विकासन्युज

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, नेपाली रुपैयाँ थप कमजोर बन्यो

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि गत मंसिर २० गते १३५.८९ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ थप कमजोर बनेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.९७ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६२ रुपैयाँ र बिक्रीदर ९६.०४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.०४ रुपैयाँ र बिक्रीदर १०१.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०२ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८८ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३७ रुपैयाँ र बिक्रीदर १२.४३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.५१ रुपैयाँ र बिक्रीदर ४४२.४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.०३ रुपैयाँ र बिक्रीदर ३६०.६२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.८७ रुपैयाँ र बिक्रीदर ३५३.४३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

गरिमा क्यापिटलले पुस ७ गतेदेखि गरिमा समृद्धि योजना बिक्री खुला गर्ने

काठमाडौं । गरिमा क्यापिटलले पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना पुस ७ गतेदेखि बिक्री खुला गर्ने भएको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ बिक्री गर्ने, पुँजी ३७ करोड पुग्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि थप सार्वजनिक सेयय (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १९ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लाखौं खर्चेर हेलिकप्टरमार्फत सिकार, पहिलो याममा १० नाउर र ५ झारल

काठमाडौं । यस वर्षको पहिलो सिकार याममा १० नाउर र ५ झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र ८ झारलको सिकार गर्न ४ कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिए । यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज-मङ्सिर) पहिलो याम र (फागुन-वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न बिदेशीले रुचि नदेखाएको बताए । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उनको भनाइ छ । उनका अनुसार पहिलो सिकार याममा ग्लोबल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौंं र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो । सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम १८ लाख रुपैयाँसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब २० लाख रुपैयाँदेखि ३० लाख रुपैयाँ खर्च गर्ने गर्दछन् । विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

आज मार्गशीर्ष शुक्ल एकादशी: गीता जयन्ती मनाइँदै

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । ५ हजार १३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिएका हुन् । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जनाकारी दिए । ‘त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रुपमा गीता सुनाइएको हो,’ उनले भने । चार वेदका एक हजार एक सय ३१ शाखामध्ये हाल १२ वटा मात्र अस्तित्वमा रही अरु लोप भए जस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताए । ‘ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका एक सय एक शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखा मात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन सुरु गरिएको हो,’ उनले भने । प्रतिष्ठानले ११ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाइँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ । विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाले पनि गीता जयन्तीकै अवसरमा आज राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठ लगायत कार्यक्रम समेत गरिने भएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

मङ्सिर अन्तिम मङ्गलबार थानीमाइमा ३८ फूलको डोली, ५ हजार भक्तजन

काठमाडौं । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार आज ३८ फूलको डोली भित्रिएको छ । तनहुँ, काठमाडौं, पोखरा, लमजुङ, नवलपुरबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले त्यसक्रममा ५ हजार २८ भक्तजनले मन्दिरमा पूजाआजा गरेको जानकारी दिए । त्यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या २०७ रहेको थियो । मङ्सिरको पहिलो मङ्गलबार ४३ र तेस्रो मङ्गलबार २६ फूलको डोली भित्रिएको थियो । दोस्रो मङ्गलबार भने एकादशी परेका कारण फूलको डोली भित्रिएको थिएन । प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाइको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाइ मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख रुपैयाँ र मन्दिरको भेटीबाट सङ्कलित ६ लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो । विसं १८२५ बाट यस मन्दिरमा पूजा अर्चना सुरु भएको स्थानीय बताउँछन् ।

उपत्यकामा निरन्तर चिसो बढ्दै, तापक्रम ४ डिग्रीमा भर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो ५ डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए ।  आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हट्यो, अब दुई वर्ष मात्रै कार्यकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को विधान संशोधन भएको छ । मंगलबार बसेको विशेष साधारणसभाले विधान संशोधन गर्दै अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अब वरिष्ठ उपाध्यक्षका लागि पनि चुनाव हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने स्वतः अध्यक्ष बन्न पाउनेछन् । उनीपछि भन प्रत्यक्ष चुनाव हुनेछ । तर, निर्वाचित भएर आएको कार्यसमितिले नै वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । अध्यक्षको कार्यकाल पनि २ वर्षको लागि हुने व्यवस्था गरेको छ । संशोधित विधानअनुसार महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । पशुपति मुर्राका अध्यक्ष रहेको बेला अर्थात् २०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरेको थियो । त्यही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन् । त्यसपछिका अध्यक्ष शेखर गोल्छा र हालका चन्द्रप्रसाद ढकाल पनि वरिष्ठ उपाध्यक्ष बनेर स्वतः अध्यक्ष बनेका हुन् । महासंघको चुनाव खर्चिलो भएको भन्दै आलोचना भएपछि त्यतिखेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । तर, अहिले सो व्यवस्था हटेको हो । यी हुने संशोधित ५ व्यवस्था  १. कार्यकाल २ वर्षको हुनेछ । वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षेकार्यकाल लागूहुनेछ । २. महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ तर कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुनेछ । ३. वरिष्ठ उपाध्याक्ष अन्जन श्रेष्ठ अध्यक्ष भएपछि वाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ । ४. एकजना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्ष चयन कार्यकारिणी  समितिले गर्नेछ । ५. जिल्ला/नगर तर्फ २ जना उपाध्यक्ष रहनेछ । ६. विधान मन्त्रिपरिषदवाट स्विकृती भएलगतै लागू हुनेछ ।