१.४६ रुपैयाँ बढ्यो पाउण्डको भाउ, अमेरिकी डलरको मूल्य १३९.३४ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा अेमरिकी डलरको भाउ प्रतिडलर ०.११ रुपैयाँ बढेको देखिन्छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.०६ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८५ रुपैयाँ र बिक्रीदर १७३.६० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.३६ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.१६ रुपैयाँ र बिक्रीदर ८७.५३ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा युरोपियन यूरो १.०४ रुपैयाँ, पाउण्ड १.४६ रुपैयाँ, स्वीस फ्रयाङ्क ०.४५ रुपैयाँ र क्यानेडियन डलर ०.१८ रुपैयाँ बढेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.०५ रुपैयाँ र बिक्रीदर ९७.४७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.५५ रुपैयाँ र बिक्रीदर १०३.०० रुपैयाँ, जापानी येन १० को खरिददर ९.०४ रुपैयाँ र बिक्रीदर ९.०८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०६ रुपैयाँ र बिक्रीदर ४.०८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७७ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०२ रुपैयाँ र बिक्रीदर ३१.१६ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५४ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७६ रुपैयाँ र बिक्रीदर १२.८२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३२ रुपैयाँ र बिक्रीदर १९.४० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८१ रुपैयाँ र बिक्रीदर १७.८९ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४९.३० रुपैयाँ र बिक्रीदर ४५१.२५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.०६ रुपैयाँ र बिक्रीदर ३६९.६५ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.३५ रुपैयाँ र बिक्रीदर ३६१.९१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
पत्रकार महासङ्घद्वारा २३ बुँदे ‘धुलिखेल घोषणापत्र’ जारी, सामाजिक सञ्जाल विधेयक फिर्ता लिन माग
काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आज २३ बुँदे ‘धुलिखेल घोषणापत्र’ जारी गरेको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न समितिको दुईदिने दोस्रो पूर्ण (प्रथम कार्यमूलक) बैठकपछि उक्त घोषणापत्र जारी गरिएको हो । बैठकले गत असोज दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गसहितका पूर्वाधार र सङ्कटग्रस्त घोषित काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण तथा विपद् प्रभावितको यथासक्य पुर्नस्थापनाका नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले सरकारले हालै राष्ट्रियसभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयकका कतिपय व्यवस्था प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र नागरिकका संवैधानिक हकमा अंकुश लगाउने किसिमका रहेकोमा महासङ्घको ध्यानाकर्षण भएको जनाउँदै तत्काल विधेयक फिर्ता लिन माग गरिएको महासङ्घका अध्यक्ष निर्मला शर्माले बताइन् । ‘आवश्यक परामर्श गरी पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलसमक्ष माग गरेका छौँ,’ उनले भनिन् । कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकार ऐन बमोजिम नियुक्ति पत्र, सेवा सुविधा र नियमित पारिश्रमिक नदिएको गुनासो रहेकाले सञ्चारमाध्यमलार्ई नियमित पारिश्रमिक उपलब्ध गराउन र सरकारलाई श्रमजीवी पत्रकार ऐनमा समयसापेक्ष संशोधनसहित अनुगमन र कडाइका साथ कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ । केही जिल्लामा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार र धम्कीको घटनामा महासङ्घको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनसहित कार्यस्थलमा पत्रकारको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न बैठकले गृह प्रशासनसमक्ष माग गरेको छ । २७औँ महाधिवेशनबाट निर्वाचित उक्त कार्यसमितिको तीन वर्षे कार्यकालका लागि अध्यक्ष शर्माद्वारा बैठकमा प्रस्तुत नीतिगत प्रस्ताव, महासचिव रामप्रसाद दाहालद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव तथा कोषाध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रस्तावहरु बैठकमा प्राप्त सुझावहरुका आधारमा सम्बोधन गर्ने गरी पारित गरिएको छ । महासंघद्वारा जारी धुलिखेल घोषणापत्र २०८१ माघ २८ र २९ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको दोश्रो पूर्ण (प्रथम कार्यमूलक) बैठकले यो घोषणापत्र जारी गरेको छ । १. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितलाई आफ्नो मूल लक्ष्य ठानेर सम्झौताहीन रूपले अगाडि बढ्न महासंघ प्रतिवद्ध छ । अगुवा नागरिक संस्थाकोरूपमा महासंघ लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र जवाफदेही शासन प्रणालीको पक्षमा समेत अडिग छ । २. महासंघसहित सरोकारवालाले पटक पटक छलफल गरी संशोधनका लागि दिएका सुझावहरूलाई बेवास्ता गर्दै राष्ट्रिय सभाबाट ‘मिडिया काउन्सिल विधेयक’ पारित भएकोमा महासंघको यो बैठक आपत्ति प्रकट गर्दछ । विगतमा महासंघसहित सरोकारवालाहरूले दिएका सुझावहरूलाई समेटेर मात्रै थप प्रक्रिया अघि बढाउन महासंघ जोडदार माग गर्दछ । ३. सरकारले हालै राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयकका कतिपय व्यवस्थाहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र नागरिकका संवैधानिक हकहरूमा अंकुश लगाउने किसिमका रहेकोमा महासंघको ध्यानाकर्षण भएको छ । महासंघसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन् हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने ठहर यो बैठकले गरेको छ । यसर्थ, उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मात्रै नियमन गर्नेगरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष माग गर्दछ । अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यूमिडियाको प्रभावकारितामा अंकुश लगाउने गरी बन्ने विधेयकका विरुद्व महासंघ संघर्षमा उत्रिन बाध्य हुनेछ । ४. आमसञ्चार क्षेत्र र श्रमजीवी पत्रकारका समस्या समाधान, सेवा सुविधाको व्यवस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्नेगरी आवश्यक नीति, कानुन र बजेट विनियोजनका लागि संघ, प्रदेश र स्थानीय तहसँग पहलकदमी, संवाद, सहकार्य र खबरदारी गरिने छ । सञ्चार कानुनहरू निर्माण गर्दा पत्रकार महासंघसहित सरोकारवालासँगको सहकार्य र राय सुझाव लिने वातावरण सुनिश्चित गर्न महासंघ आग्रह गर्दछ । ५. कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकार ऐनबमोजिम नियुक्ति पत्र, सेवा सुविधा र नियमित पारिश्रमिक समेत नदिएको गुनासो छ । महासंघको यो बैठक सञ्चारमाध्यमलार्ई नियमित पारिश्रमिक उपलब्ध गराउन र सरकारलाई श्रमजीवी पत्रकार ऐनमा समयसापेक्ष संशोधनसहित अनुगमन र कडाइका साथ कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछ । ६. श्रमजीवी पत्रकारका समस्या समाधानका लागि दबाब, छलफल, कानुनी प्रक्रिया र प्रदर्शन लगायत संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै सामूहिक सौदाबाजीमार्फत श्रमजीवी पत्रकारहरूको श्रम अधिकारका लागि कानुनी सहायतालाई प्रभावकारी बनाउने निर्णय गरेको छ । ७. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नियमित अनुगमन गर्दै आएको महासंघ पत्रकारको भौतिक तथा पेशागत सुरक्षा र व्यवसायिक विकासका लागि प्रतिबद्ध छ । बझाङ शाखा अध्यक्ष ललितबहादुर सिंहलाई सांघातिक आक्रमण भएको घटनामा सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको दायरामा ल्याउन महासंघ माग गर्दछ । धरानका पत्रकार गोपाल दाहालमाथि भएको दुव्र्यवहार र धम्कीको घटनामा महासंघको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनसहित कार्यस्थलमा पत्रकारको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न यो बैठक गृह प्रशासनसमक्ष माग गर्दछ । ८. कोरोना महामारीदेखि ओरालो लागेको अर्थतन्त्र र सूचना प्रविधिको द्रुत विकासका कारण खुम्चिँदो विज्ञापन बजारले आमसंचार माध्यमहरूमा आर्थिक संकट चुलिँदो छ । छापा, टेलिभिजन, रेडियो र अनलाइन मिडियालाई आर्थिकरूपमा सशक्त बनाउन आवश्यक नीति तथा कार्यक्रमहरू ल्याउन सरोकारवालासँग संवाद गर्ने तथा त्यस्ता समस्या नीति, कानुन र बजेटमार्फत् सम्बोधनका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको छ । ९. सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन, ज्येष्ठ नागरिक पत्रकारवृत्ति कोषमा रकम वृद्धि गर्न, श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न तथा सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारी घोषणाको प्रभावकारी कार्यान्वयनका लागि महासंघ सरकारसँग आग्रह गर्दछ । १०. देशभर एकपछि अर्को गरी सञ्चारमाध्यमहरू बन्द भइरहेकोमा सञ्चारमाध्यममा निम्तिएको संकट र बन्द हुनुका कारणहरूमा केन्द्रीत भएर मिडियाको स्थिति अध्ययन गर्ने निर्णय गरेको छ । मिडिया दिगोपन र सुशासनका लागि सरोकारवाला पक्षसँग सहकार्य गर्ने तथा नयाँ मिडिया दर्तामा लगानी र पूर्वाधारको सुनिश्चतता गर्ने प्रावधान राख्न माग गर्दछ । ११. समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन प्रोत्साहनको नीति अपनाउन र लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धि गरी अनलाइन सञ्चारमाध्यमलाई समेत उपलब्ध गराउने व्यवस्था गर्न महासंघ माग गर्दछ । १२. आमसञ्चारको क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति, मधेशी, सीमान्तकृत समुदाय र पछाडि पारिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी र सुशासनयुक्त सञ्चारगृह निर्माण गर्न महासंघ आग्रह गर्दछ । साथै, महासंघको सदस्यता वितरणदेखि अन्य सेवा सुविधा समेतमा लक्षित समुदायको समावेशी प्रतिनिधित्वि सुनिश्चित गर्ने निर्णय गरेको छ । १३. पत्रकारको व्यवसायिक क्षमता विकासका लागि तालिम (डिजिटल, डेटा र एआईसमेत), कार्यशाला र गोष्ठीहरू सञ्चालन गर्ने, पत्रकार आचारसंहिता पालना गराउन र स्वनियमनका लागि सचेतना अभियान सञ्चालन गर्ने तथा न्यू मिडिया र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सिर्जना गरेका चुनौतीलाई अवसरका रूपमा लिँदै, न्यू मिडियाको अभ्यास गर्दै आएका पत्रकारलाई प्रशिक्षण गर्ने र पत्रकार आचारसंहिता र मूल्यमान्यता आत्मसात गर्न अग्रसर बनाउने घोषणा गर्दछ । १४. सञ्चार उद्योगलाई सेवामूलक उद्योगका रूपमा स्थापित गर्दै नवीकरण शुल्क तथा रोयल्टी (संगीत रोयल्टी समेत) शुल्क खारेज गर्न माग गर्दछ । १५. पत्रकारिता नगर्नेको होइन, पत्रकारिता गर्नेको मात्र संगठन बन्नु महासंघको अहिलेको आवश्यकता र चुनौती हो । यो बैठक विधानबमोजिम महासंघमा व्यावसायिक पत्रकारहरूको आवद्धता बढाउन नयाँ सदस्यता आह्वान, नवीकरण तथा सदस्यता पारदर्शिता अभियान सञ्चालन गर्ने र महाधिवेशनको ६ महिना अगावै सदस्यता टुंग्याउने घोषणा गर्दछ । सबै जिल्ला शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाहरूले तीन महिनाभित्र आफ्ना सदस्यहरूको नाम, ठेगाना, कार्यरत मिडिया र फोटोसहितको विवरण सार्वजनिक गर्न निर्देश गर्दछ । १६. महासंघको सदस्यता परिचयपत्र वितरणलाई चुस्त बनाउँदै उक्त परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशको व्यवस्था गर्न माग गर्दछ । १७. प्रेस काउन्सिल नेपालले मिडियालाई कालोसूचीमा राख्ने लगायतका गतिविधि गरिरहेकोमा बैठकको ध्यानाकर्षण भएको छ । तसर्थ, महासंघ काउन्सिललाई आफ्नो क्षेत्राधिकारको ख्याल गर्न आग्रह गर्दछ । १८. २७औँ महाधिवेशनबाट निर्वाचित यो कार्यसमितिको तीन वर्षे कार्यकालका लागि अध्यक्ष निर्मला शर्माद्वारा प्रस्तुत नीतिगत प्रस्ताव, महासचिव रामप्रसाद दाहालद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव तथा कोषाध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रस्तावहरू बैठकमा प्राप्त सुझावहरूका आधारमा सम्बोधन गर्ने गरी पारित गरेको छ । १९. महासंघको केन्द्रीय कार्यालयलाई प्रविधिमैत्री र आधुनिक बनाउँदै व्यवस्थित, पारदर्शी र सुशासनयुक्त सुदृढ संस्थाकोरूपमा सञ्चालन गर्ने, त्रैमासिकरूपमा महासंघको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्ने तथा सूचनाको हकसम्बन्धी ऐनबमोजिम केन्द्रीय कार्यालयमा तत्काल सूचना अधिकारी तोक्ने र सूचना अधिकारी तोक्न सबै शाखा र प्रदेश समितिलाई निर्देश गर्दछ । २०. महासंघ संविधानप्रदत्त नागरिकका मौलिक हकहरू सुरक्षित र मजबुद बनाउदै पूर्ण कार्यान्वयनको माग गर्दछ । २१. २०८१ असोज ११ र १२ गतेको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गसहितका पूर्वाधार र संकटग्रस्त घोषित काभ्रेपलाञ्चोक जिल्लामा पुर्ननिर्माण तथा बाढीपहिरो पीडितको यथासक्य पुनस्र्थापनाका लागि यो बैठक सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दछ । २२. काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक, पलाञ्चोक, दोलालघाट, नगरकोट लगायतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आमसञ्चार माध्यममार्फत जोड दिने तथा यी क्षेत्रमा पूर्वाधार विकासका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । २३. केन्द्रीय समितिको प्रथम कार्यमूलक बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गरी सहयोग पु¥याउने नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछ । साथै, शाखा समितिको कार्यालय भवन निर्माण सुरु भएपनि श्रोत अभावले पूरा हुन नसकेकोमा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गर्दछ ।
२१६ मेगावाटको माथिल्लो त्रिशूलीको सीएसआर खर्च २७ करोड रुपैयाँ
काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जगेर्ना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको प्राविधिक निर्देशक गिरिराज अधिकारीले जानकारी दिए । कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुमा आयोजनाको बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायत संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली-१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो । विसं २०७२ सालको भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण तथा अस्थायी आवास निर्माण, विद्यालय एवं स्वास्थ्य संस्थाहरूको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायत कार्यक्रम सञ्चालन गरेको थियो । आयोजना प्रभावित आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरूको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै योजना कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त योजनामार्फत समुदाय आफैँले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म २ करोड रुपैयाँ बढी खर्च गरिएको जनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार, रोजगारी एवं जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए । आयोजनाले स्थानीय बासिन्दाको मागबमोजिम प्राथमिकताका आधारमा योजना छनोट गरी सहयोग कार्यक्रम सञ्चालन गरिरहेको र यसलाई निरन्तरता दिइने उनको भनाइ छ । आयोजनाले हाकुबेँसीमा त्रिशूली नदीमा बेलीब्रिज निर्माण गर्न ७ करोड ८६ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका–१ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दाको सडक पहुँच स्थापित भई सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौंतर्फ आवतजावत गर्न सहज भएको छ । प्रभावित क्षेत्रमा सडक निर्माणका लागि १८ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप ७० लाख रुपैयाँ खर्च भएको जनाइएको छ । प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामग्री वितरणलगायत काम भएका छन् । साथै हाकुस्थित तीनवटा विद्यालयलाई सन् २०१८ देखि एक÷एकजना शिक्षक उपलब्ध गराइएको छ । आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको सांस्कृतिक रीतिरिवाज संरक्षण र प्रवर्द्धनका लागि गुम्बालगायत भवन निर्माण र अन्य कार्यक्रममा सहयोग गर्दै आएको प्राविधिक निर्देशक अधिकारीले जानकारी दिए । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत ‘इक्विटी’बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९अन्तरराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने जनाइएको छ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण विसं २०८३ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।
आज विश्व रेडियो दिवस, लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो । रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ । विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ ।
आजको मौसमः मध्य र पूर्वी तराईमा हुस्सु, पश्चिमी वायुको आंशिक प्रभाव कायमै
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
स्टारलिंकको सेवा भुटानमा सुरु
काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको कम्पनी स्टारलिंकले छिमेकी राष्ट्र भूटानमा स्याटलकम सेवा सुरु गरेको छ । यो कम्पनी उपग्रह स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्छ । मस्कले स्वयंले यसबारे जानकारी दिएका हुन् । यो कम्पनीले पहिलो पटक नोभेम्बर २०२० मा अमेरिकाभित्र उपग्रहमार्फत इन्टरनेट सेवा सुरु गरेको थियो । त्यसपछि करिब १०० देशहरूमा यसको सेवा विस्तार भइसकेको छ । गत महिना कम्पनीले लाइबेरिया र तुवालुमा आफ्नो सेवा सुरु गरेको थियो र यो महिना भुटानमा पनि स्टारलिंकको सेवा उपलब्ध भएको छ । स्टारलिंकले भारतमा पनि स्याटकाम सेवा सुरु गर्नका लागि आवेदन दिएको छ । तर अहिलेसम्म सरकारबाट लाइसेन्स प्राप्त गर्न सकेको छैन । नेपालको अवस्था के छ ? गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कसँग भर्चुअल संवाद गरेका थिए । संवाद अगाडि स्टारलिंकले नेपालमा स्याटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको जनाइएको थियो । ओलीले मस्कसँग सोही विषयमा छलफल गरेको हुनसक्ने आशंका गरिएपनि प्रधानमन्त्री निवासले यसबारेकाे विवरण उपलब्ध गराएको थिएन। सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटवार्ता गरी कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा काम गर्न रुचि देखाएको बताएकी थिइन् । प्रधानमन्त्री ओलीसँग पनि यही विषयमा संवाद भएकाे अनुमान छ । स्टारलिंकलाई चुनौती दिँदै चिनियाँ स्याटेलाइट प्रोजेक्ट, अरू पनि प्रतिस्पर्धामा
एडीबीको २० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदकाे निर्णय
काठमाडौं । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ । यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए । मन्त्री गुरुङले भने, ‘सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने, नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल र सर्भिस राहदानीबाहेकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमान सरकारको डिल्पोमेटिक एकेडेमीबीच हस्ताक्षर हुने कूटनीतिक अध्ययन र तालिममा सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।’ मन्त्रिपरिषद्ले सरकारको नाममा दर्ता रहेको सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका–८ को ५३ रोपनी जग्गा मैनतडा सबस्टेशन निर्माणको लागि राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने तथा दैलेख जिल्लाको आठबिस नगरपालिकाको स्वामित्वमा रहेको १५ शैय्या क्षमताको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत व्यवस्थापन र सञ्चालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले बिमा नियमावली, २०८१ स्वीकृत गरेको छ । बैठकले नेपाल प्रशासन सेवा सामूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । सरकारले अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालय, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव धनश्याम उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयः राज पत्राङ्कित प्रथम श्रेणी (सहसचिव) १७ जनाको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
गुरु ट्राभल्स लिमिटेड तथा रेम डट वर्कबीच व्यावसायिक सहकार्य सहमति
काठमाडौं । गुरू ट्राभल्स लिमिटेड र रेम डट वर्कबीच व्यावसायीक समझदारी भएको छ । रेम डट वर्कका प्रतिनिधि हेड अफ डिपार्टमेन्ट दिव्या खतिवडा तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलद्वारा हस्ताक्षर गरेकाे सम्झौतापत्र मंगलबार सार्वजनिक गरियो । सहमतिपत्र अनुसार रेम डट वर्कका कर्मचारी तथा ग्राहकहरूले गुरु ट्राभल्स लिमिटेडमार्फत विभिन्न ट्राभल प्याकेजहरूमा विशेष छुट तथा अन्य आकर्षक सुविधाहरू प्राप्त गर्नेछन् । त्यस्तै, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले रेम डट वर्कमार्फत प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष अफर तथा सुविधाहरू प्राप्त गर्नेछन् । कार्यक्रममा रेम डट वर्ककी दिव्य खड्काले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै गुरु ट्राभल्स लिमिटेडसँगको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।