अपोलो अस्पताल दिल्लीमा नेपाली बिरामीलाई छुट, मोर्डन इरा टुर्ससँग भयो सम्झौता
काठमाडौं । अपोलो अस्पताल दिल्लीले मोर्डन ईरा टुर्सको गाडी चढेर उपचार गराउन आउने नेपाली बिरामीलाई छुट दिने भएको छ । मोर्डन इरा टुर्स र अपोलो अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार मोर्डन ईरा टुर्स एण्ड ट्राभल्समार्फत दिल्लीस्थित अपोलो अस्पताल उपचारका लागि जाने बिरामीले उपचार सेवामा ५ प्रतिशत छुट पाउनेछन् । दिल्लीको चर्चित एपोलो अस्पतालले भरतपुरस्थित रिजोइस एण्ड रिलिभ हेल्थ प्रालि सँग सहकार्य गर्दै यस्तो सुविधा सुरु गरेको जनाएको हो । उक्त संस्थाका प्रतिनिधि कृष्णराज गैरे अपोलो अस्पतालका आधिकारिक प्रतिनिधिसमेत हुन् । यस्तै, बिरामीका लागि बस सिट बुकिङमा प्राथमिकता दिइने तथा यात्रासम्बन्धी आवश्यक सूचना र सहजीकरणसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । उपचारमा छुट लिन मोर्डन ईरा टुर्सबाट बिरामीले यात्रा गरेको टिकट देखाउनु पर्ने कम्पनि प्रतिनिधि गैह्रेले बताए । मोर्डन इराका बसहरूले नेपालको पर्यटकीय राजधानी पोखरावाट भारतको राजधानी दिल्लीका लागि सेवा दिने गैह्रेले जानकारी दिए ।
बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन ६ महिना लाग्ने
दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेको सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ । हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले थप छ महिना समय लाग्ने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले पछिल्लो चरणमा निर्माणको जिम्मा पाएका ठेकेदारले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम रोकेकाले केही समय ढिलाइ भएको हो । अध्यक्ष भण्डारीले भने, 'हामीले निर्माण कम्पनीलाई काम सञ्चालन गर्न ताकेता गरिरहेका छौँ । सम्भवत अब यथाशीघ्र कामले निरन्तरता पाउने छ ।' उनका अनुसार रु ५६ करोड ८० लाख २४ हजार ६३० लागतमा उक्त आयोजना सम्पन्न हुनेगरी काम अघि बढेको हो । सो आयोजनाअन्र्तगत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइने छ । हालसम्म पानीका लागि नयाँ पाइप जडान, विभिन्न ठाउँमा एक दर्जन बढी ट्याङ्की निर्माणलगायत काम सम्पन्न भइसकेका अध्यक्ष भण्डारीले जानकारी दिए । तुलसीपुरमा एउटा भण्डारण ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । पुराना पाइपलाइनको मर्मत पनि सम्पन्न भइसकेका छन् । यो आयोजना पूरा भएपछि १०० लिटरप्रति सेकेण्ड पानीको आपूर्ति सम्भव हुने अध्यक्ष भण्डारीले उल्लेख गरे । जसले तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा, तुलसीपुर उपमहानगरपालिका-६ का विभिन्न गाउँलगायत क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने उनले विश्वास व्यक्त गरे । त्यसैगरी संस्थाले खानेपानीको प्रमुख मुहान रहेको क्षेत्रहरू मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा हुने अनधिकृत उत्खननलाई रोक्न तथा मुहानको संरक्षणका लागि पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले बताए । उनका अनुसार संस्थाले रक्षाचौर ट्रिटमेन्ट प्लान्टमा रहेको पुरानो बालुवा तथा गिट्टी प्रतिस्थापन गरेको छ । 'रक्षाचौर क्षेत्रमा सेडिमेन्टेसन प्रविधिमार्फत पानीको फिल्टरिङ भइरहेको छ । यो प्रविधि भनेको पानीलाई एउटा ठूलो ट्याङ्कीमा केही समयस्थिर राखिन्छ । पानीमा भएका कणहरू विस्तारै ट्याङ्कीको फेदमा थुप्रिन्छन् । अनि माथिल्लो भागको सफा पानी अर्को चरणमा पठाउने गरिन्छ । पानी पूरै शुद्धीकरण गरेपछि अर्को टयाङ्कीमा जम्मा गरेर मात्र उपभोक्ताको घरमा पु¥याउने गरिएको छ', उपाध्यक्ष शर्माले भने । यो कार्य पूरा भइसकेकाले अब वर्षायाममा धमिलो पानीको समस्या नहुने उनले बताए । संस्थाले विभिन्न स्थानमा रहेका करिब १०० खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्ण रूपमा सुरक्षित बनाएको छ । जिआइएस प्रविधि तथा मोबाइल एप प्रणाली लागू गरेर सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यअघि बढाएको उपाध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार आगामी दिनमा स्मार्ट मिटर जडान गरी उपभोक्तालाई पारदर्शी बिलिङ प्रणाली उपलब्ध गराउने लक्ष्य लिइएको छ । संस्थाले करिब १२ हजार धारामार्फत ७५ हजार बढी जनसङ्ख्यालाई खानेपानीको सहज व्यवस्थापन गरिरहेको छ । बबई नदीको पानी लिफ्टिङ गरेर कहिले आउँछ भन्ने प्रतिक्षामा नागरिक छन् । बढ्दो गर्मीका कारण खानेपानीका मुहान सुक्न थालेपछि पानीवितरणमा समस्या भइरहेको छ । तुलसीपुर क्षेत्रका केही गाउँका धारामा पानी आउन छाडेपछि खानेपानी संस्थाले ट्याङ्रबाट बोकाएर दिनहुँ निशुल्क पानी वितरण गर्दै आएको छ । संस्थाले यसअघि आगामी असार मसान्तसम्म उक्त आयोजना निर्माण सम्पन्न गरी पानी वितरण गरिने जानकारी गराए पनि अझै करिब छ महिना पानी वितरणका लागि समय लाग्न सक्ने जनाएको छ । रासस
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरू र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ। यसअघि एसईईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरु हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावकको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसईईको नतिजा चाँडै प्रकाशन भएकाले पठनपाठन पनि समयमै सुरु गर्न लागेको हो ।
नयाँ एमजी हेक्टर सार्वजनिक, सुरुवाती मूल्य ६६ लाख ९९ हजार
काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर भारतका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइलले नेपाली बजारमा नयाँ एमजी हेक्टर एसयूभी सार्वजनिक गरेको छ । बिहीबार थापाथलीस्थित एमजी शोरुममा एक कार्यक्रमका बीच गाडी सार्वजनिक गरिएको हो । केही समयअघि मात्रै एमजी विन्डसर र एमजी कमेट ईभी सार्वजनिक गरेको कम्पनीले यस नयाँ गाडीको आगमनसँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको जनाएको छ । कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ । आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको यस गाडीमा आरामदायी यात्राका लागि फराकिलो क्याबिन र उत्कृष्ट आन्तरिक सजावट रहेको छ । अत्याधुनिक जडान प्रणाली र प्रयोगकर्तामैत्री सुविधाहरू छन् । चालक र यात्रीको सुरक्षालाई ध्यानमा राख्दै उत्कृष्ट सुरक्षा सुविधाहरू समावेश तथा समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा ठूलो एसयूभी अनुभव र दैनिक प्रयोगमा बढी उपयोगिता रहेको कम्पनीको भनाइ छ । कार्यक्रममा जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक भएको दाबी गरे । उनका अनुसार नयाँ संस्करणमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ । नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि र व्यवहारिकताको सम्मिश्रण खोज्नेहरूका लागि यो उपयुक्त विकल्प हो । उनले भने, ‘नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।’ नेपाली बजारमा नयाँ एमजी हेक्टर चार फरक संस्करणमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ एमजी हेक्टर सार्वजनिक भएसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने कम्पनीको विश्वास छ । जीओ अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनका साथै भरपर्दो बिक्रीपछिको सेवा र आधिकारिक पार्टपुर्जाहरूको सहज उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएको छ । नयाँ एमजी हेक्टरलाई नजिकबाट नियाल्न र बुझ्न चाहने ग्राहकहरूले थापाथलीस्थित एमजी शोरुममा गई प्रत्यक्ष अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ ।
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
काठमाडौं । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ । उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आव्हान गरेको थियो । उक्त सूचना बमोजिम सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ५० जनाले आवेदन दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८/३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५, राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ । आवेदकहरूको कागजात अध्ययन (छानबिन) गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशन गरेर छनोट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ । गत वैशाख २४ गते स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएको थियो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया सुरु भएको हो । छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ ।
सामसुङ र श्रमिक संघबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास
काठमाडौं । दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र त्यहाँको श्रमिक संघबीच बुधबार पुनः वार्ता सुरु भएको छ । सम्भावित ठूलो हड्ताल रोक्न श्रममन्त्री स्वयं मध्यस्थकर्ताको भूमिकामा सहभागी भएका छन् । विश्वकै अग्रणी स्मृति चिप उत्पादक कम्पनी सामसुङमा बोनस वितरणको विषयमा व्यवस्थापन र श्रमिक सङ्घबीच विवाद बढेपछि संघले बिहीबारदेखि हड्ताल सुरु गर्ने चेतावनी दिएको थियो । यसले अर्धचालक उत्पादनमा गम्भीर असर पर्न सक्ने चिन्ता बढाएको छ । यो हड्ताल सन् २०२४ मा भएको हड्तालभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ । त्यतिबेला करिब ६ हजार कामदार आन्दोलनमा सहभागी भएका थिए । यसपटक भने कम्पनीले कृत्रिम बुद्धिमत्ताबाट प्रेरित प्रविधि बजारको तीव्र विस्तारका कारण ठूलो नाफा कमाइरहे पनि त्यसको उचित हिस्सा कामदारलाई नदिएको भन्दै असन्तोष चर्किएको छ । दक्षिण कोरियाको श्रम मन्त्रालयका अनुसार बुधबार दिउँसो पुनः वार्ता सुरु गरिएको हो । सरकारको प्रयास हड्ताल टार्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ । सामसुङले यस वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा करिब ७५० प्रतिशतले बढेको जनाएको थियो । साथै, मे महिनामा कम्पनीको बजार मूल्य पहिलो पटक १ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको थियो । श्रमिक संघले वार्षिक तलबको ५० प्रतिशतमा सीमित गरिएको बोनस सीमा हटाउन र कम्पनीको सञ्चालन नाफाको १५ प्रतिशत बोनसका रूपमा वितरण गर्न माग गरेको छ । संघले बुधबार जारी गरेको वक्तव्यमा राष्ट्रिय श्रम सम्बन्ध आयोगले अघि सारेको मध्यस्थता प्रस्ताव आफूहरूले स्वीकार गरेको तर कम्पनी व्यवस्थापनले अस्वीकार गरेको जनाएको छ । त्यसपछि संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबारदेखि कानुनी रूपमा आम हड्ताल सुरु गर्ने घोषणा गरेको हो । संघका कानुनी सल्लाहकारका अनुसार करिब ५० हजार ५ सय कामदार १८ दिनसम्म उत्पादन लाइनबाट बाहिरिने तयारीमा छन् । यता कम्पनी व्यवस्थापनले भने श्रमिक संघका माग अत्यधिक भएको र ती माग स्वीकार गर्दा कम्पनी सञ्चालनको आधारभूत सिद्धान्त नै कमजोर हुने प्रतिक्रिया दिएको छ । यो विवादले दक्षिण कोरियामा व्यापक चिन्ता पैदा गरेको छ, किनभने अर्धचालक उद्योग देशको अर्थतन्त्रको मुख्य आधार मानिन्छ । कुल निर्यातको करिब ३५ प्रतिशत हिस्सा अर्धचालक क्षेत्रबाट आउने गर्छ । राष्ट्रपतिको कार्यालयले यसअघि वार्ता असफल भएकोप्रति 'गहिरो दुःख' व्यक्त गर्दै सम्भावित आर्थिक असरलाई ध्यानमा राखी दुवै पक्षलाई संवाद जारी राख्न आग्रह गरेको थियो । राष्ट्रपति ली जे म्युङले मन्त्रिपरिषद् बैठकमा श्रमिक आन्दोलन 'निश्चित सीमाभित्र' रहनुपर्ने बताएका थिए । विशेषज्ञहरूका अनुसार सामसुङको उत्पादन आंशिक रूपमा मात्रै रोकिए पनि त्यसले विश्वव्यापी प्रविधि आपूर्ति शृंखलामा असर पार्न सक्छ । यद्यपि, श्रमिक संघले मर्मत तथा उपकरण परीक्षणका कारण यसअघि पनि उत्पादन अस्थायी रूपमा रोकिएको उदाहरण दिँदै वर्तमान आन्दोलनलाई सामान्य औद्योगिक प्रक्रिया भित्रकै विषय भएको दाबी गरेको छ । यदि हड्तालले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा उत्पन्न गर्ने देखिए सरकारसँग आपत्कालीन मध्यस्थता अधिकार प्रयोग गरेर औद्योगिक आन्दोलन रोक्ने कानुनी अधिकार पनि रहेको बताइएको छ । रासस
आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या
नारायणगढ । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पताल विस्तार र भावी योजनाका लागि थप जग्गा आवश्यक पर्ने बताए । उनका अनुसार अस्पतालले भोगाधिकार गर्न पाउने करिब ३० बिघा जग्गामध्ये हाल ११ बिघा मात्रै अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ । बाँकी जग्गा विभिन्न संस्था तथा कार्यालयले प्रयोग गरिरहेका छन् । डा. सापकोटाका अनुसार कलेज अफ मेडिकल साइन्सले नौ बिघा जग्गा भाडामा लिएको छ भने स्कुल अफ हेल्थ साइन्सले छ बिघा प्रयोग गरिरहेको छ । त्यसैगरी आँखा अस्पतालले करिब चार बिघा, रक्तसञ्चार केन्द्रले दुई कठ्ठा, नेपाल रेडक्रस सोसाइटीले एक कठ्ठा, जिल्ला स्वास्थ्य कार्यालयले १० कठ्ठा १० धुर तथा नहर एरिया टोल विकास संस्थाले १० धुर जग्गा प्रयोग गरिरहेका उनले जानकारी दिए । उनले भने, 'उहाँहरूले प्रयोग गरिरहनुभएको जग्गाका विषयमा लिज ऐनअनुसार भरतपुर अस्पतालसँग सम्झौताका लागि पटकपटक पत्राचार गरेका छौँ । तर उहाँहरू आउनुभएको छैन । फेरि पनि लिज ऐनअनुसार सम्झौताका लागि आउन अनुरोध गर्दछौँ । कतिपय संस्थाको हकमा माथिल्लो निकायबाट निर्णय भएकाले त्यसतर्फ पहल गरिदिन सम्बन्धित निकायलाई पनि अनुरोध गर्दछौँ ।' डा. सापकोटाले भरतपुर अस्पताल तत्कालीन महेन्द्र आदर्श चिकित्सालयका रूपमा सानो भवनबाट सुरु भएको उल्लेख गर्दै हाल सङ्घीय अस्पतालमा विस्तार भई सञ्चालन भइरहेको बताए । करिब ६०० शय्याको अस्पतालमा दैनिक दुई हजारदेखि तीन हजार बिरामी उपचारका लागि आउने गरेका उनले जानकारी दिए । प्रवक्ता डा. सापकोटाका अनुसार आगामी दिनमा अस्पताल शैक्षिक तथा प्रतिष्ठानका रूपमा विस्तार हुने योजना रहेकाले थप संरचना निर्माणका लागि पर्याप्त जग्गा आवश्यक पर्ने देखिएको छ । हाल पनि स्टोर भवन, आवास गृह, प्रशासनिक भवन तथा प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न जग्गा अभाव रहेको उनले बताए । रासस
पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए । उनको ९७ वर्षको उमेरमा यही जेठ ६ गते निधन भएको थियो ।