आज चितवन राइनोज र लुम्बिनी लायन्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो । काठमाडौं गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो । विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।
ईभी गाडीको चार्जिङ शुल्क मनलाग्दी, कार्यविधि बनाएर अनुगमन गर्ने तयारीमा आयोग
काठमाडाैं । नेपालमा विद्युतीय सवारी (ईभी) को संख्या बढ्दै गएको छ । वातावरणीय लाभदेखि आर्थिक बचत पनि हुनाले ईभी सबैको रोजाइमा परेको हो । अहिले नेपालका सडकमा विभिन्न कम्पनीका ईभी गाडी गुडिरहेका छन्, जुन निकै सकारात्मक कुरा हो । ईभीको अझै प्रवर्द्धन हुनुपर्ने हो तर चार्जिङ स्टेशनमा भने मनपरी शुल्क असुल्ने गरिएको पाइएको छ । खासगरी नेपालमा ईभी विक्रेता कम्पनी, विक्रेता कम्पनीबाट चार्जिङ स्टेशन सञ्चालन अनुमति लिएका संस्था र नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालन गर्दै आएका छन् । तर, यसरी खोलिएर सञ्चालनमा आएका चार्जिङ स्टेशनहरूमा सवारी चार्ज गरेको शुल्क भने मनपरि छ । विद्युत प्राधिकरणले कुन समयमा चार्ज गरेको हो, त्यसका आधारमा शुल्क निर्धारण गरेको छ । विद्युत महसुल संकलन विनियमावलीले ईभी चार्ज गर्दा प्रति यूनिट कति शुल्क लाग्छ भनेर निर्धारण गरिदिएको छ । अर्थात् ट्यारिफ रेट रहेको छ । तर, चार्जिङ स्टेशनहरूले भने ट्यारिफ रेटभन्दा १० गुणा बढी शुल्क असुल्ने गरेको पाइएको छ । विनियमावलीअनुसार चार्जिङ शुल्क ४ रुपैयाँ ४५ पैसादेखि ११ रुपैयाँ ७० पैसासम्म रहेको छ । पिक आवरमा चार्ज गर्दा ११ रुपैयाँ ७० पैसा र अफ पिक समयमा चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा शुल्क रहेको छ । चार्जिङ स्टेशनहरूले त्यो रेटभन्दा २० प्रतिशत बढी रकम लिन पाउँदछन् । तर, नेपालमा सञ्चालनमा रहेका चार्जिङ स्टेसनले भने यो रेटलाई वेवास्ता गर्दै मनपरी शुल्क लिने गरे पनि त्यसको कसैले पनि अनुगमन गरेका छैनन् । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोरासैनीले प्राधिकरणले ट्यारिफ रेटभन्दा धेरै मूल्य नलिएको उल्लेख गरे । तर, अन्य निजी क्षेत्रले सञ्चालन गरेको स्टेशनले के कति लिए भनेर अनुगमन तथा नियमन गर्ने निकाय प्राधिकरण नभएको बताए । उनका अनुसार कुनै पनि निजी क्षेत्रले कुनै स्थानमा चाजिङ स्टेशन बनाउन चाह्यो भने त्यस क्षेत्रमा विद्युतीय पूर्वाधार पुर्याउने काम प्राधिकरणको हो । तर, अनुगमन र नियमन गर्ने काम भने प्राधिकरणको नभएको उनको भनाइ छ । प्रवक्ता घोरासैनी भने, ‘चार्जिङ स्टेशनले लिने शुल्क निर्धारण गरिएको छ । चार्जिङ स्टेशन बन्ने ठाउँमा प्राधिकरणले विद्युतीय पूर्वाधार विकास गर्ने हो । बढी शुल्क लिएको बारेमा हामीले केही गर्न सकिँदैन ।’ विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमित गर्ने निकाय विद्युत नियमन आयोगको हो । यसर्थ ईभी चार्जिङ स्टेशनको नियमन, अनुगमन गर्ने काम पनि आयोगकै क्षेत्र अधिकारमा पर्ने आयोगकी प्रवक्ता मोनदेवी श्रेष्ठ बताउँछिन् । तर, हालसम्म कुनै पनि चार्जिङ स्टेशनमा आयोगले अनुगमन नगरेको उनले जानकारी दिइन् । प्रवक्ता श्रेष्ठका अनुसार अनुगमनको कार्यविधि नभएकाले अनुगमन आयोगले हालसम्म अनुगमन नगरेको हो । उनले आयोगमा कार्यविधिबारे भने बेला बेला छलफल भइरहेको जानकारी दिँदै भनिन्, ‘के कसरी अनुगमन गर्ने भन्ने हामीसँग कार्यविधि छैन । कार्यविधि बनेपछि त्यहीअनुसार हामी अनुगमन गर्ने गर्दछौं ।’ कार्यविधि बनाउन ढिलो भएन र भन्ने प्रश्नमा उनले भनिन्, ‘चार्जिङ स्टेशनहरूको स्थापना पछिल्लो समयमा भएको हो । पहिला चार्जिङ स्टेशन नै थिएनन् ।’ आयोगमा हालसम्म चार्जिङ स्टेशनको बारे कुनै गुनासोसमेत आइनसकेको प्रवक्ता श्रेष्ठले बताइन् । यस्तै, अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ईभी चार्जिङ स्टेशनको अनुगमन सरकारले नै गर्नुपर्ने जनाएको छ । नाडाका उपध्याक्ष राजनबाबु श्रेष्ठले चार्जिङ स्टेशनको अनुगमन, निरीक्षण र कारबाही गर्ने काम सरकारी निकायको भएको बताए । उनका अनुसार आयातकर्ता कम्पनीले चार्जिङ स्टेशन सञ्चालनको जिम्मा व्यवसायीहरूलाई दिने भएकाले नाडाले यसको अनुगमन गर्न नसक्ने उल्लेख गरे । नाडाका अनुसार नेपालमा ५ सयको हाराहारीमा चार्जिङ स्टेशन छन् । जसमध्ये प्राधिकरणले भने हाल ६२ वटा स्टेशन सञ्चालन गरिरहेको छ । प्राधिकरणको ४ वटा स्टेशनमा गएको बाढी-पहिरोले क्षति पूर्याएको छ । हाल ५८ वटाबाट दैनिक २ हजार ७ सय गाडी चार्ज भइरहेका छन् । त्यसमा ट्यारिफ रेटअनुसार नै शुल्क प्राधिकरणले लिएको छ ।
नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं । चितवनमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोबाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा वृहत छलफल भएको थियो । छलफलमा प्रदेशहरूको संरचनाअनुसार नाडालाई कसरी अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा र खुल्ला बोर्डरले पारेको समस्याहरूको विषय उठान भएको थियो । यस्तै, व्यवसायीहरूको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिँदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनु पर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा, सवारी साधन आयातकर्ता र डिलरहरू बीचको समस्याका सम्बन्धमा, हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्ट्सहरूको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरूका सम्बन्धमा र चितवन अटोमोबाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरूमा क्रमबद्ध रूपमा छलफल गरिएको नाडाले जनाएको छ । कार्यक्रमको अन्त्यमा नाडाका निबर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए । कार्यक्रममा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणी पाठक, दीपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, चितवन अटोमोवाइल्स एशोसिएशनकातर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केशी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देविप्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, बसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, हेटौंडा अटोमोबाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दीपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो । त्यस्तै, चितवन अटोमोबाइल डिलर्स एशोसिएशन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत कुल ३९ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए भने कार्यक्रम सञ्ञ्चालन केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले गरेका थिए । यस किसिमका कार्यक्रमहरूले नाडा र नाडा प्रदेश एशोसिएशनहरू बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको जनाइएको छ ।
श्रीनगरमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामाडा एन्कोर बाई विन्धम श्रीनगर राजबाग होटल’
भारत । काश्मिरको राजबागमा ‘रामाडा एन्कोर बाई विन्धम श्रीनगर राजबाग होटल’को उद्घाटन भएको छ । होटल तथा विकास कम्पनी अल हबीब एम्पोरियोले सोमबार उक्त होटलको उद्घाटन भएको जानकारी दिएको हो । होटल विश्वकै सबैभन्दा ठूलो होटल फ्रेन्चाइज कम्पनी ‘विन्धम होटल्स एण्ड रिसोर्ट्स’ सँगको साझेदारीमा सञ्चालन गरिएको हो, जसले ९५ भन्दा बढी देशमा ९ हजार २०० भन्दा धेरै होटलहरू सञ्चालन गर्दै आइरहेको छ । यो होटल श्रीनगरको झेलम नदीको किनारमा अवस्थित छ । होटल प्रसिद्ध डल झीलबाट २.५ किमी र श्रीनगर विमानस्थलबाट १२.५ किमी टाढा छ । यस होटलमा ४८ आधुनिक कोठाहरू छन् । यसमा लबी लाउन्ज, अल-डे डाइनिङ सुविधा, स्विमिङ पुल, फिटनेस सेन्टर, इभेन्ट स्पेस र व्यापारिक केन्द्रजस्ता सुविधा उपलब्ध छन् । श्रीनगर प्राकृतिक वातावरण, विभिन्न बगैंचा, जलमार्ग र हाउसबोटहरूका लागि प्रसिद्ध छ । विन्धम होटल्स एण्ड रिसोर्ट्सका अध्यक्ष डिमिट्रिस म्यानिकिसले भारतमा आफ्नो उपस्थिति बलियो बनाउन होटल खोलेको बताए ।
रवि लामिछानेलाई वीरगञ्ज लगियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ । यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ । त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ । लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ ।
इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताए । प्रचण्ड अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको बिरोध गरे । संयुक्त राष्ट्रसंघमा यसको बिरुद्धमा पटक पटक प्रश्तावहरु पारित हुने गरेको भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए । ७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नै थिए । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरुले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले सुरु गर्यो हेल्लो हेल्थ, नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं,’ मन्त्री पौडेलले भने, तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।’ अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् । यसैगरी, भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ । यसैगरी, इमेलमार्फत हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिनेछ । मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए । सोही एकाइले हेल्लो हेल्थ एकाइका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो । मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् । यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरू माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार अध्यक्ष सिलवालविरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो । ‘अध्यक्ष सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुनपर्ने,’ भन्दै मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिलवालले पर्साबाट लिएको नागरिकता र काठमाडौंबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ । उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रुपैयाँ सोह्र पैसा मात्र रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले जारी गरेको विज्ञप्ति : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुन भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौवाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी Diploma तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोवाट निज प्रतिवादीले मिति २०१५।०४।१५ लाई नै जन्म मिति कायम/स्वीकार गरे/गराएको, निजामती सेवामा नै वहाल रहेको अवस्थामा निज प्रतिवादीले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न निज स्वंयले भरेको PASSPORT APPLICATION FORM मा आफ्नो उमेरको झुट्टा विवरण दिई जन्म मिति २०१८।०७।२४ (०९ Nov.१९६१) कायम गरेको देखिएकोले निज प्रतिवादीले आफ्नो वास्तविक जन्ममिति भन्दा करिव ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको। बीमा समितिको अध्यक्ष नियुक्ति गर्ने सम्वन्धमा अर्थ मन्त्रालयले साविकको बिमा समितिको अध्यक्षको पदमा निजलाई नियुक्तिको प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गर्दा नै उल्लेख भएको अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिवन्धात्मक वाक्यांशसमेत वमोजिम नियुक्ति दिने गरी भएको प्रस्ताव नै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।१०।१९ गते स्वीकृत भई सोही मापदण्ड उल्लेख गरी अर्थ मन्त्रालयले निजलाई बिमा समितिको अध्यक्ष पदको नियुक्ति पत्र दिएको, उक्त मापदण्डको दफा ५ को प्रतिवन्धात्मक बाक्यांशमा “पदावधि समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकाश हुनेछ” भनि स्पष्ट कानूनी व्यवस्था रहेको देखिएकोमा सो कानूनी व्यवस्थालाई स्वीकार गरी निजले मिति २०७७।१०।२२ स्वःघोषणा तथा शपथ ग्रहण गरी पद स्वीकार गरेवाट निज सूर्य प्रसाद सिलवाल Ipso facto (स्थापित तथ्यका आधारमा) मिति २०८०।०४।१५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा जानी जानी सो ओहदामा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा निज प्रतिवादीको उक्त कार्यहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर गरे भएको पुष्टि भएको, यसैगरी निजले मिति २०७७।१०।२० गते बिमा प्राधिकरणको अध्यक्षमा राष्ट्रसेवकको रुपमा नियुक्ति पाउन आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी हुँदा हुँदै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतमा आफ्नो जन्म मिति २०१६।०७।२२ को जन्म मिति हो भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेश गरेको, उमेर ढाँटी/झुट्टा विवरणको वैयक्तिक विवरण पेश गरी, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा हालसम्म पनि बहाल रहिनै रहेको, निजले आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी आँफूलार्इ हुँदा हुँदै आफ्नो उमेर ढाँटी मिति २०१८।०७।२४ गतेको जन्म मिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा करिव ३ वर्ष उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेश गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी सोही झुट्टा विवरणका आधारमा प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको माथि उल्लिखित सवूद प्रमाणबाट पुष्टी भइरहेको देखिदा निज प्रतिवादीको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित एवं निषेधित कसूर समेत गरे भएको देखियो। यसर्थ; नेपाल बिमा प्राधिकरणको अध्यक्षको रुपमा कार्यरत निज प्रतिवादी सूर्य प्रसाद सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण/व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको पुष्टि भएकोवाट निज सूर्य प्रसाद सिलवालको उक्त कार्यहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन, नेपाल बिमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद-२ (भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदावी बमोजिमको कसूर गरेको हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवाललार्इ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र निज प्रतिवादी सूर्य प्रसाद सिलवालले मिति २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम रु.३६,६२,१५४।१६(छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. र कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत/असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।