नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताए । मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिए । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उनले घोषणा गरे । ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,’ उनले भने ।
१० वर्ष मलेसिया बसेर फर्किएका रोका गोलभेंडा बेचेर गर्छन् सात लाख नाफा
घोराही । यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने, ‘यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।’ रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे । उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन् । हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक सात लाख रुपैयाँ बचत गर्न सफल भएका छन् । वार्षिक १८ लाख रुपैयाँको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ । ‘१० जनालाई रोजगारी दिएको छु’, रोकाले भने, ‘पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।’ मङ्सिरसम्म थोकमा प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए । उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन् । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए । जग्गाको वार्षिक भाडा ९८ हजार रुपैयाँ तिर्ने गरेका छन् । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन् । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन् । रासस
२०२४ मा सुन : २०१० पछिकै उत्कृष्ट वार्षिक प्रदर्शन
काठमाडौं । अङ्ग्रेजी वर्षको अन्तिम कारोबार दिन मंगलबार सुनको मूल्यमा थोरै परिवर्तन भएको छ । यस धातुले एक दशकभन्दा बढी समयमा आफ्नो सबैभन्दा राम्रो वार्षिक प्रदर्शन गरेको छ । स्पट सुन ०.१ प्रतिशतले बढेर प्रति औंस २ हजार ६०८.०९ डलर पुगेको छ । अमेरिकी गोल्ड फ्युचर्सको कारोबार ०.१ प्रतिशतले बढेर २ हजार ६२०.६० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षको अन्तिम दिनमा कारोबार गतिविधि शान्त रहने अपेक्षा गरिएको छ । ‘सुनले २०२४ मा उत्कृष्ट वर्षको आनन्द लियो र यसको उच्च गति बढ्नुको मुख्य कारण निम्न ब्याजदर वातावरणमा संक्रमणको अपेक्षा थियो,’ केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटेरले भने । केन्द्रीय बैंकको खरिद, नीति सहजीकरण र भूराजनीतिक तनावले यस वर्ष सुनलाई धेरै रेकर्ड उचाइमा पुर्याएको छ । सुन वर्षको सुरुदेखि २६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । जुन २०१० पछिको सबैभन्दा राम्रो प्रदर्शन हो । अब बजारले नयाँ कारकहरूको प्रतीक्षा गरिरहेको छ, जसमा अर्को हप्ता आउने अमेरिकी आर्थिक डेटाहरू समावेश छन् । सुनको मूल्य २०२५ मा अमेरिकी ब्याजदर र राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका व्यापार नीतिहरूले प्रभावित हुने अपेक्षा गरिएको छ । विश्लेषकहरूले २०२५ का लागि सुनको मूल्यमा सकारात्मक प्रवृत्ति देखेका छन्, जसले फेरि उच्चस्तरको रेकर्ड राख्न सक्छ । ‘२०२५ को लागि अमेरिकी ब्याजदरको दृष्टिकोण सुनको मूल्यको प्राथमिक चालक रहने छ । ट्रम्पको व्यापार नीतिहरू मुद्रास्फीति चित्र, फेडको ब्याज दरको ट्राजेक्टरी र त्यसपछि सुनको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ वाटेरले भने । यस महिना फेडरल रिजर्भका नीति निर्माताहरूले २०२५ को ब्याजदर पूर्वानुमानलाई १०० बेसिस पोइन्टबाट ५० बेसिस पोइन्टको कटौतीमा झारेका छन् र फेड चेयर जेरोम पावेलले अब थप कटौती मुद्रास्फीति घटाउने थप प्रगतिमा निर्भर हुने बताएका छन् । सुनलाई मुद्रास्फीति र अस्थिरताको विरुद्ध हेज मानिन्छ तर उच्च दरहरूले नन-यिल्डिंग सम्पत्ति (नाफा दिने सम्पत्ति भनेको यस्तो सम्पत्ति हो जसले आम्दानी वा नगद प्रवाह उत्पादन गर्दैन । यसको सट्टा यस्तो सम्पत्तिले मूल्यवृद्धिमा भर पर्ने गर्छ ताकि प्रतिफल दिन सकियोस् ।) को आकर्षण घटाउँछ। ‘२०२५ मा प्रवेश गर्दा मलाई लाग्छ ट्रेन्ड बुलिश छ र सुनका लागि आधारभूत कुराहरू सकारात्मक छन् । मलाई लाग्छ फेरि रेकर्ड उचाइ चुनौती दिनुपर्छ,’ क्यापिटल डट कमका वित्तीय बजार विश्लेषक काइल रोड्डाले भने । स्पट चाँदी प्रति औंस २८.९८ डलरमा स्थिर रहेको छ र पलेडियम ०.५ प्रतिशतले बढेर ९०८.२५ डलर पुगेको छ, जबकि प्लेटिनम ९००.७१ डलरमा स्थिर छ । चाँदी २०२० पछिको सबैभन्दा राम्रो वर्षको लागि अग्रसर छ, जबकि प्लेटिनम र पलेडियम वार्षिक हानिमा जाने तयारीमा छन् । नेपाली बजारमा सुनको मूल्य नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वैदेशिक रोजगार बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क) को बिक्री निकै न्यून देखिएको छ । गत मङ्सिर १२ गते जारी भएको ५० करोड रुपैयाँ बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र पाँच करोड ४२ लाख रुपैयाँ बराबरको बिक्री भएको छ । कार्यालयले जारी गरेको दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ । नागरिक बचतपत्रमा साँढे सात र वैदेशिक रोजगार बचतपत्रमा साँढे आठ प्रतिशत ब्याज तोकिएको छ । बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ । यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार, र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । जबकी लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा न्यून हुने गरेको छ । बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन ।
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ । विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन । फास्ट ट्रयाकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ । फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालू रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाडौंमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्रयाकका लागि आवश्यक विद्युत् आपूर्ति दिइनेछ । | ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालू रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमतीखोला साना जलविद्युतको विद्युतगृहलगायतका संरचनामा ठूलो क्षति पुर्याई विद्युत विद्युत् उत्पादन बन्द हुँदा त्यसपछि फास्ट ट्रयाकअन्तर्गत उक्त खण्डमा विद्युत आपूर्ति हुन सकिरहेको छैन । बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत प्रवाह गर्ने स्वीचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायतका उपकरणसमेत बगाइदिएको थियो । आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्रयाकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत आयोजना पनि जोडिएको थियो । तर, बाढीपहिरोले खानीखोलामा पनि क्षतिपुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतबिहीन बनेको थियो । जसका कारण फास्ट ट्रयाकको विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजनाहरको पुनर्निर्माण चलिरहेको छ । विद्युत आपूर्ति नहुँदा फास्ट ट्रयाक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले पुनर्निर्माण भइरहेको बागमतीखोला साना जलविद्युत आयोजना र ढोर्सिङ्ग सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पकहरुमा सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेको थियो । आयोजनाको पुनर्निर्माण आगामी चैत्रभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ । कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्रयाकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए । ‘हाम्रो कारणले राष्ट्रिय गौरबको आयोजनाको काम प्रभावित हुनुहुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरुबाट विद्युत् उत्पादन सुरु नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौ,’ घिसिङले उल्लेख गरे । उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनस्र्थापनाका लागि स्थानीय रुपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौंडा वितरण केन्द्र प्रमुखहरुलाई निर्देशन दिए ।
देशको नीतिगत नेतृत्व काँग्रेसले गरिरहेको छ : नेता सिटौला
काठमाडौं । नेपाली काँग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताए । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली काँग्रेस पार्टीले डोर्याउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । उनले काँग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व नेपाली काँग्रेसले गरिरहेको बताए । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको उनको दाबी छ । ‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ’, उनले भने । नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए ।
२०२४ मा पर्यटन क्षेत्र : होटलको संख्या बढ्यो, बढेन गतिविधि
काठमाडौं । नेपालको अर्थतन्त्रलाई सबल बनाउने महत्त्वपूर्ण क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि एक हो । सन् २०१९ मा विश्वभरि महामारीको रूपमा फैलिएको कोभिडले शिथिल बनाएको यो क्षेत्र अहिले पनि पूर्ण रूपमा उठ्न सकेको छैन । यो क्षेत्र विस्तारै लयमा फकिने क्रममा छ । पर्यटन क्षेत्रको लागि २०२४ सोचेअनरूप हुन सकेन । विभिन्न नीतिगत समस्या, प्राकृतिक प्रकोपलगायत कारणले यो वर्ष पर्यटन क्षेत्रको लागि चुनौती बनेर नै उभिएको यस क्षेत्रका व्यवसायीहरूको धारणा छ । यो वर्ष लक्ष्यअनुरूप पर्यटक पनि भित्रिन सकेको छैन । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार २०२४ को पहिलो ११ महिनामा १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले सन् २०२४ मा १३ लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार डिसेम्बरको अन्त्यसम्ममा ११ लाख २५ हजारसम्म पर्यटक नेपाल भित्रिने देखिएको छ । जुन लक्ष्यभन्दा २ लाख कम भित्रिने भएको हो । निर्देशक लामिछानेले २०२३ मा भन्दा यो वर्ष १५/२० प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार २०१९ को तुलनामा ९४ प्रतिशतले पर्यटन क्षेत्रमा रिकभर भएको छ । एसिया प्यासिफिकअनुसार ८५ प्रतिशतले रिकभर भएको देखाएको छ । यसरी हेर्दा २०२४ पर्यटन क्षेत्रको लागि सकारात्मक वर्षको रूपमा लिनुपर्ने निर्देशक लामिछाने बताउँछन् । २०२४ मा देखिएको चुनौती २०२४ पर्यटन क्षेत्रको लागि चुनौतीपूर्ण नै रह्यो । त्रिभुवन विमानस्थल दैनिक ८ देखि १० घण्टा बन्द हुँदा पर्यटन आगमनको फ्लोमा ठूलो धक्का लाग्यो । निर्देशक लामिछाने उडान कटौती हुँदा हवाई टिकट तेब्बरले महंगो भएको बताउँछन् । लामिछानेका अनुसार अहिले एयरलाइन्सको ३० प्रतिशतले अप्रेसन कस्ट घटेको छ । यसले ४० प्रतिशत पर्यटक आगमनलाई असर पारेको उनले प्रष्ट्याए । जुलाईमा पर्यटक बोकेको भारतीय दुई बस दुर्घटना हुन पुग्यो । यस दुर्घटनाले सडकबाट यात्रा गर्न धेरै पर्यटकहरू डराए । जसले गर्दा गत वर्षको तुलनामा यो वर्ष भारतीय पर्यटकको आगमनमा कमी आएको निर्देशक लामिछानेले बताए । लामिछानेका अनुसार गत वर्ष कुल पर्यटक आगमनको ३५ प्रतिशत भारतीय पर्यटक नेपाल भित्रिएका थिए भने यस वर्ष १२ प्रतिशत मात्रै पर्यटक भित्रिएको छ । विमान दुर्घटनाको प्रभावले युरोप र अमेरिकाबाट आउने पर्यटको संख्यामा समेत कमी आयो । नेपालमा सन् २०२४ मा नयाँ अन्तर्राष्ट्रिय चेन होटलहरू हिल्टन, होलिडे इनलगायत खुलेका छन्, कति खुल्ने क्रममा छन् । यसले नेपालमा पछिल्लो समय ‘क्वालिटी टुरिष्ट’ को आगमन बढेको निर्देशक लामिछाने बताउँछन् । अन्तर्राष्ट्रिय चेन होटल आउनु भनेकै नेपालमा क्वालिटी टुरिष्टको सम्भावना बढेर गएको उनले बताए । विश्वमा पछिल्लो समय धनीको संख्या बढेपनि त्यसअनुसार घुम्ने समय कम भएको छ । यसले गर्दा पछिल्लो समय थोरै समयमा धेरै ठाउँ घुम्ने चलन बढेको छ । यसमा सरकारले ध्यान दिनुपर्नेमा त्यो हुन नसक्नु पर्यटन क्षेत्रको लागि चुनौती थपिएको निर्देशक लामिछाने बताउँछन् । केही हप्ताअघि सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा उडान रोक्ने निर्णय गर्यो । तत्काल हवाई व्यवसायीहरूले अस्वीकार गरेपनि दिर्घकालीन रूपमा यसको असर पर्यटन क्षेत्रलाई नै पुग्ने निर्देशक लामिछानेको भनाइ छ । खर्च गर्न पैसा भएका ठूला व्यक्तिहरू जसलाई ट्रेकिङ गर्न कम समय छ, त्यस्ताहरूलाई हवाईबाट मात्रै सम्भव भएकाले यसतर्फ पनि सरकारले सोच्नुपर्ने लामिछाने सुनाउँछन् । २०२४ मा घटेका दुई दु:खद घटना २०२४ पनि अरू वर्षजस्तै जहाज दुर्घटनाले निरन्तरता पायो । यो वर्षको जुलाई ९ मा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको थियो । जुन दुर्घटना अन्तर्राष्ट्रिय विमानस्थल नजिक नै भएको हो । दुर्घटनामा पाइलटबाहेक १८ जनाले ज्यान गुमाएका थिए । सौर्य जहाज दुर्घटना भएको १५ दिनपछि एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीको लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर जंगलमा दुर्घटना भएको थियो । जुन दुर्घटनामा चालकसहित पाँच जनाले ज्यान गुमाएका थिए । अन्य महत्त्वपूर्ण गतिविधि २०२४ अर्थात नोभेम्बर ८ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि भन्दै दैनिक १० घण्टा उडान बन्द गर्ने निर्णय भयो । हाल भने दैनिक ८ घण्टा बन्द भइरहेको छ । यसले उडानमा ठूलो कटौती भएको छ । जसले गर्दा हवाई भाडा महंगिनुको साथै टिकट पाउन मुस्किल छ । जसको असर पर्यटन क्षेत्रले भोग्नुपरेको छ । करिब चार दशकदेखि बन्द अवस्थामा रहेको टिकापुर विमानस्थल पनि यही वर्षबाट सञ्चालनमा आएको छ । नोभेम्बर ३० बाट उक्त विमानस्थल सञ्चालनमा आएको हो । यसबाहेक यस वर्ष अर्को ठूलो घटना नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टचार ठहर गरेको भन्दै चार जनालाई दोषी ठहर भएको छ । जसमा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना दोषी ठहर भए । यसबाहेक यसै वर्ष नयाँ पर्यटन नीति २०८१ बन्ने क्रममा छ । जुन सन् २०२४ को सकारात्मक पक्ष हो । अर्को नयाँ पर्यटन ऐन मन्त्रिपरिषदबाट पास भएर संसदमा पुगेको छ । यसले पर्यटन व्यवसायीलाई व्यवसाय गर्न सहजीकरण हुने अपेक्षा गरिएको छ । सकारात्मक पक्ष अन्तर्राष्ट्रिय पत्रिका सीएनएले विश्वका उत्कृष्ट एक सय गन्तव्यको सूचीमा बर्दियाको बुरान रिर्सोटलाई समेटेको छ । सीएनएनले संसारका उत्कृष्ट रिर्सोटहरूको सूचीमा नेपालको सिन्तामणि रिर्सोटलाई समेटको छ । ट्राभल गाइड लोन्ली प्लानेटका अनुसार २०२५ मा घुम्नै पर्ने विश्वका शीर्ष ३० ट्राभल गन्तव्यको सूचीमा नेपालको तराई क्षेत्रलाई समेटेको छ । त्यस्तै, विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा काठमाडौंलाई समेटेको छ । यी सबै कुराले गर्दा नेपाल घुम्नको लागि उत्कृष्ट गन्तव्य भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश पुगेको छ । नेपालको पर्यटन क्षेत्रको लागि यो सकारात्मक पक्ष हो । पर्यटन व्यवसायीको नजरमा सन् २०२४ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष कुमार मणि थपलियाले सन् २०२४ पर्यटन क्षेत्रको लागि उतारचढाव वर्ष भएको बताएका छन् । ‘विभिन्न नीतिगत कारण, अन्तर्राष्ट्रिय विमानस्थल स्तोरोन्ति विस्तारलगायतका कारणले सोचेअनुरूप पर्यटक भित्र्याउन सकेन,’ अध्यक्ष थपलियाले भने, ‘दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा उडान प्रभावित हुन पुग्यो । जसले गर्दा युरोपियन मुलुकसहित छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्या घट्न पुग्यो ।’ त्यसबाहेक सन् २०२४ मा हवाई टिकट अचाक्ली महंगो हुन पुग्यो । जसले गर्दा पर्यटकलाई असुविधा पुग्न गएको उनले बताए । उनका अनुसार टिकट महंगो त्यसमा पनि टिकटै नपाउने समस्या पर्यटकले बेहोर्नुपर्दा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश प्रवाह नभएकोमा दु:ख व्यक्त गरे । ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे सरकारी निकायदेखि विभिन्न निकायबाट हुनुपर्ने कामकारबाहीमा ढिलासुस्ती हुने प्रवृत्ति सन् २०२४ मा पनि निरन्तरता पाएको बताउँछन् । काठमाडौं–पोखराको सडक नबन्दा यो वर्ष पर्यटकले ठूलो सास्ती खेप्नुपरेको उनले बताए । ‘पर्यटकहरु सबै हवाईबाट यात्रा गर्न असम्भव छ, कति जनाले सडकको यात्रा गर्नुपर्छ । समयमै सडक नबन्दा, चार घण्टामा पुग्ने बाटोमा १० घण्टा लागेको छ, यसले पर्यटन क्षेत्रमा ठूलो चुनौती थपेको छ,’ उनले भने । अध्यक्ष पाण्डेको नजरमा पनि प्राकृतिक विपत्ति, हवाई दुर्घटना र विमानस्थल विस्तारको लागि हवाइ उडान कटौती हुँदा पर्यटन क्षेत्रमा जति राम्रो हुनुपर्ने त्यो हुन सकेन । साथै यी गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश पुगेको बताएका छन् । २०२४ मा नसोचेको समयमा बाढीपहिरो गयो, बाटोघाटो अवरुद्ध हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाल घुम्नको लागि उपयुक्त छैन भन्ने सन्देश पुग्दा पर्यटक आगमन घट्न पुग्यो । अध्यक्ष पाण्डे २०२४ मा टानमा नयाँ कार्यसमित बनेको र नयाँ कार्यसमितिले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले अघि बढिरहेको बताए । साथै उनले अब पर्यटन व्यवसायीहरू सरकारले तयार पारेको नीतिमा मात्रै नअल्झेर नयाँ ढंगले अघि बढ्नुपर्ने बेला भएको बताए । उनले नयाँ पर्यटन पोलिसी बन्ने क्रममा भएको हुँदा समग्र पर्यटन क्षेत्रको विकास, पर्यटनमैत्री र आर्थिक क्षेत्रलाई माथि पुर्याउने किसिमको आउनुपर्ने सुझाव दिएका छन् । लामा एडभेन्चर ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक सन्तवीर लामा २०२४ अर्थतन्त्रलाई जति सहायता हुनुपर्ने त्यो नभएको तर्क राख्छन् । उनले २०२४ परम्परागत ढंगबाट नै समापन भएको बताए । ‘नेपालको पर्यटन धेरै पुरानो हिसाबको भयो । विगतमा जसरी चल्थ्यो, अहिले पनि त्यसरी नै चलिरहेको छ । २०२४ मा सरकारले नयाँ गन्तव्य पहिचान गरी विकास गर्ने भन्ने कुरा थियो, त्यो नीतिमै सीमित भयो, कार्यान्वन हुन सकेन,’ लामाले भने । नेपालमा बेमौसी सिजनमा आएको बाढी, भुकम्पलगायत प्राकृतिक विपत्ति अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश प्रवाह हुन पुगेको लामाले बताए । उनले भने, ‘२०२४ मा रुकुम-पश्चिमा भूकम्प जाँदा अन्तर्राष्ट्रिय बजारमा काठमाडौं बाहिर बाटो नै छैन भन्ने सन्देश गयो । असोजमा आएको बाढीले धेरै ठाउँमा धनजनको क्षति हुन पुग्यो । त्यतिबेला धेरै पर्यटक घट्न पुग्यो । यी विपद्हरू नेपालमा आउँदा अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश प्रवाह हुन पुग्यो । यो गलत सन्देश भने छिमकी राष्ट्रले नै गरेका थिए, त यसको प्रतिवाद नेपाल सरकारले गर्न सकेन ।’ नेपाल पर्वतारोहन संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे कोभिडको समयमा थला परेको पर्यटन सन् २०२४ बाट लयमा फर्केको बताउँछन् । सन् २०२४ मा पर्यटन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकण बढेको र त्यसले पर्यटन क्षेत्रलाई राम्रो भएको उनको भनाइ छ । साथै उनले होटल र एयरलायन्सको संख्यामा उल्लेखनीय वृद्धि हुँदा आउँदा वर्षमा पर्यटन व्यवसायमा सम्भावना बढ्दै गएको सुनाए । संघका वरिष्ठ उपाध्यक्ष यो वर्ष प्राकृतिक विपत्तिले पूर्वाधारमा पुर्याएको क्षतिले धेरै पर्यटकलाई असुविधा हुन पुगेको र त्यसले पर्यटकको आगमनमा चुनौती थपिएको कुरामै जोड दिन्छन् । यसबाहेक नेपालले काठमाडौं, पोखरा, चितवनजस्ता ठाउँलाई मात्रै पर्यटकीय क्षेत्र नभएर देशका विभिन्न ठाउँहरू छन् जसलाई प्रचारप्रचार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । होटल संघ नेपालका महासचिव साजन शाक्य होटल व्यवसायीको लागि सन् २०२४ त्यति सन्तोषजनक नभएको बताउँछन् । यो वर्ष नयाँ होटलहरूको संख्या थपिएपनि त्यसअनुसारको पर्यटक भित्र्याउन नसक्दा सन्तोष मान्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । उनले भने, ‘यो वर्ष पाँचतारे होटल नै पाँचवटा भित्रियो, अन्य तारे होटलहरू पनि सञ्चालनमा आएका छन्, यो सकारात्मक पक्ष हो । यसले एकातिर रोजगारी सिर्जना गरेको छ, अर्कोतिर अर्थतन्त्रलाई सहयोग पुगेको छ । तर होटलको संख्या बढेअनुसार अकुपेन्सी बढ्न सकेको छैन ।’ महासचिव शाक्यका अनुसार अहिले होटलहरूको अकुपेन्सी ३० देखि ४० प्रतिशत मात्रै छ । व्यवसायीहरूले सन्तोष मान्नका लागि होटलको अकुपेन्सी कम्तीमा ५० प्रतिशत माथि हुनुपर्छ । सरकारले सडक पूर्वाधारका समस्या समाधान र पर्यटनमैत्री बनाउन सकेको खण्डमा यो क्षेत्रमा आगामी दिनमा राम्रो गर्न सक्ने बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी पर्यटन व्यवसायीको हकहितको लागि सोचेअनुसारको काम नभएको बताउँछन् । चितवनको सडक नबन्दा त्यहाँ आउने पर्यटक घट्न पुगेको उनले बताए । ‘२०२४ मा हाम्रो लागि सडक चुनौती भएर खडा भयो । काठमाडौं-चितवन होस् चितवन-बुटवल या पोखरा । सडक अवरुद्ध हुन पुग्दा पर्यटकले सास्ती झेल्नुपर्यो । सडक, बाढी यति धेरै संवेदनशील कुरा हो यसले पर्यटनलाई धक्का हानिहाल्छ । त्यसले गर्दा पनि यो वर्ष अपेक्षाअनुसार भएन,’ उनले भने । अपेक्षाअनुसार पर्यटक नभित्रिँदा चितवनमा पर्यटन व्यवसायीहरू धराशायी अवस्थामा पुगेको उनले बताए । उनका अनुसार यो वर्ष बैंकको ब्याजदर घट्दा त्यसले राहत पुगेपनि धेरै कर्जा हुने व्यवसायीहरुको अवस्था अहिले पनि नाजुक भएको सुनाए । होटल संघ पोखराका अध्यक्ष लक्ष्यमण सुवेदी यो वर्ष ११ लाखभन्दा बढी पर्यटक ब भित्रिनुलाई नराम्रो भन्न नमिल्ने बताउँछन् । तर यसलाई पर्याप्त मान्नुपर्ने अवस्था भने नभएको सुनाउँछन् । उनले भने, ‘जुन हिसाबले धेरै पर्यटक भित्र्याउने अपेक्षा थियो, त्यो गराउन सकेन ।’ केही चार्टड फ्लाइडबाहेक अन्य उडान नियमित गर्न नसकेको उनको गुनासो छ । यो वर्ष पोखरामा मात्रै नभएर नेपालमै पहिलो पटक बेलुन फेस्टिबल सुरु हुनु पर्यटन क्षेत्रको लागि ठूलो अवसर रहेको उनले बताए । त्यसबाहेक यो वर्ष लामो समयदेखि आन्तारिक द्वन्द्वमा फसेको नेपाल पर्यटन बोर्डले नयाँ नेत्तृत्व पाएकोमा यो क्षेत्रको विकासको लागि सकारात्मक पक्ष औंल्याए ।
एघार लाख ४७ हजार पर्यटक भित्रिए
काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।