दुम्कीबासमा पुल मर्मतमा ९० लाख खर्च लाग्ने, भाँचिएको एक महिना बित्दा पनि काम अगाडि बढेन
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल-नारायणगढ सडकखण्डको दुम्कीबासमा पुल भाँचिएको एक महिना पुरा भएको छ । तर, यसको मर्मतबारे सरोकारवाला निकाय मौन देखिएका छन् । गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ११० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको थियो । ट्रक पुलको बीच भागमै फसेको थियो । पुलको झन्डै ६० मिटर भाग पूरै भत्किएको थियो । धेरैले पुल पुरानो भएकोले भाँचिएको तर्क गरेका थिए । पुल विसं २०३२ सालमा ब्रिटिस सरकारको अनुदानमा बनेको हो । पुल महेन्द्रराजमार्ग निर्माण हुँदा नै बनेको थियो । पुल बनेको झण्डै ५० वर्ष पुरा भइसकेको छ। तत्कालको लागि पुलको पुरै ड्यामेज भएको पूर्वपट्टिको भाग र अन्य ड्यामेज ठाउँमा सामान्य मर्मत गरेर सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए। उनका अनुसार सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपनिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले पुलबारे प्रतिवेदन पठाइसकेको छ । मर्मत गर्न ९० लाख लाग्ने ड्यामेज भएको उक्त पुललाई अस्थायी रूपमा मर्मत गर्न करिब ९० लाख रुपैयाँ लाग्ने जनाइएको छ । उनले भने, ‘पुरै पुलको ओभरल ब्रिज डिजाइन गरेर यसको कस्टिम निकालेपछि मात्रै थाहा हुन्छ । तत्काल ड्यामेज भएको ठाउँमा मात्रै सामान्य मर्मत गर्ने गरी तयारी भइरहेको र उक्त मर्मतका लागि करिब ९० लाख रुपैयाँ लाग्नेछ ।’ पुल मर्मतको जिम्मा सडक विभागको रहेको उनले जानकारी दिए । के भन्छ स्थानीय सरकार ? विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पुल सडक विभागले बनाउने कुरा भएपनि अहिलेसम्म काम अगाडि नबढेकाे बताए । पटक-पटक सडक विभागसँग सम्पर्क गर्दा पनि कल नै नउठाएको गुनासो गरे । उनले भने, ‘पुल भाँचिएको एक महिना बितिसक्यो । यसको निर्माणबारे कुनै सुरसार नै देखिँदैन । पटक-पटक सडक विभागसँग सम्पर्क गरिरहेको छु । तर कल नै उठाउँदैनन् ।’ उनका अनुसार पुललाई ६० मिटर ग्राबेल र बेलिब्रिज गरेर बनाउने याेजना छ । उनले गाँउपलिकाबाट हुने सहयोगका लागि आफूहरू तयार रहेको बताए । उनले भने, ‘पालिका जति बेला पनि तयारी अवस्थामै छ । पालिकाले गर्ने सबै सहयोग गर्छ । पुलको अनुगमन गर्न मन्त्रीस्तरीय मान्छे आए पनि यसको निर्माणका लागि ठोस निर्णय नै गर्न सकेनन् ।’ हाल उक्त खण्डमा दायाँबायाँ डाइभर्सन गरेर सवारीसाधन सवारीसाधन आवतजावत भइरहेको उनको भनाइ छ । उनले दुर्घटनाग्रस्त स्थानभन्दा २०० मिटर परबाट वैकल्पिक बाटो खोलिएको र दुवैतर्फका सवारीसाधनहरू सञ्चालनमै रहेको जानकारी दिए । ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?
सेयर बजारमा ६ अर्ब ९६ करोडको कारोबार
काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७७ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२२ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको भएको छ । नेपाल रिपब्लिकको २४ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै, सीईडीबी होल्डिङको १५ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्यादी हाइड्रोपावर र गार्डिन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै बोटर्लस नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
यी १५ बैंकका कर्मचारीको तलब बढ्यो, कुन बैंकले कति बढायो ?
काठमाडौं । बैंकका कर्मचारीहरूको तलब ६ महिनामा साढे १ अर्बभन्दा बढी बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्ममा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब ६.०६ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बढाएर २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको पुसमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई २६ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यस अवधिमा १५ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ५ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । गत वर्षको तुलनामा घटेको भएपनि यस अवधिमा सबैभन्दा धेरै रकम राष्ट्रिय वाणिज्य बैंकले खर्च गरेको देखिन्छ । यस बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको पुसमा बैंकले कर्मचारीहरूलाई २ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा हिमालयन बैंकको कर्मचारी खर्च सबैभन्दा धेरै बढेको देखिन्छ । हिमालयनको २७.६१ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । यस्तै, प्राइम बैंकको २५.६६ प्रतिशत बढेर ८५ करोड ९१ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २४.९१ प्रतिशत बढेर १ अर्ब ७३ करोड २६ लाख रुपैयाँ, एनएमबी बैंकको २३.१६ प्रतिशत बढेर १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ तलब वापत भुक्तानी गरेका छन् । एभरेष्ट बैंकको १४.८७ प्रतिशत बढेर ९१ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको १३.८५ प्रतिशत बढेर ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ७.०५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन् । प्रभु बैंकको ५.९७ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५.५८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.२९ प्रतिशत बढेर १ अर्ब ५२ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको ५.२३ प्रतिशत बढेर १ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९१ प्रतिशत बढेर ५४ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.८३ प्रतिशत बढेर ८३ करोड ८९ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको १.६२ प्रतिशत बढेर १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । ग्लोबल आइएमई बैंकको ११.६९ प्रतिशत घटेर १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको ७.७२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ, नेपाल बैंकको १.१३ प्रतिशत घटेर १ अर्ब ८२ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको०.१३ प्रतिशत घटेर ७३ करोड ७६ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।
चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी
बेइजिङ । निरन्तर जनसाङ्ख्यिकीय चुनौतीको पछिल्लो सङ्केतलाई पछ्याउँदै गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ । सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका र यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो । सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको । सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो । चीनको एक अर्ब ४० करोड जनसङ्ख्या अहिले तीव्र गतिमा बुढ्याैली जनसङ्ख्या हुँदै गएको छ र गत वर्षको अन्त्यसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिको जनसङ्ख्या करिब एक चौथाई रहेको छ । जनसाङ्ख्यिकीय प्रवृत्तिहरूले देशका अधिकारीहरूका लागि नयाँ चुनौतीहरू प्रस्तुत गर्दछ । यसले लामो समयदेखि आर्थिक विकासको चालकको रूपमा आफ्नो विशाल कार्यबलमा भरोसा गरेको छ । हालैका वर्षहरूमा बेइजिङले सुरु गरेको परिवारसमर्थक अभियानको बावजुद विवाहमा गिरावट आएको छ । अभियानमा विभिन्न अनुदानहरू र सन्देशमार्फत् मानिसहरूलाई धेरै (दुई वा सो भन्दा बढी) बच्चा जन्माउन प्रोत्साहित गर्दछ । तर विशेषज्ञहरूका अनुसार विशेष गरी शिक्षा र बच्चाको हेरचाहको लागि हुने उच्च लागत र नयाँ स्नातकहरूको पर्खाइमा चुनौतीपूर्ण रोजगार बजार आमाबाबुलाई धेरै बच्चा बनाउन निरुत्साहित गर्ने कारकहरूमध्ये एक हो । चिनियाँ ‘माइक्रोब्लगिङ साइट (वेइबो)’ का एक सेवाग्राहीले भने, ‘यदि म आफ्ना आमाबाबुमा भर पर्दिनँ भने म घर किन्न सक्दिनँ र विवाह गर्नु पनि ठूलो खर्च लाग्छ ।’ ‘यो वर्ष मलाई अचानक महसुस भयो कि अविवाहित हुनु पनि धेरै राम्रो छ । त्यति धेरै दबाब छैन, म कमाउँछु र आफ्नै पैसा खर्च गर्छु,’ उनले भने । सन् १९८० को दशकमा जनसङ्ख्या वृद्धिद् उच्च बनेपछि बेइजिङले ‘एक सन्तान नीति’ लागू गरेको थियो । यो नियम सन् २०१६ मा मात्र अन्त्य भएको हो । दम्पतीलाई सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमति दिइएको थियो तर चीनको जनसाङ्ख्यिकीय परिवर्तनको सङ्केत देखिन थालिसकेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा घट्दो विवाहले आगामी वर्षहरूमा पेन्सन र सार्वजनिक स्वास्थ्य प्रणालीमा दबाब बढाउने खतरा छ। बेइजिङले सेप्टेम्बरमा लामो समयदेखि निरन्तरता पाएको ६० वर्षको वैधानिक सेवा निवृत्तिको उमेर क्रमशः बढाउने घोषणा गरिसकेको छ । यसलाई प्रत्याशित कदम भनिएको छ ।
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले वृद्धि, साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको बिक्री
म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैंचा विस्तार, अनुकूल मौसम र रोग कीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताए । ’गतवर्ष तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार ७८१ मेट्रिकटन उत्पादन भएको छ,’ उनले भने, ’म्याग्दीका कृषकले यस वर्ष ३३ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।’ सरदर प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला बिक्री भएको छ । यसवर्ष प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको थियो । जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गतवर्ष २४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मङ्गला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटाले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैंचा छन् । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैंचामै आउने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैंचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् । यसवर्ष ४०० रोपनीमा सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
शाखा कार्यालय उद्घाटन गर्न गभर्नर अधिकारी हेलिकप्टर चढेर पुगे बझाङको साइपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हेलिकप्टर चढेर शाखा कार्यालय उद्घाटन गर्न पुगेका छन् । उनी बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्न पुगेका हुन् । सोमबार एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटनका गभर्नर अधिकारीसँगै एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि सहभागी थिए । गभर्नर अधिकारीलाई साइपालबासीले बाजागाजासहित स्वागत गरेका छन् । गभर्नर अधिकारीलगायतको टोलीलाई राष्ट्रिय फूल गुराँस दिएर साइपालबासीले स्वागत गरेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले जानकारी दिए । यससँगै साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ कारोबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष बोहराको भनाइ छ । यसभन्दा पहिला साइपालका स्थानीय तीन दिन हिँडेर चैनपुर पुगी बैंकिङ कारोबार गर्दै आएका थिए । साइपाल गाउँपालिकाको धलौनमा बुधबार एभरेष्ट बैंकको शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाको अन्त्य भएको हो । बैंकको शाखा खुलेसँगै अब स्थानीयले कारोबारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको गभर्नर अधिकारीले बताए । स्थानीयलाई बैंकिङ कारोबारका लागि गभर्नर अधिकारीले आग्रहसमेत गरे । साइपालमा एभरेष्टको शाखा पुगेसँगै देशभरका ७५३ पालिकामै बैंकको पहुँच पुगेको छ । मुलुक संघीय संरचना गएसँगै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा पुर्याउन निर्देशन दिएको थियो ।
गुल्जार बागबजार ‘सर्टिङ-सुटिङको हब’
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीलाई ६० वर्षअघि बागबजारका खेतका आलीहरूमा नाच्दै-खेल्दै गरेको हिजोजस्तै लाग्छ । पातलो बस्ती, ठूल्ठूला खेतहरु, हरियाली जंगल अनि सीमित मानिसहरूको आवतजावत । यो दृश्य भाइराम खड्गीको मानसपटलमा अझै पनि ताजै छ । जति खड्गीको मुहारमा चाउरिएका रेखीहरू बढ्न थाले त्योभन्दा व्यग्ररूप बागबजारले लिन थाल्यो । उनी अहिले पनि सम्झिन्छन्, ‘विद्युत प्राधिकरणको कार्यालय रहेकै ठाउँमा त्यतिखेर बाघको खोर थियो ।’ बागबजारभरिको मानिसको लुगा सिलाउने एउटा ‘दमाई बा’ थिए । ‘वर्षमा एक जोर लुगा लगाउँथ्यौं, त्यो एक जोर लुगा सिलाउन पनि दमाइ बाको पालो कुनुपर्थ्याे,’ उनी भन्छन्, ‘अहिलेको बागबजार र पहिलेको बागबजारबीच तुलना गर्न नै मिल्दैन, धेरै परिवर्तन भइसक्यो ।’ भाइराम खड्गी । बागबजारमा करिब ३० वर्षअघि आराधना कम्प्लेक्सले सर्टिङ-सुटिङको काम सुरु गरेको थियो । १५/२० वटा सर्टिङ-सुटिङ एक ठाउँमा जम्मा भएर व्यवसाय सञ्चालन गरिएकाे थियाे । तर, अहिले बागबजारभरि त्यसकै पसलहरू देखिन्छन् । विस्तारै बागबजारको खेतबारी र जंगल हराउँदै गयो । अहिले बागबजारमा ठूल्ठूला कंक्रिटका घरहरू छन् । विगतमा एक जोर लुगा सिलाउन १० दिन कुनुपर्ने अवस्थाबाट अहिले बागबजारमा घण्टामै लुगा तयार हुने प्रविधि भित्रिएका छन् । विगतमा केही जातिले मात्रै गर्ने सिलाइ कटाइ तथा सटिङ सुटिङ अहिले ठूलाे व्यवसायका रूपमा विस्तार भएकाे छ । अधिकांश व्यवसायीको रोजाइ बनेको छ । बीचमा फेरिएको स्वरूप एक समय छापाखाना र प्रिन्टिङको लागि बागबजार प्रख्यात बन्यो । कुनै प्रिन्टिङ तथा छापाखानाको काम गर्नुपर्यो भने सबैले सुरुमै सम्झिने नाम थियो बागबजार । बागबजारका गल्लीहरू प्रिटिङ पसलहरूले भरिभराउ थिए । प्रिटिङको काम गर्ने अधिकांशको जमघट गर्ने थलो थियो बागबजार । तर, अहिले बागबजारले रूप फेरेको छ । गल्ली-गल्लीमा भेटिने प्रिन्टिङका पसलहरू हराउन थालेका छन् । पुराना व्यवसायीहरू पलायन हुन थालेका छन् । नयाँ व्यवसायीले अड्डा जमाइरहेका छन् । विशेष गरेर अहिले बागबजार सर्टिङ-सुटिङको हबका रूपमा विकसित भएकाे छ । धेरैले लुगा सिलाउनु पर्यो भने सुरुमा सम्झिने नाम नै बनेको छ बागबजार । विवाह तथा ब्रतबन्धमा मात्रै होइन, बाह्रै महिना सुट सिलाउने र किन्नेहरूको भीड लाग्छ बागबजारमा । बागबजारका पुराना व्यवसायीहरू अहिले सर्टिङसुटिङको हब बनिरहेको धारणा राख्छन् । अर्जुन बस्नेत । बागबजार काठमाडौंमा मात्रै होइन, ७७ वटै जिल्लाका मानिसहरूंको रोजाइमा पर्छ । छिटो, छरितो र उत्कृष्ट काम, सुपथ मूल्य-सरल स्वभाव र व्यावसायिक लेनदेनले बागबजारलाई दिनप्रतिदिन सटिङ-सुटिङको हब बन्न प्रेरित गरिरहेको छ । नयाँ व्यवासयीलाई पनि बागबजारमा आएर सटिङ सुटिङको व्यवसाय थाल्न उप्रेरित गरिरहेको छ । अहिले बागबजारको मुख्य सडकमा तपाईं हिड्नुभयो भने तपाईंले अधिकांश सटरहरु सर्टिङ-सुटिङका देख्न सक्नुहुन्छ । २५ वर्षदेखि बागबजारमा सटिङ-सुटिङ व्यवसाय गर्दै आएका मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेत यो व्यवसायमा अहिले धेरैको आकर्षण बढेको बताउँछन् । उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका मानिस सुट सिलाउनकै लागि बागबजार पुग्ने गरेका छन् । उनले ७७ वटै जिल्लाका मानिसहरुले सुट सिलाउनका लागि बागबजार रोज्ने गरेको अनुभव सुनाए । बागबजारमै रहेको सुटमालाका सञ्चालक राज कार्की पनि शिक्षक पेशाबाट पलायन भएर सर्टिङ-सुटिङको व्यवसायमा प्रवेश गरे । उनले पनि यो व्यवसायमा सम्भावना र अवसरहरु देखे । र, शिक्षक पेशा छोडेर सदाका लागि सर्टिङ-सुटिङको व्यवसायमा होमिए । उनी पनि बागबजारलाई सटिङ-सुटिङको जन्मदाता ठान्छन् । काठमाडौंको अधिकांश टेलरिङ बागबजारबाटै सुरु भएको बताउँदै उनी भन्छन्, ‘अहिले काठमाडौंका जति क्षेत्रमा सर्टिङ-सुटिङ छन्, यसको प्रभाव बागबजारबाटै परेको हो, अहिले पसलहरू बढे पनि बागबजार विगतदेखि नै सटिङ सुटिङको हब हो ।’ बागबजार सर्टिङ-सुटिङ हबभन्दा पनि प्रयोगशाला भएकाे तर्क कार्कीकाे छ। बागबजारमा सटिङ-सुटिङको व्यवसाय सफल प्रमाणित भएसँगै अन्य क्षेत्रमा यस्तै व्यवसाय जन्मिएको धारणा उनी राख्छन् । उनका अनुसार अहिले बागबजारमा विभिन्न जिल्लाबाट टेलरिङ अध्ययन गर्न आउनेहरू बढिरहेका छन् । ‘अहिले मेरो टेलरमा पनि दैनिक ७/८ जना भिजिट गर्न आउनुहुन्छ, व्यवसाय कसरी चलाइएको छ ? कपडा कुन लेभलको राखिन्छ ? कसरी बिक्री हुन्छ ? डिजाइन कसरी गरिन्छ ? भन्ने विषयमा जानकारी लिनुहुन्छ,’ उनी भन्छन्, ‘बागबजार टेलरिङ सिक्नेहरूका लागि एउटा पाठशाला हो ।’ अहिले बागबजारमा सर्टिङ-सुटिङको व्यवसाय गरिरहेका व्यवसायीहरू खुसी छन् । व्यवसायसँगै उनीहरूले बागबजारलाई एउटा हब बनाउन भूमिका खेलिरहेका छन् । समुन्द्र तण्डुकारले बागबजारमा टेलर्स सञ्चालन गरेको ३० वर्ष भयो । ३० वर्षअघि उनको सामान्य लुगा सिलाउने पसल थियो । अहिले उनी पनि बागबजारका परिचत पात्र बनेका छन् । उनले आफैले सिलाइकटाइ सिके । व्यवसाय थाले । अहिले व्यवसाय राम्रै चलिरहेकाे छ । उनले अहिले बागबजारमा ठूलो ‘एस.टी टेलर’ (पासा) सञ्चालन गरिरहेका छन् । ‘सुरुमा आफै पसल राखेर लुगा सिलाउन थालें, विस्तारै पसल चल्दै गयो,’ उनी भन्छन्, ‘सेवाग्राहीको भीड पनि बढ्न थाल्यो, अहिले विगतको तुलनामा पसल विस्तार गरेको छु, म सन्तुष्ट छु ।’ समुन्द्र तण्डुकार । फेरिँदै ट्रेण्ड, रोजाइमा सुट ६० वर्षअघि एउटा ‘दमाइ बा’ ले कपडा सिलाउने बागबजारमा अहिले थरिभरिका व्यवसायी भित्रिएका छन् । सिलाइ कटाइको काम सीमित जातिले गर्नुपर्छ भन्ने मानसिकता अधिकांशमा मानिसमा थियाे । त्यो जातीले सिलाइकटाइबाट नै आफ्नो गुजारा चलाउँथ्यो । राज कार्की । तर, अहिले समय फेरिएको छ । विभिन्न जातजाती र धर्म संस्कृतिका मानिसहरू सर्टिङ-सुटिङमा लागेका छन् । उनीहरु विगतमा सीमित व्यक्ति र जातीले गर्ने कामलाई पेसा र व्यवसायका रूपमा विकास गरिरहेका छन् । सुटमालाका सञ्चालक कार्की कुनै पनि व्यवसाय कुनै पनि जाति केन्द्रित हुन नहुने धारणा राख्छन् । ‘सिलाइ-कटाइ आत्मनिर्भर हुने एउटा उत्कृष्ट सीप हो, यो सीप हरेक मान्छेमा हुन आवश्यक छ, विगतमा हातमुख जोड्नका लागि गरिने सिलाइकटाइ आज एउटा ठूलो सम्भावित व्यवसायका रुपमा हेरिएको छ,’ उनी गर्वका साथ भन्छन्, ‘ परिवर्तन सम्भव छ ।’ एस.टी टेलरर्सका सञ्चालक तण्डुकार पनि आजभोलि मान्छेको सोंचमा ठूलो परिवर्तन आएको महसुस गर्छन् । व्यवसाय सुरु गरेदेखि अहिलेसम्मको ३० वर्षको अवधिमा उनले धेरै उतारचढाव र आरोह अवरोहहरु अनुभव गरे । विगतको तुलनामा सर्टिङ-सुटिङ व्यवसायमा ठूलो परिवर्तन आएको उनको भनाइ छ । विगतमा केही विशेष व्यक्तिले मात्रै सुट लगाउने अभ्यास थियो । सुट लगाउनेहरूलाई आम मानिसले हेर्ने नजर पृथक थियो । सुट लगाइ हाले पनि विवाह बाहेकमा लगाउने सीमित हुन्थे । तर, अहिले समय फेरिएको छ । अहिले अधिकांशको राेजाइ सुट बनेको छ । हरेक चाडपर्व, मेला, महोत्सव तथा दैनिक कार्यमा पनि अधिकांशले सुटको प्रयोग गर्छन् । मेरिना इम्पेक्सका निर्देशक बस्नेत भन्छन्, ‘विगतमा हरेक मान्छेले सुट लगाउने अभ्यास थिएन । तर, अहिले अधिकांशको रोजाइ सुट छ, हामीले पनि सुट लगाउन सबैलाई प्रोत्साहन गरिरहेका छौं ।’ बागबजारमा २० वर्षदेखि सटिङ सुटिङको व्यवसाय गरिरहेका एक्सलेन्ट टेलर्सका सञ्चालक कमलेश श्रेष्ठ सेवाग्राहीको माग बढेसँगै यो व्यवसायमा आवद्ध हुनेको संख्या पनि बढेको बताउँछन् । उनी आजभोलि मान्छे चिटिक्क पर्न रुचाउने भएकोले धेरैको रोजाइ सुट बनेको अनुभव सुनाउँछन् । ‘हरेक व्यक्तिलाई हेर्दा आकर्षक देखाउने नै सुट हो, त्यसैले पनि सुटमा युवापुस्ताको आकर्षण बढेको हो,’ उनले भने । कमलेश श्रेष्ठ । टेलरिङमा प्रविधि विगतको तुलनामा सटिङ-सुटिङमा केही प्रविधि भित्रिएका छन् । तर, अपेक्षाकृत ढंगले प्रविधि भित्रिन नसकेको व्यवसायीहरूकाे गुनासाे छ । सुटमालाका सञ्चालक कार्की अब यो क्षेत्रमा प्रविधिको प्रयोग गर्न ढिलाइ गर्न नहुने धारणा राख्छन् । ‘अन्य क्षेत्रमा प्रवृधिको प्रयोग बढिरहेको बेला यो व्यवसायमा पनि आवश्यक छ, सर्टिङ-सुटिङको लागि म आफैले पनि दुइटा एप विकास गर्ने तयारी गरेको छु,’ उनले याेजना सुनाए । उनले परिकल्पना गरेको एपमा कुनैपनि लुगा सिलाउन वा नाप लिनका लागि मान्छे भाैतिक रूपमा उपस्थित हुनु पर्दैन । लुगा सिलाइसक्ने बित्तिकै सेवाग्राहीलाई म्यासेज जाने एपको विकास गर्ने प्रयास उनले गरिरहेका छन् । उनी यो पेशामा आवद्ध व्यक्तिले लगानी राम्रो गर्न नसकेको धारणा पनि राख्छन् । ‘हामीले यो पेशालाई लुगा बेच्ने र जीवन निर्वाहमात्र गर्ने बनायौं । याे पेशा जीवन निर्वाहमात्रै हाेइन, आमयुवालाई विदेश जानुभन्दा फेशनसँग सम्बन्धित रहेको एउटा टेलरिङमा पनि काम गर्न सकिन्छ भन्ने प्रेरणाको रूपमा पनि यसलाई लिन सकिन्छ,’ उनले भने । यो क्षेत्रमा अहिले नयाँ-नयाँ डिजाइन बजारमा आएका छन् । अहिले युवापुस्ताले दुई बटन राउण्डको क्लासिक डिजाइन खुब मन पराइरहेकाे व्यवसायीहरु सुनाउँछन् । त्यो बाहेक अहिले ट्रेन्डमा रहेको डबल ब्रेष्टेड सुटको डिजाइन चलेको छ । युवा भन्नेबित्तिकै स्लिम फिटेट मन पराउँछन् । उनीहरूको रोजाइअनुसार सेवा दिने चुनौती पनि थपिएको उनीहरूको भनाइ छ । ‘ग्राहकको विचार र मागमा पहिलेको भन्दा अहिले धेरै परिवर्तन आएको छ, पहिले जस्तो छैन,’ कार्की भन्छन्, ‘जमाना फेरियो, इन्टरनेटमा नयाँ-नयाँ डिजाइन आइरहेको हुन्छ । ग्राहकले पनि त्यस्तै माग गर्छन्, त्योअनुसार आफूलाई परिमार्जन गर्नुपर्छ ।’ बागबजारमा २० वर्षदेखि टेलरिङ व्यवसाय गरेका कमलेस श्रेष्ठ विगतको तुलनामा अहिले व्यवसाय सुस्ताएको बताउँछन् । उनी सुट मेलाले केही उत्साह बढेपनि पहिलेको जस्तो व्यवसाय अहिले नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘कोरोनाले समस्या भएको थियो । तर, सुटमेलापछि अहिले फेरि लय फर्कन थालेको छ ।’ नेपाली युवाहरू विदेसिँदा यसको असर टेलरिङमा परेको बताउँछन् । ‘सुट बढी प्रयोग गर्ने भनेको युवापुस्ता हो । तर, नेपाली युवा पुस्ताको आकर्षण विदेश हुन थाल्यो । युवाहरू विदेसिँदा यसको असर व्यवसायमा परेको हो,’ उनी भन्छन्, ‘तर हामीले यो व्यवसायमा धेरै सम्भावना देखेका छौं ।’
अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो । एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए । सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गरेका थिए । अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् । रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताए । ‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ’, ट्रम्पले भने । उनले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए । राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन् । क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोके । तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ । गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ । स्वर्णिम युग ट्रम्पले युरोपेली सङ्घ (इयु) मा पनि कर लगाउने वाचा गरेका छन् र उनले चाँडै अनिर्दिष्ट ‘पारस्परिक भन्सार’ घोषणा गर्ने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोपप्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने प्रतिज्ञा गरे । यद्यपि उनले संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घको सट्टा चीनमाथि आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने बताए । म्याक्रोंले सिएनएनमा युरोपमाथिको कुनै पनि भन्सारको प्रभाव अमेरिकीहरूले महसुस गर्नेछन् भन्दै यसले ‘अमेरिकामा लागत बढाउने र मुद्रास्फीति सिर्जना गर्ने’ चेतावनी दिए । शुक्रबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँगको मैत्रीपूर्ण बैठकमा ट्रम्पले टोकियोलाई जापानसँगको अमेरिकी व्यापार घाटा शून्यमा नझारेसम्म निर्यात गरिएका सामानमा भन्सार लाग्नसक्ने चेतावनी दिए । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब नौ खर्ब २० अरब डलर पुगेको छ । संयुक्त राज्य अमेरिकाका लागि ‘नयाँ स्वर्ण युग’ को वाचा गरेका ट्रम्पले कुनै पनि शुल्कको प्रभाव अमेरिकी उपभोक्ताहरूलाई नदिई विदेशी निर्यातकर्ताहरूले वहन गर्ने कुरामा जोड दिएका छन् । यद्यपि धेरै विज्ञहरूले यसको विपरीत बताएका छन् । तर यस महिनाको सुरुमा मेक्सिको, क्यानाडा र चीनमाथि भन्सार घोषणा गरेपछि उनले अमेरिकीहरूले आर्थिक ‘पीडा’ महसुस गर्न सक्ने स्वीकार गरे । ट्रम्पले आफ्ना व्यापक नीतिगत लक्ष्यहरू हासिल गर्न भन्सारलाई धम्कीको रूपमा प्रयोग गरेका छन्। सबैभन्दा पछिल्लो पटक उनले कोलम्बियाले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी सैन्य विमानहरूलाई फर्काउँदा त्यसमाथि भन्सार लगाउने बताएका थिए । ट्रम्पसँगको एक दिनको टकरावपछि कोलम्बियाली सरकार पछि हटेको थियो । रासस