विकासन्युज

दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडीमा नयाँ वर्ष स्कीम ल्याएको छ । कम्पनीले ल्याएको न्यू इयर स्कीममा ४.९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने भएको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा ल्याएको यस स्कीमले दीपलका मोर्डन डिजाइनमा तयार भएका गाडी किन्न सहज हुने कम्पनीले विश्वास लिएको छ । नयाँ वर्ष २०२५ को अवसर पारेर ल्याएको ‘न्यु इयर, न्यु दिपल’ योजनामा गाडी किन्ने ग्राहकले निकै कम ब्याजदरको फाइदा पाउने छन् । यस योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर बाहेक पनि थुप्रै सुविधा पाउने छन् । कम्पनीले निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्स प्रदान गर्ने जनाएको छ । साथै, पुराना गाडी ल्याएर नयाँ दीपलका गाडी सट्टापट्टा गर्दा उत्कृष्ट एक्सचेन्ज भ्यालु पाउने कम्पनीको भनाइ छ । दीपलले बिक्री गर्दै आएको एस-०७ र एल-०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । जसले दीपिल ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको मोडल बनाएको छ । यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् । दीपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण यसले नेपाली बजारमा ७ सय यूनिटको आयात आँकडा भेट्टाएको हो ।

सीडीएससीको प्रबन्ध सञ्चालक पन्दाकले लिइन् शपथ

काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रबन्ध सञ्चालकले प्रविन पन्दाकले शपथ लिएकी छन् । उनले बुधबार सिडिएस सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार समालेकी छन् । ४ वर्षे कार्यकालका लागि उनलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरिएको हो । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ रहेका पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।

मलाई गरिएको कारबाही विधानसम्मत छैन : नेता रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।’ एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए । पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उनले आज पत्रकार सम्मेलनमा सुनाए ।

टेस्लाले चीनमा बनेका ७७ हजार ६५० गाडीको सफ्टवेयर समस्यालाई समाधान गर्ने

  काठमाडौं । टेस्लाले चीनमा निर्मित मोडल थ्री र मोडल वाई गाडीका ७७ हजार ६५० एकाइको सफ्टवेयर सुधार गर्ने भएको छ । चीनको बजार नियामक निकायले मंगलबार यस्तो जानकारी दिएको हो । टेस्लाको सुरक्षात्मक कदम‍लाई लिएर सफ्टवेयर समस्या समाधान गर्न लागिएको हो । सफ्टवेयरको त्रुटिका कारण गाडी सुरु भएपछि टायरको दबाव तत्काल देखाउन नसक्ने समस्या उत्पन्न भएको पाइएको छ । यो समस्या समाधान गर्न गाडी फिर्ता गर्नुपर्ने वा ग्राहकले पैसा फिर्ता पाउने विषयमा भने अझै स्पष्टता भएको छैन । टेस्लाले मोडल एस र मोडल एक्सका ६३ आयात गरिएका गाडीहरू पनि फिर्ता बोलाएको छ, जसमा चालकको अगाडिको एयरब्यागसम्बन्धी समस्या पाइएको छ ।

एआईको प्रयोगद्वारा अन्तरिक्षमा जीवनको खोज

नासाले १४ अक्टोबर २०२४ मा जुपिटर (वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ । त्यहाँ पुगेपछि, यो जुपिटरको परिक्रमा गर्दै युरोपाको ४९ पटक नजिकबाट उडान गरेर अध्ययन गर्नेछ । यस मिसनमा कृत्रिम बैद्धिकता (एआई) र अन्य अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर जीवनको सम्भावना खोज्ने लक्ष्य राखिएको छ । एआई भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । वैज्ञानिकहरूले यो मिसन केवल पृथ्वीबाहेक जीवनको खोजीको लागि मात्र नभई, भविष्यमा अन्य ग्रह र चन्द्रमाहरूमा अन्वेषण गर्ने योजनाहरूको मार्गप्रशस्त गर्ने विश्वास गरेका छन् । नासाको युरोपा क्लिपर मिसनको कुल अनुमानित लागत लगभग ५.२ अर्ब डलर रहेको छ । यसमा मिसनको विकासदेखि २०३० मा जुपिटरमा पुगेर चार वर्षसम्म सञ्चालन गर्ने सम्पूर्ण खर्च समावेश छ । मिसन अत्यन्त जटिल भएकाले, डिजाइन र विकिरण जस्ता चुनौतीका कारण बजेट बढ्दै गएको हो । यो नासाका सबैभन्दा महँगो ग्रह विज्ञान परियोजनाहरू मध्ये एक मानिन्छ । युरोपा क्लिपर मिसनमा १,००० भन्दा बढी वैज्ञानिक र इन्जिनियरहरू संलग्न थिए, जसमा एआई र ग्रह अनुसन्धानका विशेषज्ञहरू पनि समावेश थिए । यो मिसनको तयारी २०१५ मा औपचारिक रूपमा सुरु गरिएको थियो र नौ वर्षको मेहनतपछि १४ अक्टोबर २०२४ मा सफलतापूर्वक प्रक्षेपण गरियो । यस अवधिमा वैज्ञानिक टोलीले जटिल उपकरणहरू निर्माण र परीक्षण गर्दै, जुपिटरतर्फको यात्रा योजना र मार्गको विस्तृत तयारी गरे । मिसनले एआई प्रविधि प्रयोग गरेर डेटा प्रशोधन र नेभिगेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ, जसले जुपिटरको खतरनाक विकिरणबाट सुरक्षित उडान सुनिश्चित गर्छ । युरोपा क्लिपर अन्तरिक्षयानले हाइड्राजिन–आधारित इन्धन प्रयोग गर्छ । हाइड्राजिन अन्तरिक्षयात्राका लागि विश्वसनीय इन्धन हो, विशेषगरी गहिरो अन्तरिक्षमा यानको मार्ग परिवर्तन र नियन्त्रणका लागि । यो मिसनका लागि लगभग छ हजार पाउन्ड (दुई हजार ७५० किलोग्राम) इन्धन यानका ट्याङ्कहरूमा भण्डारण गरिएको छ, जसमा हिलियम प्रेसरन्ट पनि छ, जसले इन्धन प्रवाहलाई व्यवस्थापन गर्नेछ । यस इन्धनको मद्दतले युरोपा क्लिपरले मङ्गल र पृथ्वीबाट गुरुत्वीय सहायता लिंदै, जुपिटरको कक्षसम्मको यात्रा पूरा गर्नेछ । हाइड्राजिन थ्रस्टरहरूले मार्ग सुधार र मिसनका दौरान वैज्ञानिक उपकरणहरूको सही दिशामा नियन्त्रण गर्न मद्दत गर्नेछन् । युरोपा क्लिपर मिसनको एउटा प्रमुख लक्ष्य युरोपामा जीवनको सम्भावना खोज्नु हो । युरोपा, जुपिटरको मुख्य चन्द्रमाहरू मध्ये एक, सतहमुनि लुकेको नुनिलो महासागरले ढाकिएको छ । वैज्ञानिकहरूले यो महासागरमा पृथ्वीभन्दा बढी पानी रहेको अनुमान गरेका छन् । वैज्ञानिकहरूले जुपिटरको यस चन्द्रमामा बरफमुनि रहेको महासागरमा जीवनका लागि आवश्यक तत्वहरू—पानी, रासायनिक यौगिकहरू र ऊर्जा स्रोत—मौजूद हुनसक्ने अनुमान गरेका छन् । यो मिसनको उद्देश्य युरोपाको वातावरण अध्ययन गरी हाम्रो ब्रह्माण्डमा हामी एक्लै छौं कि छैनौं भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो । यदि जीवनको लागि अनुकूल अवस्था फेला परेमा, यसले पृथ्वीबाहेक अन्य ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना पुष्टि गर्न मार्ग प्रशस्त गर्नेछ । यो मिसनले मानव सभ्यताले ब्रह्माण्डमा आफ्नो स्थान र जीवनको अर्थबारेको बुझाइमा परिवर्तन ल्याउने आशा गरिएको छ । डा परशुराम दाहाल यस मिसनको मुख्य उपकरणहरूमा आइस–पेनेट्रेटिङ राडार, थर्मल इमेजिङ प्रणाली, र अल्ट्राभायोलेट स्पेक्ट्रोस्कोप समावेश छन् । यानले युरोपाको सतहमुनि लुकेको पानी र पानीका फोहोराहरूको खोजी गर्दै जीवनको संकेत अध्ययन गर्नेछ । एआई प्रणालीहरूले सतहका तस्वीरहरू र अन्य वैज्ञानिक डेटा विश्लेषण गरी महत्त्वपूर्ण सूचनाहरू छान्ने र स्वचालित रूपमा मिसनको मार्गदर्शन गर्नेछ । सौर्य ऊर्जा प्रयोग गर्ने यो यानमा १०० फिट लामो सोलार प्यानल जडान गरिएको छ, जसले जुपिटरको कमजोर घामबाट पनि पर्याप्त ऊर्जा सङ्कलन गर्न मद्दत गर्नेछ । रेडिएसन–प्रतिरोधी प्रविधिको प्रयोग गरेर, यानका उपकरणहरूलाई जुपिटरको विकिरणबाट सुरक्षित राखिनेछ । | एआई प्रणालीहरूले मिसनमा सङ्कलन गरिएको डेटा पृथ्वीमा पठाउनु अघि प्राथमिकता निर्धारण र संकुचन गर्नेछन्, जसले अनावश्यक जानकारी हटाएर वैज्ञानिकहरूले तुरुन्तै उपयोग गर्न मिल्ने महत्त्वपूर्ण तथ्यहरू फेला पार्न सकून् । यस प्रकारको कुशलता मानव अनुगमनबिना पनि अन्तरिक्षमा अनुसन्धान गर्न सक्षम हुनेछ । यो मिसनले भविष्यमा पृथ्वीबाहेकका ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना खोज्न थप प्रेरणा दिनेछ । यदि युरोपामा जीवन पत्ता लाग्यो भने यो केवल विज्ञानको विजय नभई सम्पूर्ण मानव जातिका लागि ऐतिहासिक उपलब्धि हुनेछ । एआई र अन्तरिक्ष प्रविधिको यस्तो प्रयोगले अन्तरिक्ष अन्वेषणको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ । नेपालजस्तो देशका लागि, यस्तो एआई प्रविधि केवल प्रेरणाको स्रोत मात्र नभई देशको प्राविधिक विकासका लागि दिशानिर्देशक पनि हो । यो प्रविधि दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा पुर्याउन, ग्रामीण क्षेत्रमा कृषिको उत्पादनशक्ति बढाउन र विपद् व्यवस्थापनका लागि भविष्यवाणी प्रणाली निर्माण गर्न प्रयोग गर्न सकिन्छ । एआई प्रविधि प्रयोग गरेर नेपालले आफ्नो वैज्ञानिक अनुसन्धानमा मात्र नभई, जीवनस्तर सुधार्नका लागि पनि महत्वपूर्ण योगदान गर्न सक्छ । भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पुर्याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ । युरोपामा जीवनको सम्भावना खोज्ने नासाको प्रयासले भविष्यमा पृथ्वीबाहेक अन्य ग्रहहरूमा मानव जीवनको सम्भावनालाई उजागर गर्न सक्छ । नेपालजस्ता देशहरूले पनि यस्ता प्रविधिबाट प्रेरित भई आफ्नो अनुसन्धान र विकासलाई सशक्त बनाउन सक्छन् । एआईले मानव सभ्यताको सम्भावनालाई मात्र होइन, सम्पूर्ण ब्रह्माण्डमा जीवनको परिकल्पनालाई नयाँ उचाइमा पुर्याउनेछ । यसले नेपाललाई विश्वस्तरको अनुसन्धान र अन्तरिक्ष प्रविधिमा सहभागी गराउन मद्दत पुर्याउनेछ । युरोपा क्लिपर मिसन नासाको मात्र नभई सम्पूर्ण मानवताको अन्तरिक्ष यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा बन्नेछ । यो मिसनले विज्ञान र प्रविधिमा नयाँ क्रान्ति ल्याउँदै भविष्यका अन्तरिक्ष अन्वेषणहरूलाई प्रेरित गर्नेछ, जसले हामीलाई ‘हामी एक्ला छौँ कि छैनौँ ?’ भन्ने प्रश्नको उत्तर खोज्न थप नजिक पुर्याउनेछ । रासस (लेखक अमेरिकामा एआई विज्ञका रूपमा कार्यरत छन्)

कर्णालीमा ४ वटा ठूला उद्योग दर्ता, ५३ हजार ऋणीले लिए ५९ अर्ब २३ करोड रुपैयाँ कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्णाली प्रदेशमा ११.७९ प्रतिशत निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूले ११.७९ प्रतिशत बढाएर ७५ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ पुर्‍याएका छन् । अघिल्लो वर्ष ११.८९ प्रतिशत बढाएर ६७ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । गत वर्ष कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २.२४ प्रतिशतले वृद्धि भई ५९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५७ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्णालीमा कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५० प्रतिशत रहेको छ । जबकि अघिल्लो वर्ष सीडी रेसियो ८५.८३ प्रतिशत थियो । राष्ट्र बैंकले सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम-पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट तयार पारिएको आव २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनको आधारमा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेपमध्ये बचत निक्षेपको अंश सबैभन्दा धेरै ५६.४७ प्रतिशत रहेको छ । यस्तै, मुद्दती, चल्ती र अन्य निक्षेपले क्रमशः २५.०५ प्रतिशत, १२.८७ प्रतिशत र ५.६१ प्रतिशत हिस्सा ओगटेका छन् । गत असारसम्म यस प्रदेशमा निक्षेपखाताको संख्या १२.८१ प्रतिशतले वृद्धि भई २१ लाख ९९ हजार २४९ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष ऋणी खाताहरूको संख्या ४.३० प्रतिशते बढी ५३ हजार ४३० पुगेकाे छ । अघिल्लो वर्ष भने ऋणी खाताको संख्यामा २.४० प्रतिशतले कमी आएको थियो । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या १२ हजार ६१३ पुगेको छ भने घरजग्गा रजिष्ट्रेसन वापतको राजस्व गत वर्षको तुलनामा २२.६८ प्रतिशतले कमी भई ३२ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ । आव २०८०/८१ को कर्णाली प्रदेशको कुल ग्राहस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान ९.७० प्रतिशत रहने अनुमान छ । यस प्रदेशमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिदर ०.६४ प्रतिशत र निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर १.०२ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । उद्योग विभागको तथ्याङ्क अनुसार आव २०७८/७९ मा कुल ३०९ ठूला उद्योगहरू दर्ता भएकोमा कर्णाली प्रदेशमा रुरुगाड पावर कम्पनी प्रालि, सूर्य तारा सिमेन्ट उद्योग प्रालि, रारा होल्डिङ्ग प्रालि र स्यार्पु पावर कम्पनी गरी ४ वटा ठूला उद्योगहरू दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्कअनुसार सुरुदेखि आव २०७९/८० सम्म कर्णाली प्रदेशमा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगहरूको संख्या ३६ हजार ५१६ रहेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेत जिल्लामा १० हजार १३३ र सबैभन्दा कम मुगु जिल्लामा १ हजार ७३१ रहेको छ । आव २०८०/८१ मा जम्मा १ हजार ७६८ उद्योग मात्र दर्ता भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योगहरूको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत रहेको छ भने गत वर्ष यस्तो क्षमता ५२.२९ प्रतिशत थियो । गत वर्षमा उद्योगहरूको उपयोग क्षमतामा प्लाष्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शतप्रतिशत रहेको छ भने सबैभन्दा कम अन्न तथा पशुदानाअन्तर्गत पिठो उत्पादनसम्बन्धी उद्योगको उपयोग क्षमता १५.० प्रतिशत रहेको छ । यसैगरी, कागज उत्पादन, काठ तथा काठको सामान, अन्य खाद्य पदार्थ (प्रशोधित चिया), अन्य (अन्य लत्ता कपडा) र पशुदाना उत्पादन गर्ने उद्योगहरूअन्तर्गत चामल उत्पादनसम्बन्धी उद्योग, प्रशोधित दूध उत्पादनसम्बन्धी उद्योग र पशुदानासम्बन्धी उद्योगको उपयोग क्षमता क्रमशः ९०.० प्रतिशत, ५२.० प्रतिशत, ५१.११ प्रतिशत, ४८.९४ प्रतिशत, ४१.६७, २१.२३ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ । यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणहरूले गर्दा ठूला उद्योगहरूको सञ्चालन हुन सकेको देखिँदैन । कर्णालीमा आव २०७९/८० को असार मसान्तसम्म ३ अर्ब ९८ करोड ६१ लाख रहेको कुल औद्योगिक कर्जा थियो । गत वर्ष ३.३३ प्रतिशतले वृद्धि भई ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ । समीक्षा वर्षमा विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९.१७ प्रतिशतले वृद्धि र कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ७.८५ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै २ अर्ब ६० करोड ३ लाख रुपैयाँ औद्योगिक कर्जा उपयोग भएको छ भने सबैभन्दा कम १ करोड ६५ लाख रुपैयाँ डोल्पा जिल्लामा उपयोग भएको छ । गत वर्ष कर्णालीमा दर्ता भएका सवारीसाधनको संख्यामा ११.४९ प्रतिशतले कमी आई ३ हजार ४ कायम भएको छ । अघिल्लो वर्षमा सो संख्या ८३.२० प्रतिशतले कमी आई ३ हजार ३९४ रहेको थियो । अध्ययनअनुसार मोटरसाइकलको संख्यामा ३.१४ प्रतिशतले कमी आई २ हजार ४३८ कायम भएको छ भने अन्य सवारीसाधनको संख्यामा ३५.४६ प्रतिशतले कमी आई ५६६ कायम भएको छ । यस प्रदेशमा नेपाल टेलिकमबाट वितरित स्थायी टेलिफोन सेवाको संख्या १२.२६ प्रतिशतले वृद्धि भई १ हजार ६६६ पुगेको छ भने १ लाख ५ हजार ६० मोबाईल सिम कार्ड वितरण गरिएको छ । सो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १५.०७ प्रतिशतले कमी हो । यस्तै, आव २०८०/८१ को असारसम्म यस प्रदेशमा सरकारी/सामुदायिक विद्यालयको संख्या ३ हजार ३४, विद्यार्थी संख्या ५ लाख ३२ हजार ७३८ र शिक्षक संख्या १६ हजार ६२७ रहेको छ । गत वर्ष सरकारी तथा सामुदायिक क्षेत्रका विद्यालयमा विद्यार्थी संख्यामा ०.३९ प्रतिशतले वृद्धि भएको हो । गत वर्षमा संस्थागत तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्यामा १.१८ प्रतिशतले कमी आएको छ भने विद्यालयको संख्यामा कुनै परिवर्तन आएको छैन । यस प्रदेशमा प्राविधिक शिक्षालयको संख्या १२७, विद्यार्थीको संख्या ३ हजार ५४ र शिक्षकहरूको संख्या ७३८ रहेको छ । अघिल्लो वर्ष प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरूको संख्या ३ हजार २३१ रहेको थियो । यस प्रदेशमा रहेका सरकारी/सामुदायिक अस्पतालको संख्या, चिकित्सक संख्या र अस्पतालहरूमा रहेका शैयाहरूको संख्यामा क्रमशः १६.० प्रतिशत, ३०.१७ प्रतिशत र ११.४१ प्रतिशतले वृद्धि भई २९ वटा अस्पताल ३१५ जना चिकित्सक संख्या र १,२३० वटा शैयाहरू रहेका छन् ।

नेप्सेमा बुधबार भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको सेयर मूल्यमा भने कुने परिवर्तन आएको छैन । आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो । जसमध्ये सबैभन्दा धेरै करोबार एनआरएन इन्फ्रास्ट्रक्चकर एन्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । एनआरएनको २१ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, जानकी फाइनान्सको ९ करोड ६९ लाख, त्रिशुली जल विद्युत कम्पनीको ९ करोड २९ लाख, प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । बुधबार त्रिशुली जल विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह ३.८७, विकास बैंक १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ०.९५, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बिमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढको छ । अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ ०.७२, जीवन बिमा ०.०६, लघुवित्त ०.१६, म्युचुअल फन्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घटेको हो ।

फर्डले २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने

काठमाडौं । फर्डले ब्याट्रीसँग सम्बन्धित चिन्ताका कारण २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने भएको छ । राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले मंगलबार घोषणा गरेअनुसार २०२० देखि २०२४ मोडल वर्षका फर्ड इस्केप र लिंकन कोरसेयर हाइब्रिड गाडी समावेश छन् । उच्च भोल्टेज ब्याट्री सेलहरूमा निर्माण त्रुटिका कारण आन्तरिक सर्ट सर्किट र ब्याट्री फेल हुने सम्भावना रहेको पाइएको छ। डिलरहरूले ब्याट्री ऊर्जा नियन्त्रण मोड्युलको सफ्टवेयर अद्यावधिक गर्ने जनाइएकाे छ। आवश्यकताअनुसार उच्च भोल्टेज ब्याट्री प्याक पनि निःशुल्क बदलिनेछ । ग्राहकको सुरक्षाका लागि कार फिर्ता गर्न लागिएको हो । फोर्ड मोटर कम्पनी एक अमेरिकी बहुराष्ट्रिय वाहन निर्माता कम्पनी हो । हेनरी फोर्डले सन् १९०३ मा यो कम्पनी स्थापना गरेका थिए ।