१२ प्रतिशतले घट्यो रिलायन्स इन्डस्ट्रिजको सेयर, ३ अर्ब डलर ऋण खोज्दै मुकेश अम्बानी
काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा अर्बपति मुकेश अम्बानीलाई ऋणको खाँचो परेको ब्लूमबर्गले जनाएकाे छ । यसका लागि उनले करिब आधा दर्जन बैंकसँग वार्ता गरिरहेका छन् । रिलायन्स इन्डस्ट्रिजको ऋण तिर्न अम्बनीले ऋण खोजेका हुन् । ब्लूमबर्गले आफ्नो एक रिपोर्टमा यो जानकारी दिएको हो । इकोनोमिक टाइम्समा प्रकाशित ब्लुमबर्गको रिपोर्टअनुसार मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीजले अर्को वर्षसम्म आफ्नो ऋण तिर्न चाहन्छ । यो ऋण तिर्न कम्पनीलाई ३ अर्ब डलर ऋण चाहिन्छ। आधा दर्जन बैंक छलफलमा प्रतिवेदनमा भनिएको छ कि लगभग आधा दर्जन बैंकहरू ऋणको लागि रिलायन्स समूहसँग छलफलमा छन् । केही व्यक्तिलाई उद्धृत गर्दै प्रतिवेदनमा यो जानकारी दिइएको हो । सर्तहरू अझै टुंगोमा पुगिसकेका छैनन् । कम्पनीमाथि २.९ अर्ब डलर ऋण ब्लूमबर्ग न्यूजको तथ्यांकअनुसार रिलायन्स इन्डस्ट्रीजको करिब २.९ बिलियन डलर ऋण छ । यसमा कम्पनीले सन् २०२५ मा तिर्नुपर्ने ब्याज पनि समावेश छ । रिलायन्स इन्डस्ट्रिजले पनि सन् २०२३ मा ८ अर्ब डलरभन्दा बढी ऋण लिएको थियो । कम्पनीको सेयरको अवस्था कस्तो छ ? कम्पनीको सेयर अहिले ओरालो लागेको छ । सोमबार रिलायन्स इन्डस्ट्रिजको सेयर १.१६ प्रतिशतले घटेको थियो । पछिल्ला ६ महिना कम्पनीका लागि निकै कठिन रह्यो । बजारमा आएको गिरावटले रिलायन्स इन्डस्ट्रिजको सेयरमा ठूलो असर गरेको छ । पछिल्लो ६ महिनामा कम्पनीको सेयर करिब १२ प्रतिशतले घटेको छ । कम्पनीको बजार पुँजी पनि घटेको छ । यस वर्षको कुरा गर्ने हो भने कम्पनीको सेयरमा एक प्रतिशत पनि प्रतिफल आएको छैन ।
हिल्सा-सिमकोट सडक : आर्थिक विकासको मेरुदण्डदेखि उत्तर-दक्षिणको मध्यस्थतासम्म
काठमाडौं । नेपालले चीनसँग गरेको बीआरआई सम्झौतामा कर्णालीको हिल्सा-सिमकोट सडक परियोजना अगाडि परेपछि धेरैले यो परियोजनालाई प्राथमिकताका साथ हेरेका छन् । यो परियोजनाले सार्थकता पाएमा अब उत्तर-दक्षिण जोड्ने दुई ठूला सडक करिडोर निर्माण हुनेछन् । जुन यो कर्णालीका लागि निकै महत्त्वपूर्ण परियोजनाका रूपमा लिइएको छ । हिल्सामा पुल निर्माण गर्ने र कर्णाली करिडोरलाई चिनियाँ सरकारले निर्माण गरिदिने गरी सम्झौता भएपछि कर्णालीबासीमा निकै उत्साह छाएको छ ।सरकारले कर्णाली प्रदेशको समृद्धिलाई मध्यनजर गर्दै हिल्सा-सिमकोट सडकलाई मुख्य प्राथमिकता दिएको छ । कर्णाली करिडोर सडक प्रदेशको आर्थिक विकासको मेरुदण्डको रूपमा पनि हेरिएको छ । कर्णाली प्रदेश एक कठिन भूगोल भएको प्रदेश हो । भौगोलिक विकटताका कारण हवाई यातायात माथिल्लो कर्णाली क्षेत्रमा सञ्चालनमा आउन थालेको दशकौं भएतापनि सडक यातायात पुग्न थालेको धेरै समय भएको छैन । कर्णाली प्रदेशकै विकट मानिने डोल्पा र हुम्ला जिल्लामा सडक सञ्जाल भर्खर मात्रै पुगेको छ भने यी जिल्लाका विभिन्न स्थानीय तहमा सडक सञ्जाल जोडिने क्रम जारी छ । प्रदेश राजधानी र स्थानीय तहमा सहरी सडक रिङरोड र ग्रामीण सडकहरू बन्ने क्रममा छन् । १० जिल्ला रहेको कर्णालीमा ६ वटामा कालोपत्रे सडकले जोडिएको छ भने बाँकी जिल्ला ग्रामीण धुले कच्ची र मौसमी सडक गरेर जोडिएका छन् । मुख्य गरी कर्णालीका हुम्ला, मुगु, डोल्पा र कालिकोट अति विकट जिल्लाका रुपमा परिचित छन् । तर, पर्यटकीय दृष्टिकोणले भने सुन्दर छन् । यी जिल्लाहरुमा सहजै सडक पुगेको अवस्थाामा कर्णालीको आर्थिक विकासले पनि फड्को मार्ने अनुमान धेरैको छ । कस्तो बन्छ सडक ? यो सडक निर्माण सम्पन्न भएको खण्डमा कर्णालीको समृद्धि उत्तरी छिमेकी चीनसँग विस्तार हुनेछ । नेपाली र चिनियाँ पक्षसँग भएको सम्झौताअनुसार चीन सरकारले हिल्सादेखि सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण गर्नेछ । कर्णाली करिडोर समयमै निर्माण सम्पन्न भएको खण्डमा कर्णाली उत्तर तिब्बतदेखि दक्षिणमा भारतसम्म सिधै सडक सञ्जालसँग जोडिनेछ । यस्तै, कर्णालीका तीन जिल्ला हुम्ला, मुगु र डोल्पाका उत्तरी क्षेत्र चीनको तिब्बतसँग जोडिएका छन् । यी नाकाहरू पूर्ण रूपमा सञ्चालन गर्न सकिएको खण्डमा कर्णालीको व्यापार चीनको तिब्बतसँग जोडिनेछ । हुम्लामा तीन, मुगुमा एक र डोल्पामा एक गरी पाँच स्थानमा नाका रहे पनि हाल हुम्लाको नाम्खा गाउँपालिकास्थित हिल्सा नाकामात्रै सञ्चालनमा छ । कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु-सल्लीसल्ला) र कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमकोट) २६९ किलोमिटर सडकबाहेक अधिकांश खण्डमा सडकको नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ । योमध्ये १२३ किलोमिटर खुलालु(सलिसल्ला दक्षिणमा खण्डमा पर्छ भने सलिसला-सिमकोट–हिल्सासम्म एक सय ४६ किलोमिटर उत्तरी खण्डमा पर्छ । कस्तो छ करिडोरको अवस्था ? भूगोलका कारण कर्णालीमा सडक निर्माणको काममा निकै कठिनाइ भएको कर्णाली करिडोर उत्तरखण्ड सडक आयोजनाका निमित्त प्रमुख इन्जिनियर बेलबहादुर नेपाली बताउँछन् । उनका अनसार हिल्सा-सिमकोट खण्डअन्तर्गत ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा सडक निर्माण कार्य जारी रहेको छ । केही ठाउँमा कडा चट्टानका कारण सडक विस्तार गर्न नसकिएको निमित्त प्रमुख नेपालीको भनाइ छ । यो सडक खण्डमा हाल नियमित गाडी सञ्चालनमा रहेको उनले जानकारी दिए । अहिले यो खण्डमा सडक फराकिलो पार्ने, नाला, जाली, रिटेनिङ वाल तथा ग्राभेल गर्ने कार्य भइरहेको छ भने सडक स्तरोन्नतिका लागि बहुवर्षे ठेक्का स्वीकृतिको चरणमा रहेको आयोजनाका निमित्त प्रमुख नेपालीले बताए । ‘खुलालु–सल्लीसल्ला खण्डमा एक वर्षभित्र सबै सडक ग्राभेल हुने अवस्था छ, खार्पुङलगायत खोलामा पुल अत्यावश्यक छ । उक्त ठाउँमा पुल बन्दा सिमकोटसम्म नियमित गाडी गुड्ने छन् । हिल्साबाट सिमकोटसम्म गाडी कुद्न सक्ने अवस्था छ । सिमकोटमा जग्गा मुआब्जाका कारण ६०० मिटर ट्र्याक खुलेको छैन,’ उनले भने । छारे भीरलगायत अप्ठ्यारा पहाड नेपाली सेनाले नै काटेर ट्र्याक खोलेको थियो । चीनतर्फबाट हिल्सा नाकासम्म कालोपत्रे सडक भइसकेको छ ।
विकास बैंकको खुद नाफा १ अर्ब ६० करोड, ८ वटा घाटामा
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा विकास बैंकहरूले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कार्तिक महिनासम्म विकास बैंकहरुले यस्तो नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंककाअनुसार यो अवधिमा ८ वटा विकास बैंकले घाटा व्योहोरदा ११ वटाले नाफा आर्जन गरेका छन् । धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अगाडी रहेको छ । मुक्तिनाथले कार्तिक महिनासम्म ४२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गरिमा विकास बैंकले ३६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, साइन रेशुङगा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख, लुम्बिनी विकास बैंकले २९ करोड ३७ लाख र कामना सेवा विसका बैंकले २४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यता, सबैभन्दा धेरै घाटा व्योहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेलले २१ करोड ७६ लाख रुपैयाँ खुद घाटा व्योहोरेको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकले ८ करोड २२ ५४ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ५ करोड ८३ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ५८ लाख, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ८९ लाख रुपैयाँ खुद घाटा व्योहोरेका छन् । कुन विकास बैंकको खुद नाफा घाटा कति ?
जलवायु परिवर्तनको महिलाले स्वास्थ्यमा संकट, महिनावारी अनियमित र बाँझोपनको समस्या
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किँदा समस्या पुनः दोहोरिन थाल्यो । ‘यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ’, उनले बताइन् । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाइन् । उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ । खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजननसम्बन्धी समस्या लिएर आउने गरेका छन् । कतिपय महिलाहरू आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केहीले मात्र जाँच गराउन आइपुग्छन् । महिनावारीको अवधि लम्बिने, असामान्य रगत स्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताइन् । ‘पहिले मेरो महिनावारी नियमित थियो तर अहिले महिनावारी अनियमित भइसकेको छ । यो परिवर्तन जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ’ सगरमाथा क्षेत्रकै अर्का एक शेर्पा थरकी महिलाले परिचय नखुलाउने शर्तमा भनिन् । ‘विगतमा यस्तो हुँदैन थियो तर पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ । मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजननमा समस्या भइरहेको बताएका छन् । उनीहरूको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या यहाँका लागि सामान्य जस्तै भइसकेको छ । पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी छ ।’ हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन् । लबुचेका सङ्गम राई भन्छन्, ‘पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ । यो हिमपात पुस–माघमा हुनुपर्ने हो । अब समय त धेरै फेरियो ।’ हिमालमा यस्ता परिवर्तनका असरहरू देखिने क्रम बढ्दो छ । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ । सगरमाथा क्षेत्रको खुम्बु हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन् । आरोहीहरूद्वारा छोडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ । पर्यटन व्यवसायी साङ्गे शेर्पा भन्छन्, ‘आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदैछ । यो राम्रो संकेत होइन ।’ यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पुर्याएको अभियान्ता प्रजिता कार्कीले बताइन् । ‘महिलाहरू घरदेखि बाहिर समेत बढी केन्द्रित हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको सिकार बढी मात्रामा महिलाहरू भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन’, कार्कीले भनिन् । प्रजनन स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बु क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ । गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने संकेत देखिएको छ । स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुनसक्छ । यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ । जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जीव तिवारीको तर्क छ । ‘यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो तर यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ । यो सामान्य विषय भने होइन । यसलाई सामान्य सम्झँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठूलो प्रजनन समस्या नदेखिएला भन्न सकिन्न’, उनले भने । स्थानीय उत्पादन र खेतीमा गिरावट खुम्बु क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ । खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । ‘पहिले कति धेरै उवा र फापर हुन्थ्यो । अहिले बाली लगाउने बारी पनि बाँझो छोडिएको छ’ उनले भनिन् । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरू अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउँछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरूको पोषणमा असर पर्न सक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरू उब्जाउ हुने जग्गाहरू बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताइन् । हिमनदीहरू खस्कँदै, हिमालहरू काला पत्थरमा परिणत हुँदै सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् । पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका छन् । उनी भन्छन्, ‘पहिला आधार शिविरका हिमनदी चहकिला र सफा देखिन्थे, तर अहिले त आधार शिविर नै खाल्डो जस्तो देखिन्छ । हिउँ कम हुँदै गएर कालापत्थर देखिन थालेको छ ।’ पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ । स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ । सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो । बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । ‘पहिले पुस–माघमा हिउँ पर्दथ्यो, अहिले चैत–वैशाखमा हिउँ पर्न थालेको छ । यसले पर्यावरणीय सन्तुलन खलबलिएको छ’, गोरक्सेपका व्यवसायीहिरा कुलुङले भने । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उनको भनाइ छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएको देखाएको छ । सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैर जैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन् । सधैँ चाँदी झैँ टलक्क टल्कने हिमालहरू काला पहाडमा परिणत हुँदैछ जसका कारण पनि जलवायु परिवर्तनको असरको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने नाम्चेका लामाकाजी शेर्पाले बताए । उनले भने, ‘सगरमाथा नै अब कालो पहाड जस्तो देखिन थालेको छ, नाम्चेबाट देखिने हिमालहरू हेर्दा विरक्त लाग्ने भइरहेको छ । यी सबै समस्या जलवायु परिवर्तनको असरले नै देखिरहेको अभ्यास हुन्छ ।’ जलवायु परिवर्तनको कारण र समाधान जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योगहरू र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । युनेस्कोको प्रतिवेदनअनुसार तापक्रमको वृद्धिले विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदामा गम्भीर जोखिम थपिएको छ । यदि तापक्रम वृद्धिको नयाँ गति रोकिएन भने दुई डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ, जसले सगरमाथा क्षेत्रका हिमालहरू संरक्षणमा ठुलै मूल्य चुकाउनुपर्ने थापाको भनाइ छ । हिमालहरू पग्लिएर गइरहेका छन् । सामूहिक कदमको आवश्यकता सगरमाथा क्षेत्रको पर्यावरणीय र सामाजिक समस्याको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न शक्ति राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । ‘यदि विश्वव्यापी तापक्रम वृद्धिमा रोक लागेन भने सगरमाथाका हिमनदीहरू केही दशकमै समाप्त हुनेछन्,’ डा थापाले चेतावनी दिए । जलवायु परिवर्तनले महिलाहरूको स्वास्थ्य र जनजीवनमा परेको असरले यो क्षेत्रका चुनौतीहरूको व्यापक अध्ययन र समाधानको खाँचो देखाएको छ । हिमाली क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप अनुसन्धान, स्वास्थ्य सेवा विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस कदम चाल्नु अपरिहार्य छ । रासस
टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक
नेपालगन्ज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बहादुर चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापा सहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका एजीएम सेल्स, सीभीबीयू कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस६ उत्कृष्ट यातायात समाधान भएको बताए । उनले भने, ‘यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ । सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं ।’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका कमर्सियल भेइकल्स बिजनेस युनिट (सीभीबीयू) का प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक बीएस६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम र सुरक्षा फिचरले यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ ।’ उनले यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको बताए । टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस२ संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बीएस३, बीएस४ हुँदै अब बीएस६ संस्करणसम्म आइपुगेको हो । सो गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको सिप्रदीको दावी छ । हालसम्म ४ हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक बीएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास कम्पनीले राखेको बताएको छ । टाटा म्याजिक बीएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन रहेको छ, जसले ३० एचपी पावर र ५५ एनएम टर्क जेनेरेट गर्छ । फाइभ स्पिड गियरबक्स रहेको सो गाडीमा १३ इन्चको टायर रहेको छ । डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्विच, एबीएस र सबै पांग्रामा एन्टी–रोलबार लगायतका विशेषता रहेका छन् । चालक र यात्रुहरूको सहजताका लागि सो गाडी विशेष रुपमा डिजाइन गरिएको छ ।
नाफा वृद्धिमा आक्रामक बने एनआईसी एसिया, सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंक, यी ८ बैंकको उत्कृष्ट ‘कमब्याक’
काठमाडौं । नाफा वृद्धिमा तीन वाणिज्य बैंक आक्रामक देखिएका छन् । व्यवसाय विस्तार तथा ऋण असुलीमा बढी प्राथमिकता दिँदा तीन बैंकले राम्रो नाफा वृद्धि गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासको पहिलो महिनामा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र सिटिजन्स बैंकबीच नाफा वृद्धिमा प्रतिस्पर्धा देखिएको हो । असोजको तुलनामा कात्तिक राष्ट्रिय वाणिज्य बैंकले २६५ प्रतिशतले नाफा वृद्धि गरेको छ भने एनआईसीले २५१ प्रतिशत र सिटिजन्स बैंकले १२१ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत असोजसम्म १५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले कात्तिकसम्म ५५ करोड २० लाख रुपैयाँको खुद नाफा गरेको छ । यस्तै, असोजमा ११ करोड रुपैयाँ खुद नाफा गरेको एनआईसी एशियाले कात्तिकसम्म नाफा आक्रामक रुपमा बढाएर ३८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । असोजसम्म १९ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको सिटिजन्स बैंकले कात्तिकसम्म भने ४३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकको तथ्यांकबाट देखाउँछ । लक्ष्मी बैंक, सिद्धार्थ, सानिमा र कुमारी, बैंकले पनि सन्तोषजनक रुपमा नाफा वृद्धि गरेका छन् । असोजको तुलनामा कात्तिकसम्म लक्ष्मीले ९९.३९ प्रतिशत, सिद्धार्थले ७४.७८ प्रतिशत, सानिमाले ६३ प्रतिशत र कुमारीले ४७.५१ प्रतिशतको नाफा वृद्धि गरेको देखिएको छ । ग्लोबल आईएमई, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तुलनामा कमजोर देखिएका आधा दर्जन बैंकले कात्तिकमा उत्कृष्ट कम ब्याक गरेको देखिन्छ । माछापुच्छ्रे, एभरेष्ट र एनएमबि बैंकले पनि राम्रो नाफा वृद्धि गरेका छन् । कात्तिकसम्म २० वटा वाणिज्य बैंकले करिब २२ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । असोजको तुलनामा बैंकहरुको खुद नाफा ३७ प्रतिशतले बढेको हो । असोजसम्म वाणिज्य बैंकहरुले कुल १६ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए । कात्तिकसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले कात्तिकसम्म २ अर्ब ६९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ भने ग्लोबल आईएमईले २ अर्ब ११ करोड ४० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । एक महिनाको अवधिमा नबिल बैंकको ३० प्रतिशत, ग्लोबल आईएमईको ३९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको २४ प्रतिशत र प्राइम कमर्सियल बैंकको नाफा २६ प्रतिशतले बढेको छ । यस्तै, कात्तिकसम्म कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ, एभरेष्टले १ अर्ब ५० करोड ९० लाख, एनएमबिले १ अर्ब ४८ करोड ३० लाख, प्रभुले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड ७० लाख, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड ९० लाख र नेपाल एसबिआईले १ अर्ब ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अवधिसम्म नेपाल बैंकले ९३ करोड ८० लाख, हिमालयन बैंकले ९१ करोड ८० लाख, माछापुच्छ्रेले ६८ करोड ९० लाख, सिद्धार्थ बैंकले ६६ करोड ७० लाख, सानिमाले ६५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
४ महिनामा फाइनान्स कम्पनीको खुद नाफा साढे २१ करोड, ६ वटा घाटामा
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिनामा फाइनान्स कम्पनीहरूले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ११ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ६ कम्पनी भने घाटा व्योहोरेका छन् । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले १५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा मन्जुश्री फाइनान्सले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, आईसीएफसी फाइनान्सले ८ करोड ४६ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ९ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख र मल्टीपर्पज फाइनान्सले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । घाटा व्योहोर्ने कम्पनीको अग्र स्थानमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेको छ । गुहेश्वरीले कार्तिकमा १४ करोड ५७ लाख घाटा व्योहोरेको छ । यसैगरी, रिलायन्स फाइनान्सलाई १० करोड ५६ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई ८ करोड १७ लाख, पोखरा फाइनान्सलाई समान ६ करोड ४३ लाख, समृद्धि फाइनान्सलाई २ करोड ६४ लाख र वेस्ट फाइनान्सलाई २ करोड ३३ लाख रुपैयाँ घाटा लागेको छ । कुन कम्पनीलाई खुद नाफा/घाटा कति ?
पर्सामा रवि लामिछानेको बयान सुरु
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो । सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर सामान्य बढी रहेको बताइएको छ । आज मंगलबार बिहानबाट भने लामिछानेको बयान सुरु गरिएको हो ।