विकासन्युज

६९ लाख ९९ हजारले करदाताले लिए स्थायी लेखा नम्बर

काठमाडौं । ६९ लाख ९९ हजारले करदाताले स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयलका अनुसार एक वर्षमै ठूलो संख्यामा करदाता थपिएका छन् । २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६२ लाख २६ हजार रहेकोमा २०८२ असारसम्म यस्तो संख्या ६९ लाख ९९ हजार पुगेको छ । २०८२ असारसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ५१ हजार र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २५ हजार पुगेको छ ।  यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरू बढेका छन् ।   आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल १२ खर्ब ८४ अर्ब रुपैयाँ कर राजस्व संकलन गरेको छ । यसमा भन्सारबाट ३ खर्ब ७ अर्ब, मूल्य अभिवृद्धि करबाट ३ खर्ब ८६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ९४ अर्ब र शिक्षा सेवा शुल्कबाट ४ अर्ब रुपैयाँ संकलन भएको छ । गत वर्ष सरकारको कुल राजस्व संकलन १४ खर्ब १० अर्ब रुपैयाँ रहेकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ गैरकर राजस्वबाट आएको थियो । करदाताको संख्या र कर राजस्व दुवैमा देखिएको सकारात्मक वृद्धिले मुलुकको राजस्व प्रणाली बलियो हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।  यद्यपी जेनजी आन्दोलनका कारण पछिल्ला दिनहरूमा राजस्व संकलन सरकारले लक्ष्य अनुसार उठाउन सकिरहेको छैन् । जसकारण सरकारलाई आगामी दिनमा लक्ष्य भेट्न थप कठिन हुने देखिएको छ ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उद्योग, व्यापार र व्यवसाय प्रभावित भएकालाई सरकारले कर छुट र सहुलियत दिने बताइसकेको छ । आन्तरिक राजश्व विभागका अनुसार आन्दोलनका कारण उत्पादन र व्यापारमा परेको असरलाई मध्यनजर गर्दै कर छुट र अन्य सहुलियतको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले स्वीकृत गरेका उत्पादन र सेवामा खर्च घटाउने तथा कर छुट दिने व्यवस्था गरिएको छ ।  यस्तै जेनजी आन्दोलनका कारण असामान्य रूपमा प्रभावित उद्योग, व्यापार र व्यवसायिक प्रतिष्ठानका मौज्दातमा भएको क्षति वा घाटालाई राहतका रूपमा कर छुट दिइनेछ । त्यसका लागि प्रभावित व्यवसायहरूले आफ्नो क्षतिको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराउनुपर्ने छ ।  राजस्व विभागका अनुसार, यस्तो व्यवस्था मार्फत आन्दोलन र अन्य असामान्य परिस्थितिबाट प्रभावित व्यवसायहरूलाई केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।  ‘कुनै व्यक्तिले आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनःनिर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिने, जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानको नोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा सर्जमिन मुचुल्का सहितको मूल्यांकनका आधारमा सम्बन्धित करदाता स्वयंले सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा जानकारी गराई आयकर ऐन, २०५८ बमोजिमको व्यापार मौज्दातको लागत खर्च कट्टी तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करकट्टी सक्ने सुविधा उपलब्ध गराएकोले सो व्यवस्थाको उपयोग गर्न सबै करदाता तथा सरोकारवालालाई यसै सूचना मार्फत जानकारी गराइएको छ’, विभागको हालै जारी गरेको सूचनामा भनिएको छ ।   

नैतिकता दिवसमा एसबिआई बैंकका कर्मचारीले कार्यस्थलमा पारदर्शिता कायम राख्ने प्रतिबद्धता

काठमाडौं । 'विश्व नैतिकता दिवस' को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक कामकाजमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्ड पालना गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । बैंकका सम्पूर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहितालाई प्रवर्द्धन गर्ने प्रतिज्ञा गरेका छन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले काठमाडौंस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए । उक्त कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल र अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएका थिए ।  

देश प्रतिक्रान्तितर्फ अग्रसर भएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ अग्रसर भएको बताएका छन् ।  पार्टीको केन्द्रीय कमिटी बैठक लाई सम्वोधन गर्दै उनले आफ्नो दलले गलत नगरेको र आफ्नो सरकारले गलत नगर्दा पनि सरकार र पार्टी बिरुद्ध आक्रमण भएको बताएका हुन् । अरूले देशको विकास नगरे पनि हुने, अरूले देशभक्तिको कुरा नगरे पनि हुने, किन एमालले मात्रै यी कुरा गनुपर्ने भन्दै एमाले बिरुद्ध आक्रमण भएको दावी ओलीले गरेका हुन् ।  देशको दिगो विकासतर्फ अग्रसर भएको बेलामा सरकार र पार्टीविरुद्ध अनर्गल प्रचार भएको गुनासो ओलीको छ। अर्को वर्षबाट देश विकासशील देशमा स्तरोन्नति हुन थालेको अवस्थामा भएको परिवर्तन प्रतिगमन भएको ओलीको जिकिर गरे ।  उनले यो देशको नायकत्व एमालेले लिएको दावीसमेत गरे । 

नेपाल बैंक र लिफ प्लसबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रालिबीच घरायसी प्रयोगका लागि पर्यावरणमैत्री वस्तु खरिदमा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन तथा बिक्री गर्दै आएको सुपारीको पातबाट निर्मित प्राकृतिक तथा वातावरणमैत्री घरायसी सामान जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका सामग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।  ग्राहकहरूले यी सामग्रीहरू कम्पनीको वेबसाइट वा ह्वाट्सएप नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत अर्डर गर्न सक्नेछन् । खरिद रकमको भुक्तानी नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी गरेमा उक्त छुट लागू हुने बैंकले जनाएको छ । सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लसका प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले असोज २७ गते हस्ताक्षर गरेका हुन् । यो साझेदारीले वातावरणमैत्री उत्पादनको प्रयोग प्रवर्द्धन गर्न तथा डिजिटल भुक्तानी प्रयोगलाई अझ सहज बनाउन सहयोग पुर्‍याउने अपेक्षा बैंकले व्यक्त गरेको छ ।

लिपमोटर बी टेन : एकै चार्जमा काठमाडौं–पोखरा–काठमाडौं पूरा यात्रा सफल

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्दै लिपमोटर बी टेनले हालै सम्पन्न परीक्षणमा काठमाडौं–पोखरा–काठमाडौं करिब ४५० किलोमिटर दूरी एकै चार्जमा सफलतापूर्वक तय गरेको छ। लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ द्वारा स्वतन्त्र रूपमा सञ्चालन गरिएको यस रेञ्ज टेस्टमा टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी पोखरा लेकसाइड पुगेर पुनः काठमाडौं फर्किएको थियो । यो उपलब्धिले बीटेनको उच्च ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालका सडकको अवस्थाहरूमा पनि स्थिर र विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ ।  यस सफल परीक्षणले लामो दूरीको यात्रा सहज, आरामदायी र आत्मविश्वासपूर्ण बनाउन सक्षम स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगको सुरुवात गर्ने लिपमोटरले जनाएको छ।

सुनको मूल्य ४ सयले बढेर हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।      त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      हिजो मङ्गलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो ।  

अब महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्ने

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नेहरूका लागि नयाँ नियम ल्याएको छ । सरकारले ल्याएको नयाँ नियमअनुसार काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिका र धरान उपमहानगरपालिकासहित ११ वटै उपमहानगरपालिकामा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार अब अनिवार्य रूपमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरीएको छ । मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख मा संशोधन गर्दै सरकारले उक्त नयाँ व्यवस्था लागु गरेको हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–प्रवक्ता दामोदर वाग्लेले जानकारी दिएअनुसार जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यो कदम चालिएको हो । वाग्ले भन्छन्, ‘देशभरको जग्गा कारोबारलाई क्रमशः दर्ता भएका कम्पनीमार्फत सञ्चालन गर्ने दिशामा सरकारले काम अघि बढाएको छ ।’  उनका अनुसार अहिले महानगर र उपमहानगरमा लागू भएको यो व्यवस्था विस्तारै सम्पूर्ण देशभर कार्यान्वयन गरिनेछ ।