्छ । त्यसपछि यसको उपचार के हुन्छ, कसरी गर्ने भन्नेबारे उनीहरूले  सल्लाह दिन्छन् । यो समस्या हुनेबित्तिकै अस्पतालमा पुग्नुपर्छ । कुनै पनि समस्या आयो भने घरमै बस्न हुँदैन ।  स्पोर्टस् इन्जुरीको अप्रेसन कुन माध्यमबाट गरिन्छ ? आभोलि संसार नै मिनिलेबल सर्जरीतिर गइरहेको छ । कस्मेटिकल रूपमा पनि बेटर, हेर्दा घाउ ठूलो पनि नदेखिने, बिरामीलाई धेरै दुखाइ पनि नहुने र डाक्टरलाई पनि सहज हुने, ब्लिडिङ पनि धेरै नहुने आर्थोस्कोपबाट गरिन्छ । पहिले पहिले पेटबाट पित्तको थैली निकाल्दा पनि ठूलो चिरेर निकालिन्थ्यो । अहिले सानो प्वाल पारेर पाइप पठाइन्छ । त्यस्तै, गोडा, सोल्डरलगायत विभिन्न ठाउँमा स-सनो प्वाल बनाएर आर्थोस्कोपबाट अप्रेसन वा उपचार गरिन्छ । यसो गर्न दुई तीन ठाउँमा स-सानो प्वाल पारिन्छ, एउटाबाट क्यामरा पठाइन्छ, अर्कोबाट काम गर्ने सामग्री पठाएर यो माध्यमबाट लिगामेन्टको उपचार गरिन्छ । यसो गर्दा दुखाइ पनि कम हुने, चाँडै निको हुने गर्छ ।  एउटा व्यक्तिले आफ्नो स्वास्थ्यको कसरी ध्यान दिने ? बेसिक कुराहरूमा ध्यान दिनुपर्छ- जस्तै डाइट । धेरैलाई थाहा छ, के खानुहुन्छ, के खानुहुँदैन भनेर । यसमा व्यक्ति स्वयंले पनि ध्यान दिनुपर्छ कि म के खाँदैछु भनेर । अर्को शारीरिक व्यायाम पनि आवश्यक हुन्छ । धेरै कडा खालको नभएपनि आफ्नो जीउलाई फिट हुने खालको व्यायाम हरेक दिन गर्नुपर्छ । अर्को कहिलेकाहीं समय मिलाएर हिँड्ने, कुनै खेल खेल्ने पनि गर्नुपर्छ । काम गर्नुपर्छ तर, दिनरात काम गर्दा पनि यसको नकारात्मक असर पर्छ । यो कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

एसियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

काठमाडौं । एसियन कंक्रिटोले निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । आइपीओ बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एसियन कंक्रिटोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनीष रुंगटा तथा नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन् । आइपीओ ल्याउन लागेको कम्पनीका सञ्चालकहरु गौरव अग्रवाल, राजेश जाटिया, राजेशकुमार अग्रवाल र कम्पनीका सेल्स एन्ड मार्केटिङका उपाध्यक्ष श्यामल झाको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एसियन कंक्रिटोले नेपालको निर्माण उद्योगमा उत्कृष्टता प्रमाणित गर्दै सबैभन्दा रुचाइएको नाम बन्न सफल भएको छ । उत्कृष्ट कच्चा मालको प्रयोगदेखि असाधारण जर्मन टेक्लोलोजीको साथ उत्पादित प्रत्येक ब्लकहरु चाहे निर्माणको कुरामा होस् या त डिजाइन र आकारको सन्दर्भमा होस् उच्च गुणस्तरको रहेका छन् । नेपालदेखि भारतमा समेत आफ्नो बलियो व्यापारिक सञ्जाल फैलाउन सफल कम्पनीको ल्यान्डस्केफिङ उत्पादनहरु जस्तै पेभर, ब्लक, इटृा र टाइलहरुको खोजीमा रहेकालाई एसियन कंक्रिटो सही रोजाइ हुन सक्ने कम्पनीले जनाएको छ ।

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपियाँको ६.३५ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ ।

खुला रूपमा फोहोर मैला बाले महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ । महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ ।