विकासन्युज

कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न, १० करोडको कारोबार

बारा । बाराको बरियापुरमा गढीमाई मेलाको अवसरमा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी हिजो (सोमबार) समापन भएको छ। मंसिर १८ देखि २४ गतेसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गर्दा १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष र बुकिङ कारोबार भएको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् । प्रदर्शनीमा नेपाल सरकारका विभिन्न निकाय र निजी क्षेत्रको सहभागितासहित १०० भन्दा बढी स्टलहरू राखिएका थिए। प्रदर्शनीमा रैथाने बाली, कृषि उपकरण, नर्सरी, माछा, ट्र्याक्टर र अन्य आधुनिक प्रविधिहरू प्रदर्शन गरिएका थिए। सातै प्रदेशका फरक परिकारहरूले प्रदर्शनीलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको प्रदर्शनीलाई जमहा गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समापन गरेका हुन् । समापन कार्यक्रममा मेयर यादवले गढीमाई मेलामा पहिलो पटक फरक प्रकृतिको प्रदर्शनी आयोजना गर्न सफल भएकोमा कनेक्ट किसानलाई धन्यवाद दिए । उनले प्रदर्शनीले कृषकहरूलाई नयाँ ज्ञान र प्रविधिको अवलोकन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको प्रचारमा टेवा पुर्‍याएको उल्लेख गरे । कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँगको प्रत्यक्ष संवाद र रोबोटसँगको अन्तरक्रियाले कृषकहरूलाई विशेष अनुभव प्रदान गरेको आयोजकले जनाएको छ । प्रदर्शनीले कृषिमा आधुनिक प्रविधिको प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा महत्त्वपूर्ण योगदान दिएको आयोजकको विश्वास छ ।

सिटिजन्सको नेतृत्वमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत बन्ने, ४ बैंकको ६.१५ कर्जा अर्ब लगानी

काठमाडौं । सिटिजन्स बैंकको वित्त व्यवस्थापन नेतृत्वमा संखुवाखोला जलविद्युत परियोजना बन्ने भएको छ । संखुवाखोला जलविद्युत परियोजनामा सिटिजन्ससहित विभिन्न ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युतमा सिटिजन्स बैँक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् । परियोजनाको अनुमानित लागत करीब ८ अर्ब २० करोड रुपैयाँमध्ये बैंकहरूले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्ने जनाएको छ । सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब २५ करोड रुपैयाँ र सानिमा बैँकले ७५ करोड रुपैयाँ लगानी गर्ने सहमति भएको छ । साथै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने छ । उक्त परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड रं लगानीकर्ता बैँकहरूबीच वित्तीय व्यवस्थापनका लागि मंसिर २४ गते सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ । सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका आयोजनामा लगानी गर्दै आएको बताए । साथै बैंकको अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरूसँगको सहवित्तीयकरण कर्जामार्फत् जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा लगानी गर्दै आएको उनको भनाइ छ । बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरूको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको उनले बताए । हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित कुल ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । बैंकले हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवाई बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । गुराँस हाइड्रोका अध्यक्ष शिव प्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए । हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकेकाले आयोजना तत्काल निर्माण कार्य अघि बढ्ने र समयमा सम्पन्न हुने उनले बताए ।

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै

पर्वत । चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी–गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण तीव्र गतिमा भइरहेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए । करिब २५ मिटर लामो उक्त पुलको ४५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । रु चार करोड ४३ लाखको लागतमा पुल निर्माण भइरहेको अर्यालले जानकारी दिए । उनका अुनसार यो पुल निर्माणको जिम्मा कस्तुरी कन्स्ट्रक्सनले पाएको छ । यो पुलमा हालसम्म रु एक करोड ८३ लाख भुक्तानी भइसकेको छ । वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैँयु गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङ्दी, भोक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमास सहज रूपमा उक्त सडक सञ्चालन हुने स्थानीय खगेन्द्र तिवारीले जानकारी दिए । कुश्मा–१० पीपलटारी र फलेबास–३ शङ्करपोखरी जोड्नेगरी मल्याङदीखोला माथि मोटरेबल पुल निर्माण पनि सुरु हुन थालेको छ । सोह्र मिटर लामो यो पुल रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको हो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुल पनि दुई वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख अर्यालले बताए । यो पुलका लागि चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएको छ । यो पुल निर्माणपश्चात् कुश्मा नगरपालिकाको वडा नंं ९ पीपलटारी, वडा नंं ८ कटुवाचौपारीका साथै फलेबास नगरपालिकाका शङ्करपोखरी, खानीगाउँ, थापाठाना, भँगरा, कार्किनेटालगायत बासिन्दा लाभान्विन हुने भएका छन् । पुलको अभावमा अहिले स्थानीय जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने परादी–मोदी–गिज्यान–ठाना–तिलाहार खण्डमा पर्ने मोदीखोलामा पनि मोटरेबल पुल निर्माण गर्न थालिएको छ । कुश्मा–८ परादी र मोदी गाउँपालिका–६ गाडतारा जोड्ने उक्त पुल चालु आर्थिक वर्षदेखि निर्माण गर्न लागिएको हो । पुलको बोलपत्र आह्वान भइसकेको छ भने पर्वतको कस्तुरी कन्स्ट्रक्सन कम्पनीले निर्माणको सम्झौता गरिसकेको कार्यालय प्रमुख आर्यालले बताए । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि स्रोत सुनिश्चित हुनुका साथै चालु आवका लागि रु ९० लाख विनियोजन भएको र केही दिनभित्र निर्माण सुरु हुने कार्यालयले जनाएको छ । पुल निर्माणको कूल लागत करिब रु १० करोड ४५ लाख रहेको छ भने यसको लम्बाइ ७५ दशमलव छ मिटर हुनेछ । परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्राक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएपछि यो सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधिसमेत छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए । रासस

एनएमबि बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर सम्बन्धि कार्य गर्नुपर्ने भएकाले बैंकको सेवा अवरुद्ध हुने भएको हो । बैंकका अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि मंसिर २८ गते शुक्रबार साढे १० बजेदेखि मंसिर २९ गते शनिबार बिहान साढे १० बजेसम्म सेवा अवरुद्ध हुने छन् । सो समयमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टर सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

मुग्लिन-पोखरा सडकमा रातिको अवरोध हट्यो

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन्,’ उनले भने । मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।

अमेरिकी डलरको भाउ बढ्यो, आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.९६ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.२२ रुपैयाँ र बिक्रीदर ८७.६१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.७० रुपैयाँ र बिक्रीदर ९६.१२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.०५ रुपैयाँ र बिक्रीदर १०१.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०१ रुपैयाँ र बिक्रीदर ३६.१७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३७.०० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७१ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४५ रुपैयाँ र बिक्रीदर ९.४९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४२ रुपैयाँ र बिक्रीदर १२.४७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१९ रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४० रुपैयाँ र बिक्रीदर १७.४८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२९ रुपैयाँ र बिक्रीदर ४४२.२५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.७२ रुपैयाँ र बिक्रीदर ३६०.३१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.२८ रुपैयाँ र बिक्रीदर ३५२.९४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने राणा, को हुन् उनी ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै बैंकको सीईओ बन्ने पहिलो नेपाली नागरिक बनेका छन् राणा । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत विदेशी बैंकको सेयर स्वामित्व छ । सन् १९८७ मा सञ्चालनमा आएको बैंकले विदेशी नागरिकलाई नै सीईओ बनाउँदै आएको थियो । तर, यसपटक भने बैंकले नेपाली नागरिकलाई नै बैंकको व्यवस्थापकिय नेतृत्व दिने निर्णय गरेको हो । रााणले ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । ग्रिनलेज बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेपछि उनी पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नै काम गर्दै आएका थिए । यसअघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए । डीसीईओ हुँदा उनले प्रमुख कमर्सियल, कर्पोरेट र संस्थागत बैंकिङ्ग, ग्राहक कभरेजको जिम्मेवारी समेत सम्हालेका थिए । तीन दशक बढी बैंकिङ अनुभव रहेको राणाले एमबिए गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक तत्कालिन कम्पनी ऐन, २०२१ (संशोधन सहित) बमोजिम वि.सं २०४२ पुस ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपाल ग्रिण्डलेज बैंक लिमिटेडको नामबाट दर्ता भएको हो । तत्कालिन वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति पाएको यस बैंकले वि.सं २०४२ माघ २४ गतेदेखि सञ्चालनमा आएको हो । तर, कम्पनी रजिष्ट्रारको कार्यालयको वि.सं २०५८ असार २६ गतेको निर्णयबाट साविकको नेपाल ग्रिण्डलेज बैंक नाम परिवर्तन गरी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रुपान्तरण भएको हो ।

तनहुँ जलविद्युत् आयोजना तीन चरणमा काम हुँदै, तीव्रता दिन कुलमानको निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गरेका छन् । ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिएका हुन् । अनुगमनका क्रममा उनले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गरे । कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराएका थिए । चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५.७ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । मुख्य बाँध निर्माणअन्तर्गत १४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् । आयोजनाको चरण दुईअन्तर्गत विद्युत् गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । यो चरणमा ६३.५ प्रतिशत प्रगति भएको छ । चरण तीनको प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर २२० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३.६ प्रतिशत भौतिक प्रगति भएको छ ।