राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, १ करोड बढी राजस्व सङ्कलन
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल ६५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले जानकारी दिए । ५ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताए । शिविरबाट करिब ७८ हजार युरो अर्थात् १ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको पौड्यालले बताए । ‘राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौँ,’ पौड्यालले भने, ‘शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्यौं, माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गर्नुभयो ।’ शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए । टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली सङ्घ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ माल्टासहित त्यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए । माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियोे ।
उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । शतप्रतिशत दिन्छौँ दीपेन्द्रसिंह ऐरी, कप्तान सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शतप्रतिशत योगदान दिने बताए । कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गरे । ‘त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शतप्रतिशत दिन्छौँ,’ उनले भने । कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे । ‘सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ,’ उनले भने, ‘हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शतप्रतिशत दिनेछौँ ।’ राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख, कप्तान, जनकपुर बोल्ट्स जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ उनले भने । कप्तान शेखले भने, ‘भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।’
कोशी प्रदेशमा वर्षा र हिमपात हुने, यस्तो छ देशभरको मौसम
काठमाडौं । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । यद्यपी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज विश्व ध्यान दिवस मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए । यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।
भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै
काठमाडौं । बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५.२ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए । विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताए । भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको मण्डलले बताए । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनको भनाइ छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।
ईभीमा कर छलीः सरकारसँग छैन क्षमता जाँच गर्ने मेसिन
काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी)को आयात बढदो क्रममा रहेको छ । पछिल्ला वर्षहरूमा आईसीई इन्जीन (पेट्रोल, डिजेलबाट सञ्चालन हुने) सवारीभन्दा ईभीको आयात ह्वात्तै बढ्न थालेको छ । कुल आयातको करिब ७० प्रतिशत ईभीको आयात हुन थालेको छ । ईभीको आयात बढेसँगै यससम्बन्धी विभिन्न समस्याहरू पनि देखिन थालेका छन् । उसो त नेपालमा ईभीका लागि पूर्वाधार निर्माण, पर्याप्त अनुसन्धान, यससम्बन्धी दक्ष जनशक्तिको अभावका बाबजुत नै ईभीको आयात गरियो । यसले गर्दा ईभीको आफ्टर सेल्स सर्भिसमा ठूलो समस्या हुने जानकारहरू बताउँछन् । यतिमात्र होइन, ईभीको कारण प्रणालीको बारेमा पनि पहिल्यै पर्याप्त छलफल नभएको देखिन्छ । नेपालमा आयात हुने ईभीको भन्सार कर त्यसको मोटर क्षमताको आधामा निर्धारण गरिन्छ । तर, नेपालमा भने ईभीको मोटरको क्षमता मापन गर्ने ल्याब तथा मेसिनसमेत छैन । यसले पनि के देखाउँछ भने नेपालमा आवश्यक पूर्वतयारी बिना नै ईभीको आयात गरिएको हो । हाल नेपालमा आउने ईभीको कार उत्पादक कम्पनीले उल्लेख गरेको मोटरको क्षमताका आधारमा निर्धारण गरिन्छ । अर्थात जति धेरै किलोवाटको मोटर जडान गरिएको छ, त्यति नै धेरै कर लाग्ने गर्दछ । उत्पादक कम्पनीले नेपालका आयातकर्तालाई दिएको कागजात यातायात व्यवस्था विभागमा सम्बन्धित आयतकर्ताले पेश गर्नुपर्ने हुन्छ । यातायातले सोही कागजातमा सो गाडीको मोटर पावर कति छ, त्यसअनुसार नै भन्सार कार्यालयलाई पत्र पठाउँछ । भन्सारले सोही पत्रका आधारमा सो गाडीको कर संकलन गर्दछ । कर छली हुने सम्भावना यातायात विभागले यसरी उत्पादक कम्पनीले उल्लेख गरेको मोटरकै आधारलाई विश्वास गर्दछ । र भन्सारले पनि सोहीअनुसार कर उठाउँछ । यस अवस्थामा उत्पादक कम्पनी र नेपालका लागि आयातकर्ता कम्पनीबीच यदि मिलेमतो भएको खण्डमा कर छली हुन सक्ने आधार प्रशस्तै छन् । तर, नेपाल सरकारले यसलाई अन्धाधुन्ध तरिकाले विश्वास गरेको छ । कुनै पनि आयातकर्ता र उत्पादक कम्पनीहरू मिलेर नेपालमा पठाउने ईभीको मोटर क्षमता कागजमा मात्रै घटाइदिए त्यसको क्रस भेरिफिकेसन गर्ने मेसिन तथा ल्याब नेपालमा छैन । यसो हुँदा उत्पादक कम्पनीले मोटर पावर कागजमा घटाइदिएर पठायो भने त्यसलाई नै विश्वास गर्नुपर्ने हुन्छ । यसले गर्दा सो गाडीको वास्तविक करभन्दा धेरै कम कर भन्सारले उठाउनुपर्ने हुन्छ । यसले सिधै कर छलीलाई बढावा दिन्छ । तर, सरकारले यसबारेमा अझैसम्म खासै चासो नदिएको देखिन्छ । के भन्छन् जानकार ? करविज्ञ अरुण राउतले सरकारले मोटरको क्षमता मापन गर्ने मेसिन तथा ल्याबको व्यवस्था नगर्नु सरकारको कमजोरी भएको बताएका छन् । उनले उत्पादक कम्पनीले गलत गर्छ वा गर्दैन भनेर सोच्नुभन्दा पनि सरकारले आफै मेसिन तथा ल्याबको स्थापना गरेर चेक गर्नुपर्ने धारणा राखे । उनले मोटर क्षमताको बारेमा गाडीसम्बन्धी अन्य डकुमेन्टले पनि पत्ता लाग्ने भन्दै त्यसमा मात्रै भर परेर नबस्न सरकारलाई सुझाव पनि दिए । उनले भने, ‘मोटरको क्षमताको बारेमा अन्य कागजातहरूबाट पनि पत्ता लगाउन सकिन्छ । राज्यले चाह्यो भने सक्छ । तर, मेसिन तथा ल्याब भने सरकारले अनिवार्यरूपमा निर्माण गर्नुपर्दछ ।’ नेपालमा मोटर क्षमता जाँच गर्ने मेसिन तथा ल्याब नहुँदा कर छली हुन सक्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले भने, ‘नेपालमा आयात हुने ब्राण्ड कम्पनीहरूले मोटर घटाएर काजगात नबनाउलान् । उनीहरूले त्यस्तो गल्ती नगर्लान् । तर, कर छली हुँदै हुँदैन भनेर भन्न भने सकिँदैन । कर छली हुने जोखिम छ ।’ यस्तै, उनले नेपालको राजस्वको मुख्य स्रोत अटोमोबाइल क्षेत्र भएकाले यसको निगरानीमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । के भन्छन् सरोकारवाला ? यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले मोटर क्षमता मापन गर्ने ल्याब स्थापना गर्नेबारे अर्थ मन्त्रालयसँग छलफल भएको बताएका छन् । तर, ल्याब स्थापना गरे पनि नेपालमा आयात हुने सबै ईभीको क्षमता जाँच गर्न भने सम्भव नहुने उनको भनाइ छ । ‘गाडीको इन्जिन खोलेर जाँच गर्नुर्छ, त्यत्तिकै बाहिरबाट गरेर हुँदैन,’ महानिर्देशक पोखरेलले भने, ‘सबै गाडीको त्यसरी जाँच गर्न सम्भव नै छैन ।’ उनका अनुसार एउटा मोडल गाडीको एउटा स्याम्पल मात्र जाँच सम्भव हुन्छ । ल्याब स्थापना भएपछि यदि शंका लागेको खण्डमा जुन गाडीमा शंका लागेकाे छ, त्यसको जाँच गर्न सकिन्छ । मोटर जाँचको ल्याब स्थापनका लागि ठूलो पूर्वाधारको संरचना आवश्यकता पर्ने उनले औंल्याए । त्यसका लागि करोडौं रुपैयाँ खर्च हुने पनि उनले जानकारी दिए । उनका अनुसार त्यसका लागि जग्गा पनि धेरै चाहिन्छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले सरकारले मोटर जाँचको ल्याब स्थापना गर्नुपर्ने तर्क राखेका छन् । नेपालमा विश्वमा ख्यातिप्राप्त कम्पनीहरूबाट ईभी आयात हुने भएकाले ती कम्पनीहरूले त्यस्तो गलत काम नगर्ने बताउँदै सरकारले उक्त कागजातकै भर भने पर्न नहुने धारणा व्यक्त गरे । ‘नेपाल भनेको उनीहरूका लागि सानो मार्केट हो । उनीहरूले आफ्नो ख्यातिको पनि ख्याल गर्छन । त्यसैले उनीहरूले गलत कागजात बनाइदेलान् भन्ने मलाई लाग्दैन, ’ उनले भने, ‘तर, पछिल्लो समय नेपालमा धेरै ब्राण्डहरू भित्रिएकाले सबै कम्पनी राम्रा छन् भनेर भन्न मिल्दैन । कुनै कुनैले गलत गर्न पनि सक्छन् ।’ यसरी केही उत्पादक कम्पनी र आयातकर्ता मिलेर गलत गर्न पनि सक्ने भन्दै त्यसका लागि सरकारले पूर्वतयारी भएर बस्नुपर्ने पूर्वअध्यक्ष थापाको भनाइ छ । उनले एउटा देशका लागि ल्याब स्थापना गर्न खासै ठूलो विषय नभएको भन्दै सरकारले जतिसक्दो छिटो जाँच ल्याबको स्थापना गर्नुपर्नेमा जोड दिए । यस्तो छ ईभीमा लाग्ने कर प्रणाली ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लाग्दछ । यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ईभीमा २० प्रतिशत भन्सार कर र १५ प्रतिशत अन्तशुल्क कर लाग्ने गर्दछ । १०१ किलोवाटको ईभीमा ३० प्रतिशत भन्सार कर र २० प्रतिशत अन्तशुल्क कर, २०१ देखि ३०० किलोवाटको ईभीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था छ भने ३०१ किलोवाटदेखि माथिको मोटर क्षमता भएको ईभीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको छ ।
अनधिकृत तरिकाले भ्यू टावरको नक्सा पास गरेपछि काठमाडौं महानगरले गुरागाईंलाई कारबाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएको छ । काठमाडौं भ्यू टावरको नक्सा अनधिकृत तरिकाले पास गरेको पाएपछि महानगरले गुरागाईंलाई कारबाही गर्ने भएको हो । उनी गत भदौ २७ गतेमात्रै सरुवा भएर महानगरमा आएका थिए । शुक्रबार महानगरले पत्रकार सम्मेलन गर्दै आधिकारिक प्रणाली छलेर भवनको नक्सा पास भएको देखिएको बताएको छ । महानगरका अनुसार पास भएको नक्सामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हस्ताक्षर गरेका छन् । काठमाडौं भ्यू टावर काठमाडौं महानगरको २८ नम्बर वडामा लामो समयदेखि निर्माणाधीन छ । गुरागाईं नेपाल सरकारका सहसचिव हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले सन्तोष परियारलाई हटाएर उनलाई काठमाडौं महानगरको प्रमुख प्रशासक बनाएको थियो ।
टेस्लाको मार्केट क्याप १. ४ ट्रिलियन डलर, विश्वव्यापी अटो उद्योगको झण्डै आधा
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको विद्युतीय सवारीसाधन (ईभी) निर्माण गर्ने कम्पनी टेस्लाको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । यो वृद्धिसँगै यसको बजार मूल्य (मार्केट क्याप) १.४ ट्रिलियन डलर पुगेको छ, जुन विश्वव्यापी अटो उद्योगको कुल बजार आकारको झण्डै आधा हो । गत वर्ष विश्वव्यापी अटोमोटिभ उद्योगको आकार करिब ३.४ ट्रिलियन डलर थियो । आगामी १० वर्षमा ६.८ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । टेस्लामा मस्कको लगभग २३ प्रतिशत सेयर छ । यद्यपि, हालैका दिनहरूमा टेस्लाले चिनियाँ ईभी कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । अक्टोबरमा चिनियाँ कम्पनी बीवाईडीले टेस्लाभन्दा धेरै गाडी उत्पादन गर्यो । नोभेम्बरको तथ्याङ्कअनुसार नोभेम्बरमा विश्वमा बिक्री हुने कुल ईभीमा चीनको हिस्सा ७० प्रतिशत थियो । यति हुँदाहुँदै पनि बजार पुँजीको हिसाबले विश्वको कुनै पनि अटो कम्पनी टेस्लाको नजिक छैन । जापानको अग्रणी अटो कम्पनी टोयोटा यस सूचीमा २३१ अर्ब डलरको साथ दोस्रो स्थानमा छ । चिनियाँ कम्पनी बीवाईडी १०७ अर्ब डलरका साथ तेस्रो स्थानमा छ भने ९८ अर्ब डलरका साथ शाओमी चौथो स्थानमा छ । इटालीको अग्रणी अटो कम्पनी फेरारी ८१ अर्ब डलर पाँचौं, मर्सिडिज बेन्ज (६३ अर्ब) छैटौं, पोर्श (५८ अर्ब) सातौं, जनरल मोटर्स (५१ अर्ब) नवौं र फक्सवागन (४८ अर्ब) डलर) दशौं स्थानमा छ। भारतको महिन्द्रा एन्ड महिन्द्रा सूचीमा ११ नम्बरमा छ । यसको मार्केट क्याप ४४ अर्ब छ । देशको सबैभन्दा ठूलो अटो कम्पनी मारुति सुजुकी ४२ अर्ब डलरको बजार पुँजीका साथ यो सूचीमा १२ नम्बरमा छ । टाटा मोटर्स ३५ अर्ब डलरको मार्केट क्यापको साथ १७ नम्बरमा छ । फोर्ड (४१ अर्ब) १३ औं, स्टेलान्टिस (४१ अर्ब) १४ औं, होन्डा (४० अर्ब) १५ औं र हुन्डाई (३७ अर्ब) १६ औंमा छन् ।