साइग्रेस बने आइएमईको स्टोरी एम्बेसडर
काठमाडाैं । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियुक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरुका घर आगन र परिवार सम्मै पुर्याउन मद्दत गर्नेछन् ।नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अव साईग्रेसको आवाजमा सुन्न पाईने छ । कामको बाध्यता होइन कामको हुटहुटीले पनि बिदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साईग्रेसको आवाजमा मिसिएको कथाले ब्यक्त गर्ने कम्पनीको बुझाई छ । नेपाली कथा बाचनमा एउटा छुट्टै आयाम थप्न सफल साइग्रेस पोख्रेलले देश तथा बिदेशमा चर्चा कमाई सकेका युवा अभियन्ता हुन् । सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साईग्रेसले अव बिश्वको रहेका हरेक कुनामा रहेका नेपालीका भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नेछन् । साईग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीहरुलाई आइएमईका सामाजिक प्लेटफर्म यूट्यूव, फेसबुक तथा इन्स्टाग्राम लगायतमा संजालहरुमा पोष्ट गरिने पनि कम्पनीले जनाएको छ । हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचनमार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ । विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पस्किने जमर्को वास्तवमै प्रभावकारी सावित हुने पनि कम्पनीले जनाएको छ । कामको शिलशिलामा विदेशमा रहँदा भोगेका, देखेका, र अनुभूति गरेका दिनचर्यालाई अव साइग्रेसले लयबद्ध गर्ने छन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्रि कटवालले बताए ।
सेवाग्राही विदेशिएपछि १५ हजार राष्ट्रिय परिचयपत्र थन्कियो
बागलुङ । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए। उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यून मात्र आउने गरेको जानकारी दिए । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताए । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन् भने १५ हजार आठ सय ३८ परिचयपत्र प्रशासनमै रहेको उनले बताए । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो। परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ। परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको जनाइएको छ । राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ । चिपसहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनै पनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ। रासस
एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहयोगमा रु एक करोड लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताए । उनका अनुसार, राजमार्गसँगै जोडिएकोे मेरो पाँच कट्ठा जमिन थियो, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लागेर उक्त जमिनमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएँ । राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ स्टेशनको क्षमता बढाउँदै चालकका लागि ‘रिफ्रेस सेन्टर’ समेत सञ्चालन गर्ने योजना छ । नारायणघाट-बुटवल सडकको एक सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको एकमात्र फास्ट चार्जिङ स्टेशनमा चौबीसै घण्टा विद्युतीय गाडी चार्ज गर्न मिल्ने सुविधा रहेको उनले बताए । ‘अहिले दैनिक ५० वटासम्म सवारी चार्ज भइरहेका छन्, विस्तारका क्रममा रहेको यस सडकको काममा ढिलाइ हुँदा समस्या भएको छ’ उनले भने । बाटो विस्तारपछि थप १० वटा ‘नोजल’ थप गर्ने तयारीमा रहेको उनले बताए । विद्युतीय गाडी चार्ज गर्ने बेलासम्म यात्रुलाई असुविधा नहोस् भनी आफूले चमेनागृह सञ्चालनमा ल्याएको अधिकारीले बताए । ‘यहाँ सवारी मर्मत गर्ने ग्यारेज पनि थप गर्ने योजना छ’, उनले भने । लोकाहामा सञ्चालनमा आएको यस चार्जिङ स्टेशनबाट जिल्लाका विद्युतीय गाडी प्रयोगकर्तासँगै पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारीलाई निर्धक्क भएर यात्रा गर्ने वातावरण सृजना भएको उहाँको भनाइ छ । पछिल्लो समय विद्युतीय सवारीको चाप बढ्दो रहेको र सरकारको विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने अवधारणाअनुरूप विद्युतीय सवारी फास्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको अधिकारीले बताए । गाडीको ब्याट्री क्षमताअनुसार चार्जिङको समय लाग्ने र सोहीअनुसारको शुल्क लिने गरिएको उनको भनाइ छ । सवारी चार्ज गर्न लाग्ने समय फरक–फरक हुने उनले बताए । ‘कुनै पनि गाडी शून्य चार्जमा यहाँ आउँदैनन्, १०/१५ प्रतिशत चार्ज बाँकी नै हुन्छ, इभी चार्ज गर्ने पनि मोबाइल चार्ज गरेजस्तै हो’, उनले भने, ‘बढीमा एक घण्टाभित्र विद्युतीय गाडी सय प्रतिशत चार्ज हुन्छ ।’ चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिएको उनले बताए । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका अधिकारीको भनाइ छ । रासस
बलेफी हाइड्रोले फागनु ५ गतेदेखि १८ लाख कित्ता सेयर बेच्दै, मूल्य १ सय रुपैयाँ
काठमाडौं । बलेफी हाइड्रोपावरले करिब १८ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनी गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । अथात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुंगा पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर फागुन १९ गतेसम्म बिक्री खुला रहनेछ । म्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ सय कित्ता र अधिकतम १० अंकले भाग जाने वा नियामकले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रही आवेदन दिन सक्नेछन् ।
एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।
घनश्याम उपाध्यायले पाए अर्थसचिवको जिम्मेवारी, डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा
काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको हो । यसअघि अख्तियारमा सचिवको रूपमा कार्यरत उपाध्यायलाई अब देशको आर्थिक नीति, बजेट व्यवस्थापन, राजस्व नीतिहरू बनाउनु पर्ने जिम्मेवारी आएको छ । उपाध्यायसँग आर्थिक प्रशासनमा राम्रो अनुभव रहेको बताइन्छ । उनले कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन् । त्यस्तै, बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष बिताएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन् । ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका उपाध्याय सरल स्वभावका तथा कामकाजी प्रशासकका रूपमा चिनिन्छन् । साथै यसअघि अर्थ सचिव रहेका डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा भएपछि राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको कामु प्रदेश सचिव रहेका अधिकारी सचिवमा बढुवा भएका हुन् । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले प्रशासनतर्फ रिक्त सचिवमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो । अधिकारी बढुवा भएका हुन् ।
विशाल बजार कम्पनीको लाभांश घोषणा, १० वर्षपछि बोलायो साधारण सभा
काठमाडौं । विशाल बजार कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरूलाई वितरण गर्ने भएको हो । साथै विशाल बजार कम्पनीले १० वर्षपछि आफ्नो साधारण सभा बोलाएको छ । लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर क्लव काठमाण्डौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अरव १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्नेछ । यस्तै, सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिनेछ । सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा सभाबाट अनुमोदन गर्ने र सर्वसाधरण सेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
अमेरिकी डलरको भाउ बढ्यो, कतारी रियालको मूल्य ३८.४७ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.६७ रुपैयाँ र बिक्रीदर १४०.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.४१ रुपैयाँ र बिक्रीदर १७४.१५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.५४ रुपैयाँ र बिक्रीदर १५४.२० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.७४ रुपैयाँ र बिक्रीदर ८८.१२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४३ रुपैयाँ र बिक्रीदर ९७.८४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.२३ रुपैयाँ र बिक्रीदर १०३.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१२ रुपैयाँ र बिक्रीदर १९.२० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.२४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.३१ रुपैयाँ र बिक्रीदर ३८.४७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०३ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२५ रुपैयाँ र बिक्रीदर ३१.३८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८१ रुपैयाँ र बिक्रीदर १२.८६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३५ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.९३ रुपैयाँ र बिक्रीदर १८.०१ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४५२.३३ रुपैयाँ र बिक्रीदर ४५४.२७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.५२ रुपैयाँ र बिक्रीदर ३७२.११ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६२.७७ रुपैयाँ र बिक्रीदर ३६४.३२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।