
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको ब्रेकथ्रु शुक्रबार हुँदैछ । सुरुङमार्ग ब्रेकथ्रु प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।
प्रधानमन्त्रीबाट अन्तिम ब्रेकथ्रू गर्ने कार्यक्रमको सबै तयारी भएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल मन्त्रालयका सचिवलगायत अन्य सरकारी अधिकारी उपस्थित हुने जनाइएको छ ।
अधिकारीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक ४० प्रतिशत भएको छ भने वित्तीय प्रगति ३९.९ प्रतिशत सम्पन्न भइसकेको छ । हाल टनेलको ढलान र लाइटिङको काम भइरहेको छ ।
उनले भने, ‘भौतिक कार्यहरूमा १ हजार १ सय २६ मिटरको मेन टनेल खन्ने काम सकिएको छ । पेन्टिङ तल लेभल मिलाउने, टनेलको दुबैतिरबाट छिचोलिने काम भोलिदेखि जोडिनेछ । बाँकी प्राविधिक भवन, कङ्क्रिटको लाइन, बिजुलीको काम, सेफ्टी, भेन्टीलेन्सनलगायत यी सबै कामहरू भइरहेको छन् ।’
प्रमुख अधिकारीले मेन टनेल बाइपाससहित गरेर जम्मा टनेल १ हजार ५ सय ३० रहेको जानकारी दिए । उक्त सुरुङमार्गको सम्झौता सन् २०२२ मा भएको थियो । यो सुरुङमार्ग २०२७ मार्चसम्ममा बनाइ सक्ने लक्ष्य लिइएको छ ।
उनका अनुसार कुनै रोकावट नभए र हालकै गतिमा काम भयो भने अबको एक वर्षभित्र टनेल सञ्चालमा आउने र गाडी गुड्ने दाबी गरे ।
उनले त्यसपछि ४८० मिटर रकसेटसहित टनेलको बाहिरपट्टि काम थालिने उनको भनाइ छ ।
उनले भने, ‘चिडियाखोलादेखि दोभानसम्म जम्मा २ हजार ३ सय ९५ मिटर सडक रकसेट निर्माण हुनेछ । हामी काम गर्ने टोली त्यही बसेर सातै दिन २४ घण्टा रकसेटसहित मर्मत गर्नेछौं । त्यहाँ दुईवटा बिल्डिङ र कन्ट्रोल सिस्टमहरू हुनेछन् । काम गर्ने टोली छिर्ने ठाउँमा २ वटा पोर्टलहरू बनाइनेछ । जसमा साउथ र नर्थ रहनेछन् । अतिरिक्त आकस्मिक सेवाका लागि साउथ र नर्थ पोर्टलमा दुईवटा हेलिप्याड हुनेछन् ।’
उक्त सुरुङमार्ग १ हजार १ सय २६ किलोमिटर सिद्धबाबा मन्दिरदेखि दोभानसम्म रहेको जनाइएको छ । हाल सुरुङमार्गको काम निरन्तर रूपमा चलिरहेको उनले बताए ।
प्रमुख अधिकारीले भने, ‘हाल अस्थाई सपोर्ट दिएर सुरुङमार्गको काम भैरहेको छ । लाइनिङको काम बाँकी नै छ ।’
कति छ बजेट, कति भयो खर्च ?
दोभानदेखि चिडियाखोलासम्म ४ किमि सडक अत्यधिक पहिरोग्रस्त मानिन्छ र यसलाई ‘मृत्युमार्ग’ का रूपमा समेत परिचय दिन थालेपछि सरकारले सुरुङमार्गको अध्ययन गरेर बजेट व्यवस्था गरेको थियो ।
सिद्धबाबा सुरुङका लागि २०७७ साल मंसिर १ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । २०७८ साल जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो ।
सोहीअनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनी सीएससीईसीले सुरुङ निर्माणको जिम्मेवारी पाएको छ ।
यसमा जम्मा बजेट ७ अर्ब ३४ करोड रहेको आयोजनाले जनाएको छ । हालसम्म ३९ प्रतिशत अर्थात २ करोड ८६ लाख खर्च भइसकेको छ । आयोजनामा हाल बजेटको अभाव नभएको अधिकारीको भनाइ छ ।
नारायणगढ-बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङमार्गको काम गरिरहेको छ ।
कति छन् कामदार ?
प्रमुख अधिकारीका अनुसार सिद्धबाबा सुरुङमार्गमा १ सय ५० बढी कामदारहरूले काम गरिरहेका छन् । दुवैतिरको भाग छिचोलिएपछि नाली निर्माण, भेन्टिलेसन, लाइट जडान, सडक कालोपत्रे र अन्तिम लाइनिङको काम भइरहेको छ ।
विस्फोटक पदार्थ प्रयोग गरेर काम गर्न थालिएपछि निर्माणले गति लिएको बताइएको छ ।
नागरिकहरू पश्चिम क्षेत्रमा निर्माण भइरहेको यो एकमात्रै सुरुङमार्ग भएकाले उत्साहित छन् ।
उक्त सुरुङमार्गबाट लुम्बिनीसहित गण्डकी प्रदेशका नागरिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।
वर्षाको समयमा मृत्युमार्गको रूपले चिनिने सिद्धबाबा सडक सुरुङमार्ग निर्माणले केही राहत मिल्ने यात्रुले आशा राखेका छन् ।
सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर
यो सुरुङमार्गको पोर्टल बुटवल-तानसेन सडकखण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोलानजिकै हुने सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीले बताए ।
उनले दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर रहने जानकारी दिए । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’ को हुने उनको भनाइ छ ।
सुरुङमार्ग ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ ।
सूचना अधिकारी भण्डारीले सुरुङमार्ग प्रयोग गरी सवारीसाधन गुडाउनेले शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा अहिले मोडालिटी तयार नभएको बताए ।
‘सुरुङमार्ग निर्माणकै क्रममा रहेको छ । यसको प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा अहिले मोडालिटी तयार भएको छैन । सुरुङमार्गमा ६० किलोमिटर प्रतिघण्टाको दरले सवारीसाधन गुडाउन पाइने व्यवस्था रहेको छ,’उनले भने ।
सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग निर्माण भइरहेको हो ।