विकासन्युज

बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज मंसिर २६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । उक्त मुनाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।

१० प्रतिशत लाभांश वितरण गर्ने कालिका लघुवित्तको घोषणा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी ३७ करोड २३ लाख २१ हजार ७३९.५१ रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको प्रस्तावबमोजिम ९.५ प्रतिशतले हुन आउने ३ करोड ५३ लाख ७० हजार ५६५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनर्थ ०.५ प्रतिशतले हुन आउने १८ लाख ६१ हजार ६०८.७० रुपैयाँबराबरको नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, होटल तथा रेष्टुरेन्ट लगायतका संस्था तथा कम्पनीहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायसाथ ती संस्था तथा कम्पनीसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस विकास बैंकका ग्राहक तथा कर्मचारीका लागि लाभदायि बन्ने अपेक्षा गरिएको छ । नयाँ सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बताइएको छ । महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीले छुट पाउने विभिन्न कम्पनी तथा संस्थाहरु यसप्रकार रहेका छन् : १ काठमाडौंको कमलादीमा रहेको स्काईवाक टावर (वन्डर्स नेपालप्रा.लि.) टावर प्रवेशमा १५ प्रतिशत छुट २ काठमाडौंको विशालनगरस्थित चेरिस गु्पको खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट ३ ललितपुरको सानेपास्थित अमैचामा कपडा खरिद गर्दा १० प्रतिशत छुट ४ ललितपुरको भैंसेपाटीस्थित मलाला युनिसेक्स सैलुनमा ब्युटिसियन सेवामा १० प्रतिशत छुट यस्तो सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउन मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ पनि सञ्चालनमा ल्याएको छ ।

सेयर बेचेर प्रभु बैंकबाट बाहिरिने रणनीतिमा भट्टचन परिवार, ठूलो परिमाणको सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकका ठूला सेयरधनीले बैंकमा रहेको स्वामित्व घटाउने रणनीति बनाएका छन् । प्रभु बैंकका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टचन परिवारले बैंकमा रहेको सेयर बिक्री गरेर विस्तारै बैंकबाट बाहिरिने रणनीति बनाएको देखिन्छ । गत वर्ष पनि पनि केही सेयर बिक्री गरेको भट्टचन परिवारले यस पटक पनि ठूलो परिमाणको सेयर बिक्रीमा राखेको छ । बैंकका ठूला सेयरधनीले नै सेयर बिक्रीका लागि राखेका छन् । प्रभु ग्रुपको समेत लगानी रहेको बैंकमा भट्टचनका परिवारको समेत ठूलो लगानी छ ।बैंकका ठूूला सेयरधनी राजेन्द्र भट्टचन, शिक्षा भट्टचन, सची भट्टचन र अम्बिका शर्मा लामिछानेले बैंकको सेयर बिक्री गरेर बाहिरिने तयारी थालेका हुन् । बैंकका अनुसार राजेन्द्र भट्टचनले १२ लाख ६९ हजार १ कित्ता, शिक्षा भट्टचनले ७ लाख ३३ हजार ७०६ कित्ता, सची भट्टचनले ६ लाख ७२ हजार ४२१ कित्ता सेयर बिक्रीमा राखेका छन् । शिक्षा भट्टचन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुन् । यस्तै, अम्बिका शर्मा लामिछानेले ५ लाख कित्ता सेयर बिक्रीमा राखेकी छन् । उनी बैंकको छैठौं ठूलो सेयरधनी समेत हुन् । बैंकका अनुसार उनको ०.६० प्रतिशत अर्थात् १४ लाख ९ हजार ५३४ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुनिल मान शेरचनले १९ हजार ९९२ कित्ता, शकुन्तला श्रेष्ठ प्रधानले २१ हजार ८३४ कित्ता, सरस्वती सुब्बा देवानले ३९ हजार ९५८ कित्ता र केशब तुलाधरले ३३ हजार ४०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, राजेश श्रेष्ठले ४३ हजार २३५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीले १६ हजार ७०६ कित्ता, तारा प्रसाद पोख्रेलले १९ हजार ७०२ कित्ता, सनिदेव सप्लायर्स प्रालिले ३९ हजार ४१५ कित्ता र राजेन्द्र मान सिंह बस्नेतले १६ हजार २४३ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने छन् । बैंकको सञ्चालक समितिमा नरहेको व्यक्तिले सेयर बिक्री गर्न पाउने व्यवस्था छ । सञ्चालक समितिबाट बाहिरिएको एक वर्षमै सेयर बिक्री गर्न पाउने व्यवस्था छ ।

चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरिहने क्रममा सोही अभियानअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ । बैंकले सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरेको हो । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटीयू) सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन् । नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमसँग सम्बन्धित तालिम प्रदान गरिसकेको छ । चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको बताए । उनले नबिल बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको प्रतिक्रिया दिए । अध्यक्ष पौडेलले नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको बताए । नबिल बैंकले कीर्तिपुरमा उद्यमशीलता विकासका लागि ’हव’ स्थापना गर्न खोजिरहेको जानकारी दिँदै उनले विश्वविद्यालयसँग समन्वयका लागि अनुरोध गरे । नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराए । यस फेलोसिपमा सहभागीहरूलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने उनले बताए । नबिल बैंकका सञ्चालक चौधरीले फेलोसिप कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्न थालेको भन्दै आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए । ‘नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रममा समाजमा निकै सकारात्मक प्रभाव पारेको हामीले महसुस गरेका छौँ, तपाईंहरूसँग अहिले राम्रो पूर्वाधार नहुन सक्छ । तर, यसका लागि उचित सल्लाह र परामर्शको खोजीमा हुनुहुन्छ भने यो प्लेटफर्म एकदमै उपयोगी हुनेछ,’ चौधरीले भने । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको बताए । उनले ‘हामीले के गर्‍यौँ ?’ भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको प्रतिक्रिया दिए । फेलोसिप कार्यक्रममा सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन–बेस्ड आवासीय तालिम लिने, एक वर्षसम्मको परामर्श सेवासमेत उपलब्ध गराइने जानकारी दिइएको छ । तीन महिनाको नबिल एसएसई सर्टिफिकेट कोर्सले सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै आएको ज्ञवालीले बताए । उनका अनुसार, तालिम अवधिभर सहभागीहरूले आफ्नो उत्पादनको ब्रान्डिङ, मार्केटिङ र बैंकिङका विधिहरू सिक्नेछन् । उनले भने, ‘हामी व्यवसायका क्रममा आवश्यक सम्पूर्ण समाधान उपलब्ध गराउँछौँ ।’ त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटीयू) का निर्देशक डा. गोविन्द तामाङले नबिल बैंकको यस्तो कदमले विश्वविद्यालय र कर्पोरेट क्षेत्रले कसरी समन्वय गरेर काम गर्न सक्छन् भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । यस्तो सहकार्यले विश्वविद्यालयलाई नयाँ पाठ्यक्रम निर्माण गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ । फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन् । सहभागीहरू काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन् । सहभागीहरूले पर्यावरणमैत्री व्यवसायजस्तै केराको फाइबरबाट कपडा निर्माण, प्राकृतिक जडीबुटीबाट सौन्दर्य सामग्री उत्पादन र विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गरिरहेका छन् । इन्जिनियरिङ र आयुर्वेद अध्ययन गरेर व्यवसाय सुरु गरेका उद्यमीहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ ।  कृषि उत्पादन, गहनाको निर्माण, डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम र इ–लर्निङ प्लेटफर्मको विकासमा सहभागीहरूको लक्ष्य रहेको बैंकले जनाएको छ । बैंकले सहभागी छनोटका लागि लामो प्रक्रिया अपनाएको थियो । साउनमा खुलेको सयौँ आवेदकहरूमध्ये सम्भावना र काम गर्ने अठोट भएका व्यक्तिहरूलाई मात्र छनोट गरिएको हो । चौथो कोहर्टका सहभागीहरूले कार्यक्रममा आफ्ना उत्पादन प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना उत्पादनलाई दिगो बनाउने र विस्तार गर्ने तरिकाबारे विज्ञहरूसँग सल्लाह लिनका लागि कार्यक्रममा सहभागिता जनाएको प्रतिक्रिया दिए । नबिल एसएसई कार्यक्रम मार्फत हालसम्म ५६ जना सामाजिक उद्यमीलाई प्रशिक्षित गरिएको छ । तीमध्ये ४५ वटा उद्यम स्थापना भइसकेको नबिलले जनाएको छ । त्यस्तै, १ हजार २०० भन्दा धेरैलाई रोजगारी उपलब्ध गराइसकेको छ ।

२१ वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै, ५ करोड विनियोजन

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन । आर्थिक वर्ष २०८/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनले बताए । यो सडकका निम्ति पाँच करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए ।

राष्ट्र बैंकको बैंकिङ्ग र मुद्रा व्यवस्थापन विभाग थापाथली सर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको छ । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको हो । उक्त विभाग थापाथलीस्थित राष्ट्र बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएका पुस १ गतेदेखि उक्त विभागहरूबाट प्रदान हुने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।