
काठमाडौं । नेपालमा स्थापित व्यावसायिक समूह गोल्यान ग्रुपले सोलारबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । भारतीय सोलार कम्पनी प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य गर्दै गोल्यानले बिजुली उत्पादन गर्न लागेको जानकारी दिएको हो ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गोल्यान ग्रुपले बिजुली उत्पादनका लागि भारतीय कम्पनीसँग सहमति भइसकेको बताउँदै नेपालमा सोलार बिजुलीको आवश्यकता र महत्त्वका विषयमा जानकारी गराएको छ ।
प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ, जुन देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्वपूर्ण कदम हुनेछ।
शिखर सम्मेलनमा बोल्दै प्रोजिल ग्रिन इनर्जीका अध्यक्ष शोवित वैजनाथ रायले नेपालमा स्वच्छ ऊर्जा र दिगोपनाका लागि बिजुली उत्पादन गर्न सहकार्य गर्न पाउँदा खुसी भएको बताए । उनले भने, ‘नेपालको स्वच्छ ऊर्जा र हरियाली भविष्यका लागि यो सहकार्यले मद्दत गर्नेछ ।’
गोल्यान ग्रुपले आगामी १८ महिनासम्म नेपालमा सोलारबाट ५ सय मेगावाट बिजुली निकाली सक्ने दाबी गरेको छ । कार्यक्रममा बोल्दै विद्युत नियामक आयोगका अध्यक्ष रामप्रसाद धितालले नेपालको नवीकरणीय ऊर्जामा उत्साह थपिएको बताए ।
यस्तै, कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले अर्को वर्ष नेपालमा अर्को वर्ष नेपालमा एक हजार बिजुली उत्पादन गर्न सकिने बताए ।
गोल्यान ग्रुपले भारतकै रिनर्गो डेभलपर्स साझेदारीमा नेपालगञ्जमा २० मेगावाटको सोलार प्लान्ट स्थापना गरिसकेको छ । यसरी उत्पादन गर्दै आएको बिजुली विद्युत प्राधिकरण र विभिन्न व्यावसायीक उपभोक्तालाई बिक्री गर्ने जनाएको छ ।
कार्यक्रममा इप्पानका अध्यक्ष कार्कीले गोल्यान समूहले ५ सय मेगावाट विद्युत उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए । ‘हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्को वर्षमा १ हजार मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौं भन्ने लाग्यो,’ उनले भने, ‘यस्तो भएमा मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने छ ।’
अहिले ८ सय मेगावाटको टेण्डर भइसकेपनि मुद्दा मामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै यस्ता समस्या हटाउन सरकारले हस्तक्षेप गर्नुपर्ने बताए । विद्युत विधेयक बन्दै गरेको तर यसमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सोपानका अध्यक्ष डा. सन्दीप शाहले ऊर्जाको विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेख्यनीय हुने बताए । उनले नेपालका केही क्षेत्रहरू सोलार ऊर्जा उत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए । ट्रान्समिसन लाइनको समेत सहज पहुँच गराएर मुस्ताङ लगायतका ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने उनको भनाइ छ । सौर्य ऊर्जा उत्पादनका लागि केही समस्याहरू समेत रहेकाले सरकारले नीतिगत रुपमा त्यस्ता समस्याहरूलाई समाधान गर्नुपर्नेमा उनको जोड छ ।
गोल्याण पावर तर्फबाट प्रोजिल ग्रिन ईनर्जी नेपालका सञ्चालक प्रवीण अर्यालले नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने दिशामा निर्णायक कदम चालेको बताए । विश्वस्तरीय ऊर्जासम्बन्धी सोलुसनहरू उपलब्ध गराउनु तथा समृद्ध र दिगो भविष्यको सहयाेग पुर्याउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।