विकासन्युज

दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब ६२ करोड बढीको कारोबार

काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा पुगेको छ । सोमबार ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । यस्तै, ३१७ वटा कम्पनीको १ करोड १५ लाख सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनआरएनको ३५ करोड २७ लाख रुपैयाँ बढीको करोबार भएको छ । हिमालयन डिस्टीलरीको २७ करोड ९१ लाख रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको १२ करोड, ४६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको ११ करोड १७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको १० करोड ३५ लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, आज ५ वटा उपसमूह बाहेक अरू सबै राताम्मे रहेका छन् । फाइनान्स उपसमूहको ०.०५ प्रतिशत, लगानी उपसमूहको ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०६ प्रतिशत, म्युचल फन्डको ०.१४ प्रतिशत र अन्य उपसमूह ०.११ प्रतिशतले बढेको छ । सोमबार श्वाभिमान लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।

चार महिना बित्दा पनि सरकारले भासिएको खाल्डो पुर्न सकेन, बेहालमा कमलादी र दरबारमार्ग

काठमाडौं । काठमाडौंको सबैभन्दा प्रिमिय ठाउँ दरबारमार्गको निकास र प्रवेशद्वारको बीचमा छ- काठमाडौं प्लाजा । नेपालको अधिकांश वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालय रहेको ठाउँ कमलादी पनि यही ठाउँमा पर्छ । ठूल्ठूला कर्पोरेट कार्यालयहरू कमलादीमै छन् । देशकै सबैभन्दा ठूला महानगरपालिका काठमाडौं महानगरपालिकाको कार्यालय पनि त्यही काठमाडौं प्लाजामा छ । तर, काठमाडौं प्लाजाको आँगनमै रहेको सडक भाँसिएको चार महिना अर्थात् १२० बितिसक्दा पनि अहिलेसम्म बन्न सकेन । यो भासिएको खाल्डोले हाम्रो विकास संयन्त्र कति कमजोर र दलदलमा फँसेको छ भन्ने विषयको चित्र प्रष्ट पारेको छ । सडक गत साउन २५ गते भासिएको थियो । सडक सञ्चालनमा आउन अझै केही दिन लाग्न सक्ने देखिएको छ । काठमाडौंको मुख्य ठाउँको एउटा खाल्डो पुर्न यति धेरै समय लाग्छ भने देशका कुनाकन्दरामा सडक बनाउन कति समय लाग्छ होला ? कमलादीको सडकको एउटा खाल्डो पुर्न यति धेरै समय किन लाग्यो ? यो समाचारमा हामीले यस जिज्ञासाको जवाफ खोजेका छौं । भासिएको सडक लामो समयसम्म नबन्दा दरबारमार्ग-कमलादी हुँदै चल्ने सवारीसाधनले सास्ती खेप्दै आएका छन् । पैदलयात्रीले पनि त्यस्तै दुःख पाउनु परेको छ । कर्पोरेट क्षेत्रले भरिएको ठाउँमा भासिएकै सडकको कारण व्यापार व्यवसाय पनि ठप्प रहेको व्यवसायीले गुनासो गरेका छन् । सडककै कारण अहिले सो क्षेत्र सुनसान बन्ने गरेको छ । सडक डिभिजन काठमाडौंका इन्जिनियर खगेन्द्र जोशीले सडक निर्माण सम्पन्न भइसकेको तर फुटपाथको काम बाँकी भएकाले सडक सञ्चालनमा ल्याउन समय लागेको बताए । ‘सडक निर्माणको काम सम्पन्न भइसकेको छ, अब फुटपाथ बनाउने, रेलिङ हाल्ने र कलर गर्न मात्रै बाँकी छ, अबको दुई चार दिनपछि बाटो खुल्छ,’ उनले भने ।’ सडक विभागले दुई महिनामा काम सक्नेगरी डीजी प्रकाश कन्सक्ट्रक्सनलाई सो सडक बनाउन जिम्मा दिएको थियो । यो सडक निर्माणको लागि सडक विभागले भदौको पहिलो साता ठेक्का आह्वान गरेको थियो । जसमा सडक निर्माणको लागि डिजी प्रकाश कन्सक्ट्रक्सनले ठेक्का पाएको थियो । डिजी कन्सक्ट्रक्सनले ४९ लाख ६३ हजार ६९४ रुपैयाँमा ठेक्का पाएको हो । सम्झौताअनुसार गत असोज १८ गतेबाटै काम सुरु हुनुपर्थ्यो । तर, ढिला गरी काम सुरु भयो । निर्माण कम्पनीले कार्तिक ४ गतेबाट मात्रै काम सुरु गरेको थियो । ठेक्का पाएलगत्तै दशैं सुरु भएको हुँदा त्यसपछि मात्रै काम सुरु भएको डिजी कन्सक्ट्रक्सनको भनाइ छ । निर्माण पक्षले खोलाभित्रको काम ढिलागरी सुरु भएपनि त्यसभन्दा बाहिरको काम भने निर्धारित समयअनुसार नै सुरु भएको दाबी गरेको छ । ‘हामीले सडक निर्माण सम्पन गरी मंसिर १७ गते नै सडक विभागलाई हस्तान्तरण गर्‍याैं, विभागले फुटपाथको बाँकी काम पनि हामीलाई जिम्मा दिएको हुँदा त्यसलाई पनि निर्माण गर्दैछौं, अब काम लगभग सकिएको छ,’ कन्सक्ट्रनका कुशव ढुंगानाले भने । ठेक्का प्रक्रिया नै लामो हुने हुँदा सडक निर्माण ढिला सम्पन्न भएको उनको भनाइ छ । ‘भत्केको लामो समयमसम्म नबन्नुमा प्रक्रिया ढिला भएर हो । भत्किसकेपछि ठेक्काको प्रक्रिया हुन्छ, ठेक्का पाएपछि मात्रै काम सुरु हुने हो, यसले ढिला भएको हो ।’ किन समयमै बन्दैनन् सडक ? काठमाडौं उपत्यकाभित्रैको कुरा गर्ने हो भने धेरै स्थानमा अहिले पनि खाल्डाखुल्डी छन्, जुन निर्माण हुन सकेका छैनन् । उपत्यका जहाँ दिनमा लाखौंको संख्यामा सवारीसाधन आवतजाव हुन्छ । समयमै आयोजनाहरू सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपर्छ नै साथसाथै राज्यले पनि ठूलो आर्थिक घाटा बेहोर्नुपर्ने हुन्छ । उपत्यकालाई छाडेर त्यसभन्दा बाहिरका सडकको स्थिति झन् नाजुक छ । ती सडकहरु वर्षौसम्म नबनेका थुप्रै उदाहरणहरू छन् । पूर्वाधारविद् रामबहादुर घिमिरे लगानीको सुनिश्चिता नहुनु, बजेटिङको समस्या र काम गर्ने प्राविधिक दक्ष टिम नहुँदा सडक आयोजनाहरू ढिला गरी सम्पन्न हुने गरेको बताउँछन् । अर्को कारण निर्णय प्रक्रियाहरू पनि झन्झटिलो भएको हुँदा ढिला हुने पूर्वाधारविद घिमिरेको भनाइ छ । ‘आयोजना निर्माण हुनुअघि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, जुन विभिन्न निकाय भएर निर्णय हुन्छ । स्थानीय सरकार, प्रदेश, विभाग, अर्थमन्त्रालय सबैतिर जाँदा प्रक्रिया लम्बिन्छ । जसले समयमै सम्पन्न हुँदैन । जसले गर्दा निर्माणको लागत पनि बढेर जान्छ,’ उनले भने । समयमै निर्माण आयोजना सम्पन्न नहुँदा त्यसको असर देशको अर्थतन्त्रमा पर्ने उनको भनाइ छ । ‘काठमाडौं उपत्यकामा विभिन्न उद्देश्यले देशभरबाट मान्छेहरू आएका हुन्छन्, यही उपत्यकाभित्र आधा घण्टामा पुग्ने बाटो निर्माण नहुँदा २ घण्टा लाग्ने बाटो भएर यात्रा गर्नुपर्ने हुन्छ, यसले एकातिर समयको खर्च हुन्छ, अर्को धुलो धुँवाले स्वास्थ्यमा ठूलो असर पर्न जान्छ,’ पूर्वाधारविद घिमिरेले भने । समयमै सडक निर्माण सम्पन्न नहुने अर्को कारण मल्टिपल-अपरेटर हो । सिंगल अपरेटर बनाउन सके समयमै आयोजना सम्पन्न हुन सहज हुने उनी बताउँछन् । त्यसबाहेक समयमै भुक्तानी नहुँदा काम सक्न समय लाग्छ । काम गर्ने टिम पनि गुणस्तरीय र अनुभवी हुनुपर्छ । ‘नेपालमा दक्ष प्राविधिक जनशक्ति कम भएको पूर्वाधारविद घिमिरे बताउँछन् । निर्माण आयोजनामा सिकारु कर्मचारी हुन्छन् । तर, उपकण सञ्चालक त्यहीअनुसार राख्नुपर्छ । त्यसो भयो भने आयोजना छिटो सम्पन्न हुन्छ,’ उनले भने । पूर्वाधारविद् श्रीराम ढकाल बिग्रेका, भत्केका या नयाँ सडक निर्माण समयमै सम्पन्न हुन नसक्नुमा संरचनात्मक समस्यालाई जोड दिन्छन् । पूर्वाधार विकास प्रणालीमा भएको संरचनात्मक समस्या समाधान हुन सके सडक आयोजनाहरू समयमै निर्माण हुने उनको भनाइ छ । ‘चाहेर पनि समयमै सडक निर्माण सम्पन्न गर्न नसक्नु हाम्रो संरचनाले असर गरेको छ । भत्केका, बिग्रेका मर्मतसम्भार समयमै गर्न प्रणालीको विकास हुनुपर्छ,’ उनले भने, ‘यस्ता भत्केका सडक मर्मतसम्भारको प्रक्रिया पनि अलि लामो नै हुन्छ । हामीसँग खरिद ऐन अन्तर्गत सम्बन्धित निकायले काम गर्न ठेक्का आह्वान गर्छन् । ठेक्का आह्वानमा पनि समय लाग्छ । ठेक्का पाउनेले पनि चुस्त दुरुस्त बनाउँछ भन्ने प्रणाली छैन ।’ पूर्वाधारविद् ढकाल मर्मत सम्भारका आयोजनाहरू तत्काल सम्बोधन गर्न त्यहीअनुसारको फ्रेमवर्क बनाउनुपर्ने र प्राथमिकताको आधारमा काम गर्दा यस्ता समस्या सम्बोधन हुने विचार राख्छन् । उनका अनुसार विश्वमा यस्तो अभ्यास भएपनि नेपालमा भने परम्परागत प्रणाली नै अपनाउँदै आएका छन् । यसबाहेक पूर्वाधारविद ढकाल समयमै नियमन तथा समन्वय नगर्दा आयोजना ढिला हुने बताउँछन् । प्रणालीको विकास गर्ने, सम्झौता मोडल स्मार्ट बनाएर सक्षम तथा दक्ष जनशक्तिले काम गर्ने हो भने समस्या विस्तारै हल हुँदै जाने उनको भनाइ छ ।

सुविधासम्पन्न ‘ईकुटर ई थ्री’ सार्वजनिक, मूल्य २ लाख २५ हजार

  काठमाडौं । जिरो इमिसन राइड एनले नयाँ स्कुटर ‘ईकुटर ई थ्री’ सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी ईकुटर ई थ्री सार्वजनिक गरिएको हो । २०१७ मा स्थापना भएको इकुटरले इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । ‍यो स्कुटरमा नवीनतम प्रविधि, आकर्षक डिजाइन र वातावरणमैत्री यातायात संयोजन रहेको छ । ईकुटर ई थ्रीले सहरी तथा ग्रामीण दुवै क्षेत्रमा भरपर्दो, दिगो र सहज यात्रा समाधान प्रदान गर्ने जीरो इमिसन राइड एनले जनाएको छ । १ हजार ५०० वाट रेटेड मोटर पावर र ३ हजार वाट पिक पावर रहेको ईकुटर ई थ्रीले १२ डिग्रीसम्मको उकालो सजिलै पार गर्न सक्छ । यसमा एक पटक चार्ज गर्दा १००-१२० किमी सजिलै यात्रा गर्न सकिने आयोजकले जनाएको छ । यसैगरी ५/६ घण्टामै ब्याट्री फूल चार्ज हुन्छ । ब्याट्रीको वारेन्टी २० हजार किमी अथवा दुई वर्षसम्म रहेको छ । ईकुटर ई थ्रीको मोटरमा दुई वर्षको वारेन्टी पनि रहेको छ । यसैगरी, यसमा रेजेनेरेटिभ ब्रेकिङ, क्रूज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, डबल डिस्क ब्रेक, एन्टी थिप्ट अलार्म, ह्वील लक र एलसीडी डिस्प्ले पनि उपलब्ध रहेको छ । इकुटर ई थ्रीको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ । जिरो राइड इमिसन एन नेपालमा लुयुआन इलेक्ट्रिक स्कूटरको एकमात्र वितरक हो । सारथी ईकुटर नेपालमै पूर्ण रूपमा असेम्बल गरिँदै आएको छ ।  

सूर्य नेपाल गल्फ टुरअन्तर्गत काठमाडौं ओपन भोलिदेखि सुरु, प्रथम पुरस्कार १ लाख २५ हजार

काठमाडौं । सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिताको रूपमा ‘सूर्य नेपाल काठमाडौं ओपन’ हुन लागेको हो । प्रतियोगिता भाेलि बिहान साढे १० बजे रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ । ७२ होलमा खेलिने प्रतियोगिता शुक्रबार समाप्त हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजकका अनुसार प्रतियोगितामा ३२ जना पेशेवर र १२ जना अमेच्योर खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्, जहाँ ३६ होलपछि कट हुनेछ । शीर्ष २१ पेशेवर खेलाडीहरू (टाइ हुनेहरू समेत) र पेशेवर कट पार गर्ने अमेच्योर खेलाडीहरूले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि मैदानको अवस्था विशेष रूपमा सुधारिए आयोजकले जनाएको छ। प्रतियोगितामा कुल पुरस्कार राशि ७ लाख ३५ हजार ५०० रुपैयाँ रहेको छ । विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् भने द्वितीयले ८५ हजार र तृतीयले ६८ हजार रुपैयाँ जित्नेछन् । यसैगरी, चौथो र पाँचौं हुनेले क्रमशः ५५ हजार र ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी शीर्ष २१ खेलाडीहरूले पनि पुरस्कार राशि बाँड्नेछन् । डिफेन्डिङ च्याम्पियन्स निरज तामाङ, नेपालको नम्बर एक गल्फर भुवन नगरकोटी, अनुभवी पेशेवर खेलाडीहरू रवि खड्का र दिनेश प्रजापति प्रतियोगिताका प्रमुख दाबेदार हुन् । उनीहरूलाई अमेच्योर खेलाडीहरू जस्तै राहुल विश्वकर्मा र नेपालका नम्बर एक अमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अपेक्षा गरिएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा धेरै खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शन देख्ने आशा गरेको बताए । उनले प्रायोजक सूर्य नेपाललाई निरन्तर समर्थनका लागि धन्यवाद पनि दिएका छन् । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विश्वकर्माले जितेका थिए ।

घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

झापा । संघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उनले ‘एक घर, एक धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पुर्‍याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताए । दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्त्व हुने हुँदा स्वच्छ तथा सुलभ ढंगले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पारे । जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उनले भने, ‘अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।’ खानेपानी आयोजनामा उपभोक्तासहित संघीय सरकारको करिब रु. ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ । नवनिर्मित खानेपानी आयोजनाबाट दमक–२, ३ र ४ वडाका ६ हजार पाँच सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिए । सो आयोजना आर्थिक वर्ष २०७६/७७ मा निर्माण थालिएको हो । योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उनको भनाइ थियो । यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोख्रेलले बताए ।

विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १ सय ५० ग्रामको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेमा आधा किलो सुनसहित २ जना पक्राउ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको हो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।

देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार दृढ छ : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले साेमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताए । देशमा स्थायी सरकार आवश्यक परेका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको उल्लेख गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु रहेको बताए । ‘देशमा विशेष किसिमका समस्या देखा पर्छन् त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ’, गृहमन्त्री लेखकले भने  ‘मूलकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुई/दुई महिनामा संसद्मा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो,’ उनले भने ‘सरकार अत्यन्त अस्थिर हुँदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन । विकासका काम सही ढंगले अगाडि बढ्न सकेनन् । शान्ति सुरक्षा तथा विधिको शासनमा प्रतिकुल असर पर्न थाल्यो ।’ समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो । सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरिरहेको उनले उल्लेख गरे । आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उनको भनाइ छ । गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताए । कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।’ कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उनले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाए ।