बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्कियो : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्किएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अग्रवालले विदेशी मुद्राको सञ्चितिमा चाप पर्दा लिएको नीतिहरुले गर्दा पछिल्लो समय अर्थतन्त्रलाई थप समस्यामा पारेको बताएका हुन् । उनले पछिल्लो समय ऋणको माग नभएको नीजि क्षेत्रले ऋण निलएको भन्ने विषयमा सरकारको स्थिर नीति मुख्य कारण रहेको बताए । उनले युवा पलायन देशको सबैभन्दा ठूलो समस्या रहेकाले त्यसको लागि सूचना प्रविधि क्षेत्रको विकास गरेर युवाहरुलाई रोक्नको लागि आवश्यक पहल गर्न सरकारसँग अग्रह गरे । उनले सरकारले नीतिगत स्थिरता र विदेशी लगानी ल्याएर सूचना प्रविधिको विकास गर्नुपर्ने बताए । उनले भने, ‘उद्योगहरू ३०/४० प्रतिशतमा चलिरहेका छन्, कर्जा प्रवाह भएन भनिएको छ, दिर्घकालिन जोखिम देखेर व्यावसायीले कर्जा नलिएका हुन् भन्नेबारे खासै चासो दिइएको छैन् ।’’
निर्माण व्यवसायीहरूको भुक्तानी गर्न सरकारले ध्यान दिएन् : अध्यक्ष सिहं
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष सिहंले अर्थमन्त्रीले निर्माण व्यवसायीहरुले भुक्तानीको लागि कुनै समस्या नहुने बताएपनि सरकारले यस क्षेत्रलाई समस्यामा पार्न खोजेको बताएका हुन् । उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तिरक अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको बताए । उनले भने, ‘हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयलदेखि अन्य सरकारी निकायहरुमा भेटघाट गर्दा समस्याहरुको समाधान गर्ने आश्वसन दिएपनि हाम्रो भुक्तानी भएको छैन् यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।’ अध्यक्ष सिहंले सञ्चारकर्मीहरुलाई प्रेरित गर्न आवश्यक रहेकाले महासंघले समेत विभिन्न समयमा संञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको बताए । उनले राष्ट्र बैंकको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको दाबी गरे । उनले निर्माण व्यवसायीहरुले समयमा नै कर्जाहरु तिर्न नसक्दा प्रायाप्त मात्रामा काम गर्नको लागि अहसज भएको बताए । उनले सरकारको नीतिहरुका कारण मंसिरपछि ९० प्रतिशत व्यवसायीहरु पलायन हुनुपर्ने बाध्यता आएको बताउदै तत्काल भुक्तानी गर्न माग गरे ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि स्थिर नीति आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अग्रवालले अहिले नीजि क्षेत्रको लागि स्थिर नीति र सरकारको आवश्यक रहेकाले सो विषयमा ध्यान दिन आवश्यक रहेको बताएका हुन् । उनले निजि क्षेत्र मध्य कुनै एउटा क्षेत्रमा मात्र समस्या परे त्यसको असर अन्य क्षेत्रहरुमा समेत पर्ने बताए । उनले अर्थतन्त्रमा संकूचन आउँदा नीजि क्षेत्रको मनबोल खस्किनेदेखि यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले यो अवस्थालाई रोक्न सबै निकायले सहयोग गर्न पनि अपिल गरे । नेपालले दक्षिण एसियामा भारतपछि उच्च रेटिङ पाएको खुसीको कुरा भएपनि नीतिगत , प्रशासनिक सुधारमा काम गरेनौ भने रेटिङको प्रतिफल सोचेजस्तो आउन नसक्ने बताए। यसका लागि सरकारले नीतिगत र प्रशासनिक सुधारका पहल गर्नुपर्ने उनको भनाई छ । गत साउनमा राष्ट्र बैंकले लचिलो नीति लिदाँ पनि अहिले सोचे जसरी अर्थतन्त्रमा सुधार नभएको उनको भनाइ छ । उनले भने, ‘देशको आर्थिक सुधारको लागि सुधार गर्नको लागि सरकारलाई हामीले सहयोग गर्छौ । त्यसको लागि हामी गहन छलफलमा बस्न जरुरी छ ।’
आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल बढेन : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन् । उनले केही समय अघि सबैले नेपाल श्रीलंकाजस्तो हुने कुरा भनेपनि आफूले त्यो बेला नेपाल श्रीलंकाजस्तो हुँदैन भनेर दाबी गरेको र अहिले थोरै भएपनि अर्थतन्त्रमा चलायमान भएको बताए । अध्यक्ष ढकालले भने, ‘आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ । वैदेशिक मुद्राको सञ्चिति मात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन ।’ उनले अर्थतन्त्र चलायमान नहुँदा यो समस्याको मूल कारण सबै निकायको हात रहेको र सरकारले लिएका नीतिहरूले यस अवस्थाको निर्माण गरेको जनाए । अध्यक्ष ढकालले भने, ‘हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौं । यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ ।’ उनले उद्योग क्षेत्रहरू धरासायी भई व्यवसायीहरूले समयमा ब्याज तिर्न नसकेको र त्यसको परिणामस्वरूप कालोसूचिमा परेको उल्लेख गरे । अध्यक्ष ढकालले निजी क्षेत्रका कामहरूको महत्त्व र भविष्यका योजनाबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
नेवार समुदायलाई योमरी बनाउन भ्याइनभ्याइ (फोटोफिचर)
काठमाडौं । योमरी पुन्ही वा योमरी पूर्णिमा । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गरिन्छ । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यही दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी,भैलो खेलेझैं बालबालिका, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल संवतअनुसार थिंलाथ्व पुन्ही अर्थात मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन विवाह भइसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि योमरीको चुच्चोअनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वास छ । आजको फोटो फिचरमा योमरीका यि विशेष तस्बिरहरू । तस्बिर : न्युज एजेन्सी नेपाल
विश्व बैंकले नेपाललाई साढे १३ अर्ब बढी ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो । नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो । ‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने छ,’ नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने । पछिल्लो तीन वर्षयता नेपालले वातावरणीय दिगोपना, सहनशीलता र समावेशी विकासका क्षेत्रमा महत्त्वाकांक्षी कार्ययोजना अघि सार्दै आएको छ । बेरोजगारी, महामारी, कमजोर समूहका लागि आर्थिक अवसरको विस्तार र जलवायु तथा अन्य वातावरणीय जोखिम जस्ता परस्पर जोडिएका चुनौतीलाई सम्बोधन गर्न सरकारले बैंकसँग ऋण लिएर खर्च गर्दै आएको जनाइएको छ । वायु गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरणका लागि जलवायु मौसमी सेवा विस्तार, वर्षभर सिंचाइ र सुरक्षित पानी आपूर्ति प्रवर्द्धन गर्दै जल सुरक्षा सुधार, सामुदायिक वन व्यवस्थापन सुदृढीकरण र भूमि सम्बन्धी योजना सुदृढीकरण गर्ने लक्ष्य अन्तर्गत कार्यक्रम सञ्चालनमा छन् ।
८ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन
म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । ‘पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ’, उनले भने, ‘अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले सात वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले विसं २०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २४ करोड चार लाख २९ हजार आठ सय ६९ लागत अनुमान गरिएको भवन विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । भवन निर्माणका लागि पाँच पटकसम्म म्याद थप भएको छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्न बाँकी छ । पन्ध्र श्यया क्षमताको अस्पताल विसं २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो । नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । भवन अभावमा विशेषज्ञ चिकित्सक आउन नमान्ने, म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम अन्यत्र जिल्लामा गएको व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताए । सघन उपचार कक्ष (आईसीयू) र डायलासिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधीले सम्बद्ध आयोजना कार्यालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि अस्पतालको भवन निर्माणले गति लिएको छैन । रासस
नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन
काठमाडौं । नेपाल बैंकको सिराहा जिल्ला स्थित गोलबजार शाखाको भवन उद्घाटन भएको छ । बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार गर्ने गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्त रूपमा गोलबजार शाखाको समुद्घाटन गरे । नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरुप निर्माण भएको यस भवनबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् । हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिँदै आएको छ ।