विकासन्युज

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् । उनले नेपाली चियाको उचित बजार प्रवद्र्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए । प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक छ अर्ब रुपैयाँको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्यगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए । ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन् ।

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ । निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको थियो ।प्रशासनिक बिदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक… सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई’ प्रभावित गर्नेछ । ‘तपाईंलाई सेवाका लागि धन्यवाद’, विज्ञप्तिमा उल्लेख छ । यो कदम ट्रम्प र उनका अर्बपति सहयोगी एलन मस्कको अमेरिकी सरकारलाई सङ्कुचित गर्ने आमूल अभियानको एक हिस्सा हो । यसले वासिङ्टनलाई स्तब्ध पारेको छ र डेमोक्रेट तथा मानव अधिकार समुदायबाट आक्रोशपूर्ण विरोध निम्त्याएको छ । अमेरिकी विदेश नीतिको सहायता शाखा युएसएडले विश्वका सबैभन्दा गरीब क्षेत्रहरू सहित लगभग १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्दछ । मस्कको व्यापक व्यापारिक चासो रहेको चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा यसलाई संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा हेरिन्छ । मस्कले युएसएडलाई ‘अमेरिकालाई घृणा गर्ने चरम–वामपन्थी मार्क्सवादीहरूको सर्पको गुँड’ भनेका छन् र यसलाई बन्द गर्ने प्रतिज्ञा गरेका छन् । मस्कले प्रमाणित नगरेका अन्य आलोचनामध्ये उनले युएसएडले ‘दुष्ट सिआइए काम’ गर्छ र यहाँसम्म कि ‘जैविक हतियार अनुसन्धान, लाखौँ मानिसको ज्यान लिएको कोभिड–१९ सहितलाई कोष प्रदान गर्दछ’ भनी दाबी गरेका छन् । स्पेसएक्स र टेस्लाका सिइओ मस्कले राष्ट्रपतिसँगको अभूतपूर्व कदमलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको बताए। मस्कको अमेरिकी सरकारसँग ठूलो सम्झौता छ र उनी ट्रम्पको अभियानका सबैभन्दा ठूला वित्तीय समर्थक हुन्। युएसएडमाथि भएको आक्रमण संयुक्त राज्य अमेरिकाले अमेरिकीहरूलाई बेवास्ता गर्दै विदेशीहरूमा पैसा बर्बाद गर्दछ भन्ने रिपब्लिकन पार्टीको कट्टर रूढीवादी र स्वतन्त्रतावादी शाखाहरूमा लामो समयदेखि चलिरहेको कथाको सन्दर्भमा आएको छ । युएसएडले आफूलाई ‘हाम्रो सुरक्षा र समृद्धिलाई अघि बढाउँदै चरम गरिबी अन्त्य गर्न र लचिलो, प्रजातान्त्रिक समाजहरूको प्रवर्द्धन गर्न’ काम गर्ने संस्थाको रूपमा वर्णन गर्दछ । डाटा उपलब्ध भएको सबैभन्दा हालैको वर्षका रूपमा रहेको सन् २०२३ सम्म कंग्रेसनल रिसर्च सर्भिस अनुसार युएसएडबाट सहायता प्राप्त गर्ने शीर्ष तीन देशहरू युक्रेन, इथियोपिया र जोर्डन थिए । सहायताका अन्य शीर्ष प्राप्तकर्ताहरूमा कङ्गो लोकतान्त्रिक गणतन्त्र, अफगानिस्तान, दक्षिण सुडान र सिरिया समावेश छन् । युएसएडको युक्रेनका लागि कोषको मात्रा उल्लेखनीय छ । अमेरिकी सरकारी तथ्याङ्कअनुसार युद्धग्रस्त युरोपेली देश युक्रेनले १६ अर्ब डलरभन्दा बढीको समष्टिगत आर्थिक सहयोग प्राप्त गरेको छ । सन् १९६१ मा स्थापित यस निकायको ४० अर्ब डलरभन्दा बढीको बजेट अमेरिकी सरकारको लगभग ७० खर्ब डलरको कूल वार्षिक खर्चमा सानो अंश मात्र हो । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) का अनुसार संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो आधिकारिक विकास सहायता प्रदायक हो । रासस

चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने, मुख्य पुजारीमा दलित र ब्राह्मण

काठमाडौं । आगामी चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने भएको छ । बनारसीधाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको हो । बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्छ । उक्त कोटीहोममा बनारसीधाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराइनेछ । त्यस्तै, ५ हजार ५ सय ५५ शालीग्रामसिला पुजन, ४ हजार ४ सय ४४ कलश पुजन, १०८ अखण्ड रामायण पाठपारायण, गायत्रीमहामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, बिष्णुधर्मोत्तरपुराण वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गरिने तयारी रहेको छ । गंगा संगममा चारपल्ट महाआरती गरिने भएको छ । साथै विविध पाठपारायणको आयोजना गरिने तयारी छ । अतिरुद्राभिषेक, शतपतब्राह्मण पाठपारायण, शिवपञ्चाक्षरी मन्त्र सवालाखजप, वैदिक नवग्रहमन्त्र सवालाखजप, वास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्षपाठ गराइनेछ । यसका साथै पदमपुराण, मानसखण्ड, हिमवत्खण्ड, नेपालमहातम्य, महाकालसंहिता पाठपरायण लगायत विविध कार्यक्रमको वैदिक पद्धति अनुसार गरिने पञ्चाङ्गकार ज्योतिषाचार्य गणेश पन्तले बताए । पन्तका अनुसार आर्थिक अवस्था हेरी उपयुक्त हुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय सबै पक्षको अवस्था हेरी सञ्चालन गर्ने तयारी गरिएको छ । ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराट संगितमय ज्ञान महायज्ञ कोटीहोममा नेपाल राष्ट्रका ऐतिहासिक जगद् गुरूहरुको उपस्थिति रहनेछ । यससँगै दक्षिण भारतबाट ब्राह्मण, भागवताचार्य गुरु, विद्वान प्रवचनकर्ता गुरु र काशिबनारसबाट शीर्षमुर्धन्यविद्वान गुरूहरुको उपस्थिति रहनेछ । बनारसीधाम क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक भौतिक एवं आर्थिक समग्र पक्षको संर्वाङ्गिणी विकासका लागि धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको पन्तले जानकारी दिए । मुख्य पुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणिक ऐतिहासिक एक मात्र विभेदरहित क्षेत्र रहेको विषयको देशभर सन्देश दिने कार्यक्रमको उद्देश्य रहेको उनको भनाई छ । यस कोटिहोमका लागि करिब १० करोड रुपैयाँ खर्च गरिने भएको छ । उक्त कोटिहोममा लाग्ने खर्च बराबरको भेटी संकलन हुने अपेक्षा रहेको पन्तले जानकारी दिए । त्यसभन्दा बढी भेटी संकलन भएमा उक्त रकम सोही मन्दीको स्तरउन्नतीका लागि खर्च गर्ने कोटीहोम आयोजकको तयारी छ । बनारसीधाममा सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रुपमा परिचित छ । हरेक वर्षको माघ शुक्लपक्षको शैल्यदशमीका दिन बनारसीधाममा विशाल मेलाका साथै पूजालाग्ने गर्दछ । साउनेमेला, मकरमेला, गंगादशहरामेला, कोटिहोममेला, अक्षय तृतियामेला, विभिन्न पर्वहरूमा पर्वपूजा, महास्नान महारुद्राभिषेक, जात्रा, उत्सव, नित्यपूजा गंगास्नान, श्राद्धतर्पण आदि भईरहने धामका धार्मिक प्रवक्ता पन्तले बताए । पौराणिक मान्यताअनुसार द्वापर युगमा खरर्परासुर (खपरे) बाणाशुर, भष्माशुर अन्धकाशुर कालयवन लगायतका महाभयानक दैत्य दानव र देवताबिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आफ्नो १०० मनको गदा (गुर्ज) प्रहार गरि बध गरेको र त्यसै दिनदेखि देवताहरुले सर्वसम्मतिबाट स्वावासीदिँदै २२ तालको रुपमा नामकरण गरेको किम्बदन्ती छ ।

सम्पदा लघुवित्तका सदस्यलाई नेपाल तराई सीटी हस्पिटलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड र रौतहटकाे नेपाल तराई सीटी हस्पिटलबीच सम्झाैता भएकाे छ । माघ १५ गते नेपाल तराई सीटी हस्पिटलका प्रमुख डा. मधुरेन्द्र कुमार यादव र सम्पदाका नायब महाप्रबन्धक सीताराम पण्डितले सम्झौता पत्रमा हस्ताक्षरण गरे । सम्झाैतापश्चात अब सम्पदा लघुवित्तका सदस्य र कर्मचारीहरूलाई सीटी हस्पिटलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट हुनेछ । रौतहट जिल्लाअन्तर्गतका ५ वटा शाखा कार्यालयहरूका सदस्यहरूले विभिन्न स्वास्थ्य उपचार, औषधी खरीद, अप्रेशन, बेड चार्ज, ल्याब परीक्षण समेतमा अधिकतम ५० प्रतिशतसम्म छुट लाभ लिन सकिने जनाइएकाे छ । सीताराम पण्डितले स्वास्थ्य उपचारमा सदस्य र कर्मचारीलाई विशेष छुटको व्यवस्था गरिदिएकोमा अस्पताल प्रशासन टिमलाई संस्थाको तर्फबाट धन्यवाद प्रकट गरे ।

२७औं वर्षमा प्रवेश गर्‍यो सिद्धार्थ हस्पिटालिटी, धनगढीमा पाँचतारे होटल बनाउने

काठमाडौं । सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको थियो । हाल यस कम्पनी देशभर फैलिएको छ । सिद्धार्थ हस्पिटालिटीले २७औं वार्षिकोत्सवकाे अवसरमा २०३० सम्म स्वदेश तथा विदेशमा गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको जनाएकाे छ । कम्पनीले उक्त योजनालाई ‘भिजन २०३०’ नाम दिएकाे छ । उत्कृष्ट सेवा प्रदान गरेकाे भन्दै दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट दुई पटक कम्पनी सम्मानित भएकाे छ । साथै कर्णाली प्रदेश सरकारबाट पनि उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो । साथै सिद्धार्थले ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरु गरेको छ । सिद्धार्थले धनगढीमा पाँचतारे होटलकाे याेजना अगाडि सारेकाे छ । यसअन्तर्गतका विभिन्न आउटलेटमा २ हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । सिद्धार्थ भिलासा कम्पनीकाे पाँचतारे होटल हाे । यसैगरी, सिद्धार्थ वैभव चारतारे र सिद्धार्थ बाटिका तीनतारे होटल सञ्चालनमा आएकाे छ । सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान मंगलबारदेखि सुरु गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा यो अभियान सुरु गरिएको हाे । सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ । अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरू राखिने जनाइएकाे छ ।

सम्पदा लघुवित्तले १७० जना सदस्यलाई दियो सीपमूलक तालिम

काठमाडौं । सम्पदा लघुवित्तले ४ वटा शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूलाई सीपमूलक तालिम दिएको छ । शाखा कार्यालयहरू साँगाचौक सिन्धुपलान्चोक, ध्यामपेशाल, गोरखा, तुनिहवा रुपन्देही र सितापुर सप्तरीमा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको हाे । शाखा कार्यालय साँगाचौकमा फिनेल ह्याण्डबास ट्वाइलेट क्लिनर तालिम सञ्चालन भएको र उक्त तालिममा ५० जना सदस्यहरूको सहभागिता रहेको थियो । यसैगरी, ध्यामपेशालमा उन्नत जातको बाख्रापालन तालिममा ५८ जना, तुनिहवामा लहरे तरकारी खेती तालिममा २६ जना र सीतापुरमा लहरे तरकारी खेती तालिममा ३६ जना गरी जम्मा १७० जना सहभागी सदस्यलाई सीपमूलक तालिम कार्यक्रम प्रदान गरिएकाे थियाे । तालिममा स्थानीय निकाय गाँउपालिका र नगरपालिकाका कृषि तथा पशुसेवा विभागका कर्मचारी प्रशिक्षहरूद्वारा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई तालिमपश्चात तालिमको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । वित्तीय संस्थाले हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालयमार्फत १ लाख ७८ हजार जना सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । हाल लगानीमा रहेको कर्जा रकम लगभग १० अर्बको हाराहारीमा रहेको छ ।

सामान्य अंकले घट्यो नेप्से, ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार १ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिन्स्योरेन्सको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै, हिमालयन पावरको पार्टनरको २६ करोड, सीइनर्जी पावर डेभलपमेन्टको २२ करोड, ग्रीन डेभलपमेन्ट बैंकको २० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

एनआरएनएको आइसीसी र एनसीसीबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी)बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियामा संघको वर्तमान अवस्था, आसन्न १० औं एसिया प्रशान्त एवं १६ औं यूरोप क्षेत्रीय सम्मेलन, दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र विभिन्न क्षेत्रमा आयोजना गर्न लागिएका क्षेत्रीय बैठकहरू, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन, सामाजिक सुरक्षाकोष वा वैदेशिक रोजगार, संघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण तथा लगायत विभिन्न समसामायिक विषयवस्तुमा घनीभूत छलफल भएको थियो । भर्चुअल माध्यमबाट भएको उक्त अन्तरक्रियामा ५० एनसीसीका ६ सय भन्दा बढी गैरआवासीय नेपालीहरू उक्त अन्तरक्रियामा जोडिएका थिए । २०८१ माघ १९ गते तदनुसार ३१ जनवरी २०२५ देखि २०८१ माघ २० तदनुसार २ फेब्रुअरी २०२५ सम्म भएको तीनदिने कार्यक्रममा मध्यपूर्व, अफ्रिका, यूरोप, अमेरिकाज् एसिया प्रशान्त तथा ओसियाना क्षेत्रका एनसीसीका पदाधिकारीहरूले संघको लक्ष्य, उद्देश्य तथा वर्तमान परिस्थिति, ११ औं महाधिवेशनपश्चात बनेको डा बद्री केसी नेतृत्वको कार्यसमितिका कामकारबाही, ११ औं कार्यसमितिसँग असन्तुष्ट रहेको समूहका गतिविधि, बृहत एकता, आसन्न क्षेत्रीय सम्मेलन, एनसीसीको निर्वाचन, संघको सदस्यता र आगामी अक्टोबरमा हुने १२ औं महाधिवेशन र विश्व सम्मेलनका सम्बन्धमा आफ्ना सुझाव तथा धारणा व्यक्त गरे । ६ वटै क्षेत्रमा फरक-फरक समय हुने भएकोले यस अन्तरक्रिया कार्यक्रमलाई सबैको अनुकूल हुने गरेर समय निर्धारण गरी सञ्चालन गरिएको थियो । विशेषतः उक्त अन्तरक्रियामा मध्यपूर्व तथा अफ्रिका क्षेत्रका एनसीसी प्रतिनिधिहरुले मध्यपूर्व लगायत विश्वका विभिन्न देशमा वैदेशिक रोजगार तथा स्वरोजगारमा रहेका नेपाली पासपोटबहाक नागरिकलाई गैरआवासीय नेपालीको परिभाषाभित्र नराख्ने प्रावधान ल्याउन लागेको भन्ने विभिन्न समाचार सञ्चारमाध्यममा आइरहेकोले त्यस सम्बन्धमा संघले पैरवी र खबरदारी गर्नुपर्नेमा अधिकांश वक्ताहरुले जोड दिए । यस्तै, नेपाली विद्यार्थीहरुलाई पनि एनआरएनको परिभाषामा समेट्न सरकारको ध्यानाकर्षण गराउन एसिया प्यासफिक र ओसिनिया क्षेत्रका एनसीसीले सुझाएका छन् । अन्तरक्रियामा आगामी मार्च महिनामा आयोजना गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र आसन्न १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी, सम्मेलनमा समावेश गर्ने विषयवस्तुमा छलफल भएको थियो । यस्तै, लामो रस्साकस्सीपश्चात प्राप्त गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि संघले थप पहल गर्नुपर्नेमा यूरोप र अमेरिकाज् क्षेत्रका एनसीसीका वक्ताहरूले जोड दिएका थिए । संविधानमै परिकल्पना गरिएको व्यवस्था पनि सरकारले पूर्ण रुपमा नदिँदा ८० लाख गैरआवासीय नेपालीहरु निराश भएको निष्कर्ष वक्ताहरुको थियो । वंशजको नागरिकता नै आफ्नो बटमलाइन भएपनि हाल प्राप्त उपलब्धिलाई संरक्षण गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि संघले खबरदारी गरिरहनुपर्नेमा एनसीसी पदाधिकारी तथा प्रतिनिधिहरूले सुझाएका थिए । अन्तरक्रियामा क्रममा धारणा राख्ने सम्पूर्ण एनसीसीका पदाधिकारी तथा प्रतिनिधिहरुले संघको सदस्यता खुला भइसकेको र एनसीसीको निर्वाचनमा केन्द्रित हुनुपर्ने वर्तमान अवस्थामा, वर्तमान कार्यसमितिले सबै पक्षलाई समेटेर मिलिजुली रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । सदस्यता नवीकरणको सम्बन्धमा पनि एनसीसीका प्रतिनिधिहरूले चासो राखेका थिए । सो अवसरमा विभिन्न देशहरुमा सदस्यता वितरण सुरु भइसकेको र बाँकी देशहरूमा छिट्टै सदस्यता खुल्ने जानकारी दिइएको थियो । एनआरएनको अन्तरक्रिया कार्यक्रममार्फत संघको वर्तमान अवस्था, विभिन्न क्षेत्रीय सम्मेलन र आगामी योजनाहरूका बारेमा गम्भीर छलफल गरी निम्नानुसार सुझाव संकलन गरिएको छ । १.सर्वोच्च अदालतको दुवै फैसलाको अध्ययन र अन्तर्य मनन गर्दै बृहत एकताको लागि पहल गर्नुपर्ने २. गैरआवासीय नेपाली नागरिकतका पूर्ण कार्यान्वयनको लागि संविधानमा परिकल्पित व्यवस्थाको पालना गर्न र सरकारलाई निरन्तर खबरदारी गराउनुपर्ने ३. ११ औं महाधिवेशनपछि असन्तुष्ट बनेको समूहलाई संवाद र समन्वयमार्फत बृहत् एकतामा ल्याउन हदैसम्मको प्रयास गर्नुपर्ने ४. आसन्न १० औँ एसिया प्रशान्त एवं १६ ‍औं यूरोप क्षेत्रीय सम्मेलन, दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र विभिन्न क्षेत्रमा आयोजना गर्न लागिएका क्षेत्रीय बैठकहरुमा सहकार्य समन्वय गर्ने  ५.संघको सदस्यता खुला भईसकेको अवस्थामा सदस्यता नविकरण प्रावधान पनि राख्नुपर्ने तथा एनसीसीको निर्वाचनमा केन्द्रित हुनुपर्ने वर्तमान अवस्थामा सबै पक्षलाई समेटेर मिलिजुली रूपमा अघि बढ्नुपर्ने  गैरआवासीय नेपाली संघको अन्तरक्रिया कार्यक्रमले संघको अवस्था र आगामी योजनाहरूको बारेमा गम्भीर छलफल गरेको छ । सबै क्षेत्रका प्रतिनिधिहरूले एकता र सर्वोच्च अदालतका फैसलाहरूको सम्मान गर्दै संघको भविष्यका लागि सकारात्मक कदम उठाउनुपर्नेमा जोड दिएका छन् । साथै १२ औं महाधिवेशन र विश्व सम्मेलन त्यसपूर्व एनसीसीको निर्वाचन लगायतमा केन्द्रित हुनुपर्नेमा छलफल कार्यक्रमले दिशानिर्देश गरेको छ ।