नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
काठमाडौं । शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ । नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ । रिचार्जेबल हाइब्रिड मोडलसहित विद्युतीय कारको हिस्सा ९६.८ प्रतिशतले बढेको छ । ‘नर्वेले जनवरीमा कूल नौ हजार ३४३ नयाँ कारहरू बिक्री गरेकोमा आठ हजार ९५४ वटा विद्युतीय सवारी साधन थिए,’ ओएफभीले जानकारी दिएको छ । ओएफभीका निर्देशक ओयविन्ड सोलबर्ग थोरसेनले भने, ‘हामीले योभन्दा पहिले कहिल्यै विद्युतीय कारले यति धेरै हिस्सा ओगटेको जानेनौँ । यदि बाँकी वर्ष यस्तै रह्यो भने हामी चाँडै नै २०२५ को लक्ष्यको नजिक पुग्नेछौं ।’ ‘हामी विद्युतीय कारहरूलाई नै शत प्रतिशत हिस्सा ओगटेको देख्न चाहन्छौँ । लक्ष्यमा पुग्नका लागि अन्य मोडेलहरू भन्दा विद्युतीय कार छनौट गर्न लाभदायक बनाउने प्रोत्साहनहरू ल्याउन आवश्यक हुनेछ,’ उनले थपे । सबैभन्दा धेरै बिक्री भएका ५० मोडलमध्ये दुई वटा मात्र गैर–विद्युतीय थिए र त्यो पनि पहिलो ३३ औं स्थानमा आएको थियो । नर्वेमा, विद्युतीय कारहरू धेरै करहरूबाट मुक्त छन् र यसले तिनीहरूलाई भारी कर लगाइएको आन्तरिक इन्धन दहन कारहरूविरुद्ध प्रतिस्पर्धी बनाउँछ । उनीहरूले सडक कर छुट, सार्वजनिक कार पार्कहरूमा निः शुल्क पार्किङ र सार्वजनिक यातायात ट्राफिक लेनको प्रयोगबाट पनि लाभ उठाएका छन् । विद्युतीय कारको विक्री उच्च भएसँगै सामान्य कारहरूमा दिइएका केही कर छुट र प्रोत्साहनहरू वर्षौँदेखि फिर्ता लिइएको छ । ओएफभीका अनुसार जनवरीमा नर्वेमा दर्ता भएका नयाँ कारमध्ये डिजेल कारको हिस्सा १.५ प्रतिशत र पेट्रोल कारको हिस्सा ०.४ प्रतिशत मात्र थियो । फोक्सवागन आईडी ४ र निसान अरियालाई पछि पार्दै टोयोटा बिजेड फोर एक्स सबैभन्दा बढी बिक्री भएको थियो। तुलनात्मक रुपमा हेर्दा सन् २०२० पछि पहिलो पटक घटेको युरोपमा विद्युतीय कारको हिस्सा सन् २०२४ मा १३.६ प्रतिशत मात्र थियो भने गत वर्षको डिसेम्बर महिनामा यसको हिस्सा १५.९ प्रतिशत रहेको थियो । रासस
प्रदेशमा पर्यटन: होटल र होमस्टेले आर्थिक चलायमान, वेडिङ र बर्थिङ हबले रोमाञ्चकता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा प्रदेशमा पर्यटकीय दृष्टिकोणले विभिन्न सम्भावना रहेको प्रतिवदेन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ६ वटा प्रदेशको आर्थिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेन सार्वजनिक गर्दै त्यहाँ विभिन्न सम्भावना रहेको उल्लेख गरेको हो । कुन प्रदेशमा कस्तो सम्भावना ? कोशीमा होटल तथा रिसोर्टको सम्भावना नेपालको पर्यटन रणनीति २०१६-२०२५ को दोस्रो चरण २०२१-२०२५ अन्तर्गतमा नयाँ उत्पादनहरूलाई एकीकृत गर्नमा जोड दिइने रणनीति लिइएकाले सोबाट फाइदा लिन सकिने साथै सन् २०२५ मा २५ लाख २२ हजार ४० पर्यटक आउने अपेक्षा गरिएकाले कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय गन्तब्यहरूमा सुविधा सम्पन्न होटल, रिसोर्ट, लज तथ होमस्टेहरू सञ्चालन गर्न सके पर्यटकहरूको बसाई अवधि लम्ब्याउन तथा पर्यटकले गर्ने खर्च बढाउन सकिने भएकोले आर्थिक क्रियाकलाप वृद्धि हुने सम्भावना देखिएको छ । कोशी प्रदेशमा उच्च गुणस्तरको शिक्षा र स्वास्थ्य सेवाहरूको माग बढिरहेको सन्र्दभमा कोशी प्रदेशको प्रमुख सहरहरूमा निजी र सार्वजनिक शैक्षिक संस्था तथा अस्पतालहरूको विस्तार हुन सक्ने सम्भावना प्रतिवेदनमा उल्लेख छ । सरकारले प्रत्येक स्थानीय निकायहरूमा अस्पताल तथा स्वास्थ्य चौकीहरूको निर्माण कार्यलाई तीव्रता दिएको तथा प्रत्येक जिल्लामा निजी अस्पताल र क्लिनिकहरू खुल्ने क्रम बढेसँगै गुणस्तरीय स्वास्थ्य सेवाहरूमा सर्वसाधारणको पहुँच विस्तार हुने देखिन्छ साथै ग्रामिण क्षेत्रहरूमा टेलिमेडिसिन सेवा र गुणस्तरीय शिक्षाको लागि ई-लर्निङ सेवा सुरु गर्न सक्ने देखिएको छ । कोशी प्रदेशमा प्राकृतिक सौन्दर्य, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, साहसिक महत्वका स्थलहरूको पहिचान, समुचित प्रर्वद्धन, विकास तथा प्रचारप्रसारका साथै पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकार तथा स्थानीय तहले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्ने गरेकोले आगामी दिनमा पर्यटन क्षेत्र यस प्रदेशको अर्थतन्त्रको मुख्य संवाहकको रुपमा विस्तार हुने देखिएको प्रतिवेदनमा उल्लेख छ । इन्टरनेटको पहुँच विस्तारसँगै सूचना प्रविधि क्षेत्रका व्यवसायहरूले पर्यटनबाट भन्दा बढी अर्थतन्त्रमा योगदान गरेको सन्र्दभमा कोशी प्रदेशमा पनि सूचना प्रविधि क्षेत्रका नयाँव्यवसायहरू सुरु गर्न सकिने तथा सबै स्थानीय तहमा कम्तीमा एउटा बैंक तथा वित्तीय संस्थाको विस्तार भई वित्तीय सेवाको पहुँच बढ्दै गएकाले अनौपचारिक अर्थतन्त्रको हिस्सा कम हुँदै जाने प्रतिवेदनमा उल्लेख छ । मधेशको सान बढाउन सक्छन् धार्मिक स्थल मधेश प्रदेशमा सिम्रौनगढ, गढीमाई मन्दिर, जनकपुरको जानकी मन्दिर, जलेश्वर महादेव र सप्तरीको छिन्नमस्ता मन्दिर जस्ता ऐतिहासिक एवम् धार्मिक महत्वका तीर्थस्थलहरू रहेकाले यस प्रदेशमा धार्मिक तथा सांस्कृतिक पर्यटन विकासको राम्रो सम्भावना रहेको छ । मधेश प्रदेश ताजा माछाको लागि लोकप्रिय रहेको तथा हवाई र स्थलमार्गको सुगम पहुँच रहेकोले स्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरेमा माछापालन हुने स्थानहरूमा मत्स्य पर्यटन लगायतका पर्यटकीय विकास गर्न सकिने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । उपयुक्त भौगोलिक संरचना रहेकोले शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई समावेश गरी एकीकृत पर्यटन कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको देखिन्छ । जनकपुर क्षेत्रमा रहेको पोखरी तथा तालतलैयाहरू लगायत शहरको उचित सरसफाई र श्रृंगार गरी पर्यटक आकर्षित गर्न सकेमा यसबाट समेत पर्यटन क्षेत्रको विस्तार गर्न सकिने सम्भावना छ । भारतसँग खुल्ला सिमाना भएकोले पर्यटन पूर्वाधार विकास गर्न सके स्तरीय भारतीय पर्यटक भित्र्याउन सकिने उच्च सम्भावना रहनुका साथै मधेश प्रदेश कृषि तथा माछापालनमा अग्रस्थानमा रहेकाले कृषिलाई आकर्षक र आधुनिक व्यवसायको रुपमा विकास गरी कृषि पर्यटन लगायतका पर्यटकीय विकास गर्न सकिने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । पर्यटकको ठूलो गन्तव्य बन्न सक्छ गण्डकी नेपाल सरकारको आ.व. २०८१/८२ को बजेटले सोह्र लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सातै प्रदेश समेटिने गरी टाकुरा पर्यटकीय गन्तव्य, इकोहिल स्टेशन, धार्मिक स्थलको दर्शन गर्न यातायात सेवाको सञ्चालन, प्रयोगविहीन विमानस्थललाई साहसिक पर्यटकीय खेलमा प्रयोग, जनकपुरलाई वेडिङ हव, लुम्बिनीलाई बर्थिङ हव लगायतका कार्यक्रमहरु समेटेकोले सोको कार्यान्वयनबाट गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारले कास्की जिल्लाको पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको तथा गण्डकी प्रदेश आफैमा उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले सुविधासम्पन्न होटल तथा लजहरु लगायत पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्न सकेमा पर्यटनबाट रोजगारी, आय बढाउन सकिने सम्भावना देखिएको उल्लेख छ । पोखरा अन्तरर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा संचालनमा ल्याउन सकेमा यस प्रदेशमा आन्तरिक तथा बाह््रय पर्यटकको आगमन बढ्न सक्ने तथा उत्तर दक्षिण लोकमार्गकोरुपमा रहेको कालीगण्डकी कोरिडोरकोकाम द्रुत गतिलेअघि बढेकाले निर्माण सम्पन्न भएपश्चात् सडकमार्गबाट चीन र भारतसँग सोझैसम्बन्ध कायम हुने भएकाले भारतीय र चिनिया पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि हुने सम्भावना रहेनुका साथै नेपाली कृषि तथा औद्योगिक उत्पादनलाई समेत सहजै निर्यात गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशको सबै स्थानीय तहहरूमा वाणिज्य बंकै का शाखा स्थापना भइसकेको साथै बकै वित्तीय संस्थाहरुले वित्तीय साक्षरताको कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेकाले सम्पूर्ण जनताहरुमा वित्तीय पहुँच थप विस्तार हुदै जाने तथा यस प्रदेशलाई रहेको गण्डकी विश्वविद्यालयलाई माइनिङ बायोडाइभर्सिटी तथा हाइड्रोपावरको विशिष्टकृत अध्ययन/अध्यापन गराउने विश्वविद्यालयको रुपमा विकास गर्न सके तथा मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा बाह्य मुलुकहरूबाट समेत विद्यार्थी आकर्षित गर्न सकेमा यस प्रदेशमा शैक्षिक क्षेत्रको विकास गर्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रेकिङको हब बन्न सक्छ लुम्बिनी नेपाल सरकारले बजेट मार्फत घोषणा गरेका विभिन्न कार्यक्रमहरु जस्तै लुम्बिनीलाई बर्थिङ हव, बुटवल– भैरहवा कोणमा धार्मिक पर्यटन र बुटवलमा सूचना प्रविधि पार्क निर्माण गर्ने कार्यक्रम राखिएको हुँदा यस प्रदेशमा सेवा क्षेत्रको उल्लेखनीय वृद्धि हुन सक्ने सम्भावना देखिएको छ । आधारभूत पूर्वाधार विकास गरी राप्ती तथा कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग, ग्रामीण क्षेत्रमा ट्रेकिङ, पर्वतारोहण, तथा साइकल यात्रा सम्बन्धि पूर्वाधारहरु निर्माण हुन सकेमा साहसिक पर्यटनको प्रवद्र्धन गर्न सकिने, तिलौराकोट, लुम्बिनी र देवदह क्षेत्रहरुमा थप पूर्वाधारहरु निर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्न सकेमा आन्तरिक एवम्वाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशका विभिन्न पर्यटकीय स्थलहरु घुमाउने प्रयोजनका लागि तालिम प्राप्त गाईडको व्यवस्था गर्न सकेमा सेवा क्षेत्रमा थप रोजगारी सिर्जना हुने सम्भावना छ । पर्यटकीय स्थलहरुको कमाण्डर कर्णाली पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको यस प्रदेशमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका पर्यटकीय स्थलको पहिचान, संरक्षण र सम्बद्र्धन गर्नमा तिनै तहका सरकारी निकायहरुको ध्यानाकर्षण भएमा साथै उक्त विषयलाई उच्च प्राथमिकताका साथ नीति तथा कार्यविधिमा सम्बोधन भएमा पर्यटकीय पूर्वाधारहरुको तीव्रतर विकास गरी कर्णाली प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान वृद्धि गर्दै समग्र कर्णालीबासीको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न सकिने उच्च सम्भावना रहेको छ । यस प्रदेशमा रारा, शे-फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, पचाल झरना, बुलबुले ताल, काँक्रेविहार, सिँजा सभ्यता र पञ्चकोशी लगायतका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय क्षेत्रहरु रहेकोले पर्यटन पूर्वाधारहरुको विकास र बिस्तार गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उच्च सम्भावना रहेको । यस प्रदेशको हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा इन्टरनेटको न्यून पहुँच भएको अवस्थामा इन्टरनेटको विस्तारको उच्च सम्भावना रहेको छ । त्यस्तै, सुर्खेत विमानस्थललाई स्तरोन्नती गरी प्रदेश अन्तर्गतका जिल्लाहरु डोल्पा, मुगु, हुम्ला, जुम्ला तथा रुकुम पश्चिममा यात्रुवाहक हवाई सेवा नियमितरुपमा सञ्चालन गर्न सकेमा यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुन गई आय तथा रोजगारी बढ्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको पहँुच र वित्तीय साक्षरतामा आएको सुधारले घरेलु, साना तथा मझौला उद्योगहरुको विकास हुने क्रम बढ्दो रहेकोले सो क्षेत्रमा कर्जा बिस्तारको सम्भावना उच्च रहेको उल्लेख छ । सुदूरपश्चिममा लगानी बढाउन आवश्यक नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेश सरकारमा पर्यटनमा विविध सम्भावना रहेको उल्लेख गरेको छ । स्थानीय तथा प्रदेश सरकारबाट पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण एवम् प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालनमा रहेकोले आन्तरिक एवम्बाह्य पर्यटकको आगमनमा वृद्धि भई प्रदेशको आर्थिक विकास एवम् रोजगारीमा टेवा पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जनसंख्याको अनुपातमा कर्जा लगानी कम रहेकाले कर्जा लगानीमा वृद्धि गरी आर्थिक गतिविधि तथा रोजगारीका अवसरहरु बढाउन सकिने, प्रदेशका सातदेवीहरू डिलासैनी, निङ्लासैनी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा र त्रिपुरासुन्दरीलाई धार्मिक सर्किटको रूपमा प्रवद्र्धन गर्न सकिने उल्लेख छ । यस्तै, प्रदेश सरकार तथा स्थानीय तहबाट पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण एवं प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालनमा रहेकोले आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्धि भई प्रदेशको आर्थिक विकास एवं रोजगारीमा टेवा पुग्न सक्ने उल्लेख छ । कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना भएपश्चात गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध हुनुका साथै यी पूर्वाधारहरुको सञ्चालनले आसपासका क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुन सक्ने र यस प्रदेशमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा समेत उल्लेख्य विकास भएकाले आधुनिक प्रविधिको प्रयोगमार्फत् सेवा क्षेत्रलाई थप इकमर्स व्यवसायतर्फ चलायमान बनाउन सकिने बताइएको छ ।
भारतमा अम्रिसो बेच्दा भित्रियो साढे ५७ करोड, २८ करोडको अदुवा निर्यात
काठमाडौं । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ५७ करोड रुपैयाँ भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६६ लाख किलो अम्रिसो निर्यात भएको छ । चालु आवको पौष मसान्तसम्म ५७ करोड ७४ लाख रपैयाँ बढीको अम्रिसो निर्यात भएको भन्सार विभागले जनाएको छ । उक्त अम्रिसो भारतमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । २८ करोडको अदुवा निर्यात अदुवाको स्वादले तरकारी र मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ । अदुवा औषधीजन्य गुणसमेत भएकाले विभिन्न औषधीमा समेत प्रयोग गर्ने हुने गरेको छ । अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो । यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ । चालु आवको पौष मसान्तसम्म २४ लाख किलो अदुवा निर्यात भएको छ । विभागका अनुसार २८ करोड १९ लाख रुपैयाँ बढीको अदुवा निर्यात भएको छ । नेपालबाट अदुवा भारत र स्वीट्जरल्यान्ड निर्यात भएको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार भारतमा २४ लाख ४० किलो र स्वीट्जरल्यान्डमा १० किलो अदुवा निर्यात भएको छ ।
कलंकको रुपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै रहेको उल्लेख गरे । उनले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश भएको उल्लेख गर्दै स्वाधिन र स्वाभिमानी देश भएको बताए । उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए । नेपालले तेल र फलाम खानीहरूको उत्खनन् गरिहेको भन्दै कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताए । ‘एआईको जमानामा एउटा कलंकको रुमपा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्दछ। यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।
कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ । विगत २३ वर्षदेखि यस बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु
काठमाडौं । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरुवात गरिएको हो । बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् । कोर्सको सुरुवात गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरु गरेको उक्त प्रयासको प्रशंसा गरे । ‘बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक महत्त्वका पूर्वाधार निर्माणमा जोड दिँदै आएकोमा नबिल बैंकले उद्यमशीलताको विकासका लागि सर्टिफिकेट कोर्स सुरु गरेको छ । यो उद्यमशीलतामा रुचि राख्नेका लागि लाभदायक हुने अपेक्षा छ,’ मुख्यमन्त्री सिंहले बताए । त्यस अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए । नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे । साथै स्टार्टअप सुरुआत गर्न चाहने र सुरुआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम सुरु गरेको उनको भनाइ थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले आयोजना गरेको उक्त कार्यक्रमलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए । मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सोनुकुमार साहले नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यसप्रकारको कार्यक्रमले युवाहरुलाई देशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउने प्रतिक्रिया दिए । साथै उनले नबिल बैंकले मोनास्टीक स्कुलसँग यस कार्यक्रमको लागि गरेको सहकार्य एकदमै सराहनीय रहेको व्यक्त गरे । नबिल बैंकले समाजिक उद्यमशिलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव-उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दै आएको छ । कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला बिहारी नगरपालिका र पिरारी चोकका १२ महिला र १३ पुरुष सहभागी छन् । जसमध्ये तीन जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्याएका छन् । साथै पाँचजना थोक बजार, अचार, विद्युतीय सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुई जनाले खुद्रा व्यापार, एक जनाले जैविक ताजा फलखेतीमार्फत उद्यम सुरु गरिसकेका छन् । तीन महिने सर्टिफिकेट कोर्सअन्तर्गत १४ दिन ‘एक्सन-बेस्ड’ तालिम प्रदान गरिनेछ । उक्त तालिममा सहभागीले आफ्नो उत्पादनको प्रवद्र्धन तथा बजारीकरणलगायतका विषयमा प्रशिक्षण लिनेछन् । कोर्समा क्षेत्रीय तथा राष्ट्रिय स्तरमा अनुभवप्राप्त उद्यमी तथा प्रशिक्षकसँग अनुभव आदानप्रदान र स्थलगत भ्रमण पनि समावेश गरिएको छ । विद्यालयले कार्यक्रममा सहभागी हुनका लागि खुला आवेदन माग गरेको थियो । जसमा उद्यमशीलताको क्षेत्रमा काम गर्ने अठोट भएकालाई छनोट गरिएको जनाइएको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातवटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ । बैंकका अनुसार दुवै कार्यक्रममा हालसम्म आठ सय ६६ जना सहभागी भएर छन् । दुवै कार्यक्रममार्फत हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढीले रोजगारी पाइसकेको छ ।
सेयर बजारमा ११ अर्ब बढीको कारोबार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २७३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड, बरण हाइड्रोपावरको ३० करोड, साहस ऊर्जाको २७ करोड र एक्सल डेभलपमेन्ट बैंकको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक रहेका छन् । सोमबार सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशतले बढेको छ । अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
प्रादेशिक सेवा दिँदै बीपी कोइराला क्यान्सर अस्पताल, स्थानीय लाभान्वित
काठमाडौं । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ । अस्पतालले सुर्खेत र धनगढीमा दुईपटक क्याम्पमार्फत सेवा दिइसकेको छ । मङ्गलबार सुर्खेत र बुधबार धनगढीमा तेस्रोपटक सेवा दिँदै छ । गण्डकीमा एक पटकमात्र सेवा दिइएको छ । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार चिकित्सकसहित आठ जनाको टोलीले सेवा दिने गरेको छ । पहिलेनै मिति तय गरेर क्यान्सरका बिरामीको नाम टिपेर एकै पटक सेवा दिने गरिएको छ । एक पटकमा १५० हाराहारी क्यान्सरका बिरामीले सेवा लिएको उनले जानकारी दिए । टोलीमा पाँच जना विशेषज्ञ चिकित्सक, दुई नर्स र एक प्रशासनिक कर्मचारी यहाँबाट जाने गर्दछन् भने अन्य सहयोग त्यहीँको अस्पतालबाट लिने गरिन्छ । स्वास्थ्य परीक्षण, नियमित जाँच र शल्यक्रियासम्म त्यहींको अस्पतालमा गर्ने गरिएको छ । जटिल अवस्था भएमा यही बोलाएर उपचार दिने गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार नाम टिपाएका बिरामीमध्ये धेरै जुन क्यान्सरका छन् त्यहीअनुसारका विभागीयविज्ञ चिकित्सक पठाउने गरिएको छ । यहाँबाट गएको टोलीले त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीसँग क्यान्सर रोग सम्बन्धमा छलफल गर्ने गरेको छ । रोग पहिचान, उपचारलगायतका बारेमा अनुभव आदानप्रदान गर्ने गरिएको उनले जानकारी दिए । पौडेलले भने, ‘सम्बन्धित अस्पतालमा भएका स्रोतसाधनलाई अधिकतम उपयोग गरेर सकेसम्म त्यहाँ गर्न सकिने उपचार त्यहीँ गर्ने गरेका छाैं ।’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए । सोहीबमोजिम विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा दिएको हो ।