शाखा प्रबन्धकको गिरफ्तारीको समाचार झुटो भएको सिद्धार्थ बैंकको स्पष्टिकरण
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै ग्राहक, सरोकारवाला र सर्वसाधारणमा यस समाचारले भ्रम सिर्जना गरेको र सत्यतासँग मेल नखाएको जनाएको छ । बैंकका अनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो । तर केही व्यक्तिहरूले ऋणी/जमानतीसँग मिलेर विरोध जनाएका थिए । उनीहरूले पुस ११, १२ र १४ गते बैंकका कार्यालयहरूमा नाराबाजी गरी सेवा अवरुद्ध गरेका थिए । यसपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी छलफलका लागि प्रहरी कार्यालयमा बैठक बसेको थियो । प्रहरी कार्यालयमा छलफलका क्रममा खिचिएको भिडियोको आधारमा शाखा प्रबन्धक पक्राउ परेको झुटो समाचार फैलाइएको बैंकले जनाएको छ । बैंकले यो जानकारी गलत भएको र ऋण असुली प्रक्रिया कानुनी रूपमा अघि बढाइएको स्पष्ट पारेको छ । कानुनी प्रक्रियातर्फ नगई बैंकजस्तो संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुनेगरी वाधा व्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा रहेको छ । साथै बैंकजस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाध रूपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा बैंकले अनुरोधसमेत गरेको छ ।
एसेस कोड १४२४ प्रयोग गरी हुने बाह्यगमन कलमा नयाँ महसुल दर निर्धारण
काठमाडौं । नेपाल टेलिकमले एसेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई पुस १५ गते राति १२:०० बजेदेखि लागू हुनेगरी एसेस कोड १४२४ को महसुल दर करबाहेक प्रति मिनेट ३.७६ रुपैयाँ कायम गरिएको हो । विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि टेलिकमले विभिन्न विकल्पहरू लागू गरेको छ । यसका साथै एसेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने जनाएकाे छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ लगानी गर्ने भएकाे हाे । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले रकम उल्लेख गरी पुस १८ गते ७ बजेभित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ ।
नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, बिरामीका नमूना परीक्षण सुरु
काठमाडौं । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भनेका थिए । सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए । ‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’ उनले भने, ‘अब देशबाहिर नमूना पठाउनु पर्दैन ।’ यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनु पर्ने बाध्यता थियो । यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरुको भनाइ छ । बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नु पर्ने समस्या कम हुने भट्टले जानकारी दिए । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ । भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर प्रयोगशालाले भने ३० हजार रुपैयाँ भित्रै परीक्षण गर्नेछ । नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गरेका थिए । अहिले ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।
३३ अंकले घटेको सेयर बजारमा ५ अर्ब बढीको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार सेयर बजारमा २८ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३०८ कम्पनीको १ करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार प्रभु बैंकको भएको छ । प्रभुको ३५ करोड ९४ लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, नेपाल फाइनान्सको १७ करोड ८७ लाख, जानकी फाइनान्सको १४ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ९४ लाख रुपैयाँ बढीको करोबार भएको छ । मंगलबार उपसमूहमा अन्य सूचकको सेयर मूल्य ०.०६ प्रतिशतले बढेको छ । साथै, १२ वटा उपसचूक राताम्मे रहेकाे नेप्सेले जनाएको छ । वित्त कम्पनीको सेयर मूल्यमा आज उच्च अंकको गिरावट आएको छ । वित्त समूह ५.१९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह २.७७ प्रतिशत र व्यापार समूह ०.९७ प्रतिशतले घटेको छ । बैंकिङ ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ ।
जसले खुट्टा नहुनेलाई हिँडाउँछन्
काठमाडौं । उनलाई पढेर यो काम गर्छु या यो पेसामा लाग्छु, यस्तो बन्छु भन्ने केही लागेको थिएन । अझ अपाङ्गताको विषयमा त उनलाई जानकारी पनि थिएन । गाउँमा कोही अपाङ्गता भएका व्यक्तिलाई देखे पनि यसलाई अपाङ्गता भएको भनिन्छ भन्नेसमेत जानकारी थिएन । तर, अहिले उनै व्यक्ति अपाङ्गता भएका व्यक्तिका सारथी बनेका छन् । उनी हात खुट्टा नभएकाहरूलाई कृत्रिम हातखुट्टा लगायत विभिन्न थरिका सामग्री निर्माण गरी उनीहरूकै सहारा बनिरहेका छन् । उनी अर्थात् प्रल्हादप्रसाद पराजुली । जो बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको कृत्रिम हातखुट्टा प्रत्यारोपण विभाग प्रमुखका रूपमा काम गरिरहेका छन् । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले नेपालमा अपाङ्गता भएका बालबालिका उपचार गरी पुनःस्थापनाको काम गरिरहेको छ भने उनीहरूका लागि आवश्यक कृत्रिम उपकरणहरू (ह्वीलचेयर, क्रचेस, वाकर, प्रोस्थेटिक अङ्गहरू, अर्थोपेडिक जुता) पनि निर्माण गर्दै आइरहेको छ । यसले नेपालभरिका १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिका (आर्थिक अभावले उपचार पाउन नसकेका) को नि:शुल्क उपचार गर्दै आइरहेको छ । साथै मानसिक स्वास्थ्यका विषयमा पनि उपचार गर्दै आएको छ । डा. अशोककुमार बाँस्कोटाले स्थापना गरेको पुनःस्थापना केन्द्रले सुरुवातीदेखि नै कृत्रिम उपकरण निर्माण गरिरहेको छ । प्रल्हाद पनि सुरुवातदेखि नै यो संस्थामा आवद्ध रहेर काम गर्दै आएका छन् । प्रल्हादको घर काभ्रेको पाँचखाल हो । उनी कक्षा ८ सम्म गाउँमै पढे । त्यसपछि उनी काठमाडौं आए । उनी भक्तपुरको सानोठिमी बसेर पढ्न थाले । सन् १९८९ मा एसएलसी पास गरे । एसएलसीपछि उनी मेकानिकल विषय लिएर पढ्न थाले, जहाँ नट कस्ने, मेसिन चलाउनेदेखि मेसिन, गाडीका उपकरण बनाउने तथा मर्मत गर्नेबारे सिकाइन्थ्यो । गाडी मेसिन बनाउने, मर्मत गर्ने कुरा सिकिरहँदा उनलाई भोलि गएर यही क्षेत्रमा काम गर्छु भन्ने लागेको थिएन । उनलाई यति थाहा थियो कि मैले लोकसेवामा नाम निकालेर जसरी भए पनि जागिर खानैपर्छ । उनले त्यहीअनुसार तयारी पनि गरे । र एकै पटकमा सुब्बामा नाम निकाले । तर जागिर भने खाएनन् । सरकारी जागिर खानुपर्छ भन्ने मान्यताले हिँडेका उनी अन्ततः निजी क्षेत्रमै जमे । गुरुको प्रेरणा शिरोपर प्रल्हाद मेकानिकल पढिरहँदा कक्षाको सबैभन्दा राम्रो विद्यार्थी थिए । एकचोटि भनेको कुरा टपक्क टिप्थे । उनलाई पढाउने एकजना शिक्षक जो खगेन्द्र नवजीवन केन्द्रमा आवद्ध थिए । उनलाई खुब माया गर्थे । उनी प्रल्हादलाई ‘तिमी सामग्री निर्माण गर्नेतर्फ काम गर्नुपर्छ, यो क्षेत्रमा लाग्दा राम्रो गर्न सक्छौ’ भन्दै प्रेरणा दिन्थे । आफ्नो गुरुको प्रेरणालाई आत्मसाथ गर्दै उनी अन्त्यमा यही क्षेत्रमा लागे । ‘मलाई यो विषयमा जानकारी नै थिएन, गुरुले नै भनिसकेपछि वचन काट्न सकिनँ,’ उनी भन्छन्, ‘यो क्षेत्र रोजेर खुसी नै छु, दुःखमा परेकाहरूलाई सहयोग गर्न पाएको छु, हिँड्न नसकिनेहरूलाई उभिन सक्ने बनाएको छु । जीवनमा योभन्दा ठूलो आत्मसन्तुष्टि मेरा लागि के होला र ?’ प्रल्हाद यो विषयमा थप ज्ञान हासिल गर्न पाकिस्तान गए । त्यहाँ उनले अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिने कृत्रिम सामग्रीको निर्माणका विषय पढे । तीन वर्ष प्रोस्थेटिक्स र अर्थोटिक्स पढे । त्यसमा मेडिकल विषयहरू पनि पढाइ हुन्छ । नेपाल फर्किएपछि… प्रल्हाद नेपाल फर्केपछि कृत्रिम सामग्री निर्माणमा लागे । त्यो बेला नेपालमा यस्ता सामग्री निर्माण गर्ने व्यक्ति धेरै थिएनन् । देशभर यो विषय पढेर आएकाको संख्या अझ नगन्य मात्रामा थियो । त्यो बेला जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रले अपाङ्गता भएका व्यक्तिहरूका लागि कृत्रिम सामग्रीहरू निर्माण गर्दै आएको थियो । उनी पनि त्यही आवद्ध भएर काम गर्न थाले । त्यो बेला अहिलेजस्तो अपाङ्गता भएका व्यक्ति उपचारका लागि आउने क्रम थिएन । धेरैजसोलाई यसको उपचार हुन्छ भन्ने समेत थाहा थिएन । अहिलेजस्तो सजिलै थाहा पाउने अवस्था त्यो बेला थिएन । ‘अहिले पो सबैको हातहातमा मोबाइल छन्, आफूले बनाएका सामग्री सामाजिक सञ्जालमा राखिएदिए पुग्छ,’ उनी भन्छन्, ‘त्यो बेला यस्ता सामग्रीहरू नेपालमा बन्छन् भन्ने समेत धेरैलाई थाहा थिएन, यस्ता उपकरणबारे सीमित डाक्टर र यो बनाउने मान्छेलाई मात्र थाहा हुन्थ्यो ।’ ३५ वर्षकाे अनुभव ३५ वर्ष यो क्षेत्रमा काम गर्दा प्रल्हादले कति सामग्री निर्माण अनि वितरण भयो भन्नेबारे हिसाब राखेका छैनन् । तर जति निर्माण गरे ती सामग्रीले समस्याबाट गुज्रेकाहरूका लागि पक्कै राहत भयो । कोही जन्मजातैदेखिको अपाङ्गता भएका त कोही विभिन्न दुर्घटनामा परी अपाङ्गता भएका व्यक्तिहरूको अवस्था दुःखदायी छ । प्रल्हादले एउटा घटना अहिलेसम्म पनि बिर्सन सकेका छैनन् । एउटी बालिका हातखुट्टा टेकेर हिँड्थिन । ६-७ वर्ष पुग्दा पनि उनी उभिन सकिनन् । उनी मान्छेको रूपमा जन्मे पनि पशुजस्तै जीवन जीउनुपरेको थियो । यस्तो अवस्थामा अस्पताल आएकी बालिकालाई देख्दा सबैजना छक्क परे । हुन त योभन्दा पनि अझै गम्भीर प्रकारका अपाङ्गता भएका बालबालिका उपचारका लागि अस्पताल पुग्छन् । यस्ता बच्चाहरू जन्मिँदा बच्चाको भन्दा बढी पीडा अभिभावकलाई हुन्छ । उनीहरू एकातिर बच्चाको पीर अर्कोतिर सामाजिक रूपमा अपहेलित भएर बाँच्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थामा अस्पताल पुगेकी बालिकाको यो अस्पतालमा उपचार भयो । प्रल्हादका सामु हातखुट्टा टेकेर हिँड्ने बालिकालाई खुट्टा टेकेर हिँड्न, उभिन सक्नुपर्ने चुनौती थियो । चिकित्सकलाई कसरी सफल उपचार गर्ने भन्ने पीर हुन्छ भने उनलाई कसरी उनको लागि आवश्यक उपकरण बनाउने भन्ने चुनौती । उनी यसका लागि अप्रेसन थिएटरमा चिकित्सकहरूसँगै हुन्छन् । किनकि त्यस्ता बालबालिकाको शारीरिक बनावट हेरर कृत्रिम उपकरण बनाउनुपर्छ । हातखुट्टा टेकेर अस्पताल आएकी बालिका अहिले मान्छे जस्तै हिँड्न थालेकी छन् । उनी यस्ता सयौं बालबालिकाका लागि उपकरण निर्माण थालेका छन् । ‘मैले यस्ता सयौं बालबालिकाको सेवा गरेको छु, अहिले पनि गरिरहेको छु,’ उनी भन्छन्, ‘सरकारी जागिर खाएको भए अबको तीन वर्षपछि म ५०/६० लाख पाएर फर्कन्थें होला तर, यहाँबाट फर्कदा त्यो सुविधा नहोला । मलाई त्योभन्दा बढी आत्मसन्तुष्टि मिलेको छ ।’ कामको सिलसिलामा ७४ जिल्ला टेके प्रल्हाद कामको सिलसिलामा नेपालका ७४ जिल्ला पुगेका छन् । जहाँ अस्पतालको घुम्ती शिविर पुग्ने गर्छ । यो अस्पतालले हरेक जिल्लामा घुम्ती शिविर गर्छ । जहाँ अपाङ्गता भएका बालबालिकाको तथ्यांक संकलन गर्ने र उनीहरूको उपचार गर्ने काम पनि गर्छ । अपाङ्गता भएका व्यक्तिको अवस्था हेरी उपचार गरिन्छ । थेरापी शल्यक्रिया गर्नुपर्ने अवस्था भएका बालबालिकालाई अस्पतालमै आउन सल्लाह दिइन्छ । यस्तै, शिविरमा आवश्यकताअनुसार उपकरणको बारेमा जानकारी दिने काम पनि उनीहरूले गर्छन् । अपाङ्गता भएका बालबालिकाका लागि कृत्रिम उपकरण हुन्छन् भन्नेबारे अझै धेरैलाई थाहा छैन । उनी आफू पुगेको ठाउँमा यस्ता उपकरणहरूबारे पनि जानकारी गराउँछन् । ‘यो विषयमा जानकारी गराउन म मनाङ, डोल्पा र हुम्ला मात्र पुगेको छैन । बाँकी सबै जिल्लामा पुगिसकेको छु, अब तीन जिल्लामा पनि पुग्ने मेरो योजना छ,’ उनले भने । कुन-कुन उपकरण बनाइन्छ ? अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको भवनमा कृत्रिम उपकरणहरू बनाइन्छ । जहाँ सामग्रीहरू उत्पादन गर्ने १२ जना कर्मचारी छन् । उनीहरूले अपाङ्गता भएका व्यक्तिको शारीरिक नाप लिनेदेखि सामग्रीहरू निर्माण गर्ने गर्छन् । अपाङ्गता भएका बालबालिकालाई विभिन्न किसिमका उपकरण चाहिन्छन् । कसैलाई ढाडमा लगाउने ब्रेसेस, पोलियो लागेर लुलो भएकाहरूलाई सपोर्ट दिने ब्रेसेसलगायत विभिन्न उपकरणहरूको नापजाँच लिएर बनाइन्छ । यसका लागि न्युट्रल पोजिसनमा बिरामी राखेर नाप लिनुपर्छ । जन्मजात खुट्टा बांगा भएकाहरूको अप्रेसन गरिसकेपछि विशेष किसिमको जुता बनाउनुपर्छ । जुन एकातिर बाक्लो र अर्कोतिर पातलो हुन्छ । अप्रेसन गरेको कम्तीमा पनि ५ वर्षसम्म यस्तो उपकरणहरू प्रयोग गर्नुपर्छ । यदि यसो गरिएन भने फेरि ७० प्रतिशत पहिलेकै अवस्थामा आउने सम्भावना धेरै हुन्छ । यसलाई विशेष किसिमको अर्थोपेडिक सुज भनिन्छ । यसैगरी, प्रोस्थेटिक उपकरणहरू जस्तै- कृत्रिम खुट्टा ट्रान्सफेमोरल (घुँडामाथिको) र ट्रान्सटिबियल (घुँडामुनिको) कृत्रिम खुट्टा, कृत्रिम हात निर्माण गरिन्छ । बच्चा तथा वयस्कका लागि स्पाइनल ब्रेस, मेरुदण्ड समस्या भएका व्यक्तिका लागि लेग ब्रेसेस, खुट्टाको हड्डी र मांसपेशीको कमजोरी भएकाहरूका लागि कस्टम–फिट ब्रेसहरू बनाइन्छ । शरीरको विशेष आवश्यकताअनुसार मोबिलिटी उपकरणहरू जस्तै- वाकर, चल्न कठिनाइ हुनेहरूका लागि क्रचेस, ह्वीलचेयर बनाइन्छ । यस्तै, सहायक उपकरणहरूमा फुट स्प्लिन्ट हड्डी वा मांसपेशीको समस्या भएकाहरूका लागि कस्टम जुत्ता खुट्टाको संरचनागत समस्या भएका व्यक्तिहरूको लागि, हेयरिङ एड सपोर्ट लगायतका सामग्रीहरू बनाइन्छ । कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइने कृत्रिम सामग्री बनाउन पर्याप्त कच्चा पदार्थहरू नेपालमा पाइँदैन । अधिकांश सामग्रीहरू भारतलगायत विभिन्न देशबाट आयात गर्नुपर्ने बाध्यता छ । कार्बन फाइबर, सिलिकन, टाइटेनियम लगायतका कच्चा पदार्थ विभिन्न देशबाट ल्याउनुपर्ने बाध्यता छ । धेरैजसो कच्चा पदार्थ बाहिरबाट आयात गर्नुपर्ने भएकाले पनि उपकरणहरू महंगो पर्ने गरेको प्रल्हाद बताउँछन् । यस्ता सामग्रीहरूको मूल्य कच्चा पदार्थअनुसार फरक-फरक हुन्छ । एउटा कृत्रिम खुट्टा बनाउनलाई १० हजारदेखि ५० हजारसम्म पर्छ । एउटै पैतला २ हजारको पनि पाइन्छ अनि ८ लाखको पनि पाइन्छ । ‘काम एउटै हो तर अलि सजिलोको लागि जति महंगो उपकरण हुन्छ, त्यति सहज पनि हुन्छ । कुनै कार्बन फाइबरको हुन्छ त कुनै रबरको हुन्छ । यस्तै, कुनै काठको पनि हुन्छ । सामानअनुसार नै मूल्य फरक हुन्छ,’ उनी भन्छन्, ‘एउटै घुँडाभन्दा मुनि लगाउने खुट्टा १५ हजारदेखि लिएर तीन/चार लाखसम्म पनि पर्छ, यसका लागि ठ्याक्कै मूल्य यति भन्न गाह्रो छ । अवश्यक सबै उपकरण त्यहाँ निर्माण हुन्छ ।’ उनका अनुसार हाल यो विभागले दैनिक तीन सयवटा विभिन्न सामग्रीहरू उत्पादन गर्दै आएको छ । जसमा डेढ सय बढी बिरामी अस्पताल आउने गर्छन् । यहाँबाहेक नेपालगञ्ज, लहान र इटहरीबाट पनि यस्ता सामग्री निर्माण गरी वितरण गर्ने गरिन्छ । अवकाश पश्चातकाे योजना प्रल्हाद अबको तीन वर्षपछि यो विभागबाट अवकाश लिँदैछन्। ६० वर्षे उमेरहदका कारण अवकाश पाउन लागेका उनी अब भने आफ्नै व्यवसाय गर्ने सोचमा छन् । हुन त अहिले पनि ललितपुरको ग्वार्कोमा यिनै सामग्री निर्माण गर्ने उनको व्यवसाय छ तर, त्यहाँ उनले समय दिन सकेका छैनन् । अब यो विभागबाट अवकाश पाएपछि आफ्नो व्यवसायलाई बी एण्ड बी अस्पतालभित्र सञ्चालन गर्ने योजनामा छन् । यो अस्पतालमा अहिले पनि विभिन्न दुर्घटनामा परेका बिरामीहरू उपचारका लागि आउने गर्छन् । उनीहरूमध्ये धेरैजनालाई यस्ता सामग्रीको आवश्यकता पर्छ । अहिलेसम्म विशेषगरी अपाङ्गता भएका बालबालिकाका लागि सामग्री बनाउँदै आएका प्रल्हाद अब बी एण्ड बी अस्पतालमा आउने बिरामीका लागि सेवा दिने गरी काम गर्ने योजनामा छन् । उनका दुई छोरी र श्रीमती अष्ट्रेलियामा छन् । उनी र उनका छोरा नेपालमै छन् । उनको छोरा अहिले कक्षा ९ मा पढ्दैछन् । ‘मसँगै सरकारी जागिर खानेहरू अहिले रिटायर्ड भए, उनीहरू रिटयर्ड हुँदा एकमुष्ठ ६०/७० लाख ल्याउँदा रहेछन् तर यहाँ त्यस्तो छैन,’ उनी भन्छन्, ‘मैले पैसाभन्दा कामलाई हेरें, यो ठाउँमा काम गरेर नेपालका ७४ जिल्ला घुम्न पाएँ, त्यहाँको परिवेश बुझन पाएको छु, त्यहाँका अपांगता भएका व्यक्तिले पाएको दुःख देखेको छु ।’
‘मेक अमेरिका ग्रेट अगेन’ नारा ट्रम्पलाई महँगो, प्रतिरक्षा र स्वास्थ्यभन्दा बढी रकम ब्याज तिर्दैमा ठीक्क
काठमाडौं । अमेरिकाको पुनः राष्ट्रपति बन्न लागेका डोनाल्ड ट्रम्पले आफ्नो देशलाई फेरि महान बनाउने वाचा गरेका छन् । तर देशको बढ्दो ऋण यसको सबैभन्दा ठूलो बाधक हो । हाल अमेरिकी संघीय सरकारको ऋण ३६ ट्रिलियन डलर नाघेको छ । यो ऋणको ब्याज तिर्न खर्च हुने रकम देशको रक्षा र स्वास्थ्य बजेटभन्दा बढी हुने अवस्था आएको छ । अब ब्याज रकमभन्दा सामाजिक सुरक्षा बजेटमात्रै बढी छ । यदि यो अवस्था जारी रह्यो भने आगामी तीन वर्षमा अमेरिकी सरकारको सबैभन्दा ठूलो दायित्व ब्याज हुनेछ । पछिल्लो १२ महिनामा अमेरिकाको ब्याज लागत १.१५ ट्रिलियन डलर पुगेको छ, जुन देशको रक्षा र स्वास्थ्य बजेटभन्दा ३०० अर्ब डलर बढी हो । आधिकारिक तथ्यांकअनुसार देशको कुल ऋण ३६ ट्रिलियन डलर नाघेको छ, जुन देशको कुल ग्राहस्थ्य उत्पादनको १२५ प्रतिशत हो । ब्युरो अफ इकोनोमिक एनालिसिसको तथ्यांकअनुसार अमेरिकी सरकारको राजस्वको १८ प्रतिशत ऋणको ब्याज तिर्न मात्रै जाने गरेको छ । यो ३० वर्षयताकै उच्च हो । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । खर्च कसरी कम हुन सक्ला ? अमेरिकी सरकारको संघीय बजेट ६.७५ ट्रिलियन डलर छ, जसमध्ये सामाजिक सुरक्षा, मेडिकेयर र स्वास्थ्य सेवाको आधा हिस्सा छ । देशको ऋणको ब्याज मेडिकेयर र रक्षा खर्चभन्दा बढी भएको छ । अब योभन्दा सामाजिक सुरक्षाको बजेट मात्रै बाँकी छ । अमेरिकामा ७.३ करोड जनताले सामाजिक सुरक्षा पाएका छन् । देशको ऋण दैनिक ६ अर्ब ३ करोड डलरले बढिरहेको छ । प्रत्येक अमेरिकी नागरिकसँग १ लाख ८ हजार ऋण छ । ट्रम्पले सरकारी खर्च कटौती गर्न र सरकारी दक्षता बढाउन नयाँ विभाग, डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी स्थापना गर्ने घोषणा गरेका छन् । यसको कमाण्ड विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क र विवेक रामास्वामीलाई दिइएको छ । ट्रम्पको चुनावी प्रचारका क्रममा मस्कले सरकारी बजेटमा अर्बौं डलर बचत गर्न सक्ने बताएका थिए । अहिले उनले सरकारी खर्च कटौती गर्ने कुरा गरेका छन् । यसमा सार्वजनिक प्रसारण र गर्भपतन अधिकार समूहहरूलाई दिइएको पैसा समावेश छ ।