विकासन्युज

ट्राफिक लाइटको शुरुवातसँगै बुटवलमा ट्राफिक जाम हट्ने विश्वास

काठमाडौं । बुटवलको ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइटको उद्घाटन भएको छ । ट्राफिक चोकसहित मिलन चोक र कालिकानगरमा जडान गरिएको ट्राफिक लाइटको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको ट्राफिक व्यवस्थापनका लागि हाल ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गरिएको भन्दै आगामी दिनमा गोलपार्क, हस्पिटल लाइन, राजमार्ग चौराह, योगिकुटीलगायतका ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी गराए । उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भीडभाड हुने कालिकानगरस्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकताअनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्दै जाने बताए । सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउँदै उनले दोस्रो चरणमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गरे । बुटवललाई सफा, स्व्च्छ, हरियाली, उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको भन्दै उनले राजमार्ग चौराह–गोलपार्क–चिडयाखोला–चिडयाखोला सडक विस्तार कार्य सकिएपछि बुटवलको मुहार फेरिने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए । बुटवलको कालिका चोक, मिलनचोक लगायतका ठाउँमा धेरै दुर्घटनाहरू हुने गरेको भन्दै उनले ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाको वार्षिक योजनाअनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।

साना किसानहरूलाई धितोबिना ऋण प्रदान गर्न ‘खेती’ मा आध्यन्तको २ करोड लगानी

काठमाडौं । आध्यन्तले कृषि-फिनटेक कम्पनी डीभी एक्सेलसमा २ करोड रुपैयाँको लगानी घोषणा गरेको छ । यो लगानीले कम्पनीको प्रमुख प्लेटफर्म ‘खेती’लाई समर्थन गर्नेछ, जसले साना किसानहरूलाई २ लाख रुपैयाँसम्मको धितोबिना ऋण प्रदान गरेर नेपालको कृषि क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । खेती एपले कृषि सेवा र वित्तीय उत्पादनको व्यापक सुविधा प्रदान गरी किसानहरूलाई गुणस्तरीय उत्पादनमा पहुँच पुर्‍याउँछ र व्यावसायिक रूपमा लाभदायक खेती अभ्यासतर्फ रूपान्तरण गर्न सघाउँछ । आध्यन्त एक प्रमुख निजी इक्विटी र भेन्चर क्यापिटल फर्म हो । यो कदम साना किसान र कृषि व्यवसाय (सीएएसए) कार्यक्रमको लागि एक महत्त्वपूर्ण उपलब्धि हो, जसलाई विदेशी राष्ट्रमण्डल विकास कार्यालय (एफसीडीओ)ले समर्थन गरेको छ र नेपालमा स्विस कन्ट्याक्टद्वारा कार्यान्वयन गरिएको छ । सीएएसए कार्यक्रमले कृषि व्यवसायहरू र निजी क्षेत्रको लगानीबीचको खाडललाई कम गर्दै नेपालको कृषि क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) लगानी आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । ‘यो लगानीले प्रणालीगत परिवर्तनमा सहकार्यको शक्तिलाई दर्शाउँछ,’ सीएएसएका देश प्रबन्धक मनीषविक्रम शाहले भने, ‘पीईभीसी फर्महरूलाई डीभी एक्सेलसजस्ता कृषि व्यवसायहरूसँग जोडेर हामी कृषि क्षेत्रमा लगानी मात्र बढाइरहेका छैनौं, साना किसानहरूको दीर्घकालीन फाइदालाई पनि सुनिश्चित गर्दैछौं ।’ स्विस कन्ट्याक्टका दक्षिण र दक्षिणपूर्व एशियाका समावेशी वृद्धि प्रमुख सिद्धार्थ खडाले थपे, ‘स्विस कन्ट्याक्ट सधैं विकास प्रभावका लागि निजी क्षेत्रलाई परिचालन गर्न अग्रस्थानमा रहेको छ । र यो खेतीमा गरिएको लगानीले यसको उदाहरण दिन्छ।’ कृषि नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को लगभग ३० प्रतिशत हिस्सा ओगट्छ तर साना किसानहरूले प्रायः वित्तीय पहुँच र गुणस्तरीय उत्पादनमा महत्वपूर्ण बाधाहरूको सामना गर्नुपर्छ । आध्यन्तका प्रबन्ध निर्देशक मनोज पौडेलले खेतीजस्ता कृषि-प्रविधि नवप्रवर्तनहरूको समर्थनले यी चुनौतीहरू पार गर्न र क्षेत्रको वृद्धि सम्भावनालाई खुला गर्न महत्त्वपूर्ण रहेको बताए । सुरु भएदेखि डीभी एक्सेलसले एक हजारभन्दा बढी किसानहरूलाई १५ करोड रुपैयाँभन्दा बढी ऋण वितरण गरेको छ र हाल १५ हजारभन्दा बढी सक्रिय किसानहरूलाई सेवा प्रदान गर्दै आएको छ । नयाँ लगानीले कम्पनीको प्रयासलाई तीव्रता दिने अपेक्षा गरिएको छ, जसले साना किसानहरूलाई आत्मनिर्भर खेतीबाट थप दिगो, लाभदायक व्यावसायिक सञ्चालनतर्फ रूपान्तरण गर्न आवश्यक उपकरण, बीउ, र मलहरू प्रदान गर्नेछ । ‘यो साझेदारी एक खेल परिवर्तनकर्ता हो,’ डीभी एक्सेलसका सह-संस्थापक तुलसी गिरीले भने, ‘यो लगानीले हामीलाई हाम्रो सञ्चालनलाई विस्तार गर्न र हजारौं किसानहरूलाई उनीहरूको उत्पादनशीलता र लचिलोपन सुधार गर्न सशक्त बनाउनेछ, जसले नेपालको कृषि क्षेत्रको आर्थिक वृद्धिलाई अघि बढाउनेछ ।’

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको जनाएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा सेयर निष्कासन गर्ने छ। सेयर निष्कासनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

रिसोर्टजस्तै अस्पताल, कोठाबाट सुरू हुँदै २०० रोपनीमा विस्तार

काठमाडौं । हाइवे सडकभन्दा केही मिटर भित्र । हिँडेर जाँदा करिब ५ मिनेट जति लाग्छ । बाहिरको गेटमै उभिएका छन् सशस्त्र प्रहरी । गेट बन्द छ । सानो बाइक छिर्ने र मान्छे हिँड्न मिल्नेसम्मको बाटो खुला । गेटमा पुग्नेबित्तिकै सोधिन्छ- केको लागि होला ? कामकुरो भनिसकेपछि भित्र जाने अनुमति पाइन्छ । बाहिरको गेट कट्नेबित्तिकै भित्र खुला ठाउँ देखिन्छ । बाहिरको गेटबाट अनुमति पाएर भित्र पस्दा अर्को ठूलो गेट आउँछ । झट्ट हेर्दा कुनै रिर्सोटजस्तो सफा, चिटिक्क, हरियालीसुन्दर पार्क, पार्किङ ।  शान्त वातावरण, कोही फाट्टफुट्ट ओहोरदोहोर गरिरहेको देखिन्छन् । यो दृश्य हेर्दा लाग्दैन कि यो कुनै अस्पताल हो । जसले दिनहुँ हजारौंको उपचार गर्छ । तर, ओपीडी इमर्जेन्सीमा पुग्दा अलि भीडभाड देखिन्छ । अन्य अस्पतालजस्तो घुइँचो यहाँ छैन । बुधबार देखिएको यो दृश्य हो- काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहेको नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको । 

आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्नेे घोषणा गरे । उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने जानकारी दिए । ‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्नेकुरा पनि महत्वपूर्ण विषय हो । उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरुले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरुमा, उपचार संस्थाहरुमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गराैँ,’ उनले भने । मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको जानकारी दिए ।

विद्यार्थी उद्यममा, सारथी बन्दै नबिल एसएसई

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाका उज्जल कार्की सानैमा काठमाडौं छिरे । राजधानीबाट नजिकैको जिल्ला भएपनि काठमाडौं आउन भने २ दिन लाग्छ । ६ वर्षको हुँदा काठमाडौं आएका उनको बाल्यकाल पनि यहीं बित्यो । छोरालाई राम्रो शिक्षा दिने बुवाको सपनालाई साकार पार्दै उनी बागेश्वरी कलेजमा बीबीए पढिरहेका छन्, उनी  छैटौं सेमिस्टरमा पुगिसकेका छन् । सानैदेखि गाउँबाट टाढा रहेपनि उनको लगाव कृषिमा थियो । कृषिमा आफू प्रत्यक्ष संलग्न नरहेपनि यही क्षेत्रमा काम गर्ने उनमा हुटहुटी छ । गाउँको कृषिलाई सहरका घरघरमा पुर्‍याउने उनको चाहना छ । ‘मलाई सानैदेखि कृषिमा काम गर्ने इच्छा हो । मेरो दाइ पनि कृषिको विद्यार्थी हुनुहुन्छ । सानैदेखि कृषि नै देख्दै आएको हो । यो क्षेत्रमा काम गर्‍यो भने केही छ है भन्ने लाग्छ,’ कलेज पढ्दै गर्दा कृषिमा केही काम गर्ने सोच बनाएको विषय उल्लेख गर्दै कार्कीले भने, ‘कलेज पढ्दै गर्दा कृषिसँग सम्बन्धित केही काम गर्ने अवधारणा बनाइसकेको थिएँ । तर, कार्यान्वयन ल्याउन सकेको थिइनँ ।’ एकदिन कक्षामा शिक्षकले नबिल बैंकको नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)मा भर्ना खुलेको विषय जानकारी गराए । उद्यमी बन्छु भन्ने सोच बनाइरहेका कार्कीलाई ‘ढुङ्गा खोज्दा देउता भेटे’ जस्तै भयो । व्यवसाय गर्ने अवधारणा बनाइरहेका उनलाई कसरी उद्यमी र कसरी व्यवसायी बन्नुपर्छ भन्ने विषयमा जानकारी थिएन । ‘नबिल एसएसईको बारेमा केही थाहा थिएन, म्यामले नबिल एसएसईमा भर्ना खुलेको छ, सामाजिक उद्यमी बन्ने चाहना वा समाजमा बसेर समाजको फाइदाका लागि केही गरौं भन्ने सोच छ भने आवेदन दिँदा हुन्छ भन्नुभयो,’ कलेजमा म्यामले भनेको कुरालाई सम्झिँदै उनले भने, ‘मैले आवेदन दिएँ र छनोट पनि भएँ, शनिबार कक्षा हुन्थ्यो, म सधैं सहभागी हुन्थें ।’ गाउँको उत्पादनलाई बजारसम्म पुर्‍याउने, गाउँको अर्गानिक वस्तुलाई सहरका घरघरमा पुर्‍याउने, गाउँका किसानलाई आर्थिक लाभ दिने र सहरका मान्छेलाई अर्गानिक वस्तु खुवाउने उनको कागजी योजना थियो । नबिल एसएसईमा सहभागी भइसकेपछि भने उनले सो योजनालाई कार्यान्वयनमा ल्याए । सञ्चालनमा गरे ‘खुम्बु अर्गानिक्स’ । ‘खुम्बु अर्गानिक्स कागजमा मात्रै थियो । यस्तो गर्नुपर्छ भन्ने सोच मात्रै थियो । तर, के गर्ने, कसरी गर्ने केही स्पष्ट थिएन, नबिल एसएसईमा सहभागि भएपछि व्यवसाय सञ्चालनको बारेमा थाहा पाएँ र ‘खुम्बु अर्गानिक्स’ सञ्चालन ल्याएँ,’ कार्कीले भने । नबिल एसएसईमा के-के सिकाउँछ ?  कार्कीका अनुसार नबिल एसएसईले व्यवसाय विकासदेखि सञ्चालन कसरी गर्ने भन्ने विषय सिकाउँछ । र, व्यवसाय बन्द गर्नुपर्‍यो भने कसरी गर्ने भन्ने समेत सिकेको उनले बताए । ‘मुख्य भनेको सामाजिक उद्यमी जन्माउने हो । नाफा कमाउनेभन्दा पनि समाजमा केही योगदान रहनुपर्छ,’ उनले भने, ‘खुम्बु अर्गानिक्सले गाउँको उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने काम गरिरहेको छ, अर्गानिक वस्तुका बारेमा चिनाउने काम गरेको छ । यसले कृषकलाई पनि फाइदा भयो ।’ कार्कीका अनुसार सामान्य जीवन धान्न भइरहेको ग्रामीण क्षेत्रको कृषिको बजारीकरण भएको छ । अहिले गाउँमा उत्पादन भएका वस्तुहरूले पनि मूल्य पाइरहेको उनले सुनाए । खुम्बु अर्गानिक्सको अवधारणालाई व्यवसायमा ल्याउन नबिल एसएसईको भूमिका रहेको उनको भनाइ छ । ‘गोल सेटअप, कार्यान्वयन, जनशक्ति व्यवस्थापन, पोजेक्ट म्यानेजमेन्ट, मार्केटिङ कसरी गर्ने लगायत सबै विषय नबिल एसएसईले सिकाएको हो,’ उनले भने, ‘संस्था खोल्नुपर्दा कानुनी प्रक्रिया के-के पुरा गर्नुपर्छ र बन्द गर्नु पर्‍यो भने कसरी बन्द गर्नुपर्छ समेत सिकाउँछ ।’ खुम्बु अर्गानिक्सले विशेषगरी गाउँमा हुने सबै उत्पादिन वस्तुलाई काठमाडौं ल्याएर होलसेल तथा रिेटेलमा बिक्री गर्ने गर्छ । गाउँका १५ भन्दा बढी अर्गानिक वस्तु ल्याएर सहरका घरघरमा पुर्‍याइरहेको उनको दाबी छ । खुम्बु अर्गानिक्स सञ्चालनमा ल्याएको तीन महिना भयो । यसअवधिमा उनले लुक्ला सिमी २ टन र ८० टन आलु गाउँबाट ल्याएर बिक्री गरिसकेका छन् । ‘गाउँमा उत्पादन भएका सिस्नोको धुलो, गुन्द्रक, मह, घ्यू, जिम्बु, टिमुर, फाँपर, आलु, लुक्ला सिमी, छुर्पी लगायत १५ वटाभन्दा बढी वस्तुहरू ल्याउँछौं, जसमा फर्टिलाइजर प्रयोग भएको हुँदैन,’ कार्कीले भने, ‘काठमाडौं ल्याएर हामीले प्याकेजिङ गर्छौं । जस्तो किसानबाट आलु किनेर ग्रेडिङ गरिन्छ र बजारमा बिक्री गरिन्छ ।’ पाटन क्षेत्रमा अपार्टमेन्ट व्यवसाय राम्रो फस्टाएको छ । पाटनका रैथाने अमन सागर श्रेष्ठलाई आफ्नो संस्कृति झल्किने गरी अपार्टमेन्ट व्यवसाय गर्ने इच्छा थियो । सिभिल इन्जिनियरका विद्यार्थी उनी ‘विश्राम अपार्टमेन्ट’ व्यवसाय सञ्चालन गरिरहेका छन् । तर, उनका लागि व्यवसाय नौलो विषय थियो । उनको अपार्टमेन्टबाट अपेक्षाअनुसार व्यवसाय हुन सकेको थिएन । जब उनी नबिल एसएसईमा आवद्ध भएर सर्टिफिकेट कोर्स पुरा गरे तब उनको व्यवसायमा धेरै परिवर्तन आएको छ । ‘नबिल एसएसईमा जोडिनुभन्दा अगाडि र जोडिएपछि व्यवसायमा धेरै फरक छ । पहिला अपार्टमेन्ट खोज्दै आउँदा हामीकहाँ ठोकिन्थे भने नबिल एसएसईमा आवद्ध भइसकेपछि अहिले विश्राम अपार्टमेन्ट खोज्दै आउनुहुन्छ,’ श्रेष्ठले भने, ‘पहिला पनि मार्केटिङ र ब्राण्डिङमा जोड दिएको थिए । तर, ग्राहकहरू खोज्नुपर्थ्यो । नबिल एसएसईमा जोडिसकेपछि भने नेटवर्क पनि बढेको छ ।’ उनी रोट्याकमा आवद्ध छन् । रोट्याकमै आवद्ध एक जनाले श्रेष्ठलाई नबिल एसएसईमा सर्टिफिकेट कोर्स लिएपछि व्यवसाय सञ्चालनमाा सहज हुने सुझाव दिएका थिए । उनले उक्त कोर्सका लागि आवेदन दिए र व्यवसाय सञ्चालनका विषयमा सिकेपछि उनको कारोबार पनि बढेको छ । ‘मलाई नबिल एसएसईको बारेमा जानकारी थिएन । भोलुन्टरी म्यानेज गरिरहनु भएका अनुप दाइले जान सुझाव दिनु भयो । म पनि भर्खर व्यवसाय सुरु गरिरहेकाले आवेदन दिएँ,’ उनले भने, ‘जताततै उद्यमीका विषय आइरहेका छन् । तर, नबिल एसएसई बिल्कुलै फरक  । समाजलाई जोडेर व्यवसाय गर्न सिकाउँछ, विभिन्न काम दिन्छ ।’ मार्केटिङ र ब्राण्डिङ नबिल एसएसईबाटै सिकेको श्रेष्ठ बताउँछन् । साथै ब्राण्ड बनिसकेपछि कस्ता फाइदा हुन्छन्, नेटवर्क विस्तार लगायतका विषयमा जानकारी भएको उनले बताए । यसअघि भएका कमजोरी बुझ्ने अवसर पाएको उनको भनाइ छ । सुरुवातमा खेपेका चुनौतीलाई अर्को व्यवसाय सञ्चालन गर्दा नआउने गरी सहज भएको उनले सुनाए । ‘अहिले अधिकाशं मान्छे विदेश गइरहेका छन् । यहीं केही गर्छु भन्नेलाई पक्कैपनि सरकारले यस्ता तालिमको व्यवस्था गर्नुपर्छ, उद्यम तथा व्यवसाय सञ्चालन गर्दा हुने कमजोरी केलाई सही दिशातर्फ डोर्‍याउन नबिल एसएसईको मुख्य सिकाइ छ,’ उनले भने । उनकाे अपार्टमेन्टमा बेडरुम, बाथरुम, लिभिङ हल र किचेन हुन्छन् । एक/दुई रातभन्दा पनि मासिक वा वार्षिक रूपमा बस्न चाहनेका लागि भाडामा दिने गरिन्छ । विदेशीका लागि एक रातको २० डलरदेखि ३० डलरसम्मको मूल्य तोकिएको छ । जसमा १५ दिनसम्मका लागि १० प्रतिशत, मासिक रूपमा २० प्रतिशत छुट दिने गरिएको छ । तर, नेपालीहरूका लागि भने २ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँ लिने गरिएको छ । ‘अपार्टमेन्ट एक/दुई दिनभन्दा पनि मासिक रूपमा बस्न चाहनेका लागि हो । जो लामो समयसम्म बस्न आउनु हुन्छ । लामो समयसम्म बस्ने भएपछि आफ्नै किचेन प्रयोग गर्नुपर्ने हुन्छ । बाहिरी खाना खान महँगो पनि पर्ने हुन्छ । त्यसैले किचेन पनि सेटअप गरिएको हुन्छ । साथै वासिङ मेसिन पनि राखिएको हुन्छ । जसमा बस्दा आफ्नै घरमा बसेको महसुस हुन्छ,’ उनले भने । उनको अपार्टमेन्टमा नेवारी संस्कृतिका विभिन्न सांकेतिक वस्तुहरू पनि राखिएका छन् । खाना, खाजादेखि ससानो वस्तु नेवारी संस्कृतिसँग जोडिएका छन् । भक्तपुर सूर्यविनायककी निस्था कायस्थको सानै उमेरदेखि व्यवसाय गर्ने हुटहुटी थियो । तर, परिवारमा कसैले पनि व्यवसाय गरेका थिएनन् । तैपनि उनले बिजनेश विषय पढिन् । बिजनेश पढाइपछि कायस्थले सन् २०१९ नोभेम्बरमा ‘दिदीबहिनी क्रेसन’ व्यवसाय सुरु गरिन् । बिडम्बना बजारमा सामान ल्याउन नपाउँदै कोरोना सुरु भयो । उनले हार नमानी कोरोनालगत्तै व्यवसाय दर्ता गरिन् । ‘विगतमा नेवार समुदायमा हाते तानमा आफै कपडा बुनेर लगाउँथे । तर, पछिल्लो समय हाते तान लोप हुँदैछ । उनले सोही हाते तानको प्रयोगबाट कपडा उत्पादन गर्न थालिन् । हाते तान सीप भएका महिलाहरूलाई पनि आर्थिक रूपमा सबल बनाइन् । वातावरणमैत्री कपडा उत्पादन गरिन् । सुरुमा मार्केटको चुनौती खेप्नुपरेको उनले सुनाइन् । ‘केटी मान्छेले पनि व्यवसाय गर्न सक्छ त भन्थे, विश्वास जित्न गाह्रो थियो । मूल्य कसरी राख्ने ? बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था थियो । चाइनिज कपडाले बजार ओगटेको छ । तर, चाइनिज सामग्रीलाई प्रतिस्पर्धी बनाइन्,’ उनले विगतका अनुभव सुनाइन् । कायस्थले हार मानिनन् । प्रत्येक महिना थप नयाँ प्रडक्ट ल्याउने लक्ष्य राखिन् । आफै कपडा बुनेर लगाउने नेवार समुदायको हाते तानलाई उनले जीवित मात्रै राखेकी छैनन्, अशिक्षित महिलाहरूलाई समेत काममा व्यस्त बनाइन् । उनले उत्पादन गरेका कपडा यूरोपका विभिन्न देशसँगै अमेरिकासमेत पुर्‍याइएका छन् । उनका अनुसार दिदीबहिनी क्रेसनमा शतप्रतिशत कटनका लुगा उत्पादन हुन्छन् । कायस्थलाई परम्परागत हाते तान विधि जोगाउने र महिलालाई आर्थिक रूपमा सबल बनाउने योजनामा दिदीबहिनीले नै साथ सहयोग दिए । त्यसैले व्यवसायको नाम नै ‘दिदीबहिनी क्रेसन’ राखेको उनले सुनाइन् । उनी बागेश्वरी अलेज अफ म्यानेजमेन्ट र खोप कलेजमा बीबीए र बीबीएम पढाउँछिन् । नबिल एसएसईका बारेमा यताकता सुनेकी उनले समय मिल्ने भएपछि सर्टिफिकेट कोर्सका लागि आवेदन दिइन् । नबिल एसएसईको सर्टिफिकेट कोर्समा व्यवसाय सञ्चालन गर्दा के-कस्ता कानुनी प्रक्रिया अपनाउनुपर्छ भन्ने विषयमा स्पष्ट भएको उनले बताइन् । नबिल एसएसईले सिद्धान्तभन्दा पनि क्रियाकलापमा बढी जोड दिने गरेको छ । व्यवसाय भित्रै रहेर क्रियाकलाप गर्न लगाइएको उनको अनुभव छ । ‘मार्केटिङ र ब्राण्डिङ विषयमा विशेष सिक्न पाइयो । धेरै गेम खेलाउने, कार्यमूलक ओरिन्टेसन गराइन्थ्यो, जसले गर्दा यस्तो हुँदो रहेछ है भन्ने थाहा पाइने भयो, नेटवर्किङ पनि बढेको छ,’ उनले भनिन्, ‘आफ्नो व्यवसायलई कसरी सञ्चालन गर्ने, कुन-कुन ठाउँमा लुपहोल थियो, कमीकमजोरी के थिए, कसरी लैजानुपर्छ भन्ने ज्ञान १४ हप्ताको कोर्सबाट सिकेकी छु ।’ कायस्थका अनुसार वित्तीय व्यवस्थापन र लगानी कसरी जुटाउने समेत सिकाइन्छ । नबिल एसएसईको कोर्सबाट आफ्नो व्यवसायमा ठूलो प्रभाव परेको समेत उनले सुनाइन् । ‘फेलोसिपमा पनि सहभागी छु । पुरानो कुरालाई गहिराइमा पुगेर सिकिरहेको छु । आफ्नै व्यवसाय के हो, कस्तो हुन्छ भन्ने विषय सिकिरहेकी छु । पढ्ने बेलामा अरूको उदाहरण पढिन्थ्यो भने अहिले आफ्नै व्यवसायमा बसेर वर्कआउट गर्दैछु,’ उनले भनिन्, ‘पहिला म कन्ट्रयाक्ट बनाउँदिनँ थिएँ । अहिले क्लाइन्टसँग कन्ट्याक्ट बनाउन सक्ने भएँ । के गलत के सही हो भन्ने थाहा पाएँ ।’ फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स  बैंकले खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम नबिल बैंकले एउटा अवधारणा बनायो- सामाजिक उत्तरदायित्वअन्तर्गतको निश्चित रकम सामाजिक उद्यमशीलता प्रवर्द्धनमा खर्च गर्ने । बैंकले सन् २०२१ नोभेम्बर २६ मा नबिल स्कूल अफ सामाजिक उद्यमशीलता (नबिल स्कुल अफ सोसियल इन्टरपेर्नियरसीप- नबिल एसएसई) योजनाको सुरुवात’ गरेको थियो । जसअन्तगर्त बैंकले फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुइटा कार्यक्रम गरिरहेको छ । नबिल बैंकले तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेर उद्यमीहरूलाई फेलोसिप प्रदान गर्दै आएको छ । बैंकले हालसम्म चौथों चरणको फेलोसिप प्रदान गरिसकेको छ । प्रत्येक वर्ष फेलोसिपका लागि बैंकले विभिन्न माध्यमबाट आवेदन आह्वान गर्छ । आवेदन दिएका उम्मेदवारहरूमध्ये प्रतिस्पर्धात्मक प्रक्रियाका आधारमा २० जना छनोट गरी फेलोसिप कार्यक्रममा सहभागी गराइन्छ । फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । बैंकको फेलोसिपका लागि जुनसुकै क्षेत्र जस्तैः कृषि, वातावरण, संस्कृति, उर्जा, पर्यटन, आईटी आदि क्षेत्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । छनोट भएका व्यक्तिलाई बैंकले फेलोज भन्ने गरेको छ । प्रत्येक फेलोजलाई सम्बन्धित क्षेत्रको ज्ञान, अनुभव, सीप भएको एक जना विज्ञलाई मेन्टरका रूपमा गाइड उपलब्ध गराउँछ । नबिल एसएसई कार्यक्रमअन्तर्गत रहेको सर्टिफिकेट कोर्सका लागि बैंकले सातै प्रदेशमा विभिन्न ११ वटा कलेजहरूसँग सम्झौता गरेको छ । नबिल फेलोसिप कार्यक्रम जस्तै सर्टिफिकेट कोर्सका लागि सम्बन्धित कलेजले आवेदन आह्वान गर्छ । स्थानीयस्तरमा उद्यम गरिरहेका उद्यमी, सामाजिक उद्यमशीलतामा काम गर्न चाहना भएका व्यक्ति, विद्यार्थी, जो कोहीले पनि यसमा आवेदन दिन सक्नेछन् । उद्यमी बन्ने सोंचको विकास गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो । तीन महिनाको अवधिमा १४ दिनसम्म यो कोर्स चलाइँदै आइएको छ  । एउटा ब्याच (एक चरण)मा २५ जना सहभागी गराइने र बैंकले सम्झौता गरेको कलेजमा तालिम दिने गरिन्छ ।

महिला लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसंगै सेयरधनीको हात खाली हुने भएको छ । पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

झापामा सीमास्तम्भ मर्मत गरिँदै

बनियानी । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उनले बताए । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।