लिबर्टी माइक्रो लाइफले माग्यो धेरै संख्यामा कर्मचारी
काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले गुलरीया, बर्दीया, गोर्खा, महेन्द्रनगर, कन्चनपुर, लम्की, कैलाली, बिरेन्द्रनगर र शुर्खेतका लागि कर्मचारी माग गरेको हो । इच्छुकले पौष २ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अनलाइनबाट ने आवेदन दिने सकिने छ ।
नेपाल र भारतबीच असमान भन्सार मूल्यांकन प्रणालीले चोरी–तस्करी बढ्दो
पर्सा । नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढिरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने व्यवसायी तथा आर्थिक क्षेत्रका जानकारहरूले सुझाव दिएका छन् । वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमानाकाबाट हुने तस्करी नियन्त्रण गर्न भारतले लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीबीच तालमेल हुनुपर्ने माग गरेका छन् । भारत सरकारले कार्यान्वयन गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीमा एकरूपता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेकाले उनीहरूले त्यस्तो माग गरेका हुन् । पर्सास्थित सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको प्रथम चार महिनामा भन्सार छलेर भित्र्याइएका रु १५ करोड १८ लाखका सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बरामद गरेका सामग्रीमा लत्ताकपडा, विद्युतीय सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किराना सामान अधिक छन् । सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्यका बिलबिजक नभएका सामान पनि बरामद भएका थिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सीमावर्ती सहरमा भारतले लागू गरेको जिएसटी र नेपालको भन्सार महसुलबीच एकरुपता नहुँदा अवैध निकासी र पैठारीका नियन्त्रणमा हुन नसकेको बताए । ‘हाल हाम्रो देशमा निकासी र पैठारीमा अवैध अर्थतन्त्रले प्रश्रय पाइरहेको छ । अत्यधिक भन्सार महसुल लाग्ने वस्तुको भारतीय र नेपाली बजार मूल्यमा धेरैको फरक हुनुले पनि अवैध रूपमा निकासी र पैठारी हुने गरेको हो’, उनले भने, ‘अत्यधिक भन्सार महसुल र दैनिक उपभोग्य एक सय वस्तुको पहिचान गरी भारतीय मूल्य जिएसटीसहित तथा नेपाली मूल्यमा एकरूपता दिएमा निकासी पैठारी घटाउन सकिन्थ्यो । यसले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न मद्दत पुग्थ्यो ।’ देशको भन्सार मूल्याङ्कन प्रणालीले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेको बिलबिजकलाई समेत मान्यता नदिँदा व्यवसायी मर्कामा परेका छन् । सङ्घका वरिष्ठ उपाध्यक्ष गौतमले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेका बिलबिजकलाई पनि मान्यता दिन ढिलाइ गर्न नहुने बताए । ‘आयातित वस्तुको भन्सार मूल्याङ्कनका क्रममा प्रतिष्ठित कम्पनीको बिलबिजकमा ‘अङ्कित मूल्य’ भारत सरकारको आधिकारिक बिलका साथै भारतीय भन्सारले जारी गरेको ‘बिल अफ एक्पोर्ट’लाई आधार बनाएर भन्सार मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ, त्यसो गर्न सकिएमा अवैध रुपमा हुँदै आएको निकारी –पैठारीलाई धेरै हदसम्म घटाउन सकिन्थ्यो’, उनले भने । वरिष्ठ उपाध्यक्ष गौतमले हाल भन्सार विभागले कार्यान्वयनमा ल्याएको भन्सार मूल्याङ्कनको सन्दर्भ मूल्य पुस्तिकालाई पनि व्यवस्थित गर्न जरुरी भइसकेको बताए । ‘भन्सार मूल्याङ्कनको प्रमुख आधार भन्सार सन्दर्भ मूल्य पुस्तिका नै रहेको पाइन्छ । आयातकर्ताले सन्दर्भ मूल्यपुस्तिकाभन्दा कम मूल्यको बिलबिजक पेस गरेमा भन्सारले जरिवाना लिने गरेको छ’, उनले भने, ‘आव २०८०/८१ को बजेटमा अन्तःशुल्कमा पनि जरिवानम लिने प्रावधान रहेकाले पनि त्यसबाट जोगिन आयातकर्ताले सन्दर्भ पुस्तिकाभन्दा बढी मूल्य बिलबिजक पेस गर्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ ।’ पर्सा प्रहरीले आव २०८०/८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएको सामान बरामद गरेको थियो । सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको थियो । गत आवमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट मात्र रु ८७ करोड ७४ लाख मूल्य पर्ने अवैध वस्तु तथा सामान बरामद गरेको थियो । अनौपचारिक ढङ्गबाट आएका सामानको भने कुनै विवरण नै छैन । सीमा क्षेत्रमा चोरी तस्करीका गतिविधि बढेसँगै वीरगञ्जका दुई ठूला भन्सार कार्यालयको राजस्व सङ्कलन पनि अपेक्षाकृतसुधार हुनसकेको छैन । वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार (६४ दशमलव एक प्रतिशत) मात्र राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । भन्सार विभागले गत आवमा सुक्खा बन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले वार्षिक लक्ष्यको रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार (७१ दशमलव ७५ प्रतिशत) राजस्व सङ्कलन गरेको छ । सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्सार मूल्याङ्कन पुस्तिका खारेज नभएकाले पनि अनौपचारिक अर्थतन्त्रले प्रश्रय लिँदै आइरहेको दाबी गरे । ‘जुन खालको भन्सार मूल्याङ्कन प्रणाली लागू गरिएको छ । यसले औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्रलाई बल मिलेको छ । यसलाई सुधार्न जरुरी छ ।’ प्रमुख भन्सार प्रशासक दीपक लामिछाने केही दिनअघि आयोजित राजस्व चुहावट नियन्त्रणसम्बन्धी कार्यक्रममा आयातकर्ताले पनि अन्तरराष्ट्रिय प्रावधान अनुसार हार्मोनाइज्ड सिस्टम ‘एचएस कोड’ को पालना गर्दै मालसामान आयात नगर्दा केही प्राविधिक समस्या आएको बताउँछन् । ‘मुलुकको राजस्वको मुख्य आधार नै आयातमुखी छ । आयात घट्दा राजस्व सङ्कलन पनि घटेको छ’, उनले भने, ‘हामी उद्योगी–व्यवसायीका सहजकर्ता हौं, उहाँहरूका सामानलाई सहज ढङ्गले आयात–निर्यात गराउनेतर्फ हाम्रो ध्यान सधै केन्द्रित छ ।’ रासस
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।
कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपीआई (युनियनपे इन्टरनेसनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउन कुमारी बैंकले देशभर आफ्ना सबै एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध गराउन लागेको हो । यो सुविधाबाट अब युपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने र यसले व्यापारीहरुलाई पनि लाभ हुने बैंकले विश्वास लिएको छ । बैंकले आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
रास्वपाका सभापति लामिछानेको बयान सकियो
वीरगञ्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानकारी दिए ।
तोलामा २ हजारले बढ्यो सुन
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा बुधबार प्रतितोला सुनमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मंगललबार एकतोला सुन एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा कैलाश खड्का निर्वाचित
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल चयन भएका छन् । महाधिवेशनको उद्घाटन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका थिए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए । नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए । महासंघमा आबद्ध सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको भन्दै उनले समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको उनले बताए । कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट नभएको भन्दै उनले व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी नराख्ने उनले बताए । अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कहीँ कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे । महाधिवेशनले महासंघको प्रगति र आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रूपमा पारित गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन हो ।
एचआईडीसीएलको लाभांश घोषणा
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको मंसिर २६ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापुँजीको कुल ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।