महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्यो उतै हराभरा छ ।
हराभरा बगरमा कतै गहुँ लहलह बढ्दैछ । कतै आलु धमाधम खनिँदै छ । किसानले जैविकखेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्छन् । अहिले यहाँका किसानलाई उपभोक्ता ग्राहकलाई आलु तौलेर दिन भ्याइनभ्याइ छ । ‘आलु लिने धेरैजसो खेतमै आइपुग्छन्’, आलुखेतीका किसान चन्द्रकला महरा भन्छिन्, ‘बगरखेती थालिकन गुजाराकै चिन्ता लिनुपरेको छैन’, बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन् ।
‘हामीसँग आफ्नो जग्गा थिएन, नगरपालिका र अरु संस्थाको सहयोगले खेती गर्ने जग्गा र अन्य सहयोग पायौँ, अब कसैकहाँ मजदुरी गर्न जान परेको छैन’, महतो भने, ‘हामी मजदुरलाई बगरखेतीले किसान बनायो ।’ बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने जाति समुदायको परिचय बनेका मुसहर पनि उम्दा किसानमा दरिएका छन् । मधेसमा मुसहरका लागि ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने आहानै छ । कृषि कार्यमा पोख्त मानिने मुसहरको किसानका खेतमा मजदुरी गरेर गुजारा चलाउने स्थापित परिचय छ । पछिल्लो कालमा सनीखोलाको नदीउकास जग्गा पाएपछि आफ्नै खेती थालेका मुसहर अन्न र नगद सञ्चय गर्न सक्षम भएका छन् ।
‘नदीउकास बगर पाएको पहिलो वर्ष त ढुङ्गा, गेग्य्रान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ’, कुष्माढीका मुसहर समुदायकी ३५ वर्षीया कविता सदा भन्छिन्, ‘अब जहान परिवारको प्रतिपाल यही बगर खोस्रेर पुग्छ ।’ पहिलेको बलौटे ढड्यान जग्गा नियमितको खनजोत, सिँचाइ र जैविक मलले अब उर्बर जग्गा बनेको छ । उत्तरतिर वनक्षेत्रसँगै जोडिएको यो जग्गामा वनक्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमै हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेको गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामी बताउँछन् ।
केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरुको मेहनतले नदीउकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतोको भनाइ छ । बगरखेतीका किसानलाई नगरपालिकाले गरेको सहयोग खेर नगएको हुँदा यस कामले आफूलाई निकै हौस्याएको डा महतो बताउँछन् । ‘किसानका साथमा नगरपालिका छ, मेहनत किसानले गर्छन्, साथ हाम्रो रहन्छ’, डा महतोले भने ।
यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि आफ्नो संस्थाबाट बगरखेतीका किसानलाई साथ सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । ‘हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहीरहे हामी बगरमा सुन फलाउँछौँ’, कुष्माढीकी किसान बिना पासवान भन्छिन् । सनीखोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाबाट किसान समूह त्यहाँ पुग्ने गरेका छन् । रासस