‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा
खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ ।तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर पर्खाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । ‘उकालो र उरालो भू-भागमा सोही सामग्री प्रयोग गरेर सिँढी निर्माण गरिएको छ । समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ’, उनले भने, “पदमार्गमा दुई मिटर चौडाइको पर्खाल निर्माण गरिएको छ । किरात ऐतिहासिकस्थल तुवाचुङ-जायजुममा निर्माणाधीन पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।’ समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको तुवाचुङ–जायजुम भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ । आकाश खुलेका दिन उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली शृङ्खलाहरु टलक्क चाँदी झैँ टल्किएको देखिन्छ । हिमाल, पहाड र तराईसम्मको दृश्य अवलोकन गर्न सकिने यस ऐतिहासिक एवं पर्यटकीय स्थलमा निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बनाएको हो । तयामा र खियामाले तान बुनेको यो ऐतिहासिक स्थलमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम ९तान० प्रत्यक्ष रुपमा देख्न सकिन्छ । किरात मुन्दुमी मिथकअनुसार, तुवाचुङ–जायजुममा तयामा र खियामा (दिदीबहिनी)ले कपडा बुन्ने गर्दथे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् । तुवाचुङ–जायजुममा किरात आदिम पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीभन्दा केही माथि पर्ने तुवाचुङ-जायजुममा मिनी ग्रेटवालसँगै, मञ्जुश्री गुफा जाने पदमार्ग, बसाहागुफा अगाडि माङ्खिम घर निर्माणलका लागि सङ्घीय सरकारको लगानीमा रु पाँच करोड ८२ लाखमा ठेक्का लागेको थियो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकैपर्ने मञ्जुश्री पदमार्ग निर्माणसँगै तुवाचुङ मिनी ग्रेटवाल निर्माण भइसकेको छ । संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीले हाल तुवाचुङ-जायजुम प्रवेशद्वारमा रु ६० लाख लगानीमा दुईतले (दुईपाङ्ग्रे सवारीसाधनलाई भूइँतलामा तथा चारपाङ्ग्रे सवारीसाधनलाई माथिल्लो तलामा राख्नेगरी) पार्किङस्थल निर्माण गरिरहेको छ । तुवाचुङ–जायजुम ऐतिहासिकस्थल भएकाले निर्माणाधीन तुवाचुङ मिनी ग्रेटवालमा सिमेन्टको कङ्क्रिट प्रयोग नगरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिएका छन् । ‘ऐतिहासिकस्थललाई थप व्यवस्थित र आकर्षित बनाएर पर्यटक भित्र्याउने योजनासहित तुवाचुङ मिनी ग्रेटवालको अवधारणा अघि सारिएको हो’, उनले भने, ‘आगामी दिनमा तयामा र खियामाले तान बुन्दै गरेको स्थानलाई भौतिकीकरण गर्ने, तान बुन्दै गरेको प्रतिमा राख्ने, पर्यटकका लागि चिया तथा कफी खाने पार्क घर निर्माण गर्ने योजना नगरपालिकाको छ । क्रमशः उक्त क्षेत्रमा किरात समुदायको भान्छामा पाउने सबै खाद्यवस्तु उपलब्ध गराउने योजना छ ।’ तयामा र खियामाले तान बुन्दै गरेको प्रतिमा निर्माणका लागि रु ३० लाख तथा गार्डेन (बगैँचा)सहितको किरात सांस्कृतिक घर निर्माणका लागि रु २५ लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । प्रतिमा र सांस्कृतिक घरसमेत यसै वर्षभित्र निर्माण गरिने नगरप्रमुख राईले जानकारी दिएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने तुवाचुङ–जायजुममा उँधौली र उँभौलीका अवसरमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको छ । तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायत किरात समुदाय आउने गरेका छन् । सरकारले निर्धारण गरेको एक सय वटा गन्तव्यअन्तर्गत मन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तुवाचुङ–जायजुमको जमिन भिरालो हुँदा विशेष गरी साकेला नाँच्ने समयमा जोखिम हुने भएकाले ढुङ्गाको पर्खाल लगाएर पदमार्ग निर्माण गरिएको हो । रासस
माछापुच्छ्रे क्यापिटलको शैक्षिक सामाग्री वितरण कार्यक्रममा १०४ बालबालिकालाई सहयोग
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते र राष्ट्रिय बीमा संस्थानको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको तादी गा.पा. वडा नं. ६ चामोट स्थित श्री सीता धर्म आधारभूत विद्यालयका १०४ बालबालिकालाई शैक्षिक सामाग्री, स्कुल व्याग, ट्राक सुट, खेलकुद सामाग्री लगायतका आवश्यक सामाग्री वितरण गरिएको छ। कार्यक्रममा माछापुच्छ्रे क्यापिटल लिमिटेडका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार विशेष उपस्थित थिए । विद्यालयका वाल विकास कक्षाबाट कक्षा ८ सम्मका विद्यार्थीहरूले यस अवसरमा शैक्षिक सामाग्री प्राप्त गरे । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा माघ महिनाभर रक्तदान, वित्तीय साक्षरता, घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई सहयोग, र आफ्ना सेवामा छुट लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइरहेको छ। माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र यसले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, सामूहिक लगानी कोष लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड जित्न सफल भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं संस्करणको तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’ जितेको हो । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जितेको छ । यी प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यी पुरस्कारले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक-केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई पुरस्कारले थप प्रोत्साहित गरेको आईएमई लाइफ इन्स्योरेन्सले जनाएको छ । कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए ।
सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ तथा ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यावसायिक उत्कृष्टता प्रमाणित गरेको छ । बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए । यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ । सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयमार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ । शाखाका प्रमुख राकेश महर्जनका अनुसार छ लेन सडकको पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ । शाखाले अध्ययन गरी सरोकारवालासँग छलफल गरेर बोलपत्रको तयारीमा लागेको उनले जानकारी दिए । यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने गरी काम अघि बढेको उनको भनाइ छ । भरतपुरमा मात्र एक करोड ५० लाख हाराहारी खर्च लाग्ने अनुमान छ । शाखाले भरतपुर र वीरेन्द्र नगरमा सँगसँगै लाइट जडान गर्ने तयारी गरेको छ । यसअघि पोखरा र नेपालगञ्जका पाँच/पाँच स्थानमा लाइट जडान गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिला गरी काम हुन लागेको उनले बताइन् । सडक विभागले लाइट राख्ने भएकाले महानगरले बजेट विनियोजन गर्न नपरेको उनको भनाइ छ । उनले भनिन्, ‘सडक विस्तार पछि लाइट राख्ने भनिएकाले केही समय ढिलो भएको हो । पहिलेदेखि नै लाइट राख्ने कुरा हुँदै आएको थियो ।’ यससँगै सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाडी र पैदलयात्री दुवैलाई हुनेगरी लाइट जडान गरिँदै छ । काठमाडौंमा मात्र ४४ स्थानमा शाखाले लाइट राखेको छ ।
चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल, १२ वटा निर्माण सम्पन्न
काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका-२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाख रुपैयाँको लागतमा मोटरेबल पुल निर्माण गरेको हो । आयोजनाका प्रमुख धु्रवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिए । उनका अनुसार मार्फाखोलामा १२० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते १० करोड १८ लाख रुपैयाँमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले बताए । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, २ वटा निर्माणाधीन, ५ वटाको ठेक्का तोडेको र ५ वटा पुल निर्माणको प्रक्रियामा छन् । विसं २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।
जीवन विकास लघुवित्तको दोस्रो ठूलो सेयरधनी बाहिरिँदै, प्रभुले बेच्दै ४४ करोडको सेयर
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । लघुवित्तमा क्यापिटलको ९.०५ प्रतिशत अर्थात् १२ लाख १९ हजार २७९ कित्ता सेयर स्वामित्व छ । जसमध्ये क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । यस आधारमा क्यापिटलले लघुवित्तको ४४ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले आज माघ २७ गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा बोलपत्र पेश गर्दा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
अपि पावरको नाफामा १४ हजार ४४४ प्रतिशत उछाल, यस्ता छन् अन्य सूचक
काठमाडौं । अपि पावर कम्पनीको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा १४ हजार ४४४ प्रतिशत बढेर ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल नाफा ७१ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्म कम्पनीले ५३ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ५५ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर १०.२६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको छ ।