दुम्कीबासमा पुल मर्मतमा ९० लाख खर्च लाग्ने, भाँचिएको एक महिना बित्दा पनि काम अगाडि बढेन

<p>काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल-नारायणगढ सडकखण्डको दुम्कीबासमा पुल भाँचिएको एक महिना पुरा भएको छ । तर, यसको मर्मतबारे सरोकारवाला निकाय मौन देखिएका छन् । गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ११० [&hellip;]</p>

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल-नारायणगढ सडकखण्डको दुम्कीबासमा पुल भाँचिएको एक महिना पुरा भएको छ । तर, यसको मर्मतबारे सरोकारवाला निकाय मौन देखिएका छन् ।

गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ११० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको थियो । ट्रक पुलको बीच भागमै फसेको थियो । पुलको झन्डै ६० मिटर भाग पूरै भत्किएको थियो ।

धेरैले पुल पुरानो भएकोले भाँचिएको तर्क गरेका थिए । पुल विसं २०३२ सालमा ब्रिटिस सरकारको अनुदानमा बनेको हो । पुल महेन्द्रराजमार्ग निर्माण हुँदा नै बनेको थियो । पुल बनेको झण्डै ५० वर्ष पुरा भइसकेको छ।

तत्कालको लागि पुलको पुरै ड्यामेज भएको पूर्वपट्टिको भाग र अन्य ड्यामेज ठाउँमा सामान्य मर्मत गरेर सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए।

उनका अनुसार सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपनिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले पुलबारे प्रतिवेदन पठाइसकेको छ ।

मर्मत गर्न ९० लाख लाग्ने 

ड्यामेज भएको उक्त पुललाई अस्थायी रूपमा मर्मत गर्न करिब ९० लाख रुपैयाँ लाग्ने जनाइएको छ ।

उनले भने, ‘पुरै पुलको ओभरल ब्रिज डिजाइन गरेर यसको कस्टिम निकालेपछि मात्रै थाहा हुन्छ । तत्काल ड्यामेज भएको ठाउँमा मात्रै सामान्य मर्मत गर्ने गरी तयारी भइरहेको र उक्त मर्मतका लागि करिब ९० लाख रुपैयाँ लाग्नेछ ।’

पुल मर्मतको जिम्मा सडक विभागको रहेको उनले जानकारी दिए ।

के भन्छ स्थानीय सरकार ?

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पुल सडक विभागले बनाउने कुरा भएपनि अहिलेसम्म काम अगाडि नबढेकाे बताए । पटक-पटक सडक विभागसँग सम्पर्क गर्दा पनि कल नै नउठाएको गुनासो गरे ।

उनले भने, ‘पुल भाँचिएको एक महिना बितिसक्यो । यसको निर्माणबारे कुनै सुरसार नै देखिँदैन । पटक-पटक सडक विभागसँग सम्पर्क गरिरहेको छु । तर कल नै उठाउँदैनन् ।’

उनका अनुसार पुललाई ६० मिटर ग्राबेल र बेलिब्रिज गरेर बनाउने याेजना छ ।

उनले गाँउपलिकाबाट हुने सहयोगका लागि आफूहरू तयार रहेको बताए । उनले भने, ‘पालिका जति बेला पनि तयारी अवस्थामै छ । पालिकाले गर्ने सबै सहयोग गर्छ । पुलको अनुगमन गर्न मन्त्रीस्तरीय मान्छे आए पनि यसको निर्माणका लागि ठोस निर्णय नै गर्न सकेनन् ।’

हाल उक्त खण्डमा दायाँबायाँ डाइभर्सन गरेर सवारीसाधन सवारीसाधन आवतजावत भइरहेको उनको भनाइ छ । उनले दुर्घटनाग्रस्त स्थानभन्दा २०० मिटर परबाट वैकल्पिक बाटो खोलिएको र दुवैतर्फका सवारीसाधनहरू सञ्चालनमै रहेको जानकारी दिए ।

ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?

Share News