विकासन्युज

मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओमा बढुवा

काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रुपमा काम गरिरहेका ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकमा नायव महाप्रबन्धक भएर प्रवेश गरेका थिए । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेको छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा  प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् ।  उनले ग्लोवल आईएमई बैंकमा पनि लामो समय काम गरेका थिए । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव रहेको छ । सकारात्मक सोच भएका र प्रष्ट रुपमा विचार राख्न सक्ने ज्ञवाली युवा पुस्तामाझ उत्प्रेरक व्यक्तिको रुपमा पनि परिचित छन् ।

आरुखर्क माविको स्वर्ण जयन्ती समारोहमा ६१ लाखभन्दा बढी आम्दानी, खर्च ७ लाख ५९ हजार

नुवाकोट । नुवाकोटको बेलकोटगढी- १ स्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा ६१ लाखभन्दा बढी आम्दानी भएको छ । पुस ७ गते मनाएको स्वर्ण जयन्ती समारोहमा खर्च र आम्दानीबारे विवरण शनिबार विद्यालयमा एक कार्यक्रमकाबीच आर्थिक सङ्कलन उपसमितिले सार्वजनिक गरेको छ । विद्यालयले समारोहको दौरान खर्च र आम्दानीको विवरण सार्वजनिक गर्दै कुल ६१ लाख ६६ हजार ३९८.५९ रुपैयाँ आम्दानी भएको जनाएको छ । यसमा रसिद आय (आर्थिक सहयोग रसिद) र अक्षयकोषको योगदान पनि रहेको छ भने ७ लाख ५९ हजार ४७४.४ खर्च भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक विकास खतिवडाले जानकारी दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुदर्शन खतिवडाले विद्यालयको आर्थिक प्रगति र ६१ लाखको आम्दानीको बारेमा चर्चा गर्दै विद्यालयले हजारौं विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन सक्षम बनाएको र सोही विद्यार्थीहरूले गरेको सहयोगप्रति गर्व व्यक्त गरे । उनले विद्यालयको आर्थिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी आगामी दुई वर्षभित्र विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य रहेको बताए । आर्थिक सङ्कलन उपसमितिका संयोजकसमेत रहेका खतिवडाले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा र बागमती प्रदेशका सांसद रामप्रसाद ढुङ्गानाको विशेष आतिथ्यमा स्वर्ण जयन्ती सम्पन्र भएको थियो । समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्‍याउने दाता, जग्गादाता, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित कार्यक्रम पनि गरेको थियो । आरुखर्क माध्यमिक विद्यालय विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, राजु कँडेलसँग खाए सवा ९ करोड घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । एक हाउजिङ कम्पनी पद्मा मर्चेन्ट र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । मेयर बस्नेतले पद्मा मर्चेन्टलाई फाइदा हुनेगरी स्थानीय बासिन्दाहरूलाई निकै कम मूल्यमा जग्गा बेच्न लगाएका थिए । अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । साथै अख्तियारले पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक कँडेलबाट लाभ लिएको आरोपसमेत लगाएको छ । अख्तियारका अनुसार कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी अख्तियारको छ । अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ । अख्तियारले पद्मा कोलोनीका सञ्चालक बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ । [pdf id=531452]

सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती, हिउँदमा पनि फाँट हराभरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पुर्याउन बोरिङ गाड्ने र सिँचाइको कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धानजोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुईखेती धान फल्ने वतावरण सिर्जना गरिएको उनले बताए । ‘धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ’, नगरप्रमुख अधिकारीले भने, ‘कृषकहरूलाई करिब चार सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छौँ ।’ नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बीउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उनले बताए । भेँडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झुल्दै आएको अधिकारीले बताए । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उनले उल्लेख गरे। भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताए । ‘हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बीउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।’ तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा सघाउने नगरप्रमुख अधिकारीले बताए । यहाँ उत्पादन हुने खाद्यान्न सामग्री बिक्री वितरणका लागि समस्या नभएको भन्दै पालिकाभित्रै ठूला मिलहरूसँग समन्वय गरिने उनले उल्लेख गरे । गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भैँडाबारीमा तोरीखेती थोरैमात्रामा हुने गरेकामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि खेती विस्तार हुँदै गएको बताए । ‘केही किसानले लगाउने सबै तेरीखेतीमा लाईकीरा लागेर उत्पादन नहुने अवस्था थियो’, उनले भने, “भेँडाबारी फाँटमा हिउँदको समयमा पानी हुँदैनथ्यो । अहिले सिँचाइ पुगेपछि हिउँदमा पनि फाँट हराभरा भएको छ ।” स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की बनाउने र थप्ने, कुलोको छेउमा बाटो, बत्ती र पानी पुर्‍याउने योजनामा पालिकासँग समन्वय गरी अघि बढिएको वडाध्यक्ष सुवेदीले बताए । गैँडाकोट–११ की कृषक चन्द्रकला महतोले दुई सय ५० किसानले चार सय बिघा क्षेत्रफलमा तोरीखेती गरेका बताए । पहिला स्थानीय प्रजातिको तोरीखेती गरिने गरिएकामा नगरपालिकाको ५० प्रतिशत अनुदानमा ‘मोरङ–२’ र ‘उन्नत’ जातका बीउ दिएपछि त्यसकै खेती गरिएको उनको भनाइ छ । केही वर्षदेखि यहाँ तीनखेती अन्न उब्जनी हुने गरेको उल्लेख गर्दै महतोले किसानलाई फाइदा हुँदा खेती गर्ने क्षेत्रफल र किसानको सङ्ख्या बढ्दै गएको बताए । तोरीको उत्पादन राम्रो भएकाले व्यावसायिक तोरीखेतीतर्फ आफूहरू आकर्षित भएको उनको भनाइ छ । उत्पादन भएको अन्नबालीको बजारीकरणमा नगरपालिका र वडा कार्यालयले समन्वय गरिरहेकाले समस्या नभएको भन्दै कृषक समूहले बिक्रीको प्रबन्ध गरिदिने महतोले बताए । बालीमा दिइने अनुदानका कार्यक्रमले किसानलाई खेतीतर्फ प्रोत्साहन गरिरहेको उनले अनुदान कार्यक्रमलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए । यसवर्ष गैँडाकोट नगरपालिकाको भेँडाबारी ब्लकमा चार सय बिघासँगै पालिकाभित्र करिब दुई हजार बिघा क्षेत्रफलमा तोरीखेती गरिएको छ । पालिकाले यस वर्ष चार सय बिघा क्षेत्रफलमा तोरीको बिउमा अनुदान दिएको छ । गैँडाकोट–११ लाई केन्द्रमा राखेर १२, १४ र १५ लाई पनि समेट्दै खेती विस्तार गर्ने तयारी गरिएको पालिका कार्यालयले जनाएको छ । रासस

पोखरा फाइनान्समा समस्या, स्पष्टिकरण लिने राष्ट्र बैंकको निर्णय

काठमाडौं । पोखरा फाइनान्सको वित्तीय अवस्था खराब भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले सुधारात्मक कारवाहीको प्रक्रिया थालेको छ । राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्ससँग स्पष्टिकरण लिने निर्णय पनि गरेको छ । राष्ट्र बैंकले प्रष्टिकरण सोधेको पत्र आफूले प्राप्त नगरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङले बताए । राष्ट्र बैंकले २०८० पुसमा फाइनान्समा स्थलगत निरीक्षण गरेको र सुधारका लागि आवश्यक निर्देशन दिएको बताउँदै राष्ट्र बैंकका निर्देशनहरू पालना भइरहेको उनले दावी गरे । फाइनान्सको खराब कर्जा बढी देखिन आएकाले कर्जा असुलीमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिएको सीईओ गुरुङले बताए । राष्ट्र बैंकको निर्देशन पालना गर्दै कर्जा असुलीमा फाइनान्सले जोड दिँदै आएको उनको भनाइ छ । तर तथ्याङ्कमा उनले भनेजस्तो सुधार छैन, बरु फाइनान्सको वित्तीय अवस्था झन् खराब छ । ९ महिनामा फाइनान्सको खराब कर्जा २०३ प्रतिशतले वृद्धि भएको उसैले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । २०८० पुस मसान्तमा फाइनान्सको खराब कर्जा कुल कर्जाको ४.७६ प्रतिशत रहेको फाइनान्सले सार्वजनिक गरेको वित्तीय वितरणमा उल्लेख छ । २०८१ असोज मसान्तमा खराब कर्जा १४.४४ प्रतिशत पुगेको छ । ९ महिनामा खराब कर्जा विन्दुगत गणनामा ९.६८ अंकले बढेको छ भने प्रतिशत गणनामा २०३.३६ अंकले बढेको छ । फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ करोड ९० लाख घाटा खाएको छ । गत वर्ष पनि नोक्सानमा गएको फाइनान्सको सञ्चित नोक्सानी ६८ करोड रुपैयाँ नाघेको छ । फाइनान्सको पुँजी १ अर्ब ८ करोड रुपैयाँ छ । फाइनान्सको निक्षेप, कर्जा लगानी लगायतको व्यवसायिक आकार पनि सानो हुँदै गएको छ । ‘संस्थाको सुशासन पनि खराब देखियो, वित्तीय अवस्था पनि खराब छ । अब राष्ट्र बैंकले आवश्यक निर्णय लिँदै जानेछ, ’ राष्ट्र बैंकका उच्च अधिकारीले भने । स्थलगत निरीक्षण भएको ११ महिनापछि मात्र फाइनान्सको रिपोर्ट राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएपछि राष्ट्र बैंकभित्रै पनि यति ढिला रिपोर्ट पेश हुनुको कारणबारे सोधखोज भएको छ । ‘फाइनान्सको अवस्था खराब पाइयो । एक वर्षअघि भन्दा अहिले के कति सुधार भयो ? सुधारका लागि के के प्रयास भएका छन् ? लगायतको विषयमा स्पष्टिकरण सोध्ने निर्णय भएको छ,’ स्रोतले भन्यो । कोरोना महामारीपछि गण्डकी प्रदेशको पर्यटकीय गतिविधि सुस्त भएको र पर्यटन व्यवसायीहरूले कर्जा तिर्न नसक्दा फाइनान्समा समस्या उत्पन्न भएको सीईओ गुरुङले बताए । ‘पछिल्लो समय हामी अलि दवावमा नै परेका छौं । नयाँ व्यवसाय विस्तारमा भन्दा कर्जा कर्जा असुलीमा जोड दिइरहेका छौं, ’ उनले भने । यता नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइसकेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । के हुन्छ कर्णाली डेभलपमेन्ट बैंकमा रहेको निक्षेपकर्ताको ५.२१ अर्ब ? सेयर कारोबार पनि रोक्का

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न मन्त्री पौडेलको सक्रियता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न सक्रियता देखाएका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए । अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन् । यसका लागि डाक्टर दिपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय मिति गठन गरिएको छ । समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि लाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका का र्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । यसैगरी, अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ । समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरु तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए । नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरुको संख्या ४ हजार ८८४ देखिन्छ । तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ । अटिजमको समस्या गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि पूर्वप्रतिबद्धता अनुसार नै मन्त्री पौडेलले सक्रियता देखाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आयोनिक फाइभले राख्यो विश्व कीर्तिमान, विद्युतीय कारमध्ये सर्वाधिक उचाइमा पुग्न सफल

काठमाडौं । हुन्डाई मोटर कम्पनीको अवार्ड विजेता हुन्डाई आयोनिक फाइभले विश्व कीर्तिमान कायम गरेको छ । आयोनिक फाइभले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो । अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाइ पुगेर आयोनिक फाइभले विश्व रेकर्ड बनाएको हो । समुद्री सतहबाट ५ हजार ७९९ मिटर उचाइमा अवस्थित रहेको लद्दाखको उम्लिङ लाबाट यात्रा सुरु भएको थियो भने केरलाको कुट्टानाडमा समाप्त भयो, जुन समुद्र सतहभन्दा तीन मिटर तल अवस्थित छ । आयोनिक फाइभले यो यात्रा १४ दिनमा पूरा गरेको थियो । यस अवधिमा गाडीले ४ हजार ९ सय किलोमिटर दुरी तय गरेको थियो । निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनिक फाइभले उत्कृष्ट यात्रा प्रदान गरेको उल्लेख छ । सबैभन्दा अग्लो स्थानको यात्रा सकिएसँगै आयोनिक फाइभ एक भरपर्दो, एडभान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम विद्युतीय कार रहेको पुष्टि भएको कम्पनीको दाबी छ । हुन्डाईको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनिक फाइभले यसअघि विश्वभर थुप्रै अवार्डहरु आफ्नो नाममा लेखाउन सफल भएको छ । उपलब्धिको बारेमा बोल्दै हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक अनसु किमले भने, ‘हुन्डाई आयोनिक फाइभले गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्न पाउँदा हामीले गर्व गरेका छाैं । यो उपलब्धि हुन्डाईको नवप्रवर्तन, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।’ लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई आयोनिक फाइभ नेपालमा उपलब्ध गराउँदै आएको छ । लक्ष्मी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता हो ।

कोटेश्वरबाट पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौंको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आइतबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट निज खड्कालाई पक्राउ गरेको हो ।’ पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए ।