५ महिनामा १३.४ अर्बको विद्युत् भारत निर्यात, माथिल्लो तामाकोशी बन्द हुँदा घट्यो
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ । साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण मुख्य रुपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरुमा विद्युत् निर्यात घटेको र शुख्खायाम सुरु भएसँगै जलविद्युत आयोजनाहरुको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नु परेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । अहिले विद्युत निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत आयोजनाहरुको उत्पादन कमी भई देशभित्रको विद्युत माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नु पर्ने छ । नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरुभएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ । चालू आवमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोर क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरुको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो । माथिल्लो तामाकोशी आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमश : घट्दै जाने छ । पाँच महिनामा भारतर्फको विद्युत् निर्यात प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
जनकपुरले जित्यो एनपीएल, १ करोड १० लाख रुपैयाँ पुरस्कार
काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मद्दतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । जनकपरका ओपनर लाहिरु मिलान्थाले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका सैफ अलि जैब, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए । त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे । बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३-३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एक-एक विकेट लिए । योसँगै जनकपुरले एनपीएलको ट्रफीसहित १ करोड १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो ।
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।’ निगमले पाइलपाइनबाट गत असोज १८ गते ५ हजार ५ सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते १ हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ । ‘स-साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौँ, यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ । यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टिटेल अमलेगन्ज आउनेछ,’ कार्यालय प्रमुख आचार्यले भने, ‘ट्रक ट्याङ्करका तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ । पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रकट्याङ्कर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ ।’ पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ । तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन । ‘दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन,’ प्रमुख आचार्यले भने, ‘डिजेल, पेट्रोल र मट्टितेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ ।’ यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९.२ किमी रहेको छ । यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६.२ किमी रहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ । पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो करिब ५ दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’मा जाँदैछ । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि ४ वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएका छन् । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ‘ट्रान्समिक्स ट्रयाङ्क’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ । ट्रक ट्याङ्करमा इन्धन भर्नका लागि थप २४ वटा पूर्णस्वचालित ‘लोडिङ-वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । ‘२४ वटा लोडिङ-वेमा पेट्रोल र डिजल ट्याङ्कर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ, भण्डारण ट्याङ्क र नयाँ लोडिङ-वे करिब ८ सय मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ,’ उनले भने । मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार ७२४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ । अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र २ हजार २७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ । अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तार छिट्टै पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ । लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ । ‘परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ,’ प्रमुख आचार्यले भने, ‘सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ ।’
कर्जा सूचना केन्द्रले १० प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश घोषणा गरेको छ । कर्जा सूचना केन्द्रको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कर्जा सूचना केन्द्रले प्रतिसेयर १० रुपैयाँ अर्थात् चुक्ता पुँजीको १० प्रतिशतका दरले ४ करोड ३६ लाख २५ हजार ३८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा बिहान साढे ११ बजे २०औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक ३ लाख रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्नेछ । अघिल्लो वर्ष कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ अर्थात् चुक्ता पुँजीको २० प्रतिशतका दरले ८ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो ।
सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८५ रनको लक्ष्य दिएको हो । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । जैबले ८ चौका र २ छक्का र भण्डारीले १ चौका र ३ छक्का हानेका थिए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे । बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३–३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिएका छन् ।
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने
काठमाडौं । श्रीलङ्काको अर्थतन्त्र साढे ५ प्रतिशतले वृद्धि हुने भएको छ । सन् २०२४ को तेस्रो त्रैमासिकमा श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको हो । केन्द्रीय बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १०.८ प्रतिशत र सेवा गतिविधि २.६ प्रतिशतले बढेको छ । अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भएतापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ । रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ । सन् २०२४ को पहिलो १० महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंकले जनाएको छ । गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रपी १०.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको भनाइ छ ।
जाडोमा कसरी गर्ने छालाको स्याहार ? यस्ता छन् छाला रोग विशेषज्ञका टिप्स
काठमाडौं । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अङ्ग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ । निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्जवल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । ‘हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ,’ उनले भने । जाडो महिनामा विशेष गरी सुक्खा हावाको प्रभावले कपाल सुक्खा हुने, टुट्ने र चायाँ पनि अत्यधिक पर्ने डा पुडासैनीको भनाइ छ । उनी भन्छन्, ‘शरीरको प्राकृतिक तेल कम भएर सुक्खापना आउने (जेरोटिक एक्जिमा) ले छाला सुन्निने, चिलाउने, पोल्ने, पानी फोका आउने, बिमिरा आउने, पाक्नेलगायत समस्या आउन सक्छन् । एटोपिक एक्जिमा हुन सक्छ, जसले छालामा एलर्जी गराउने हुन्छ । हात खुट्टाका औँला चिलाउने, सुन्निने समस्या ‘चिल्बिलेन्स’ पनि बढी देखिन्छ ।’ जाडोमा एलर्जीको समस्या पनि बढी देखिने चिकित्सकहरू बताउँछन् । एलर्जी बढ्नुको मुख्य कारण जाडोमा छाला फुट्ने र सङ्क्रमण हुनु हो । डा पुडासैनीले भने, ‘जाडोमा बढी देखिने ‘सोरायसिस’ पनि हो, जसलाई कत्ले रोग पनि भनिन्छ । कुहिना, ढाड, घुँडा, कपालमा फुरफुर फुस्रो खालको छालाको पत्र कत्ला निस्किने हुन्छ । जाडोमा डन्डिफोर पनि बढ्छ । छाला सुक्खा भएर प्राकृतिक रूपमा तेल निकाल्ने ग्रन्थी ९सिबेसियस ग्लान्ड० झन् सक्रिय हुन्छ जसले गर्दा डन्डिफोर आउँछ ।’ वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्रा डा अनुपमा कार्की जाडो मौसममा बहिरङ्ग सेवा (ओपिडी) मा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेको बताउनुहुन्छ । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उनको भनाइ छ । ‘प्रायः मान्छे जाडोमा कम नुहाउँछन् । लुगा फेर्न अल्छी गर्छन् । समय-समयमा सिरक, डसना घाममा सुकाउँँदैनन् । त्यसैले लुतोको समस्या लिएर आउने बिरामी पनि छन्,’ उनी भन्छन् । जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए। ‘जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्,’ उनले भने । जाडोमा छालाको स्याहार गर्न बेला-बेलामा मोस्चराइजर लगाउनु नै सबैभन्दा राम्रो उपाय रहेको डा पुडासैनीको सुझाव छ । ‘चिसोमा जाँदा सकेसम्म अनुहार छोप्ने, बाइक चलाउँदा भाइजर लगाउने, मास्क, क्याप, पञ्जा, मोजा लगाउने गर्नुपर्छ । नुहाउँदा मनतातो पानीमा नुहाउनुपर्छ । नुहाइसकेपछि अलि-अलि भिजेको छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन जे उपलब्ध छ, त्यो लगाउनु उपयुक्त हुन्छ । नियमित व्यायाम तथा पौष्टिक आहारले पनि छाला स्वस्थ्य राख्न मद्दत पु¥याउँछ,’ उनले सुझाए । डा कार्की छाला राम्रो बनाउन पानी तथा फलफूल प्रशस्त खानुपर्ने बताउँछन् । अधिकांशले जाडोमा पानी कम पिउनाले पछि छाला सुक्खा हुने र खुम्चिने हुन सक्ने बताउँदै उनी भन्छन्, ‘पानी प्रशस्त पिउनुपर्छ । कडा खालको सुक्खा बनाउने फेसवास, ह्यान्ड वास प्रयोग गर्नुहुँदैन । सनब्लक क्रिम तथा मोस्चराइजर अनिवार्य लगाउने गर्नुपर्छ । धेरै तातोपानीको प्रयोग गर्नुहुँदैन, यसले थप छाला सुक्खा बनाउँछ । छालासम्बन्धी केही समस्या आए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।’
माथिल्लो म्याग्दीमा ५ बैंकको साढे ५ अर्ब लगानी, १२ वर्षमा ऋण तिरिसक्ने
काठमाडौं । माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण स्थल पहुँचमार्गले जोडिएको छ । ३७ मेगावाट क्षमताको सो आयोजनाको हाइड्रो इम्पायर प्रालिको प्रवद्र्धक रहेको छ । बाँध, विद्युत गृह र सुरुङको अडिट निर्माण स्थल जोड्ने सडक निर्माण भएको हो । मालिका गाउँपालिका–७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका माथिल्लो म्याग्दी, अपर म्याग्दी १, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन् । माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जीतबहादुर घर्तीले पहुँचमार्गमा पर्ने म्याग्दी नदीमाथि ५० र ३० मेट्रिकटन क्षमताको २ वटा बेलिब्रिज जडान भइसकेको जानकारी दिए । पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेशन लाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युत गृह निर्माणको तयारी गरेको उनले बताए । निर्देशक घर्तीका अनुसार अबको दुई वर्ष ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार परिचालित भइसकेको छ । धवलागिरि गाउँपालिका-४ मा पर्ने सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बाँया किनारमा भूमिगत बालुवा थिग्रयाउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत गृह म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ । तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आउटलेटदेखि विद्युत्गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । आयोजनाका लागि आवश्यक १.६९ हेक्टर निजी जग्गा खरिद गरिएको र ३.६९ हेक्टर सरकारी जग्गा प्रयोग गरेबापत शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ खरिदका लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको प्रबन्ध निर्देशक घर्तीले बताए । लगानी जुट्यो माथिल्लो म्याग्दी निर्माणका लागि सिद्धार्थ बैंक, नेपाल एसबिआइ, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकले ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । ब्याजसहित ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले १२ वर्षको अवधिमा ऋण तिरिसक्ने योजना बनाएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि २१५.७१४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युत गृहदेखि १०.२ किलोमिटर दूरीको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप ४ वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलोको निर्माण सुरु भएको छ । १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना पहुँचमार्ग निर्माणको चरणमा छन् । धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको ५ वर्षअघि शिलान्यास गरे पनि गति लिन सकेको छैन ।